Skip to content

शीर्षक के हो ? (मुना २०६६ असोज )

  • by

मिहिनेतपूर्वक पढेर कोही डाक्टर भए त कोही इञ्जिनियर र कोही हाकिम भए । अर्थात् उसका सबै साथीहरू जागिरे भए । उसले पढाइमा ध्यान दिएन र खराब सङ्गतमा लागेर उर्वर समय त्यत्तिकै खेर फाल्यो । कति वर्ष परीक्षा दिँदा पनि रमेशले एसएलसी पास गर्न सकेन । पढ्न नसकेकाले उसले जागिर त पाएन, विवाह समेत हुन सकेन ।
रमेशको चाला देखेर बा-आमा पनि दिक्क हुनुभयो । रमेशलाई बाले दस हजार रुपियाँ दिँदै भन्नुभयो- “यो पैसाले केही व्यापार गरेर निर्वाह गर ।”
त्यो पैसा हातमा खेलाउँदै एकक्षण त रमेश किंकर्तव्यविमूढ भयो । कहँा गएर के गर्ने भन्ने कुराको उसले निर्णय गर्नै सकेन ।
केहीक्षणको घोत्लाइपछि रमेशले खसी खरिद-बिक्री गर्ने विचार गर्यो । छिमेकी गाउँतिर खसी खरिद गर्न हिँड्यो । पाँच हजार रुपियाँ पर्ने कालो खसीलाई दस हजार रुपियाँ बुझाएर किन्यो । एउटा डोरीले बाँधेर डोर्याउँदै खसी बेच्न रमेश बजारतिर लाग्यो ।
एक हूल ठगहरूले खसी ल्याउँदै गरेको रमेशलाई परैबाट देखे । ठगहरू हत्तपत्त सल्लाह गरे र एउटा निचोडमा पुगे । अनि ती दसजना ठग बीस-बीस मिटरको फरकमा बाटोको छेउमा उभिएर बसे । पहिलो ठगले रमेशलाई भन्यो- “ओ दाइ ! यो कुकुर कहाँ लग्नुभएको ?” “यति राम्रो खसीलाई कुकुर देख्ने अन्धा !?” भन्दै रमेश अगाडि बढ्यो ।
अलिक अगाडि पुगेपछि रमेशलाई दोस्रो ठगले भन्यो- “यस्तो भुस्याहा कुकुरलाई किन डोर्याउनुभएको ?”
रमेशलाई निकै रिस उठ्यो र शब्दवाण हान्यो- “खसी र कुुकुर पनि नचिन्ने कस्तोमूर्ख मान्छे !”
अलिकपर पुगेपछि फेरि तेस्रो ठगले भन्यो- “यो कुकुर त बौलाए जस्तो छ, दाजु !” यसपटक भने रमेशलाई आफ्नो खसीप्रति आशङ्का पैदा भयो । खसीतिर हेर्दै उसले मनमनै भन्यो- ‘कि यो कुकुर नै हो !’ उसलाई दस हजारको आफ्नो खसी कुकुर-कुकुर जस्तै लाग्यो ।
द्विविधामा पर्दै रमेश बजारतिर जाँदै थियो । यत्तिकैमा चौथो ठग बोल्यो- “यो कालो कुकुर त राम्रै रहेछ तर यस्तो सिङ उम्रेको कुकुर अलच्छिन हुन्छ ।”
झसङ्ग हुँदै रमेशले आफ्नो खसीलाई नियालेर हेर्यो । उसले त्यसलाई दुरुस्त कुकुर नै देख्यो । पल्लो गाउँका सुब्बा बाजेको काले कुकुरजस्तै लाग्यो । अनि त्यो खसीलाई त्यहीँ छाडेर रमेश घरतिर फर्कियो ।
आफ्नो योजना सफल भएकोमा खुसी हुँदै ठगहरूले खसी समाते र गाउँमा लगेर काटेर खाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *