Skip to content


यही नेर हुनुपर्छ भाचिएको समय र
असंतृप्त गीतको आवाजमा
टुक्राटुक्रा आरोपित मेरो गहुगोरो इतिहास

यो राष्ट्रगीतको सिम्फोनी
प्रत्येक क्षण जलेको आवाजमा रङ्गिएको अधिकारको सीमाना
एउटा मिथकीय विरासत मात्रै
भीडको किनारजस्तो समायोजन गराउनै नसकिने समयको मोडमा
पहाड र कुइनेटो भएर पर्खिरहेछु म

हो, प्रतिशोध छ यी उत्सवहरूसित,
कङ्काल पिटेर झुन्ड्याएका
लिसो लगाएर मनाएका
थाहा छ, टाउका हराएपछि टाउकाको चाड मनाउन सकिन्न
विचार लहसिन्छ मदसँग र बाँडिन्छ दोहरिएर आउने इतिहास

जब हामीबीचमा तिर्खाहरू बढी छन्
र हर एक आकाङ्क्षाको बाटो अस्पष्ट छ,
यहीँनेर प्रतिक उभ्याउनुपर्छ अब
सिङ्गो, मेरो गीतको
‘मार्ग चित्र’ लेख्दै, प्रेमको आँखाले शान्तिको नीलो अक्षरमा,
त्यसपछि खोलाहरूमा उज्यालो बग्नेछ
र घिन भरेको आँखाले कसैले हेर्नेछैन

साझा धर्तीको साझा आकाश ओढेर
एकताको पाइला टेक्न,
अब मलाई, मरो गीत सम्झने मात्र समय छ ।

नेपाल साप्ताहिक
अंक १२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *