Skip to content


हिजो साँझ पर्नपर्न लागेका बेला अशोकको घर लुटिएछ । टोलका मानिसहरू एक आपसमा कुरा गर्थे कि- यस्तो घटना त उनीहरूले जीवनमा कहिल्यै पनि देखेका थिएनन् । लुटेराहरूले लुट्न पनि एउटा नङमा बाध्ने दसीसमेत बाँकी नराखीकन लुटेर लगेछन् ।

बिचरा! सबैको नून खाएको कुखुराको जस्तो अनुहार भएको थियो । पुलिसहरू आफ्नो अनुसन्धानमा लागिरहेका थिए । संवेदना दिने व्यक्तिको ताँती लागेको थियो । सबै जना बडो उत्सुकतापूर्वक उनलाई सोधिरहेका थिए- “जम्माजम्मी गरेर कति जति नोक्सान भयो ?”

उनले फिक्का मुस्कानका साथ जवाफ दिए- “के कति भयो ती सबै अहिले नै थाहा भइसकिएको छैन तर एउटा त्यस्तो नोक्सान भयो जुन कहिल्यै पूर्ति गर्न सकिन्न ।

उनका औँला आँगनतिर तेर्सिए, जहाँ उनको पाँच वषर्ीय नाति अनुहारमा कपडा बाँधेर एउटा लठ्ठीलाई बन्दुक जसरी घुमाउँदै थियो र त्यसलाई कसैको कञ्चटमा तेस्र्याएर भन्दै थियो- “खबरदार चाइँचुइँ गर्‍यौ भने गोली ठोकिदिन्छु । खुरुक्क चाबी निकाल । दराजभित्र केके छ ? ती सब फटाफट निकाल होइन भने गोली खालास् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *