Skip to content


पहाड
पहाडजस्तो रहेन अब ।
त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न
आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ
र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल
एउटा जिउँदो सङ्गीत हुनुपर्छ
मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क
र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम
पहाड हुनलाई ।
त्यहाँ त
रोदीहरू, रत्यौलीहरू र साकेवाहरू
चर्लुम्म डुबेका छन् शोकको आहालमा
घण्टहरू बज्दैनन् र चराहरू उड्दैनन् उन्मुक्त आकाशमा
गुराँसको रङमा मुस्कान फुल्दैन
फूल सिउरिनलाई कालो कपालमा
र्समाउने वैँस छैन
तन्नेरीहरू बग्दैबग्दै टाढा गइरहेका छन्
हरेक दिन
देवताहरू बग्दैबग्दै टाढा गइरहेका छन्
हरेक दिन
आस्थाको नाममा रित्ता मन्दिरहरू पनि
भत्कँदैछन् आगो र पहिरो खाएर दिनदिनै ।
हरे ! सपनामा पनि नसोचेको कुरा
भोको आगो मात्र छ पहाडमा अहिले ।
पहाड
पहाडजस्तो रहेन अब ।

नेपाल साप्ताहिक १२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *