Skip to content


पल्लो किराँत लिम्बूवान् क्षेत्रका केही ठाउँ कब्जा गर्न गोर्खाली सेना सफल भए तापनि कतिपय ठाउँमा हार र क्षति बेहोर्नु परेको थियो । पल्लो किराँत हात पार्नका लागि पृथ्वीनारायण शाहले अभिमानसिंह बस्नेतको नेतृत्वमा गोर्खाली फौज पठाएका थिए । यसरी हारको सामना गर्न बाध्य गोर्खाली सेनाले सैन्य रणनीतिबाट विजय प्राप्त गर्न नसकेकाले अब कूटनीतिक प्रयोगद्वारा लिम्बू जातिको भूगोल आफ्नो हातमा पार्ने प्रपञ्च रच्न थाले । लिम्बूवान्को पश्चिमउत्तर क्षेत्रमा रहेको चैनपुर क्षेत्रमा गोर्खाली सेनाको ठूलो क्षति भएपछि गोर्खाली सेनाले कूटनीति अपनाउन थाले । उनीहरूले लिम्बू सेनासित तीन वर्षसम्म लडेका थिए । लिम्बू फौजले गोर्खाली सेनालाई दुम्जासम्म धपाएका थिए भनी आफ्नो पुस्तक ‘हिस्ट्री एण्ड कल्चर अफ किराँत पिपल’ (ई. २००३) मा इमानसिंह चेम्जोङले उल्लेख गरेका छन् ।

पछि गएर लिम्बूवान् हात लिनका लागि मगर सेनापति लघु राना गोर्खालीका तर्फबाट खटिए । उनको नेतृत्वमा रहेको सेनाले पनि सम्प्ाूर्ण लिम्बूवान् हात पार्न नसकेपछि रामभद्र थापा मगरलाई सेनापति बनाई खटाइयो । उनले आफ्नो वंशावली र लिम्बूहरूको वंशावली दाँजेर हेर्दा उनीहरू दुवै जाति सिम्रौनगढ हुँदै नेपाल भूमितिर आएका वंशावलीबाट थाहा पाएपछि त्यसैलाई आधार बनाएर उनले लिम्बूहरूलाई “हामी दाजुभाइ हौँ एकापसमा लडेर हुँदैन, मिल्नुपर्छ” भन्ने प्रस्ताव राखे । उक्त प्रस्तावलाई सोझा लिम्बूहरूले स्वीकार गरिदिए । त्यसपछि लिम्बू स्वायत्तता दिने गरी पृथ्वीनारायण शाहले १८३१ मा एक लालमोहर जारी गरिदिए । उनीहरूको स्वायत्तता नखोस्ने गरी वाचाबन्धनसमेत गरे । तत्कालीन मोरङ राज्यको विजयपुरमा सन् १७७४ को अगष्टको पहिलो साता गरिएको यस वाचाबन्धनलाई ‘नुनपानीको थिति’ भनिन्छ । नुनपानीको थितिमा एउटा ठूलो तामाको खड्कुलामा पानी राखेर त्यसमा नुन राखी यदि लिम्बूहरूको किपट हामीले खोस्यौँ भने हामी पानीमा नुनजस्तै पग्लिएर जानेछौँ भनी गोर्खालीहरूले वाचाबन्धन गरेको कुरा हिस्ट्री एण्ड कल्चर अफ किराँत पिपुलमा उल्लेख छ ।

यसमा गोर्खा अफिसरका तर्फबाट अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास तथा बलि बानियाँले सहीछाप गरेका थिए भने लिम्बू प्रतिनिधिका रूपमा श्रीसुङ राय, श्रीकुम (फुङ) राय, श्रीजङ्ग राय साक्षी थिए ।

यसरी नुनपानीको थिति बाँध्नुअघि लिम्बू सेना गोर्खाली सेनासित वीरतापूर्वक लडेका थिए । गोर्खाली सेनाका अनेक षड्यन्त्रलाई चिर्दै उनीहरूले आफ्नो वीरता प्रदर्शन गरेका थिए । वीरता प्रदर्शन गर्ने लिम्बू सेनापतिमध्ये काङसो रे (राय) को वीरता उल्लेखनीय रहेको छ । एउटा बहादुर सेनापति भएर लड्दा उनले युद्धमा त विजय प्राप्त गरे तर तत्काल गोर्खाली सेनाको षड्यन्त्रमा परेर उनी मारिए ।

रघु रानाको नेतृत्वमा रहेको गोर्खाली सेनाले बारम्बार धनुर्धरी वीर योद्धा लिम्बूहरूको धनुकाँड र पासोहरूको अगाडि परास्त हुनुपरेपछि उनले लडाइँका लागि एक शर्त अगाडि सारे । शर्तअनुसार त्यहाँ दुई सेनापति मात्र लड्नुपर्ने र अरू सेनाले चाहिँ हतियार अन्यत्रै राखेर रमिते भएर बस्नुपर्ने थियो । शर्तअनुसार त्यो युद्ध ‘मल्लयुद्ध’ थियो । उक्त शर्तलाई लिम्बू सेनाले मान्न तयार भए र १३१ को वैशाख २५ गते लडाइँ तोकियो । उक्त लडाइँ हालको संखुवासभाको चैनपुरको मैदानमा भएको थियो । गोर्खाली सेनाका तर्फबाट रघु राना र लिम्बू सेनाका तर्फबाट काङ्सो रे लड्ने भए । उनीहरूको शर्त मुताविक यस मल्ल युद्धमा जसले जित्छ, उसैको नेतृत्वलाई दुवै पक्षका फौजले स्वीकार गर्नुपर्ने भयो ।

बिहानैदेखि चैनपुर बजारबाट दक्षिणमा रहेको मैदानलाई मल्ल युद्धको स्थल तोकियो । तत्काल आफूलाई नाहाङमा (वीरंगनादेवी) चढेको भन्दै उनले तरबार झिके र त्यसलाई रातो रङ लगाए । उनी गर्जिए, “म मेरो दुश्मनलाई टुक्राटुक्रा पारिदिन्छु ।”

त्यसपछि बिहानैदेखि रघु राना र काङ्सो रेबीच मल्ल युद्ध सुरु भयो । दिउँसोसम्म युद्ध हुँदा काङ्सो रेको तरबारको प्रहारले रघु राना मारिए तर गोर्खाली सेनाले त्यहाँ बालुवाभित्र गाडेर अघिल्लो दिन नै हतियार लुकाएर राखेका रहेछन् । शर्तमुताविक विजयी काङ्सो रेलाई तत्काल लुकाएर ल्याएको हतियार झिकेर गोर्खाली सेनाले टुक्राटुक्रा पारे र त्यहाँ रमिते रहेका लिम्बू सेना केहीपछि हटी हतियारसहित आएर तत्कालै गोर्खाली सेनालाई सखाप पारे ।

इतिहासकार इमानसिंह चेम्जोङले लिम्बूवानमा जनजिब्रोमा झुण्डिएको काङ्सो रेको वर्णनलाई आफ्नो पुस्तकमा यसरी उतारेका छन् ः १३१ को वैशाख २५ गतेका दिन दुवै पक्षका सेनाहरू मैदानको तलमाथि पङ्क्तिबद्ध दुई सेनापतिको लडाइँ हेरिरहेका थिए । त्यो युद्ध चैनपुरको दक्षिण मैदानमा भएको थियो । दुवै सेनाहरू बिहानदेखि दिउँसोसम्म लगातार लडे । काङ्सो रेले अन्तिममा रघु रानालाई काटे । उनी घटनास्थलमै मरे तर तत्कालै गोर्खाली सेनाले लुकाएर राखेको हतिहार झिकेर काङ्सो रे र अरू लिम्बू सेनामाथि आक्रमण गरे तर तत्कालै लिम्बू सेनाले पनि आफ्नो हतियार झिकेर उनीहरूलाई सखाप बनाए । त्यसपछि दुवै वीर सेनापतिको लास थुतेर दुवैलाई आमने-सामनेमा चिहान बनाएर संस्कार गरे ।

यो घटनापछि गोर्खाली सेना झस्कन पुगे कि अब लिम्बू फौजलाई हराउन नसकिने रहेछ । त्यसपछि रामभद्र थापा मगरलाई अगाडि सारियो । उनले लिम्बूहरूलाई मगरकै दाजुभाइ भएको बताउँदै सन्धि गराउन सफलता प्राप्त गरे । यसरी केही नलागेर षड्यन्त्रै षड्यन्त्र जेलिएको नुनपानीको थितिमा सहीछाप गरी लिम्बूहरूले आफ्नो भू-भाग गोर्खाली राजाको अधीनमा बुझाउनुपर्‍यो । नुनपानीको थितिअनुसार उनीहरूले कबोल गरेको लिम्बू किपट २०२१ सालमा भूमिसुधार लागू गरेर खोसियो ।

यसरी लिम्बूवान्लाई गोर्खाली साम्राज्यमा विलय गराइसकिएपछि लिम्बूवान्मा ‘फुटाउ र शासन गर’ भन्ने नीति गोर्खालीहरूबाट लागू गरेको देखिन्छ । लण्डनमा हज्सन पेपरको अध्ययन गरेपछि इतिहासकार डा. रमेश ढुङ्गेलले हिमाल खबर पत्रिकामा उल्लेख गरेअनुसार गोर्खा सरकारले हिन्दू धर्म मान्नेहरूलाई प्रशासन चलाउनका लागि सभाङ्गी पद दिए । आफ्नो मौलिक मुन्धुम धर्म मान्नेलाई त्यसबेला नीति र हिन्दू धर्म मान्नेलाई सम्प्रीति भनियो । उनै सम्प्रीतिहरूले किपटमा सुभाङ्गी पाए तर नीति मान्ने लिम्बूहरूमाथि अत्याचार भयो र उनीहरूमध्ये कैयौँ सिक्किमलगायत भारतका विभिन्न ठाउँहरूमा पलायन भएर जान बाध्य भए ।

आखिर लिम्बूवान्का लागि ज्यान बलिमा चढाउने ती वीर सेनापति काङ्सो रे को थिए त ? यसबारेमा चर्चा परिचर्चा भएका छन् । लिम्बू जातिको आफ्नै भाषामा प्रचलित काङ्सो रेको वीरताको बयानलाई किराँत विद्वान् इमानसिंह चेम्जोङले आफ्नो पुस्तक हिस्ट्री एण्ड कल्चर अफ किराँत पिपुलमा समेटेका छन् तर उनी कहाँका हुन् ? भन्ने विषयमा भने उनको इतिहासकृति मौन रहेको छ । यसै सेरोफेरोमा अर्जुनबाबु माबुहाङले आफ्नो पुस्तक ‘लिम्बूवान’ (२०६३) मा काङ्सो रे चैनपुर मैदानेका वनेम लिम्बू हुनसक्ने अनुमान गरेका छन् । उनी आफ्नो पुस्तकको पृष्ठ ३५ मा लेख्छन्, “उक्त लडाइँमा साङ्वोत राय, तेसाक्पा राय, काङ्का राय लिम्बू पनि मुख्य थिए । तिनीहरू सम्भवतः वर्तमान चैनपुर मैदानेका वनेम फागो हुनसक्छन् ।”

तर लिम्बू तिगेला खेवा वंशावलीमा भने काङ्सो रे नामका एक व्यक्ति फेलापरेका छन् । खेवा लिम्बू परिवारद्वारा प्रकाशित “मानव उत्पति र खेवा वंश” (२०५५) मा लेखिएअनुसार इमेबुङ्हाङ् खेवाको १० औँ पुस्तापछि हाङ्जिलिहाङ्दुम्बा खेवा रहेका थिए । उनका चार छोराहरूमध्ये जेठो छोरा तिगेला खेवा, माइलो मङ्याक खेवा, साइँलो आङवाबाङ खेवा र कान्छो चोङबाङ खेवा थिए । मुक्तिहाङ तिगेला खेवाको सातौँ पुस्ता कम राय तिगेलाको चार छोराहरूमध्ये काङ्सो रे जेठा छोरा भएको कुरा उक्त वंशावलीमा उल्लेख छ । अर्थात् उनी तिगेला वंश प्रारम्भदेखिको आठौँ पुस्ताका हुन् । खेवाहरूको आफ्नो यक (गढ) तेह्रथुमको ओखे्र गाउँ विकास समिति वडा नम्बर ७ स्थित पामेजङ् स्थल थाकलुङ (ताकलुङ) हो । यस गढअन्तर्गत रहेका लिम्बूहरू पनि त्यतिखेर आफ्नो थातथलोमा आक्रमण गर्न आउने विरुद्ध वरिपरिका लिम्बूहरूलाई लडाइँमा उत्रन चैनपुरका लिम्बू सुभा (प्रशासक) जैकर्ण रायले आहृवान गरेका थिए । चैनपुरबाट एक बिहानको बाटो पर्ने अन्तर्गतका खेवाहरू पनि गोर्खाली विरुद्धको लडाइँमा सहभागी हुन चैनपुर गए होलान् भन्ने अनुमान गर्न सकिन्छ । यो वंशावलीलाई इतिहासको एउटा आधार मान्ने हो भने यही अनुमान अनुसार ती वीर योद्धा काङ्सो रे तिगेला खेवा वंशका आठौँ पुस्ता हुन सक्छन् । किनकि लिम्बू जनश्रुतिबाहेक पुस्तकमा लिपिबद्ध भएको काङ्सो रेसम्बन्धी पुस्तक त्यहीँ मानव उत्पति र खेवा वंश मात्र रहेको छ ।

3 thoughts on “वीरयोद्धा काङ्सो रे”

  1. काङ्सो रे नाम नभएर हालको
    काङ्सो रे नाम नभएर हालको सेनापती भनिएजस्तै एउटा पद्वी भएको हुन सक्ने आधार हरु धेरै नै भएको र रघु राना र काङ्सो रे बिचको लँडाइ चैनपुरमा नभएर हाल मनकामना देवीको मन्दीर रहेको अरुण नदीको किनार मा भएको कुरा प्रष्ट पार्न चाहान्छु ।किनभने गोर्खाली सेना चैनपुरतिरबाट नभएर भोजपुरतिरबाट आएका थिए जुनबेला हालको खाँदवारीमा रेवाहाङ राजा थिए । (स्रोतऽ अरुण कोशी किनारकी मनकामना: मातृका तिम्सिना )

  2. काङ्सो रे नाम हो वा हालको
    काङ्सो रे नाम हो वा हालको सेनापति भनिएजस्नतै पद्वी हो भनेर यकिन गर्न सकिने पर्याप्त आधार छैन तर लँडाइ लडेका काङ्सो रे भने चैनपुर मैदानेका कुनै लिम्बु लडाकु हुन भन्ने लोकोक्ती रहेको छ । साथै उक्त रघु राना र काङ्सो रेको बिचमा भएको लँडाइ चैनपुरमा नभएर हालको मनकामना देवी रहेको अरुण नदीको किनारामा भएको थियो जहाँ गोर्खाली सेनाको टुकडी भोजपुर तिरबाट मनकामना देवीको भाकल गरी अरुण नदी पार गरेर आएको थियो । ( स्रोत :अरुण कोशी किनारकी मनकामना :मातृका तिम्सिना )

  3. काङ्सो रे नाम हो वा हालको
    काङ्सो रे नाम हो वा हालको सेनापति भनिएजस्नतै पद्वी हो भनेर यकिन गर्न सकिने पर्याप्त आधार छैन तर लँडाइ लडेका काङ्सो रे भने चैनपुर मैदानेका कुनै लिम्बु लडाकु हुन भन्ने लोकोक्ती रहेको छ । साथै उक्त रघु राना र काङ्सो रेको बिचमा भएको लँडाइ चैनपुरमा नभएर हालको मनकामना देवी रहेको अरुण नदीको किनारामा भएको थियो जहाँ गोर्खाली सेनाको टुकडी भोजपुर तिरबाट मनकामना देवीको भाकल गरी अरुण नदी पार गरेर आएको थियो । ( स्रोत :अरुण कोशी किनारकी मनकामना :मातृका तिम्सिना )

Leave a Reply

Your email address will not be published. Required fields are marked *