Skip to content

चानचुन दुई सय वर्षअघि, भूतलको सामाजिक मानचित्रमा, कतै दूर एकलासमा एउटा टापू देश थियो । त्यो टापू देशको सनातन परम्परामा अतार्कितालाई तर्कसङ्गति, अन्यायलाई न्याय र बेथितिलाई थिति मान्ने रीत थियो । त्यस टापूमा कार्य-कारण सम्बन्धका आधारमा कुनै पनि घटनाको पूर्वानुमान गर्नु असम्भवप्रायः थियो । त्यहाँ अकल्पनीय घटना घट्थ्यो र आमसमाजले विस्मयले जिब्रो टोकेर अपलक त्यसलाई हेथ्र्यो, स्तब्ध भएर धेरैबेरसम्म हेरिरहन्थ्यो । हो, त्यस टापूमा यस्तै घटनाहरूको सिलसिलामा एउटा घटना घट्यो ।

एक विशाल डबलीको बीचमा नाटकीय ढङ्गले एउटा खाडल खनियो । अनि, एकमान्छे अग्लो एउटा वृक्षलाई हाँगा-पातजति तल खाडलमा र जराजति माथि आकाशतिर पारेर गाडियो । खाडलवरिपरि परेवाको बिष्टा र कुखुराको सुली, भेडा-बाख्राको जुतो र गाई-भैँसीको गोबरका रासका रास थुपारिए । अनि खाडलमा सिन्चन गर्ने प्रयोजनका निमित्त महिलाहरूलाई माटाका र तामाका अनगिन्ती घडाहरूमा खेपका खेप पानी ओसार्न लगाइयो ।

प्रकृतिको प्रकृतिविपरीत यो के गर्न लागिएको होला भनी मनमा दुर्दान्त जिज्ञासा बोकेका टापूका अबोध मानिसहरू आँखा-आँखामा सन्देह र भयको भाव लिएर त्यहाँ भेला भए । वृक्ष-परियोजनाको मूल वाचकले भेलालाई सम्बोधन गर्दै भन्यो, “प्रकृतिमा प्रदूषण र समाजमा विकृति व्याप्त भयो । त्यसैले प्रकृति र समाजलाई स्वच्छ तुल्याई सृष्टिको रक्षा गर्ने यो अन्तिम उपाय हो ।”

वृक्षका हाँगा-पातजति भूमिगत छन् । मरेर उत्तानो परेको चौपायाका खुट्टाझैँ त्यसका जिङ्गि्रङ्ग परेका जरा बाहिर हावामा हल्लिरहेको दृश्य कारुणिक छ । विचित्रको त्यो परियोजनाबारे मानिसहरूले कुरा एकजात बुझेनन् । उसो त तिनले मुख फोरेर तत्काल केही भनिहाल्न आँट पनि गरेनन् । किनभने सृष्टिको रक्षा गर्ने त्यो अन्तिम उपायको रक्षा गर्न त्यहाँ फित्कौलीधारी, घुँएत्राधारी र धनुर्धारी चौकीदारहरू यत्रतत्र तैनाथ गरिएका थिए । सृष्टि-रक्षक त्यस उपायको जयजयकार गर्ने हेतुले सेरोफेरोको परिवेशमा कतै स्वागतद्वार सजिएका थिए, कतै तुल-तोरण टाँगिएका थिए र कतै आकाशभरि पत्पत् धूवाँ उडाउँदै यज्ञकुण्डमा कोटीहोम भइरहेको थियो । अनि, त्यो अधोमुखी परियोजनाको महिमा मण्डन गर्नका निमित्त समूह-स्वरमा भजन-कीर्तनहरू पनि ध्ााराप्रवाह गाइँदै थिए ।

निधार मुजा पारेर जति बुझ्न खोज्यो, मानिसहरूलाई त्यो पहेली बुझ्न उति नै गाह्रो भयो । बेचैन मुद्रामा निरीह सुस्केरा हाल्दै तिनले एकअर्कालाई पल्याकपुलुक हेराहेर गरे । प्रत्येक मानिसका भयाक्रान्त दृष्टिमा अरू कसैले मुख खोलेर आपना अन्तरमा निस्सासिएको बोली बोलिदिए हुन्थ्यो भन्ने व्यग्र अपेक्षा झुन्डिएको थियो । तर, आदिम अस्त्रहरूको त्यो घना जङ्गलमा तैँ चुप् मै चुप हुनुसिवाय अरू केही पनि भएन । आखिरमा एक जना अनौठो मुखाकृति भएको, हेर्दा असामान्यझैँ लाग्ने अधबैँसे मानव हूलको बीचबाट फुत्त अघि सर्‍यो । “सुन !” स्थिर तलाउमा तीव्र गतिमा एकाएक बजि्रएको ढुङ्गोझैँ घोर चकमन्न त्यस परिवेशमा उसको स्वर बजि्रन पुग्यो । “सुन ! उँधो बग्नु पानीको, स्थिर नहुनु हावाको, स्थायी नहुनु अँध्यारोको र जरा भुइँमा गाडिनु वृक्षको स्वभाव हो । प्रकृतिका यी त्यस्ता नैसर्गिक स्वभावहरू हुन्, जसलाई मानिसको बुता वा दम्भले उल्टोपाल्टो पार्न सकिँदैन । तसर्थ सुन, त्यस वृक्षलाई सुल्टो पार ।”

“सुल्टो पार, सुल्टो पार !” समवेत स्वरलहरी अग्निज्वालाझैँ हावामा प्रवाहित भयो । ठीक त्यहीबेला धनुबाट छुटेको विषाक्त काण आएर त्यो बोल्ने प्रथम पुरुषको निधारमा झ्वाम्मै गाडियो । ऊ ढल्यो र मर्‍यो । उसको शव मल लाग्छ भनेर अधोमुखी वृक्षको छेवैमा लगेर गाडियो । भयानक कोलाहलबीच आतङ्कित मानिसहरू ज्यान छाडेर भाग्दा समस्त आकाश धूलोले कुहिरीमण्डल भयो ।

अधोमुखी वृक्षवरिपरि लामालामा घोचा गाडेर परैबाट देखिने भँगेराटाउके अक्षरमा सूचनापाटीहरू राखिएका थिए, जसमा लेखिएको थियो, “यो सृष्टिको अन्तिम सत्य हो । तसर्थ यो विकल्पहीन सत्यमाथि प्रश्न गर्नु पाप हो । पापी दण्डनीय छ ।”

टापू देशमा जासुसहरूको सार्वत्रिक बिगबिगी छायो । ती जासुसहरू मानिसहरूका आँखाको सूक्ष्म भाव नियाल्दै, तिनका साउतीका मसिना स्वर सुन्दै र तिनका पाइला सुँघ्दै रातोदिन रगरग-रगरग हिँडिरहन्थे । वृक्ष- परियोजनामाथि किञ्चित् मात्र पनि सन्देह गर्ने, प्रश्न गर्ने वा विमतिका वचन प्रकट गर्ने जोकोहीलाई थलैमा पक्राउ गरी अन्धकार सुरुङमा कोचिन्थ्यो । जो त्यहाँ कोचिन्थ्यो, ऊ मरे-बाँचेको केही अत्तोपत्तो हुँदैनथ्यो । वृक्ष-परियोजनाअन्तर्गत समाजमा परोक्ष रूपले उठ्ने प्रश्नहरूको उत्तर प्रत्यक्ष रूपले दिने तारतम्य मिलाइएको थियो । अधोमुखी वृक्षलाई केन्द्रमा पारेर केही पर चारै दिशामा अग्ला चेक-चौकीहरू बनाइएका थिए, जसमा थाल, ढ्याङ्ग्रा र दमाहा बोकेका कटुवालहरू हरप्रहर सतर्क मुद्रामा उपस्थित हुन्थे । तिनीहरू ती थाल, ढ्याङ्ग्रा र दमाहा ठोकेर उच्चाटलाग्दो पुनरावृत्तिका साथ वृक्ष-परियोजनाको कल्पित कथाको जानकारी लोकलाई यसरी दिन्थे, “मूर्खहरू हो, सुन ! वृक्षका काण्ड, हाँगा र पात जमिनबाहिर हुँदा ती बिच्छी, झुसिल्कीरा, पंक्षी र नानावली कीटपतङ्गहरूको निर्मम आक्रमणमा परी रोगाए । नतिजास्वरूप प्राकृतिक पर्यावरण प्रदूषित भयो र सोको प्रभावले सामाजिक वातावरण विकृत हुन गयो । शठहरू हो, यो वृक्ष-परियोजना सफल भएपछि प्रकृतिको प्रदूषण र समाजको विकृति दुवै नै सदाका लागि निर्मूल हुनेछन् । अनि, प्रकृति र समाज दुवै अस्वच्छताको साम्राज्यबाट स्वच्छताको अधिराज्यमा र विकृतिको आयामबाट स्वीकृतिको आयाममा प्रवेश गर्नेछन् । अज्ञानी हो, ध्यानले सुन । यो माथिको इच्छा हो ।”

टापू देशका दमित मानिसहरूका प्रकम्पित अन्तरमा प्रलयकारी प्रश्नहरूको कुँडुलो लाग्यो । हे प्रकृति, मानव जगत्मा अब के हुने हो ? वृक्षहरूलाई उँधो मुन्टो पारेर माटामुनि गाडेपछि हरियालीको दृश्य र शोभा, फूलहरूको सौन्दर्य र सुवास, फलहरूको मिठास र पोषक तत्त्व, जलको भूमिगत भण्डारण र गगनवृष्टि, प्राणदायी अक्सिजनको प्राप्ति र प्रयोग अनि काष्ठ-काष्ठादिको हाम्रो गर्जो कसरी टर्ला ? हे करुणामयी माते, के अब चराचरजगत् जर्जर मरुभूमिमा परिणत हुने हो ?

गोप्य सुस्केराको भाकामा प्रकट भएको त्यो सन्तापमय जिज्ञासाको उत्तर दिँदै चेक-चौकीका कटुवालहरूले थाल, ढ्याङ्ग्रा र दमाहा ठटाएर भने, “सुन, उल्लु हो ! यो विरल वृक्ष-परियोजनाको प्रतापले सबै कुरा ठीकठाक हुनेछ । अनर्थ, अशुभ, अनिष्ट, कष्ट कतै किञ्चित् केही पनि हुने छैन । अधोमुखी वृक्षका हाँगा र पात जमिनमुनि सर्वत्र फैलिने छन् । कुनै पनि विनाशकारी तत्त्वको उपस्थिति नहुने त्यो अत्यन्तै सुरक्षित ठाउँमा फूल र फल, जल र हावादिको प्रचुरता हुनेछ । अनि सतहमुनिको सशक्त प्रभावले सतहमाथिको समस्त माटो नै हरियो, भरिलो, रसिलो, पोषिलो र सुवासिलो हुनेछ । सतहका छिद्रहरूबाट माथि उठ्ने दिव्य हावा नै हाम्रो भोजन, श्वास-प्रश्वास, सौन्दर्य र सुवासको अक्षय स्रोत हुनेछ । विश्वास गर सुस्तमति हो, यो हुनेछ र अन्ततः यो भएरै छाड्नेछ । यो माथिको आज्ञा हो ।”

दिन बिते, हप्ता बिते र केही महिनासमेत बितेर गए । यसबीच अधोमुखी वृक्षको नाममा कति मानिस पक्राउ परे र कति बेपत्ता भए त्यसको कुनै हिसाब रहेन । समयको क्रममा प्रश्न, सन्देह, असन्तोष र विद्रोहको भावले भिजेका स्वरहरू विस्तारै-विस्तारै मुखर हुन थाले । अनि तिनको उत्तरमा उच्च चेक-चौकीका कटुवालहरू चर्का स्वरमा चिच्याए, “मूर्खगण, अन्तर्दृष्टिले तल हेर ! ऊ धरतीको सतहमुनि १० कोसको व्यासमा अधोमुखी वृक्षका हाँगा फैलिसके ।” मानिसहरूले हेर्न खोजे । तर, तिनका दृष्टि धरतीको सतहमा ठोक्किएर त्यहीँ नै स्थिर भए । अनि कटुवालहरूका झनै चर्का स्वरहरू हावामा तरङ्गित भए, “मूढमति हो, माथि हेर । अधोमुखी वृक्षका गगनमुखी जरा माथि आकाशमा आधाकोसको उचाइमा उठिसके ।”

मानिसहरूले गर्धन तन्काएर, निधारमा धारेहात राखेर घाम छेक्दै माथि हेरे । माथि शून्य, शून्य र शून्य मात्र थियो । अधोमुखी वृक्षका जरा तल मूल वाचकको नाइटोअगाडि उसको नाइटोकै तहमा जहाँको तहीँ लत्रिएका थिए ।

“यो मिथ्या कथा हो,” मानवसागरको बीचमा एक महिलाको उच्च आवेगयुक्त स्वर स्फुरण भयो । मानवसागरले त्यस स्वरलाई पछ्यायो, “हो, यो सरासर मिथ्या कथा हो !”

“चूडान्त सत्यमाथि सन्देह गर्नु अपराध हो,” माथिबाट आक्रोशित कटुवालहरू गर्जिए ।

“अपराध हो, अपराध हो !” भजनमण्डली, अस्त्रधारी, कोटीहोमकर्मी, गणेशपन्थी आदि सकलगण उत्तेजनाको चुचुरो टेकेर कुर्लियो । त्यत्तिकैमा क्षितिजमा मिलिक्क बिजुली चम्क्यो, गगनमा चट्याङको भयानक गर्जन भयो, हुरीका लप्काहरूले धरतीलाई लपेटे, असिनासरी ढुङ्गा बर्सिए र अधोमुखी वृक्षका जरा हुर्हुरी बल्न थाले । जब हुरी मत्थर भयो, त्यसबेला सृष्टिको चूडान्त सत्यका पूजक र रक्षकहरू कोही पनि त्यहाँ थिएनन् । झुत्रा लुगा लगाएको एउटा भिखारी केटो डिलमाथि उँभिएर देब्रे हातले आपनो कलिलो लिङ्ग समातेर र दाहिने हात घोप्ट्याएर बलिरहेका जराको आगो ताप्दै मग्नसँग लघु शङ्का गरिरहेको थियो ।

नेपाल साप्ताहिक
अंक १३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *