Skip to content

बाल बाल बाँचेको म

  • by
LokmaniGiriSarthak

सिरानी भित्तामा अडेस लगाई अर्धचेत अवस्थामा म पल्टिरहेको छु । तर मेरो शरीरमा आधुनिक विज्ञानका अस्त्र र यन्त्र प्रयोग भैरहेको तथा दाँया हातमा सलाइन चढिरहेको बारेमा सचेत छु । थाहा छैन हिप्पोक्रेट्स ओथले के भन्छ तर म जीवनदेखि हार खाइ मर्न खोजेकोलाई बचाउन खोज्नु चिकित्सा विधाको इथिक्स भित्र पर्छ कि पर्दैन, म अज्ञात छु । सोधुँ कसलाई ?

दाँया हातले केही गोटा औषधी (बिष) र बाँया हातले एक गिलास पानी लिइ चेतनशील प्राणलाई अन्तिम बिश्राम दिनै खोजेको समयको अन्तराल थोरै छ तर सेता कोट लगाएका मान्छे वरिपरि पुग्नु कम्ती चुनौतीपूर्ण नभएको होइन । मनमनै हाँस्न खोज्छु तर मुस्कुराइ हालेछु, शायद सोचे होलान पागल थियो र त मर्न खोज्यो धन्न अस्पताल आयो र ? तर यति मात्र कहाँ हो र म मुस्कुराउनुको कारण । यही अस्पताल पछाडिकै दवाइ दोकानबाटै किनेर खाएको थिए, अहिले फेरि मेरो शरीरको बिष निस्कृय बनाउन त्यही दवाइ दोकानबाट औषधी किनिरहेका छन् आफन्त ! अचम्म त यो लाग्छ मलाई दुवै कुरा विज्ञानका आविस्कार दवाइ अनि दवाइ (बिष) पनि ।

झुपडीमा त होइन सामान्य टायलले छाएको घरबाट सुरु भएको मेरो जीवन तर दु:खत कुरा अहिलेसम्म एकसरो टायल फेर्न सकेको छैन । बरु टायल आफै आफ्नो आयु कम भएर झर्दै छन; मैले आजसम्म केही गर्न सकिन । सके त केबल फुटेका ती टायललाई समाल्नु बाहेक ! भनसुनका आधारमा जीविकोपार्जनमा केही ईलम गरियो; जसै आउने रकम उसै रित्तिदै गयो । न्यूनतम मौजुदामै रह्यो वैकको खाता जहिले, धन्न बन्द गरिदिएन छ त्यही खुशीमा म रमाइरहे । तर आफन्त मेरो कमाइको हिसाव किताबमै ब्यस्त रहे। थाहा छैन खर्चको विवरण कोरियो कि नाइ कुनै दिन ! म यो कुरा कस्लाई बुझाऊँ ?

म देख्छु डाक्टरले मेरो बारेमा आफन्तहरूसँग निकै सोधि खोजी गरिरहेको छ । अनेकन कारणको लागि विविध टेस्ट गर्ने जमर्को गर्दैछ । तर मेरो मनमा उसले सोधेको दिनभन्दा कैयन समय देखिका पीडा उतार्ने प्रयास किन गर्दैन । म कसरी कराऊँ ? सक्दिन एकसरो जानकारी दिन पनि किनकि म पनि बाल बाल मरेको मान्छे होइन बाल बाल बाँचेँको न परे ।

लोकमणि गिरी ‘सार्थक’
तुलसीपुर, दाङ
हाल यस्बिया, डेनमार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *