Skip to content


भुली स्वयं सिर्जन सावधानी
गरेर आफैँप्रति बेइमानी
बतासिई स्वप्निल कल्पनामा
न लागि हे, संयम साधनामा
गरी सधैँ हड्बड गड्गडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

‘निर्माण हो काव्यकला, परिष्कृति-
चाहिन्छ, चिल्ल्याउनुपर्छ निर्मित
टिक्तैन रे अस्थिर, हड्बडे कवि
मैल्याइ आˆनै कृतिकर्मको छवि,
भन्ने बुझेरै पनि गड्बडाएँ
म शून्यमा शून्यसरी बिलाएँ !!

हुँदाहुँदै सागरतुल्य पानी
छँदाछँदै मन्दरको मदानी
रहेन मेरो स्थिर स्वानुभाव
आँधी-समाधिप्रति भेदभाव,
जतासुकै लर्बर लर्बराएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

लगाम आफैँ नसकी समाउन
गरेर आˆनै शतचूर्ण खण्डन
विना महामन्थन, स्वाऽनुशासन
भुìयाइ सत्सिर्जन-चेत, चिन्तन
सुरम्य सङ्लो नबनी सुसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

‘नसङ्लिँदा भाव-विचार-पोखरी
प्रयोग यद्वा विनियोग निर्झरी-
आधाउधी घट्तछ शक्ति वीरको
प्रभाव यद्वा प्रतिभा अधीरको’
भन्ने कुराको बनियो निदर्शन-
मेरो महाप्रतिभा शक्ति, सिर्जन!
बुझी-बुझी आसन डग्मगाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

बेला बिताएपछि चाल पाई
आफ्ना सबै भूल रुँदै सकारी
हेरी धरा, आँसु पिरा खसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

(यो शीर्षकीय पङ्क्ति महाकवि देवकोटाको मरणासन्न अवस्थाको उद्गार हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *