Skip to content

जीवनलाई विसङ्गतिमयरूपमा साहित्यमा व्याख्या गर्ने परम्परा विश्वमै धेरै पुरानो हो । ठूलाठूला महाकाव्य र ग्रन्थहरू यसै मान्यतामा लेखिएको भेटिन्छन् । ग्रीक मिथक सिसिफसको कथा विसङ्गतिको प्रतीक हो जसको अत्यधिक प्रयोग नेपाली साहित्यमा पनि भएको छ । यो हो साहित्यको कुरा तर जीवनको व्यवस्था नै विसङ्गतिमय ढाँचामा गरिएको छ । यो कुरा ज्यादै कम चर्चामा आउँछ । यो कुराको केही उल्लेख कर्ण शाक्यले आफ्नो ‘सोच’ पुस्तकमा गरेका छन् उनी दुःख नभई सुखको अनुभव नै नहुने कुरामा विश्वस्त छन् । जीवनको ढाँचालाई विसङ्गतिको साँचोमा ढालिएको पक्कै हुनुपर्छ । जब सङ्गति नै सङ्गतिमा जीवन चल्न थाल्छ मानिस आफैँले विसङ्गति खोज्न थाल्छ ।
मेरो साथी निर्मला भन्ने गर्थी- दुःख पाएकोले सुख खोज्छ, सुख पाएकोले भीर खोज्छ । हो, यही हो मान्छे आफैँले पनि विसङ्गति खोज्नु भनेको । त्यसैले मलाई अहिले लाग्दैछ संसारमा यति धेरै दार्शनिकहरू र साहित्यकारहरूले किन जीवन विसङ्गतिमय भएको दुखेसो पोखिरहन्छन् । उनीहरू किन बुझ्दैनन् नि मानिसहरूले दाल, भात, तरकारी, अचार सधैँ खान पाइनै रहृयो भने उसले आफैँ नै अर्को एउटा टर्रो वा तीतो स्वादको खाना थप्न चाहन्छ । के ती स्वादिला खानाहरू माथि टर्रो तीतो स्वादको खाना थप्न विसङ्गतिको खोजी हैन ?
हो ! यस्तै जीवनका सङ्गति र विसङ्गतिको प्रसङ्गले मलाई आफ्नै जीवनको विगततिर छलाङ्ग मार्न मन लाग्दैछ । करिब पच्चीस वर्ष अगाडिको घटनाहरू जुन सङ्गतिमय थिए वा विसङ्गतिमय थाहा छैन । हुनसक्छ आफैँ रोजेका विसङ्गतिहरू थिए ती, हुनसक्छ दार्शनिकहरूले व्याख्या गरेजस्तै विसङ्गतिमय जीवनका खुट्किलाहरू थिए ।
आजभन्दा पच्चीस वर्ष अगाडिको दुर्गम पहाडी गाउँ, मध्यपश्चिमको एउटा जिल्ला सल्यानबाट काठमाडौँको यात्रा त्यो पनि शिक्षाको खोजीमा । त्यतिबेलाको यातायातको सुविधाविहीन कठिन भौगोलिक अवस्था र छोरी/केटीप्रतिको पारिवारिक र सामाजिक कठिन दृष्टिकोण । यी दुवै पक्ष त्यत्तिकै असहज थिए । काठमाडौँमा कसले व्यवस्थापूर्वक राखिदिने अर्को टन्टा । किन गाउँमै नबसेको, किन सहर आउनु परेको, उच्चशिक्षा नै किन पढ्नु परेको आमाबाले नजाउ त भन्नुभएकै हो, दुःख पाउली त भन्नु भएकै हो ।
हो ! यस्तै सन्दर्भमा भनेकी थिई निर्मलाले दुःख पाएकोले सुख खोज्छ, सुख पाएकोले भीर खोज्छ ।
काठमाडौँ आएपछि मैले थाहा पाएँ मजस्ता भीर खोजुवाहरू यहाँ धेरै रहेछन् । म एक्लो होइन रहेछु । मजस्ता धेरै अरू साथीहरू रहेछन् जो परिवर्तनको खोजीमा हिँडेका छन् । पद्मकन्या कलेजमा बिहानी समूहको स्नातक तहमा भर्ना भएकी थिएँ, त्यहाँ त मजस्ता पहाडी दुर्गम ठाउँबाट पढ्न आउने महिलाहरू धेरै रहेछन् । हामी प्रमाणपत्र तह जसोतसो प्राइभेट वा आफ्नै गाउँठाउँमा खुलेका महाविद्यालयबाट पूरा गरेर आएका महिलाहरू एकै समूहमा आबद्ध भयौँ । एकै अवस्थाका एकै खाले समस्याहरूबाट गुजि्ररहेको पद्मकन्या कलेजका छात्राहरू । एकाबिहानै कलेज जानु, डेरा खोज्नु अनि काम खोज्ने गरी सुरुका दिनहरू बितेका थिए ।
मध्यमवर्गीय परिवारका सदस्य भए पनि काठमाडाँैको खर्च थेग्न सबैका अभिभावकहरू प्रायः असमर्थ थिए । त्यसमा पनि तत्कालीन समयमा छोरी माथिको अनुत्पादक, लगानीप्रतिको चर्को उदासिनता अर्कोतर्फ छँदै थियो । त्यसैले हामी प्रत्येक जनाले बिहान कलेज धाउँदै दिउँसो भरथेक काम गर्न थाल्यौँ । त्यति बेलाको सञ्चारको माध्यम भनेको एउटा आ.वा. मात्र थियो । घरमा खबर गर्न र घरको खबर बुझ्न धौधौ । घर र बाबुआमा, भाइबहिनी छोड्ने बानी नपरेका हामीहरू घर सम्झेर बेला-बेलामा हिरिक्क हुने गर्थ्यौं । हामीमध्ये पदमा अलि बढी अनुभवी, रुक्मिनी धैर्यशील, इन्दिरा सहनशील, उर्मिला क्रियाशील र म गम्भीर मुडमा बस्न मन पराउने । हामी एउटै कक्षामा अध्ययन गर्थ्यौं । हाम्रा अपेक्षा र जिज्ञासा अध्ययन गर्थ्यौं । हाम्रो अपेक्षा र जिज्ञासाभन्दा शिक्षकका प्रवचन र पाठ्यक्रम केही कम र भिन्न भएको हामी टिप्पणी गर्थ्यौं । सायद यसको कारण हामी ठूलै माछा पकड्ने जिज्ञासाले हिँडेका थियौँ अर्थात् हाम्रो लगानी र सङ्घर्षको तुलनामा उपलब्धिबाट हामी सन्तुष्ट थिएनौँ ।
एक दिन मैले हाम्रो ज्ञानको स्तरबारे टिप्पणी गरेँ- हाम्रो ज्ञानको स्तर अपेक्षित भन्दा न्यून छ । इन्दिराले सुझबुझपूर्वक जवाफ दिई- केही हाम्रा आफ्नै कमजोरी केही केही कलेजको व्यस्थापन पक्षको लापरवाही र शिक्षकको गैर जिम्मेवारीले यसो भएको होला तर हामी त स्नातक तहका विद्यार्थी हौँ नि । उसलाई स्नातक तहको विद्यार्थी हुन पाएकोमा साँच्चै नै गर्व थियो । त्यसमा पनि हामी सबै पद्मकन्या कलेजको पोशाक जोगिनी रङको साडी लगाउन पाएकोमा मख्ख परेका थियौँ ।
हामीलाई पद्मकन्या कलेजको होस्टेलको सुविधा दिइएन किनभने हामी काम गर्थ्यौं । होस्टेलमा बस्नलाई काम गर्न नपाइने नियम थियो । त्यसैले जसका अभिभावकहरू आर्थिक भार थाम्न सक्षम थिए उनीहरू होस्टेलमा बस्न पाउँथे । हामी काम खोजेर हिँड्नेले डेरा पनि खोजेर हिँड्नुपथ्र्यो । एउटा सानो कोठाभन्दा बढी भाडामा घर लिन सक्ने औकात कसैको पनि थिएन । त्यतिबेला बस भाडा एक रुपियाँ थियो । बागबजार क्याम्पस जानलाई बस चढेर एक रुपियाँ खर्च गर्नु नपर्ने ठाउँमा पायक पारेर हामीले डेरा खोजेका थियौँ । त्यसैले हामी बसेको धोविधारा, डिल्लीबजार र पुतलीसडकका छेउछाउ थिए । म धोविधारास्थित एउटा पसल भएको घरको माथिको तलाको एउटा कोठामा बस्थेँ । यो एउटा कोठाको बसाइ पनि सायद त्यतिबेलाको विद्यार्थी जीवन हेर्दा भाग्यशाली अवस्था नै थियो । यो सङ्घर्षको परिणाम त छँदै थियो त्यसमा पनि अविभावकको भरथेक आर्थिक र नैतिक समर्थनलाई पनि सानो कुरा मान्न सकिँदैन ।
गाउँमा दाउरा बालेर खाना पकाउने गरेको बानी । काठमाडौँमा स्टोभ बाल्न अभ्यस्त हुनुपर्‍यो । केही सिल्भरका भाँडाहरू, पानी राख्न एउटा बाल्टिन र भाँडा माझ्न एउटा बाटा राख्ने चल्न थियो, प्रायः हामीजस्ता विद्यार्थीहरूको । स्टोभको धूँवा भरिएर कोठा कालै हुन्थ्यो, लुगा कालै हुन्थ्यो । धुनलाई पानीको अभाव । काठमाडौँको जाडो र बिहान छ बजे नै कलेज भ्याउनुपर्ने बाध्यता । विद्यार्थीहरू बिहान छ बजे नै पनि कपालमा केहीले बाह्रवटा चुल्ठो बाट्न भ्याउँथे रे आइरन गरेर चिटिक्क परेको साडी लगाएर आउँथे । क्यान्टेनमा चिया नास्ता खानु र साथीहरूसँग रमाउँदै झुण्ड बनाएर बागबजारको फुटपाथभरि छोपेर हिँड्नु उनीहरूको शौख हुन्थ्यो । आफूलाई त आइरन किन्ने आर्थिक क्षमता कहाँ पाउनु । भैहाले पनि बेलुका दसै बजे कोठामा एउटा मात्र बल्ब पनि मेन स्वीच अफ गरेर निभाइदिने घरपट्टहिरू भएको घरमा साडीमा आइरन गर्नु त परैको कुरा । एउटा मात्र साडी छ । स्टोभको कालो बस्छ, छोयो सुक्दैन । दस ठाउँ खुम्चिएको साडी त्यसमा पनि मैलो लगाएर कलेज जाँदा एकतमासको हीनताबोधले सताउँथ्यो । क्यान्टेनमा चिया नास्ता खानु र मस्तिले रमाएर हिँड्नु त परैको कुरा ।
एक दिन जाडो समयमा स्वर्गीय रानी ऐश्वर्यको कलेजमा सवारी थियो । कलेज फूलमालाहरूले सजाउन धुमधामको तैयारी गरिएको थियो । सबै छात्राहरू कलेज पोशाकमा उपस्थित हुनुपर्ने थियो । सायद उर्मिलाको साडी साह्रै मैलो थियो क्यारे, धोइछ, सुकेन । पुस-माघको जाडोमा चिसो साडी लगाएर ऊ बिहानै कलेज आएकी थिई । यो सम्झँदा मलाई अहिले पनि जाडो जाडोको अनुभव भएर आउँछ ।
दसँैमा घर जानु हामीहरूलाई अनिवार्य जस्तै हुन्थ्यो । यद्यपि यो कुरा त्यति सजिलो भने थिएन खै किन हो कुन्नि दसैँमा घर जानै पर्ने । न बसको टिकट सजिलोसँग पाइन्छ न प्लेनको । तैपनि तँछाडमछाड गर्‍यो, दौड्यो । मेरो जन्मथलोसम्म पुग्न दाङ तुल्सिपुरबाट ६५ किलोमिटर पैदल हिँड्नुपथ्र्यो त्यतिबेला । म एकै दिनमा पुग्थेँ बिहान ५ बजे नै हिँडेर साँझसम्ममा लामो र विकट बाटो खुट्टामा गतिलो जुत्ता छैन । खुट्टाभरि फोकैफोका हुँदा पनि नहिँडी धरै थिएन घर पुग्नलाई । घरबाट एक जना मानिस आएको हुन्थ्यो साथी, झोला बोकिदिने । घर पुग्दा बेग्लै रौनक, थकाइ त्यसै मर्ने । कमसेकम न्युरोडको गुदपाक त लिएरै गइन्थ्यो । भाइबहिनीदेखि छिमेकीसम्मले एक एक टुक्रा भए पनि लुछाचुडी गरेर खान्थे ।
पछिपछि बाटो विस्तारै बन्न थाल्यो, ट्याक्टरसम्म चल्ने । अनि ट्याक्टरको हुटमा लिफ्ट मागेर चढ्थ्यौँ । एक पटक ट्याक्टर चढेर दाङ झर्दै गर्दा कपरकोटमै रात पर्‍यो । सबै त्यहीँ बास बस्न थाले । मलाई पनि त्यहीँ बास बस्ने बाध्यता आइलाग्यो । एउटा होटलमा बास बसेँ । खाना त जसोतसो खाएँ तर सुत्ने कसरी ? ठाउँ छैन । लुगा छैन । साहुनीसँगै सुत्नु पर्‍यो । उनको ओछ्यानको कपडाको रङ र गन्ध दुवै छुट्याउन गाह्रो गाह्रो थियो । केको सुगन्ध वा दुर्गन्ध आएको हो थाहा भएन । मुखसम्म सिरक आउला भन्ने डरले सतर्क भैरहन्थँे । मलाई अहिले पनि त्यो गुन्द्रुक, सिन्की वा तामा मिसिएजस्तो दुर्गन्धको अनुभव सम्झना भइरहन्छ ।
यसरी हामी राजधानी र घर आउने जाने गर्थ्यौं । कठिन थिए दिनहरू तर अहिले सम्झँदा मात्र त्यस्तो लाग्छ । त्यतिबेला त्यो सङ्घर्षमा दुःखको अनुभव थाहा हुँदैनथ्यो किनभने विकल्पको जानकारी थिएन । यदि परिवर्तन प्रगतिलाई आत्मसात् गर्ने हो भने त्यो सङ्घर्षको विकल्प नै थिएन । अहिले विकल्पहरू धेरै छन् । यद्यपि समस्याका स्वरूपहरू फेरिएका होलान् । सङ्घर्षका बाटाहरू फेरिएका होलान्, चुनौतीहरू फेरिएका होलान् । परिवर्तनलाई आत्मसात् गर्ने जो कोहीले निर्मलाले भनेजस्तो भीर त खोज्नैपर्ने रहेछ । जीवन विसङ्गतिको ढाँचामा ढालिएको रहेछ र ती विसङ्गतिहरूमा सङ्गति खोज्नुपर्ने नै रहेछ आफूलाई चलाएमान बनाउन । यदि आफूले जीवनलाई सङ्गतिमय बनाउन प्रयास गरे पनि यो आफैँ विसङ्गतिको बाटोमा हिँडिरहन्छ निरन्तर । यो प्राकृतिक नियम नै पो हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *