Skip to content

मेरो प्यारो अंग्रेजी

  • by

  गाउँमा निम्न माध्यामिक विद्यालय थियो । त्यसबेला पढेका मास्टरहरू कमै मात्रामा पाइन्थ्यो । म पनि यसपाली बल्ल कक्षा तीन पास गरेर कक्षा चारमा प्रवेश गरेको थिएँ । खुशी थिएँ अंग्रेजी पढ्न पाइयो भनेर । म अंग्रेजी पढ्न साह्रै उत्सुक थिएँ बल्ल कक्षा चारबाट ए बि सि डि शुरु भयो । म खुब मेहेनत गरेर पढथें । हामीलाई अंग्रेजी पढाउने एकजना सर हुनुहुन्थ्यो ।  वहाँ कति अंग्रेजी जान्नु हुन्थ्यो भन्ने त थाहा भएन तर कहिलेकाहीं हामी साथी-साथीबिच कुरा हुन्थ्यो । “थाहा छ फलानो सरले त पहिलाको पाँच कक्षा पढेको रे तर कति जान्ने है ।”

उहिलेको पढाइ साह्रै कडा रहेछ । उस बेलाको नियम परिधि के थियो थाहा भएन तर हाम्रो स्कूलको हेड मास्टरले आठ कक्षा मात्र पढेको रे भनेर म भन्दा उच्च कक्षाका दाइहरूले कुरा गरेको धेरै चोटि सुनेको थिए । ए कुरो अन्त नै जान पो लागेछ मैंले अंग्रेजी सिक्ने वारे कुरा गर्न लागेको थिए ।

ए, अँ! हामीलाई अंग्रेजी पढाउने सरले पनि सात कक्षा मात्र पढेको रे। हुन त सरले जति पढे पनि मलाई भुँडी दुखाई थिएन । मलाई त जसरी पनि अंग्रेजी जान्नु थियो । अलि अलि अंग्रेजी जान्न पाइयो भने कहिलेकाहीं दार्जिलिङ्तिर काकाको घरमा जाँदा प्वाक्क पुक्क अंग्रेजी बोल्न पाईन्थ्यो । उता त सबै अंग्रेजी बोल्ने गाठें ! काका-काकी दाइ-दिदी अनि म भन्दासानो भाइ पनि यस, नो, ओके भन्न खप्पिस थियो  । त्यता त शुरुबाट नै अंग्रेजीमा पढाइ हुने रहेछ । भनौं न, शिशु कक्षाबाट नै ए बि सि डि शुरु। अनि भएन त गजव! तर हाम्रो ? खै के भन्ने वल्ल चार कक्षामा ए वि सि डि ।  

दिन बित्यो महिना बित्यो, अनि बर्ष बित्यो। चार कक्षा उत्तीर्ण भएर कक्षा पाँचमा प्रवेश गरियो। अंग्रेजीमा ठूलो प्रगति गरियो ए वि सि डि खर्लप्प खाइयो। किताब नहेरी फर्ररर। अहिले सोच्दा लाग्छ कसरी एकै बर्षमा त्यस्तो गाह्रो अंग्रेजीको ए बि सि डि का पुरा वर्णमाला याद गरियो होला । ओहो जे होस लाग्छ, म पनि पढ्न तगडा नै भएछु। त्यो बेला अनि पाँच कक्षामा पुगेपछि त झन तगडा ए बि सि डिबाट अलि बढेर अंग्रेजीको (Ka) (क), (Kha) (ख) हुँदै (Ka) (क), (Kaa) (का), (Ki)   (कि)  भनुन्। अंग्रेजीको क, का कि कि पनि पढ्न सुरु गरियो तर धेरै गाह्रो रहेछ । गाह्रो भए पनि किताबको सबै पाठ मलाई कण्ठ थियो । भनुँ न, कक्षामा पनि जान्ने विद्यार्थीमध्येमा पर्थें। अनि घरमा पनि छोरा अंग्रेजी जान्ने छ भनेर बाउ मख्ख कोही पाउना आयोकी अंग्रेजी किताब पढेर सुनाउनु पर्ने । म पुस्तक यसरी पढथें कि, खै कसरी हो गीत अनि कविताको जस्तो शैलीमा निरन्तर धारा प्रवाह किताबको पुरा अध्यायहरू सकिँदा बल्ल आधा किताबको पाना मात्र पल्टाउन भ्याएको हुन्थे । मानौ मलाई किताब हेर्न जरुरी नै थिएन । अनि घरमा आएको पाउनाहरूले ‘ल बाबु धेरै जान्ने भएछ भन्दा खुट्टा भुँईमा हुदैन थियो ।’ आफ्नो प्रगतिदेखि आफैं मख्ख ।  

  यसै उसै परिक्षामा राम्रै अंक ल्याएर कक्षा छमा प्रवेश गरियो । प्रगति अंग्रेजीको आफ्नै रफतारमा थियो । अंग्रेजीको ब्द्यऋम् वा (Ka) (क),(Kha) (ख), (Ka) (क),(Kaa) (का) (Ki) (कि) हुँदै अंग्रेजी शब्दअर्थ भनुँ न अंग्रेजीको माने पनि धेरै जान्न थालेको थिए । अरुको नाम लेख्न मलाई औधी मन पर्थ्यो अंग्रेजीमा । अंग्रेजीको क,का, कि की लाई आधार बनाएर अरुको नाम लेख्न गर्थें अंग्रेजी मास्टरले धेरै चोटी धन्यवाद दिनु भएको थियो । गजक्क थिए अंग्रेजी जानेकोमा अनि मलाई गाह्रो लाग्ने भनेको अंग्रेजीका लामा शब्दहरू उच्चारण गर्न धेरै गाह्रो लाग्थ्यो तर पनि मिलाएर उच्चारण गर्ने कोशिश गर्थें । लामा शब्दहरू लाई दुई भाग गरेर उच्चारण गर्थे र सही शब्द खोजी गथें । मलाई अंग्रेजी नशा लागेको थियो । बाटोमा कहिं अंग्रेजी लेख्रिएको कागज बा अखबारका टुक्रा देखें भने पनि टिपेर पढ्थें । अनि कहिले काँही आमासँग शहर जाँदा पसलको साइनबोर्डमा अंग्रेजी अक्षर पढेर बुझ्ने कोशिश गर्थे । नशा अंग्रेजी पढ्ने अनौठो नशा जेहोस अंग्रेजीमा राम्रै प्रगति थियो ।

  प्राय प्रत्येक बर्ष दार्जिलिङ्ग तिरबाट काका, काकीका साथमा कोही छोरा वा छोरी लिएर जाडोको महिना पारेर आउनु हुन्थ्यो । एउटा काकाको छोरा थियो मेरो उमेरको । सायद दुई चार महिनाको जेठो कान्छो थियौं हामी । म दाइ ऊ भाइ । ऊ हाम्रो घर आउदा मेरो त संसार नै रमाईलो हुन्थ्यो । उसको र मेरो धेरै कुराहरू मिल्थ्यो । यसपाली ऊ आउँदा ऊसँग केही अंग्रेजीमा कुरा गर्छु भन्ने सोचेको थिएँ । आफूलाई जान्ने देखाउन होइन अभ्यासको लागि । ऊ त सानैबाट अंग्रेजी पढेको हुनाले धेरै नै जान्ने थियो । फर्रर बोल्थ्यो । ठयाक्कै काका काकीसँग उही नै आयो । मेरो ढुंगाको वदला देउता मन त्यसै फुरुङ्ग । हामी खेल्थ्यौ सँगै कुरा गथ्यौं  धेरै हसाउथ्यो । धेरै चुटकिला भन्थ्यो । एकदिन हामी अंग्रेजीमै कुरा गरिरहेको थियौं मैले सोधें, “पछि पढेर के बन्छस भाइ ?”

“म त पाइलट बन्छु  अनि तिमी के गर्छौ दाजु ?” उसले सोध्यो ।

“म त बसाइनेस गर्छु ।”

ऊ छक्क पर्यो, मलाई हेरिरह्यो, “के हो त्यो भनेको दाजु ?”

“त्यति पनि बुझिनस खुब अंग्रेजी जान्ने ।” मैले उसलाई पराजित गर्न खोजें ।

“अह बुझिन; के हो भनन ।”

“व्यापार गर्छु भनेको क्या।”

ऊ हाँस्यो मज्जाले हाँस्यो, पेट मिचीमिची हाँस्यो । उसले भन्यो, “दाजु त्यसलाई अंग्रेजीमा लेख त मैले लेखिदिएँ Business।”

ऊ फेरि हाँस्यो झन मज्जाले: “दाजु त्यो बिजनेस हो के । कसरी हुन्छ?”

मैले जिद्दी गरें।

“कसरी हुन्छ मलाई थाहा छैन तर विजिनेस नै हो के दाजु ।”

“मैले भने हेर भाइ बसआइनेस नै हो यसरी Bus (बस)  Iness (आइनेस): बसआइनेस ।”

ऊ झन हाँस्यो, दा”जु होइन के पछि तिमीलाई थाहा हन्छ ।”

मेरो एउटा राम्रो बानी थियो म अरुलाई धेरै कुरा सोध्दैनथें आफैं जान्ने कोशिस गर्थे । आफ्नो काम आफै गर्नुपर्छ भन्ने गुरु आज्ञा ममा सवार थियो ।

  यसै दिन बित्दै थियो । काकाहरू दार्जिलिङ्ग फर्किने बेला भयो । मैले आमालाई फकाए काकाहरूसँग जान्छु भनेर । मैंले जिद्धी गरिरहेपछि बाउले पनि जान देऊ न त भन्नु भयो । म खुशी थिए काकाहरूसँग जान पाएकोमा यो तेश्रो पल्ट थियो म दार्जिलिङ्ग गएको । जाँदा भारतको ठूलो शहर सिलिगुडी भएर जानु पर्थ्यो । त्यहीबाट दार्जिलिङ्ग जाने गाडी चढ्नु पर्थ्यो । दार्जिलिङ्ग जाने बसस्टपमा पुगियो त्यसवेला अहिलेको जस्तो गाडी प्रसस्त थिएन आधा घण्टा जति गाडी कुर्नुपर्ने भयो । हामी गफ गरेर वस्न थाल्यौं तर मेरो नजर अनि मगज भने ठूला ठूला पसलमा टाँगिएको साइनवोर्डमा लेखिएको अंग्रेजी अक्षरहरू पढनमा व्यस्त थियो ।

अचानक भाइलाई कोट्याएर भने, “भाइ टेलेफ भनेको के हो ?”

“खै के टेलेफ?” उसले मलाई नै सोध्यो। मैले बोर्डतिर देखाएँ, “त्यहा लेखेको छ वान भनेको त बुझें १ तर टेलेफ भनेको बुझिन।”

हाँस्यो भाइ फेरि मज्जाले। “दाजु के अब, सकिन्न तिमीलाई । त्यो टेलिफोन हो के । मैले त यसरी पढेछु Teleph (टेलेफ) one (वान)।”

मेरो पनि पढाइ बेठिक छ जस्तो मलाई लागेन । फेरि अलिपर अर्को पसलमा टाँसिएको अक्षरहरूतिर देखाएर भन्ने, “ऊ त्यो रातो अक्षर पढ त दाजु ।”

मैले पढे Sale (साले) झन हाँस्यो मेरो दार्जिलिङ्गे भाइ । “दाजु त्यो साले होइन भाले पनि होईन सेल हो सेल।”

मलाई लाज पनि लाग्यो । एकमनले सोचे मेरो पढाइ पनि ठिकै छ नी तर पनि ऊ मभन्दा जान्ने भएकोले उसैको कुरा ठिक लाग्यो । मैले सोधें “सेल भनेको चाहिं के नि ? सेलरोटी पाउने ठाउँ हो ?”

भाइले हाँसेर भन्यो, “होईन दाजु सेल भनेको सधैं बेचिएको मोल भन्दा कम मोलमा दिने भनेको के ।”

ए मैले टाउको हल्लाए धिक्कारे आफ्नो अंग्रेजीलाई ।

  करिव दुई महिना दार्जिलिङ्ग बसें । कति रमाईलो साँच्चै भनु भने घर फर्किन मन नै लागेको थिएन । वालमन हो जहाँ रमाइलो त्यही संसार, त्यहि घर, त्यही सबथोक ।  मैले धेरै मेहेनत गरेर भाइसँग अंग्रेजी सिके । भाइ पढ्ने स्कूल पनि गएँ दुईचार दिन् ।  

अंग्रेजी शब्दहरू कसरी उच्चारण गर्ने भन्ने कुरा सिकें । दुई महिनाको यो मेरो धेरै ठूलो प्रगति थियो । घर फर्किए पछि भोलिपल्टबाट नै स्कूल गएँ । सरहरूबाट धेरै गाली खाएँ धेरै दिन स्कूल नगएकोमा। तर म भित्र भित्रै मख्ख थिएँ अंग्रेजी जानेकोमा । म दार्जिलिङ्गे भाइको स्टाइलमा जानी नजानी अंग्रेजी मिसाएर बोल्ने बानी बसाल्न कोशिस गर्न थालें । साथीहरूले छेड हान्थे, ओभर देखाउछ भन्थे । मैलै पनि तिनीहरूलाई उल्टा सोध्थें ओभरको अर्थ थाहा छ भनेर । धेरैलाई थाहा नभए पनि बोल्न सजिलो थियो यो शब्द ।

  आज अंग्रेजी कक्षाको माने लेखाउने पालो थियो । सरले जति माने लेखाउनु हुन्थ्यो भोलिपल्ट कण्ठ नगरे घोक्रे ठयाक लगाई हाल्ने । अनि खुट्टामुनिबाट हात छिराएर कान समातेर कुखुरा बन्न पर्ने । तर मलाई समस्या थिएन याद गर्थे । सरले अंग्रेजी माने लेखाउन शुरु गर्नुभयो ।

Cow काउ (गाई), Hill हिल (पहाड), River रिभर (नदी), Nature। सर एकछिन रोकिनु भयो एकछिन सोचेर फेरी लेख्नु भयो नेपाली अर्थ: नटुरे – प्रकृति ।
 हा…….हा……हा… “नटुरे” मैले आफ्नो हाँसो थाम्न सकिन। मैले दार्जिलिङ्गे भाइको स्टाइल मै हाँसे । मैले पनि यसलाई त्यसरी नै उच्चारण गरेको थिए पहिला अनि ऊ मैले हाँसे जस्तै हाँसेको थियो । म हाँसेको देखेर सबै छक्क परे । सरले छक्क परेर हेर्नु भयो रिसले आगो हुँदै सोध्नु भयो । “ए के भयो तँलाई हँ ?”

मैले फेरि हाँस्दै भनें, “सर त्यो नटुरे हैन नेचर हो ।”

“हैन त जान्ने हुन्छस् । तँ टिचर कि म हँ ?”

सरले दुई चडकन दिएर तोरीको फूल देखाई दिनुभयो । यति जोडले हिर्काउनु भयो कि मैले आफ्नो रुवाई रोक्न सकिन । मैले रुँदै फेरि जिद्दी गरें, “सर त्यो नेचर नै हो ।”

“बोल्छस्! अँझ सिकाउँछस!”

मलाई फेरि चड्कन थपियो । म बस्न सकिन कक्षाभित्।र घर जान भनेर कक्षाबाट निस्किए । हल्ला खल्ला भएकोले के भएछ भनेर हेडसर पनि आउनु भयो । हेडसरले मलाई सम्झाउनु भयो, “हेर बिर्खुराम तैंले पनि सरको मान राख्नु पर्छ, अनुशासित हुनुपर्छ, आज्ञाकारी हुनुपर्छ, गुरु आज्ञालाई सिरोधार्य गर्नुपर्छ । एकदुई चड्कन सहनु पनि पर्छ, यो सब तिमीहरूको फुटुरे राम्रो होस भनेर त हो ।”

म हेडसरले बोलेको शब्द सुनेर रुँदा रुदै खिक्का छोड्न पुगे । ‘फुटुरे’ मैले पनि शब्द दोहोरयार फेरि हाँस्न मन लाग्यो । मन मन धन्यवाद दिए मिष्टर नटुरे (Nature) अनि हेडसर मिष्टर (Future) अनि जानेर जानी नसकिने अंग्रेजी ।      

‘युग’
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *