Skip to content

किराँत धर्ममा महिलाको स्थान

  • by


किराँतहरू नेपालको पूर्व क्षेत्रमा बस्ने आदिवासी जनजाति हुन् । किराँत समुदायभित्र विभिन्न जातीय समुहहरू छन् । मुन्धुम किराँतहरूको मुख्य धार्मिक ग्रन्थ हो । यो किराँतीहरूको वेद भनेर चिनिन्छ । लोकगाथा, लोकोक्ति र टुक्काहरूको संग्रहलाई मुन्धुम भनिन्छ । मुन्धुम लिखित र मौखिक दुबै परम्पराबाट विकास हुदै आएको छ । मुन्धुममा किराँत दर्शन, आध्यात्मिक दर्शन र इतिहासलाई उजागर गरिएको हुन्छ । तसर्थ मुन्धुमविना किराँतको संस्कृति अपूर्ण छ । २०५८ को जनगणनाअनुसार नेपालका प्रमुख १२ धर्महरूमध्ये ३ प्रतिशतले मान्ने र आठ लाख धर्मावलम्वी भएको किराँत धर्म देशको चौथो ठूलो धर्ममा पर्छ ।

किराँत धर्मको साम्जिक मुन्धुममा धेरै महिला पात्रहरू पाइन्छन् । मानव जातिको नैतिकता र सभ्यता स्थापित गर्ने र मानव जातिको सृष्टि गर्ने भनेर ‘युमा’ लाई भनिन्छ । ‘युमा’ भनेको महिला अथवा हजुरआमा हो । यो किराँत धर्ममा महिलाको सम्मानको प्रमाण हो । किराँती धर्ममा पहिलो महिला मानव ‘मुजिना खेयोङ्ना’लाई मानिन्छ । किराँती संस्कारमा खाप्पुना मुराङना -महिला)लाई संस्कार सिकाउने महिला गुरु मानिन्छ । त्यसकारण किराँत धर्म, दर्शन, संस्कारमा महिलाको महत्त्वपूर्ण स्थान छ ।

किराँत महिलाको धार्मिक प्रबृत्ति पनि अन्य औसत नेपाली महिलाको भन्दा धेरै बढी छ । सांस्कृतिक स्वतन्त्रता किराँती महिलाहरूको विकासका लागि महत्त्वपूर्ण देखिन्छ । समग्रमा किराँत धर्ममा महिलाको हैसियत समानतातिर लम्के पनि धेरै मामलामा महिलाहरू अझै पुरुषभन्दा पछाडि छन् । यो सबै किराँती महिलाहरूको शिक्षाको अभावका कारणले उब्जेको समस्या हो । तसर्थ आजकाल किराँत धर्मको साम्जिक मुन्धुमको प्रभावस्वरूप किराँती महिलाहरू शैक्षिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा आफू सक्षम हुनुपर्छ भन्ने महसुस गर्न थालेका छन् । उनीहरू परिवार र समाजको निर्णय प्रक्रियामा सहभागी हुनेतिर अग्रसर छन् ।

यस अध्ययनका मुख्य नतिजाहरूलाई बिश्लेषण गर्दा किराँत धर्म दर्शनले महिला पुरुषमा विभेद नगरे पनि ब्यबहारमा भने थोरै विभेद देखिन्छ । ३९ प्रतिशत उत्तरदाता छोरा चाहन्छन् । ५६ प्रतिशत छोरी चाहन्छन् । तर थोरै ५ प्रतिशत किराँती महिलाहरूको भने कुनै छनोट छैन । यी तथ्याङ्कका आधारमा हेर्दा किराँत धर्म दर्शनले छोरा र छोरीमा विभेद नगरे पनि ब्यबहारमा भने छोरा अथवा छोरी चाहनेहरू ज्यादा छन् । तर यो अध्ययनमा छोरी चाहनेहरू ज्यादा देखिएबाट किराँती समाजमा छोरीको स्थान उच्च छ भन्ने अनुमान गर्न सकिन्छ ।

आर्य समाजमा महिनावारी हुँदा महिलालाई अछुत ठानिन्छ । तर विशुद्ध किराँती समाजमा धेरै महिलाले महिनावारीलाई वास्ता गर्दैनन् र अशुद्ध मान्दैनन् । तर अध्ययन क्षेत्रमा भने महिनावारीलाई अशुद्ध मानिन्छ । महिनावारी भएका महिलाहरू घरायसी र धार्मिक गतिबिधिमा सहभागी हुँदैनन् र हुन पनि दिइँदैन । महिलाको महिनावारीलाई यसरी अशुद्धको रूपमा लिनुको पछाडि ८७ जना उत्तरदातामध्ये १६ प्रतिशतले हिन्दु र अन्य धर्मको प्रभाव हो भने । किराँत धर्मकै मान्यता हो भन्नेहरू ७८ प्रतिशत थिए । दुवै हो भन्ने ५ प्रतिशत थिए । तर ८७ प्रतिशतले महिनावारी हुँदा धार्मिक गतिविधिमा सहभागी हुनु ठीक हो भने । १३ प्रतिशतले गलत हो भने । धेरै उत्तरदाताको भनाइ महिनाबारी हुँदा महिलाले आराम गर्नुपर्छ र सफा राख्नुपर्छ तर अछुतकै ब्यबहार नगरी परिवारका अन्य सदस्यले उनलाई सहयोग गर्नुपर्छ भन्ने छ । ८० प्रतिशत उत्तरदाताहरू महिलामा हुने महिनावारीलाई प्राकृतिक ठान्छन् र बाँकीले महिनावारी र सुत्केरी हुँदाको समय चाहिँ महिलालाई छुन नहुने अवधि हो भन्ने ठान्छन् ।

साम्जिक मुन्धुम प्राचीनकालमा किराँती महिलाको योग्यता थाहा पाउने एउटा ठूलो प्रमाण हो । तर बर्तमान भने साम्जिक मुन्धुमले भने जस्तो छैन । साम्जिक मुन्धुमले किराँती महिलालाई सबैखाले धार्मिक कर्ममा सहभागी हुन अनुमति दिन्छ । साम्जिक मुन्धुमलाई शतप्रतिशत किराँती महिलाहरू सही र जरुरी छ भन्छन् । उनीहरूका अनुसार किराँती महिलाले साम्जिक मुन्धुमबाट महिलाको क्षमता र बुद्धिलाई बन्नुपर्छ । तर केवल ११ प्रतिशत पढेलेखेका किराँती महिलाहरू बाहेक ८९ प्रतिशत महिलाहरूलाई साम्जिक मुन्धुमबारे थाहा छैन ।

महिला पुजारीको धार्मिक समाजमा महत्त्वपूर्ण भूमिका हुन्छ । किराँत धर्म परम्परामा महिला र पुरुष दुबै पुजारीको रूपमा पाइन्छन् । महिला पुजारी -सेवासामा)को पनि किराँत धर्मका नियमहरू संरक्षण गर्न पुरुष पुजारीसरह अधिकार छ । किराँतका मन्दिर -मानधिम)मा महिला पुजारी हुन ठिक हो भन्ने ८२ प्रतिशत थिए भने महिनावारी र सुत्केरी हुने समस्याका कारण पुजारी हुनु गलत हो भन्ने १८ प्रतिशत किराँती महिलाहरू थिए । यसको आधारमा हेर्दा पनि महिला पुजारीको पक्षमा अत्यधिक वहुमत उत्तरदाताहरू देखिन्छन् । उता ८७ प्रतिशत उत्तरदाता किराँत धर्ममा अन्य धर्मभन्दा महिलाको स्थान राम्रो छ भन्ने ठान्दछन् । बाँकी १३ प्रतिशतको विचार अन्य धर्म संस्कृतिको प्रभावले किराँती महिलालाई कमजोर र पछि पारेको छ भन्ने छ ।

किराँत समाजमा महिलाहरू सामाजिक कर्ममा सहभागी भएका देखिन्छन् । उनीहरूका महिलाका सामाजिक समस्याहरू सम्हाल्ने सक्रिय संस्थाहरू पनि छन् । किराँत धर्म परम्परा र समाजमा महिला र पुरुषको भूमिकालाई हेर्दा किराँती समाजमा ७२ प्रतिशत उत्तरदाता महिला र पुरुषको समान भूमिका छ भन्ने ठान्छन् । २१ प्रतिशतले भने समाजमा महिलाको बढी महत्त्वपूर्ण भूमिका देख्छन् । ७ प्रतिशतले महिलाभन्दा पुरुषको भूमिका धेरै देख्छन् । किराँत समाजमा महिला र पुरुष बीचको पूर्वाग्रह कम देखिन्छ । यो किरात समाजको उल्लेखनीय बिशेषता हो ।

तैपनि किराँती समाजमा महिला पछि परेका छन् र पछि पर्नुको कारणहरू थुप्रै छन् । तीमध्ये सबैभन्दा बढी अर्थात ५३ प्रतिशतले शिक्षाको अभावले पछि परेका हुन् भन्नेहरू छन् । त्यसपछि क्रमशः आˆनै कमजोरी, परम्परागत अन्धविश्वास, चेतनाको अभाव र स्वतन्त्रताको अभावले किराँती महिलाहरू पछि परेका हुन् भन्नेहरू छन् । प्रायः किराँती महिलाहरू निरक्षर छन् । तिनीहरूले स्कुल जाने मौका पाएका छैनन् । आर्थिक कारणले पनि उनीहरू शिक्षा र अन्य अवसरहरूबाट बञ्चित देखिन्छन् । तर आजकाल छोरीहरूलाई पढाउन र सक्षम बनाउन किराँती महिलाहरू सचेत बन्दै गएका छन् ।

किराँती महिलाहरू सांस्कृतिक र संस्कारहरूमा भाग लिन स्वतन्त्र छन् । सांस्कृतिक नृत्यहरूमा महिला र पुरुषको बराबरी सहभागिता चाहिन्छ । किराँत समुदायमा हुने जन्म-मृत्यु लगायत प्रत्येक संस्कारमा महिलाले भाग लिनुपर्छ । विवाह उत्सवमा ‘लोकन्दी’ हुनुपर्छ । यो पद महिलाको लागि सम्मानजनक पद हो । किराँती समाजमा श्रीमानको मृत्यु भएपछि सेतो कपडा लगाउने, गहना हटाउने बाध्यता छैन । यो समाजमा हुने संस्कारहरूमा ८० प्रतिशतभन्दा बढी महिलाको पुरुषसरह सहभागिता देखिन्छ ।

परिवार तथा समाजको निर्णय प्रक्रियामा महिला र पुरुषको भूमिकालाई हेर्दा आजकाल किराँती महिलाले आˆनो साथी आफै छान्न सक्छिन् । शतप्रतिशत किराँती महिला उत्तरदाताले विहेमा केटाकेटी दुबैले निर्णय गर्नुपर्छ भन्ने सोच राखेका छन् । सम्बन्ध बिच्छेदको सन्दर्भमा पनि महिला पुरुषले बराबरी निर्णय गर्नुपर्छ भन्ने उत्तरदाताहरू आधाभन्दा बढी छन् । यसर्थ विवाह र सम्बन्ध बिच्छेद जस्ता घटनाहरूमा महिला पुरुषको समान भूमिका र निर्णयको पक्षमा देखिएबाट किराँती समाजमा महिलाको भूमिका महत्त्वपूर्ण भएको देखापर्छ । किराँती समुदायमा हुने पुनर्विवाहलाई हेर्दा पुरुषको निर्णय गर्ने भूमिका केही बढी भए पनि महिलाको पनि भूमिका कमजोर भने देखिँदैन । किराँती समाजमा विधवाको पुनर्विवाह पनि त्यति ठूलो समस्या देखिदैन । त्यसैगरी बच्चा पाउने सवालमा र सांस्कृतिक समारोहहरूमा पनि पुरुष महिला दुबैको सामुहिक निर्णय महत्त्वपूर्ण हुन्छ ।

किराँती महिलाको आर्थिक अबस्थालाई हेर्दा ६४ प्रतिशत श्रीमान र परिवारमा निर्भर छन् भने ३६ प्रतिशत किराँती महिला उत्तरदाता आत्मनिर्भर छन् । यस तथ्याङ्कको आधारमा हेर्दा किराँती महिला तुलनात्मक रूपमा ज्यादा परनिर्भर भए पनि नेपालका अन्य जातीय समुदायका महिलाहरूको तुलनामा त्यति धेरै निराशाजनक ढंगले परनिर्भर भने छैनन् ।

जमिनमाथिको स्वामित्व हेर्दा ५१ प्रतिशत उत्तरदाताले जमिनमाथिको महिला र पुरुष दुवैको बराबरी पहुँच भएको बताए भने ३७ प्रतिशतले पुरुषको र १३ प्रतिशतले महिलाको पहुँच भएको बताए । यसका आधारमा हेर्दा पनि धेरैजसोको आँखामा जमिनमा महिला-पुरुष दुबैको समान पहुँच देखिन्छ भने महिला र पुरुषको छुट्टाछुट्टै पहुँचको स्थिति भएको भन्नेहरू पनि देखिएको छ । छुट्टाछुट्टै हेर्दा भने जमिनमा महिलाभन्दा पुरुषको तेब्बर बढी स्वामित्व भएको देखिन्छ । उता गहना र पेवापातको स्वामित्वमा भने शतप्रतिशत महिलाको स्वामित्व भएको देखिन्छ । अन्य धनमालको स्वामित्वमा भने सबभन्दा बढी पुरुषको ७१ प्रतिशत र महिला उत्तरदाताको केवल ८ प्रतिशत मात्रै स्वामित्व देखिन्छ । तर उता महिला पुरुषको बराबरी स्वामित्व छ भन्नेहरू २१ प्रतिशत थिए । त्यस्तै ब्यापारमा ४८ प्रतिशत पुरुषको, १७ प्रतिशत महिलाको स्वामित्व छ भन्नेहरू थिए भने महिलार पुरुषको बराबरी स्वामित्व छ भन्ठान्नेहरू पनि १७ प्रतिशत नै थिए ।

किराँती महिलाहरू राजनीतिमा कम सहभागी देखिएका छन् । राजनीतिबाट टाढा हुनुमा उनीहरूमा रहेको शिक्षाको अभाव प्रमुख कारण हो । उत्तरदाताका अनुसार महिलाहरू राजनीतिमा सहभागी हुनु ठिक हो भन्ने ९१ प्रतिशत र बेठिक हो भन्ने ९ प्रतिशत थिए । यस तथ्याङ्कका आधारमा हेर्दा किराँती महिलाको बर्तमानमा राजनीतिक सहभागिता न्युन भए पनि उनीहरूको राजनीतिप्रतिको चाहना भने बलियो देखिन्छ ।

प्रायः किराँती गृहिणीहरू अशिक्षित छन् । ५८ जना साक्षर उत्तरदातामध्ये एसएलसी भन्दा कम अध्ययन गर्नेहरू ६८ प्रतिशत, आइ.ए. पढेका १४ प्रतिशत, बि.ए. पढेका १० प्रतिशत र एम.ए. पढेका ७ प्रतिशत थिए । यसको आधारमा हेर्दा किरात महिलाको शैक्षिक स्तर त्यति खराब पनि छैन र त्यति राम्रो पनि छैन । तर पनि उनीहरूको शिक्षाप्रतिको मोह भने बढ्दो देखिन्छ । किराँती महिलाका लागि सम्पत्तिभन्दा पनि शिक्षाको महत्त्व धेरै देखिन्छ । शिक्षाबिना महिलाको हैसियत उठाउन सकिदैन । छोरीलाई समाजमा सक्षम बनाउन शिक्षा दिनुपर्छ । अध्ययन गरिएकामध्ये ८२ प्रतिशत उत्तरदाताले छोरीलाई सम्पत्तिभन्दा शिक्षा दिनुपर्छ भने । उता सम्पत्ति दिनुपर्छ भन्ने केवल ५ प्रतिशतमात्रै थिए । बरु सके शिक्षा र सम्पत्ति दुवै दिनुपर्छ भन्ने १४ प्रतिशत थिए । यस तथ्याङ्कका आधारमा हेर्दा किराँती महिलामा सम्पत्तिभन्दा शिक्षाप्रतिनै आकर्षण र विश्वास बढ्दै गएको देखिन्छ ।

सिफारीशहरू

· किराँती महिलाहरूले समाजमा आवश्यक सबै कुरा गर्नसक्ने हुन उपयुक्त शिक्षा पाउनु पर्छ ।

· महिलाहरूले सांस्कृतिक र धार्मिक दृष्टिले सम्मानजनक ब्यबहार गर्नुपर्छ ।

· महिनावारी जस्ता प्राकृतिक समस्यामा परेका वेला परिवारका सबै सदस्यहरूले महिलालाई सहयोग गर्नुपर्छ । विशेषगरी परिवारका पुरुष सदस्यहरूले महीनावारी हुँदा फोहरी र अछुतको रूपमा ब्यबहार गर्नुहुदैन । यसलाई प्राकृतिक र स्वभाविक प्रक्रिया मान्नुपर्छ ।

· किराँती महिलाले विश्वब्यापी रूपमा महिलाको हैसियतबारे बुझ्न राजनीतिक गतिविधिहरूमा सहभागी हुनुपर्छ । राजनीतिक पहुँच हुनसके उनीहरूले मानवअधिकारबारे पनि बुझ्न अवसर पाउँछन् ।

· धर्मले निर्णय प्रक्रियामा महिलालाई पुरुषसरह अवसर दिनुपर्छ । महिलाहरू आफैले आˆनो मूल्य धर्मको सन्दर्भमा खोज्नुपर्छ । आˆना विचार र भावनाहरू समाजको विकासको लागि लगाउन उनीहरूले आत्मविश्वास विकास गर्नुपर्छ ।

महिलाहरूलाई पुरुषसरह सक्षम र सबल बनाउन स्रोतसाधनमा महिलाहरूको पहुँच बनाउनु पर्छ ।

(किराँत धार्मिक साहित्यअनुसार किराँत महिलाको स्थान, उनीहरूको धार्मिक गतिविधिमा सहभागी हुने अधिकार र किराँत धर्ममा महिलाको ताजा अबस्था पत्ता लगाउने उद्देश्यले किराँतको धार्मिक स्थल इलाम जिल्लाको बाँन्झो गाबिस वडा नं ८ र ९ मा अबस्थित मोङ्सेबुङ लारुम्बा गाउँका १०० घरधुरीमध्ये ८७ जना किराँत महिला उत्तरदातामा हालसालै अध्ययन गरिएको थियो । उक्त अध्ययनले किराँत धर्ममा महिलाको स्थानबारे विभिन्न तथ्यहरू उजागर गरेको छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *