Skip to content

घरका महाकवि परका विश्वकवि देवकोटा

  • by


विराट प्रतिभा र कल्पनाका धनी महाकवि देवकोटाको विराटता र महानताका सम्बन्धमा धेरै विचारकहरूले आ-आफ्नै पाराले व्याख्या र विश्लेषण गरिएको भए पनि निम्न कुराहरूलाई अगाडि सारिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा भगवान् बुद्धपछिका महान् चिन्तक हुन् । उनको प्रतिभा र कल्पनाको उच्च मूल्याङ्कन गर्दैै नेपालीहरूले महाकविको रूपमा स्थापित गरेका छन् भने विदेशी विद्वान्हरूले विश्वकविका रूपमा स्वीकारेका छन् । यिनै सन्दर्भहरूलाई यस टिपोटभित्र अटाउने प्रयत्न भएको छ ।
महाकवि देवकोटा नेपाली लोकछन्दमा आधारित मुनामदन (१९९२), शिल्प भावका दृष्टिले उत्कृष्ट शाकुन्तल महाकाव्य (२००२) र नेपाली निबन्ध संसारको सर्वश्व मानिएको लक्ष्मी निबन्धसङ्ग्रह (२००२) प्रकाशनमा आएपछि नेपाली साहित्यका शिखर पुरुष सावित भए । अशिक्षा, अभाव, गरिबी र शून्य वातावरणको सामना गर्दै प्रतिभा र कल्पनाका भरमा नेपालीका मूल्याङ्कनमा महाकवि र विदेशीका मूल्याङ्कनमा विश्वकवि कहलिनु चानचुने कुरा होइन । मलाई लाग्छ- हामीले मानेका महाकविभन्दा विश्वले मानेका विश्वकवि देवकोटा महान् छन् । उनको महानतामा नेपाली वाङ्मयको शिर सगरमाथाभन्दा उँचो भएको अनुभव गरिएको छ । त्यसैले म फेरि दोहोर्‍याउँछु – देवकोटा बुद्धपछिका महान् चिन्तक हुन् । उनको चिन्तनले नेपाललाई विश्वमा परिचित तुल्याएको छ ।
महाकवि देवकोटाको भौतिक शरीर चीन नजाँदै उनको कल्पना र प्रतिभा शक्तिले काठमाडौँ उपत्यका, हिमाली प्रदेश र तिब्बतको राजधानी ल्हासाभित्रको सामाजिक, सांस्कृतिक र भौगोलिक वातावरणलाई एकाकार तुल्याउँदै ‘मुनामदन’ सिर्जना गरेर मानव अस्मिताको रक्षा गरे । ब्राहृमणले निधारमा लगाएको पवित्र चन्दनभन्दा जाडोको डरले कहिल्यै ननुहाउने भोटेको शुद्ध मानव हृदय चोखो र पवित्र ठहर्छ भन्ने जीवन दर्शन दिए । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्न सिकाए । त्यसपछि असल कर्म गर्ने मानिसको पूजा हुनथाल्यो । चिनियाँहरूले पनि तिब्बतको राजधानी ल्हासामा देवकोटाको भव्य प्रतिमा स्थापना गरी पूजा गर्न थाले । विशाल चीनका साहित्यकारले देवकोटालाई विश्वकविका रूपमा भित्र्याए । महान् विचारक माओत्सेतुङले देवकोटा चीन गएको बेला उनको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै चिनियाँ रेडियोद्वारा देवकोटाका विचारहरू प्रत्यक्ष प्रसारण गर्न एक घण्टाको समय उपलब्ध गराएका थिए ।
बालकृष्ण समले ‘देउता मानिस हो, मानिस देउता हो, त्यसैले म पनि देउता हुँ’ भनेका थिए । उनले यसो भन्नु पनि देवकोटाकै मुनामदन पढेर सिकेका हुन् । पूर्वीय दर्शन र पाश्चात्य दर्शनको व्यापक अध्ययनपछि लेखिएको देवकोटाको शाकुन्तल महाकाव्य नेपाली जातिको गौरव गाथा हो । यसले देवकोटालाई त उठायो नै, हाम्रो वाङ्मय भण्डारलाई पनि उजिल्याएको छ । नेपाली भाषामा आजसम्म लेखिएका कुनै महाकाव्यले शाकुन्तललाई उछिन्न सकेका छैनन् । यसरी नै कल्पनाको उडान, चिन्तनको विशालता र विषयवस्तुको व्यापकताभित्र समेटिएको लक्ष्मी निबन्धसङ्ग्रहले देवकोटाको विराट प्रतिभालाई सार्वजनिक गरिदिएको छ । मुनामदन, शाकुन्तल र लक्ष्मी निबन्धसङ्ग्रह छुट्टाछुट्टैरूपमा सिङ्गो देवकोटा हुन् । यसरी चर्चा गर्दा देवकोटाका अरू कृतिहरूप्रति अन्याय गर्न खोजिएको होइन तापनि यी चर्चित तीन कृतिलाई देवकोटाका प्रतिनिधि ग्रन्थ सावित गर्न खोजिएको चैँ अवश्य हो । उनले यीबाहेक अरू कृति नलेखेका भए पनि उनी हाम्रा महाकवि र अरूका विश्वकवि ठहर्थे नै ।
जुन समयमा दार्जीलिङमा सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)को उदय भएको थियो । त्यो समयमा देवकोटाको नेतृत्वमा नेपालबाट साहित्यकार टोली त्यहाँ पुग्यो । नेपालका चर्चित कवि देवकोटाको आगमन भनेर त्यसबेला बेलायतबाट आएका अङ्ग्रेजी भाषाका विद्वान्हरू पनि उपस्थित भए । कार्यक्रम सुरु भयो । देवकोटाको पालो आयो । सबैका कान ठाडा भए । उनले करिब एकै घण्टा बीचबीचमा कविता सुनाउँदै भाषण गरे । सबै स्रोताहरू मन्त्रमुग्ध बने । अङ्ग्रेजहरूले राम्ररी पत्याए बेलायती कविको तुलनामा देवकोटालाई राखे । राहुल साङ्कृत्यायनले भारतीय विशिष्ट कविहरू प्रसाद, पन्त, निराला एक्लै देवकोटा भएको ठहर्‍याए । उनी प्रथम पटकमै काठमाडौँबाट भारत हुँदै बेलायतसम्म विस्तारित भए ।
वि.सं. २०१६ सालमा रुसको तासकन्दमा अफ्रो एसियाली लेखक सम्मेलन भएको थियो । नेपाली साहित्यकारहरूको नेतृत्व गर्दै देवकोटा पनि गएका थिए । निर्धन, निर्वल, रुग्ण र लुम्रोझुम्रो देवकोटाको शारीरिक व्यक्तिलाई कसैले मन पराएनन् । जब उनको बोल्ने पालो आयो तब सबैका कान ठाडा भए अनि सबैले उनका विराट व्यक्तित्वको परिचय पाए । करिब एक घण्टा लामो धारा प्रवाह ओजपूर्ण र व्यक्तित्वशाली भाषण गरेर मञ्चबाट फर्केपछि उनीसँग सबैले गला मिलाए, धन्यवाद दिए । विश्व कविको मान्यता प्रदान गरे । कार्यक्रमको समाप्तिपछि कुनै रसियन सहयोगी मित्रका साथ उनका घरमा गएर दुई महिना उपचार गराउँदै बसे । लहडी देवकोटाले यो जानकारी कसैलाई दिएनन् । त्यहाँस्थित नेपाली राजदूतावासले पनि पत्ता लाउन सकेन । प्रतिनिधि मण्डलका सदस्य फर्केर आए । तत्कालीन एकेडेमीका उपकुलपति बालचन्द्र शर्माले अनुवादक देवकोटालाई दिँदै आएको मासिक तलब रु. ५००।- रोकिदिए । परिणाम स्वरूप देवकोटाका घरमा चुलो जलेन ।
दुई महिनापछि महाकवि देवकोटा असाध्य रोग क्यान्सरको भारी बोकेर स्वदेश फर्किए । तलब फुकुवाको लागि निवेदन हाले । निर्दयी हाकिमले त्यो निवेदनलाई प्राथमिकता नदिँदा अर्थात् तलब फुकुवा गर्ने निर्णयमा हस्ताक्षर नगर्दानगर्दैै देवकोटा मरे । यस घटनालाई आधारभूमि बनाएर भाषाशास्त्री एवं प्राज्ञ बालकृष्ण पोखरेलले ‘हस्ताक्षर हुन नपाउँदै’ भन्ने पूणर्ाङ्की नाटक लेखेर हामीलाई प्रकाशनको अवसर प्रदान गर्नुभएको थियो । सो कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले लोकलाई अर्पण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *