Skip to content

उनलाई पूर्वमन्त्री कसैले भन्दैनन्

चेतनशील र संवेदनशील व्यक्ति जो कसैलाई पनि कुनै पनि महान्् व्यक्तिको जीवनी कौतुहलको विषय हुन्छ । त्यस्तो महान्् व्यक्तिको भोगाइ, रोजाइ र सोचाइको विषय सार्वजनिक चासोको विषय बन्दछ ।

महाकवि देवकोटाको बारेमा भन्नुपर्दा पनि हामी त्यही निष्कर्षमा पुग्दछौं । जुन एउटा महान्् व्यक्तिको बारेमा भन्ने गरिन्छ । ऊ समयको कुनै कालखण्डभित्र सीमित हुँदैन, ऊ सदैव मानव कौतुहलताको केन्द्र हुन आफ्नो विशिष्ट प्रतिभा, गहन चिन्तन दर्शन कालजयी कृतिका कारण देवकोटा पनि समय र भूगोलसँग आबद्ध छैनन् । त्यसैले जुनसुकै बेला र जहाँ कहीँ पनि उनका बारेमा जिज्ञासा प्रस्फुटित हुन्छ र समालोचनात्मक विचारविमर्श हुन्छ । वास्तवमा भन्ने हो भने नेपाली जनताले विश्वसामु नाक ठाडो पारेर गर्वसाथ नाम लिनसक्ने महान्् व्यक्ति हुन् देवकोटा । यस्ता व्यक्तिको जीवनमा घटेका त्यान्द्रो घटना पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले सानै भए पनि महत्त्वपूर्ण हिस्सा बनेको देवकोटाको राजनीतिक पक्ष त झन् कम महत्त्वपूर्ण हुने कुरै भएन ।

देवकोटाको विराट्पक्ष साहित्य भए पनि उनी राजनीतिबाट अलग हुन सकेनन् तर उनको राजनीतिक कुनै वाद वा तप्कासँग गाँसिएर उजागर भएको राजनीति थिएन । उनको विशिष्ट व्यक्तित्वले राजनीतिमा खँदिलो प्रभाव पार्न सक्छ भन्ने दृष्टिकोण उनलाई राजनीतिमा समावेश गराउने उद्देश्यभित्र अन्तर्निहित थियो ।

उनको साहित्यिक कर्मक्षेत्रमा कसैको प्रेरणा र प्रभाव खासै महत्त्वपूर्ण रहेको देखिंदैन । उनले कसैको लेख रचनाको बौद्धिक शोषण गरेनन् । उनी पाश्चात्य महाकवि सेलीको बारेमा भने जस्तै कविताहरूमा त्यसरी नै ओकल्थे जसरी फूलहरू सुगन्ध सुवास ओकल्छन् ।

उनी आफ्नो विद्वत्ता दर्शाउन कसैसँग पछि हट्दैनथे डराउँदैनथे । विशेष उनी राणाहरूको शेखी झार्न तम्सन्थे । कुनै एक दिनको कुरा हो पुष्कर शमशेर र बालकृष्ण शमशेर दाजुभाइ सँगै भएको बखत कुरै कुरामा ”म दिनभर श्लोकमा नै कुरा गर्नसक्छु, नेपाली महाकाव्य एक दिनमा तयार गर्न सक्छु” आदि भावना बालकृष्णसँग व्यक्त गर्दा पुष्कर शमशेरले भाइको अगाडि मेरो मानमर्दन गर्ने तिमी को हौ ? भनी हप्काउँदै लौ त ! हेरौं एक दिनमा होइन दश दिमा महाकाव्य लेखेर देखाऊ, खरो आज्ञा हुँदा देवकोटा लेख्न बसे । त्यो हो दश दिनमा तयार भएको ”सुलोचना महाकाव्य” ।

निश्चय नै राजनीतिमा देवकोटाको संलग्नता कम आँकलन गर्ने खालको थिएन । उनी भीमशमशेरको शासनकालमा पुस्तकालय स्थापना गर्न खोज्दा थुनिए । तत्कालीन गोर्खा परिषद् पार्टीको उद्घाटन गर्न गए, काङ्ग्रेसको मुखपत्र युगवाणीको सम्पादक भए, मुख्य सम्बन्धित ठाउँको आदेश नलिइकन शीर्षस्थ अफ्रो एसियाली सम्मेलनमा भाग लिन गए, मातृकाप्रसाद कोइरालाको पक्षमा नेपाली काङ्ग्रेसको तेस्रो दरभङ्गा अधिवेशनमा भाग लिए, राजा त्रिभुवनको शासनकालमा सल्लाहकार सभामा मनोनीत भएर बसे, डा. के. आई.सिंहको मन्त्रीमण्डलमा शिक्षामन्त्री पनि बनाइए । यी यस्ता राजनीतिक क्रियाकलापहरू हुन् जसलाई राजनीतिज्ञ व्यक्तित्वहरूले सजिलै बेवास्ता गर्न सक्दैनन् । त्यसैले देवकोटालाई राजनीतिमा तान्ने प्रयास बेलाबेलामा भइरहन्थे । तर वस्तुगत भएर सोच्ने हो भने के निष्कर्षमा पुग्न सकिन्छ भने देवकोटा राजनीतिमा तानिनुको प्रमुख कारण उनको अग्लो कदको प्रखर व्यक्तित्व नै थियो ।

देवकोटालाई राजनीतिमा तान्नु सबैको आआफ्नो स्वार्थ थियो । कसैले निहित स्वार्थको लागि ताने, कसैले राम्रो नीति बनाएर देशलाई सुनिश्चितता दिने प्रयासको लागि ताने । सारांशमा भन्नुपर्दा देवकोटाको पछिपछि राजनीति लाग्यो । उनी राजनीतिमा राजनीतिक झण्डा हालेर लागेका होइनन् । झण्डा हालेर हिँडेनन् । उनको विराट् व्यक्तित्व निर्माण गर्ने तरङ्ग, लहर मानवीय गुणले भरिपूर्ण र चेतनामा विद्युतीय प्रवाह पैदा गर्ने सशक्त उनका कृतिहरू निबन्ध, काव्य, महाकाव्य नै हुन् । त्यही फाँटले नै उनलाई अजर अमर गरायो । उनलाई सबैले महाकवि नै भन्छन् । भू.पू. मन्त्री कसैले भन्दैनन् ।

प्रारम्भिक जीवनमा उनको साहित्यिक चिन्तन थियो । “घनघोर दुःख सागर जान भाइ, नगरे घमण्ड कहिल्यै मर्नुछ हामीलाई” अनि जीवनमा विभिन्न आरोह अवरोहको सामना गर्दै साहित्यिक ऊर्जा थप्दै गए । अन्तिम अवस्थामा साहित्यिक शङ्खघोष नै गरे । उनको साहित्यिक शङ्खघोषको मापदण्ड अनुसार नेपाली राजनीतिज्ञहरूले काम चलाए भने जर्जर नेपालको जीर्णोद्धार समयमै हुने थियो ।

आखिरमा उनलाई क्यान्सर रोगले धेरै सतायो । उपचारको निमित्त तत्कालीन शान्तभवन अस्पताल पुर्‍याइए । चिकित्सकहरूले उपचार सफल गराउन सक्दो प्रयास गरे । सफल हुने लक्षण नदेखिँदा चिकित्सकको अनुमतिमा हिन्दु संस्कार अनुसार पूजापाठ गराउन पशुपति आर्यघाट ल्याइए । मृत्युशय्याबाट नेपाली साहित्यकारहरूलाई दिएको सन्देशमा देवकोटाको भनाइ थियो ः

“नवयुवकबाट नै नयाँ जीवनको सञ्चार हुन्छ । नयाँ जीवनको प्रादुर्भाव हुन्छ, नयाँ सन्देश देखिन्छ र नयाँ नेपालको नवनिर्माण गर्नुछ । “

“आफ्नो दिलोज्यान दिएर नयाँ नेपाल निर्माण गर्नमा यहाँहरूले कुनै कसर राख्नुहोला जस्तो मलाई लाग्दैन ।”

“आफ्नो आर्य सभ्यता, संस्कृति अथवा निज निज जातिको सभ्यता संस्कृतिको लागि नेपालीपन बढाएर साहित्यलाई प्रगति दिनुहोला र साहित्यद्वारा मनुष्यको चेतना बढाएर फेरि ज्योति त्यो झुल्काइदिनुहोला । मेरो अन्तिम सन्देश साहित्यिक बन्धुप्रति यत्ति हो ।”

नयाँ नेपाल निर्माण गर्न लागि परेका आजका राजनीतिज्ञ र साहित्यकारहरूलाई योभन्दा सुझबुझको अर्को सन्देश के नै हुनसक्छ र ?

1 thought on “उनलाई पूर्वमन्त्री कसैले भन्दैनन्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *