Skip to content


२०५९ सालदेखि मैले दसैँ मान्न पाएको थिइनँ परिवारसँग रमाएर । त्यस साल आमाले चिठी पठाउनुभएको थियो, “तिमीहरू यसपालि दसैँ मान्न नआउनू । बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टीको थाप् । हाम्रातिर दसैँ नमान्ने उर्दी जारी भएको छ । मान्छेको ज्यान कतिखेर तलबितल पर्ने हो भन्ने त्राहिमाममा बाँचेका छौँ हामी सबै । काठमाडौँमा बस्ने यता आए भने यतै राख्छौँ भनेर हप्कदप्की गर्छन् । ज्यान रहे यस सालको दसैँ अर्को साल पनि मनाउन सकिन्छ … …,” आदि, आदि ।

छोरा-बुहारीलाई दसैँ मान्न घर नआउनु भनेर लेख्नुअघि आमाको आँखाबाट कति पिखुवाहरू बगे होलान् ! हामी बूढाबूढीले एकअर्काको अनुहारमा हेराहेर गरेर आमासँग सुस्केरा साट्यौँ ।

०६० सालको दसैँमा आमा काठमाडौँ नै आउनुभयो हामीलाई टीका लाइदिन ।

“ठूलालाई सबै काम गर्, साने र उसका केटाकेटीले पोहोर मेरो हातको टीको पनि थाप्न पाएनन्, यसपालि तिनलाई टीको टाँसिदिएर आउँछु” भनेर आएकी छु भनेर आमाले हामीलाई सन्तुष्टि दिनुभयो । आमा आउनुभयो । हामी खुसी थियौँ । तर, आमालाई कसरी घर फर्काउने हो भन्ने चिन्ताले मनमनै म पिरिएको पनि थिएँ । सदरमुकामसम्म केही थिएन । काठमाडौँमा हवाईजहाज चढाइदिएपछि भइहाल्थ्यो । तर, सदरमुकामबाट घर पुग्न मैजस्तालाई पनि चार घण्टा लाग्थ्यो । आमाका लागि त त्यो एक दिनै भइहाल्थ्यो ।

“अलिक दिन बस्नुस् न यतै, हतार-हतार किन फर्किनुपर्‍यो,” मैले अनुरोधको स्वरमा भनेँ ।

“हुँदैन, म यहाँ बस्नै सक्तिनँ,” आमाले प्रतिवाद गर्दै भन्नुभयो, “एउटा त मैले ठूला र उसका केटाकेटीको निधारमा टीको टाँस्न पुग्नैपर्छ । तेसबाहेक तिमेरको यो सहर, यो साँघुरो डेरा मलाई पटक्कै मन पर्दैन भन्ने तँलाई थाहै छ । बेकारमा कचकच नगर् । मलाई द्वादशीको टिकट काटिदे ।”

टिकट काट्न मलाई केही गाह्रो थिएन । तर, एकदिनको बाटोमा आमा एक्लै कसरी जानुहुन्छ भन्ने चिन्ताले मलाई छोडेन । मैले आमासँग सोधेँ, “तपाईंलाई बजारबाट कसले घर पुर्‍याउँछ ?”

“मैले किशोरलाई आइज भनेकी छु ।”

किशोर मेरो भतिजोको नाम थियो । आमाको साथी हुने त्यो केटो मेरा लागि केटाकेटी नै थियो । १३ वर्षको त्यो किशोर गाउँकै हाइस्कुलमा पढ्थ्यो र एसएलसीपछि काठमाडौँ आउने सपना साँचेर मिहिनेत गरिरहेको थियो ।

“मेरोबारेमा तँ पीर नली । द्वादशीको टिकट काटिदे । किशोर हवाईफिल्डमै आइराख्छ । साँझ पर्दानपर्दै हामी घर पुगिहाल्छौँ ।”

आमाले ढुक्क पारे पनि हामी बूढाबूढी ढुक्क हुनसकेका थिएनौँ । जुन कारणले हामीले परिवारसँगको दसैँ मनाउन पाएका थिएनौँ, त्यसले ६७ वर्षकी मेरी आमा र १३ वर्षको मेरो भतिजोमाथि कसरी केही गर्दैन भन्ने प्रश्नमा म रुमल्लिइरहेँ ।

मैले आमासँगै सोध्नुपर्‍यो । आमाले साधारण ढङ्गमा जवाफ दिनुभयो, “जसोतसो गाउँमा त बसिया छ भने बाटो हिँड्न केको डर ? मैले भनिहालेँ नि, तँ पीर नली । हामीलाई केही हुँदैन । सान्नानीको सानो छोरो नै हाम्रातिरको सबैभन्दा ठूलो मान्छे हुँ भन्न आथ्यो एकदिन ।”

सान्नानीको सानो छोरो अर्थात् देवीराम । ऊ जङ्गल पसेको सुनेको थिएँ मैले । आईए पढ्दापढ्दै बेपत्ता भएको त्यो केटो त्यति ठूलो भइसकेछ । ‘अकाल मृत्यु मर्नु नपरोस् त्यसले’ मैले मनमनै कामना गरेँ ।

दसैँ रमाइलो भयो हाम्रो । हामीलाई टीका लाइदिएपछि आमाले दाजुलाई सम्भिmरहनुभयो पटक-पटक । हवाईजहाज जाने भए एकादशीकै दिन पठाइदिने मन भयो मेरो । तर, जहाज जाँदैनथ्यो, मोटरबाटोले जिल्ला छोएको थिएन । हिँडेर पाँच दिनभित्र पुग्नसकिने त्यो ठाउँ थिएन ।

आमाले जेठो छोरोको परिवारलाई टीका लाइदिन नपाएको पीडा लुकाउन खोज्नुहुन्थ्यो । म त्यसलाई छर्लङ्गै देख्थेँ ।

“कति वर्ष यसरी पालैपालो आमालाई पिरिन दिनुपर्ने हो !” दुई जना मात्र भएका बेला श्रीमतीले सुस्केरा छोडिन् । उनले लामो सास तान्दै भनिन्, “के अब उज्यालो दिन आउँदैन ?”

“खै, म त झन्झन् अँध्यारै बढ्ने लक्षण मात्रै देखिरहेछु ।”

“यसभन्दा त इन्डियातिरै राम्रो !” उनले बाहिरको गोधूलितिर आँखा घुमाउँदै भनिन् ।

“त्यै भएर त तिमीहरू मेघालयबाट भागेर नेपाल आयौ,” मैले हाँसेर भनेँ । उनी पनि खिसिक्क हाँसिन्, पीडाको हाँसो ।

द्वादशीको दिन बिहानै हामीले आमालाई खीर र आलुदमको खाजा खुवायौँ । आमा बजारतिर केही खानुहुन्नथ्यो । श्रीमतीले एक किलो गुँदपाक झोलामा हालिदिँदै आमालाई भनिन्, “आमा, बाटामा पानीसँग गुँदपाक खाँदै जानुपर्छ । तपाईं बाहिरफेरो केही खानुहुन्न, कमजोरी हुन्छ ।”

आमाले बुहारीको कपाल स्याहारेर आफ्नो माया देखाउनुभयो ।

“आमा अर्को साल पनि दसैँ मान्ने परिस्थिति भएन भने पीर नगर्नुहोला,” काठमाडौँको घरेलु विमानस्थलमा मैले उहाँलाई सम्झाएँ, “बुहारी र नातिलाई म विराटनगर लिएर जान्छु । परिस्थितिले साथ दियो भने म सीधै घर आइहाल्छु ।”

आमाले मेरो पनि कपाल मुसार्नुभयो । बोल्न सक्नुभएन आमा । मलाई पनि लाग्यो, अँध्यारो भविष्यको यस मुलुकमा अर्को साल हामी जीवितै रहन्छौँ कि रहँदैनौँ !

०६१ सालको दसैँमा मैले विदेश जानुपर्‍यो । म जाँदा दसैँ लागेकै थिएन, म फर्किंदा तिहारले काँकडभित्ताको दैलो टेकिसकेको थियो । त्यसैले पोहोर आमाले धेरै पिरिनुपरेन ।

यसपालि देवीरामहरूले शान्तिको घोषणा गरे दसैँभन्दा धेरैअघि नै । दाजुले सदरमुकामबाट फोन गर्दै भन्नुभयो, “यसपालि तिमीहरू तीनै जना घर आओ । देवीरामले घरमै आएर भनेको छ, काकालाई बोलाउनुस् भनेर । तँसँग कुरा गर्न मन लाग्या छ रे ! यसपालि केही हुँदैन भनेर टुङ्गै दिया छ । डेराको ढोकै थुनेर आउनु । तिमीहरू आएनौ भने आमा साह्रै पिरिनुहुन्छ । गएको साउनमा ७० टेक्नुभयो ।”

दसैँ मनाउने अनि देवीरामसँग पनि भेट्ने सञ्जोग मलाई राम्रै लाग्यो । हामीले जाँदा हवाईजहाजबाटै जाने अनि फर्किंदा पैदलयात्रा गर्दै विराटनगर झर्ने टुङ्गो गर्‍यौँ ।

असोजको अठारै गते हिँडेका थियौँ हामी बिहानै । सरकारी कम्पनीको जहाज बाहिरबाट हेर्दा थोत्रो देखिए पनि त्यसको इन्जिनको देखरेख भइरहने हुनाले तलबितल पर्दैन भन्ने विश्वासमै थिएँ म । बिहानको आठ बजे उड्नु थियो । बेलामै उड्न पाए ३५ मिनेटमा हाम्रो जिल्लाको हवाईमैदानमा ओर्लिन पाइन्थ्यो ।

तर, बेलामा उडेन जहाज । ठ्याक्कै डेढ घण्टा ढिलो भयो । र, पनि हामी चिन्तित भएनौँ । १० बजेतिर हामी जिल्लामा पाइलो ओराल्ने थियौँ । त्यतैको कुनै सानो होटलमा दाल, भात, तरकारी, अचार खाएर बाटो लाग्दा पनि हामी ठूलो साँझ नखस्तै घर पुग्ने थियौँ ।

विमानस्थलकै डुहुरे पसलमा हामीले कालो दाल, मीठो साग र पीरो अचारसँग भात खायौँ । हामी ओरालो लाग्दा दिउँसोको ११ बजेको थियो । पञ्चमीका पाइलै गन्दै जाँदा पनि हामी ठूलो साँझ खस्ने बेलामा घर पुग्ने थियौँ ।

घाम चरक्क लागेको थियो । असोजको घाम सामान्य थिएन । भदौरे घामको रापजस्तै कडा थियो त्यो ।

“के उल्का पस्यो यो मुलुकमा !” खोला झर्ने बाटामा हामीले हाम्रो घरमा पूजापाठ गर्ने गुणराज दाहाललाई भेटेका थियौँ । पिखुवा खोलो तरेर खाल्डेतिर लाग्ने उकालोमा एक बजेको घामले हामीलाई टाउकामा अँगारै छरेजसरी पोलिरहेको थियो । सहरमा बसेका हामी र अनि ढल्किँदो उमेरका गुणराज बाको हिँडाइको सार मिलेकै थियो । खाल्डेमुनिको चौतारोमा उक्लिएपछि हामी सबैले केहीबेर सुस्ताउने मन गर्‍यौँ ।

त्यही चौतारोमा एकछिन सुस्ताएपछि गुणराज बाले हामीलाई सुनाउँदै भन्नुभयो, “के उल्का पस्यो यो मुलुकमा ! असार-साउनमा खडेरी पर्‍यो । मधेसमा जमिन पटपटी फुट्यो । यतै पनि पानी नलाग्ने ठाउँमा धानको बीउ ब्याडमै सुकेर सकियो । यसपालिको असारे पन्ध्र हिलोमा नटेकी टारियो । धान त बिगि्रयो बिगि्रयो, मकै पनि यसपालि राम्ररी फलेन ।”

गुणराज बा पहाड-मधेस गरिरहनुहुन्थ्यो । त्यसैले उहाँलाई दुवैतिरको खेतीपाती थाहा हुन्थ्यो ।

“गुरु, मौसम फेरिँदैछ, त्यसैले प्रकृतिमा पनि फेरबदल आइरहेको छ,” मैले आफ्नो आधुनिक विचारले गुरुको निराशालाई छोप्ने कोसिस गरेँ ।

“मौसम फेरिने कुरो होइन बाबु यो ! उल्का पस्यो मुलुकमा । तीन वर्षदेखि हामी आग्नेयबाट छिरेको उल्का र नैऋत्यबाट छिरेको राहुको मार खेपिरहेका छौँ । तपाईंहरू अङ्गे्रजी विद्यातिर लाग्नुभयो, ठूलो मान्छे हुनुभयो । त्यसैले तपाईंहरूलाई हाम्रो ज्योतिष प्रणालीमाथि अविश्वास पैदा भयो,” गुणराज बाले गाली गरेर होइन, सम्झाएरै हामीलाई सुनाउनुभयो, “प्रकृति त उस्तै त छ नि बाबु ! पिखुवा खोलो त्यसरी नै बगिरहेको छ । सिक्तेल खोलो पनि पूर्वैतिर बगेको छ । हाम्रो गाउँ उस्तै छ, बजार पनि उस्तै छ । हाम्रा घरखेतहरू पनि उस्तै छन् । खै के फेरिएको छ र ?”

गुणराज बाको दृष्टिमा केही फेरिएको थिएन । उसै पनि हिजोआज फेरिने भनेको सहर हो । पाँचै वर्षमा काठमाडौँ सहरको रूपरेखा फेरिन्छ तर गाउँ, ५० वर्षदेखि त्यो जस्ताको तस्तै छ । मानौँ सहर चाँडै कुहिने आलु हो अनि गाउँ यही पीपलको रूखजस्तै दीर्घजीवी चौतारो हो ।

मैले गुणराज बालाई सम्झाउन सक्ने कुरो थिएन । उहाँको एउटा धारणा बनिसकेको थियो, आधुनिक विद्या पढेकाहरू ज्योतिषमा विश्वास गर्दैनन् । उहाँको कुरो सकार्दा उहाँ खुसी हुनुहुन्थ्यो, त्यसको खण्डन गर्दा आफ्नो जजमानको आधुनिक छोराका कारणले हाम्रो परिवारप्रति नै उहाँमा विरक्ति जाग्न सक्थ्यो । त्यसैले मैले खण्डनको तर्कलाई छोडेर आस्थाको विश्वासलाई टेवा दिँदै सोधेँ, “गुरु हजुरको गणना फलित हो कि गणित हो ?”

“ज्योतिषलाई गणित र फलितमा बाँडेर पन्छाउनु राम्रो हुँदैन,” गुणराज बाले मलाई सम्झाउँदै भन्नुभयो, “हाम्रो पूर्वीय दर्शनले नक्षत्रको गणना गरेर मुहूर्त निकाल्न थालेको हजारौँ वर्ष भयो । हाम्रो पात्रो पृथ्वीको चक्रको आधारमा खडा भएको हो, पश्चिमको पात्रो दिनको गणनामा तयार भएको हो । बाबुहरूलाई लाग्छ, पूर्वीय दर्शन खालि अन्धविश्वास हो । त्यो गलत हो । पूर्वीय दर्शनमा वेदव्यास छन्, पाणिनी छन्, आयुर्वेद अहिलेको डाक्टरीभन्दा पुरानो हो । पश्चिमाहरूले हाम्रै ग्रन्थ पढेर आफूलाई आधुनिक बनाएका हुन् । त्यसैले बाबु, पूर्वको ज्ञानप्रति अविश्वास गर्नु हुँदैन ।”

गुरुको बोलीमा ज्ञान थियो । मैले खण्डन गरिनँ ।

“हाम्रो गणनाले भन्छ, नेपालमा तीन वर्षदेखि राहुको नाच चलिरहेको छ । यो मारकाट, रक्तपात सबै त्यसैको उल्का हो । अहिले जङ्गलीहरूले युद्धविराम भनेका छन् तर रगत बग्न त छाडेको छैन नि ! मान्छेहरू मारिइरहेकै छन् । विराटनगरमै छँदा मैले पाल्पातिर निर्दोष मानिसहरू मारिएको समाचार पढेको थिएँ । युद्धविराम भएपछि त रगतको खोलो बग्न छोड्नुपर्ने हो नि ! खै ?”

“गुरु, यो राहुको खेलभन्दा पनि बन्दुक बोक्नेहरूको दुर्बुद्धिको परिणाम होइन र ?” मैले तैपनि आफ्नो असहमति पोख्ने कोसिस गरेँ ।

“त्यही दुर्बुद्धि त हो राहुको खेल, बाबु ! तपाईंहरू राजाको गाउँमा बस्ने मान्छे । ठूलाबडाहरूको सङ्गतमा बस्ने मान्छे । तर, तपाईंहरू किन रक्तपातको चलखेललाई रोक्न सकिरहनुभएको छैन ? किनभने, नेपालको आकाशमा राहु नाचिरहेको छ । यस्तो बेलामा ठूलाबडाहरूको बुद्धि भ्रष्ट हुन्छ र हामीजस्ता सानातिनाले भारी दुःख उठाउनुपर्छ ।”

मेरो १० वर्षको छोराको आँखामा जिज्ञासा थियो र उसकी आमाको अनुहारमा चासो । म थिएँ निस्पृह । गुरु गुणराजको प्रश्नको उत्तर मैले कतै भेटिनँ । ल

नेपाल साप्ताहिक
अंक १७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *