Skip to content


कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईंसँग भेट भएको थियो । अपरिचयको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईंसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गासिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित चङगाझैँ उडिरहेका छन् । यिनीहरूलाई मैले थाम्नै पर्छ, बाध्नै पर्छ । नत्र भने म धागो चुडिएको चङगाझँै उडेर कतै हराउन वा बिलाउन सक्छु । त्यसैले मैले मेरा भावनाहरू, अनुभूतिहरू सङग्रह गरेर एउटा चित्र कोरेँ । मेरो क्यानभासमा त्यो कसको चित्र थियो म भन्न सक्दिनँ तर मैले त्यो चित्रलाई एउटा सुन्दर कवितामा ढालेँ । त्यस चित्रका आकृतिहरूलाई बिम्ब बनाएँ । रङहरूलाई शैली बनाएँ । कोलाजहरूलाई अनुभूतिका भावहरूमा बदलेँ । समष्टिमा मैले त्यो चित्रलाई एउटा बिम्बात्मक र प्रतिकात्मक रूपले सुन्दर कवितामा पगालेँ । जसरी एउटा मूर्तिकारले धातुलाई पगालेर एउटा सुन्दर मूर्ति बनाउँछ ।

एकदिन अफिस भनौ मेरो लाइब्रेरीको कोठामा तपाईं प्रमुख अतिथि भएर एउटा साहित्यिक कार्यक्रममा काठमाडौँबाट आउँदै हुनुहुन्छ भन्ने हल्ला सुनेँ । म उत्ति सारो साहित्यिक कार्यक्रममा हिँडदिन । यसरी नहिँडनुको कारणहरू धेरै छन् । जसलाई म यसरी सबिस्तार उद्धृत गर्न चाहन्छु । पहिलो कारण प्रायः ती कार्यक्रम कवि गोष्ठी हुने गर्दछन् । म कविता राम्रो लेख्न सक्दिनँ भन्ने हीनभावना मसँग छ । त्यसैले कवितावाचनमा कहिल्यै भाग लिदिनँ । दोस्रो कारण मेरा श्रीमान् यसरी साहित्यिक कार्यक्रममा हिँडेको पटक्कै रुचाउँदैनन् । तेस्रो कारण प्रायः शनिबार हुने यस्ता कार्यक्रममा मेरो घर-व्यवहारले फुर्सद नहुने भएर हो । चौथो कारण आफू साहित्यमा ढिलो लागेको हुनाले साहित्यिक संस्कारअनुसार कनिष्ठताको स्थान स्वीकारेर बस्नुपर्ने बाध्यता । पाँचौँ कारणचाहिँ यस्ता कार्यक्रममा पुरुषले नारीलाई यौन वासनाका रूपले हेर्ने प्रवृत्ति हो जुन कुरा मलाई पटक्कै मन पर्दैन । त्यसै पनि मैले मेरो सौन्दर्यमा लुटपुटिन चाहना गर्ने प्रक्षेपकरूपी तीखा आँखाहरूको प्रहार सहनुपर्ने हुन्छ । यिनै कारणले प्रायः म साहित्यिक कार्यक्रममा हिँडने गर्दिनँ । त्यसैले मलाई मेरै ठाउँमा पनि धेरै कमले चिन्ने गर्दछन् ।

त्यो दिनको कार्यक्रममा मलाई किन हो जाऊँजाऊँ लाग्यो । क्याम्पसमा एक दुई जना प्राध्यापकहरूले जसले मलाई लेख्छु भनेर चिन्नु भएको थियो । उहाँहरूबाट मैले कार्यक्रमबारे जानकारी लिएँ । म कार्यक्रमस्थल पुगेँ । म तपाईलाई राम्ररी चिन्दथेँ तर तपाईंले मलाई चिन्नसक्नु भएन । एकपल्ट भेटेको मान्छेलाई चिनी हाल्न गारो पनि हुन्छ मलाई पनि थाहा छ । एक दुईवटा कथा छापिएका पत्रिकामा पनि मेरो फोटो मलाई नै आफ्नो होइन जस्तो लागेको थियो भने तपाईंले चिन्ने सम्भावना नै भएन । फेरि त्यत्रा मानिसका हजारौँ आँखा भएको भीडमा दुई आँखाले के र कति मात्रामा हेर्न भ्याउनु । तपाईंको निर्दोषिताप्रति मेरो कुनै गुञ्जाइस छैन । तपाईं आउने भनिएर होला हलमा मान्छे खचाखच भरिएका थिए । तपाईंको स्वागतमा भव्य तयारी गरिएको रहेछ । लाग्दथ्यो राष्ट्रको राष्ट्रपति आएझैँ साहित्यको साहित्यपतिको सवारी भइरहेछ । त्यसै पनि काठमाडौँका साहित्यकार मोफसलका लागि सृष्टिकर्ता ब्रहृमाजी सरह हुन्छन् । उनीहरूले आफ्नो र आफ्नो क्षेत्रको बारेमा कुनै वेद वा रामायण नै लेखिदिने हुन् कि भन्ने ठूलो आशा हुन्छ । यो आशा सबै मोफसलको साहित्यकारहरूले हुर्काउने गर्दछन् मलजलसहित । म स्वयं पनि यस कुराबाट अपवाद हुन सक्दिनँ । आकासिने इच्छा कसलाई हुँदैन र ? त्यो आकाशिने उपकरण बोकेर बसेको छ काठमाडौँ । कतै त्यो उपकरणको स्वीच आफ्नो नाममा दबिहाल्छ कि भनेर आफ्ना रचना बोकेर चेप्टिएर तिनीहरू आकाश हेरेर बसेका थिए । सबैजना तपाईंसँग हात मिलाउँदै, चिनापर्ची गर्ने, र भलाकुसारी गर्ने तीव्र इच्छाका साथ उभिएका थिए । हेर्दाहेर्दै तपाईंका हातमा ठेलीठेलीका पुस्तक जम्मा भए झण्डै एउटा भरिया चाहिनेझैँ गरी । मलाई पनि नलागेको त होइन । तपाईंले प्रतिउत्तर दिने कथाकार बैनी अनामिका मै हुँ भनेर परिचय दिन तर किन हो मलाई आफू परिचित हुन मन लागेन । तपाईंले सोधीखोजी गरेर मलाई परिचय लिन आउनु होला भन्ने आशा लागेको थियो । यसरी तपाईंजस्तो विशिष्ट व्यक्तिबाट सोधीखोजी भएर परिचय हुन पाउँदा मेरो मूल्याङ्कन नै अर्कै हुन्थ्यो । हामी कथाको माध्यमबाट यति नजिक भएका छौ, पक्कै पनि मेरो परिचयको लागि कुनै न कुनै उपाय गर्नु हुनेछ भन्ने मलाई लागेको थियो । त्यसैले मैले आफू स्वयंले अपरिचयको घुम्टो उघार्ने कोसिस नै गरिनँ ।

तपाईं सबैसँग हात मिलाउँदै मञ्चतिर बस्न जानुभयो । एकछिनपछि एउटी नारी साहित्यकार फूलको गुच्छा मुस्कुराउँदै तपाईंलाई दिन गई । मलाई किन हो भित्रदेखि रिस उठेर आयो । त्यो फूलको गुच्छाबाट रातो गुलाफ झकिेर तपाईंलाई दिन मन लाग्यो । तर यो सम्भव थियो । त्यसैले मैले त्यो असम्भवलाई घुटुक्क थुक निलेझँै निलेँ ।

कार्यक्रम सुरु भइसकेको थियो । सुरुमा कवितावाचन थियो । मैले पनि जानी नजानी लेखेको ‘मैले नलाएको माया उसलाई’ कविता बोकेकी थिएँ । कविता सुनाऊ कि नसुनाऊ भयो । मैले कविता सुनाएँ भनी तपाईंले मलाई अवश्य चिन्नुहुनेछ भन्ने मलाई लाग्यो र पनि । मलाई यसरी चिनिन पटक्कै इच्छा लागेन । फेरि मेरो कविताको स्तरीयताले तपाईंले मेरो साहित्यिक गहिराइको मूल्याङ्कन गर्नुहुनेछ भनेर पनि सुनाउन चाहिनँ । म विचारको तरङ्गमा तैरिरहेकी थिएँ ।

कविता वाचनपछि समसामायिक नेपाली साहित्यमा गद्यविद्याको विकास नामक विषयमा अन्र्तक्रिया कार्यक्रम थियो । त्यस कार्यक्रममा प्रश्नकर्ताहरूले तपाईलाई सोधेर आच्छुआच्छु पार्दथे । तर तपाईंको गहन बौद्धिकताको अगाडि ती विचरा अज्ञानताले चुटेको मुसोसरह ठहरिन्थे । मलाई किन हो ती प्रतिक्रियावादीहरूलाई तपाईंले जित्दा एक किसिमको आनन्दानुभूति हुने गर्दथ्यो । समसामयिक मोफसलको लेखकहरूको चर्चा गर्नु हुँदा तपाईंले एकपल्ट मेरो नाम पनि उच्चारण गर्नुभएको थियो । मेरो नाम उल्लेख गर्नुहुदाँ मेरो नाक उचालिएर सगरमाथा भएको थियो । गर्वले मन फुलिएर थामिनसक्नु भएको थियो । अन्तक्रिर्या कार्यक्रमपछि चियापानको कार्यक्रम थियो । चियापान कार्यक्रममा धेरै जुनियर साहित्यकार त्यो पनि महिलाहरूले चिनापर्ची गर्न गए । तर किन हो मलाई जान मन लागेन । म अलिक फरक स्वभावकी छु । म सबैले गरेको काम फरक ढङ्गले गर्न चाहन्छु । फेरि तपाईंले अवश्य पनि मेरो विषयमा सोधीखोजी गरेर मलाई पत्ता लगाउनु होला भन्ने ठूलो आशा थियो तर मेरो आशामा तुषारापात भयो । म निराश भएँ । मेरो आत्मस्वाभिमानले तपाईंसँग परिचय लिन जान पनि मानेन । यतिन्जेल निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै लम्बिन सक्थ्यो तर म धेरै बेर बस्न सक्दिनथेँ । त्यसैले म रित्तो मन लिएर म घर आएँ । घरमा दैनिक काममा अल्झनु पर्‍यो । त्यही बेला श्रीमान्को फोन आयो- ‘तिमी आज बेलुका रेष्टुरेष्टको काउन्टरमा गएर बसिदिनु है । म धरानमा मिटिङमा छ, आउन ढिला हुन्छ ।” लोग्नेमान्छेलाई कति सजिलो छु ‘मिटिङ छ’ भनिदियो सकियो । समाजले यति धेरै स्वतन्त्रता दिएपछि सदुपयोग त गर्ने पर्‍यो नि म बेलुका रेष्टुरेण्टमा बस्दिनथेँ । रेष्टुरेण्टको काउण्टरमा बेलुकी समय महिला त्यो पनि म जस्तो सुन्दरी बस्नु भनेको फूलको वरिपरि भवरा घुमाउनु जत्तिको थियो । इच्छा नहुँदानहुँदै पनि म काउण्टरमा बस्न गएँ । अचम्म ! एकछिन पछि केही साहित्यकारसँग तपाईं भित्र बस्नुभयो । मलाई सपनाजस्तो लाग्यो । धन्न, ती तपाईंसँग आउने साहित्यकारहरू मलाई नचिन्ने परेछन् । नत्र तिनीहरूले तपाईसँग मेरो चिनापर्ची गराइदिने थिए र एक दुई बोतल वियर सित्तैमा उडाउन बेर लाउँदैनथे । म धेरैजसो साहित्यिक कार्यक्रममा नगएको अहिले फाइदा भए जस्तो लाग्यो । तपाईंहरूले वियर चिकनरोष्ट मगाएर खानथाल्नु भयो । मेरो सम्पूर्ण ध्यानचाहिँ तपाईंहरूपट्ट िनै थियो । हाम्रो सहरमा हाम्रो रेष्टुरेण्ट तथा लज स्तरीयतामा गनिन्थ्यो । त्यसैले होला आयोजकले तपाईंलाई हाम्रो रेष्टुरेण्टमा ल्याएका होलान् म अनुमानको बीउ छर्न थाल्छु । कोठा बुक गर्ने खाता हेर्छु । रातिको लागि पनि हाम्रै लजमा कोठा बुक गराइएको पाउँछु । सदा मेरो श्रीमान् यसरी ढिलो आएर म काउन्टरमा बस्नुपर्दा मलाई साह्रै रिस उठथ्यो । तर आज मलाई पटक्कै रिस उठेन । बरु उसलाई धन्यवाद दिन मन लाग्यो । तपाईं बोलेको, हाँसेको म घरीघरी छड्के आँखाले हेर्ने गर्दथे । एकपल्ट तपाईंले मेरो नाम लिनुभयो । सायद यो ठाउँमा म छु भनेर होला तर अरू साहित्यकारले खासै महत्त्व दिएनन् र कुरा अन्तै मोडियो । यस कुराले मेरो मनमा केही राहत प्राप्त भयो । किनभने तपाईंले मेरो विषय केही मात्रामा भए पनि खोजी गर्नु भएको रहेछ भनेर । तर आफू मात्र अघि बढु र आफ्नो मात्र चर्चा होस् भन्ने मपाईंत्वहरूले मेरो चर्चालाई लुकाई दिएका हुन सक्छन् । मैले आफूले आफैँलाई सान्त्वानाको लेपन लगाएँ ।

तिनीहरू धेरैभन्दा धेरै तपाईंको प्रशंसाको सप्तकोशी बगाइरहेका थिए । उनीहरू तपाईंलाई रिझाउन जन्मदेखिको बल लगाइरहेका थिए । तपाईंहरू उत्तरआधुनिकता, समावेशी साहित्य, लीलालेखन, रङ्वादी साहित्य, उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको आदिको विषयमा चर्चा गरिरहनु भएको थियो एक मनले सोचेँ जाऊ परिचय गरुकी भन्ने सोचले तन्किएँ तर फेरि वियर खाएको बेला के कस्तो व्यवहार गर्ने हुन् भन्ने सोचेर आफै खुम्चिएँ । कल्पनाको तरङ्गमा तरङ्गदिै थिएँ झल्याँस्स भएर एउटा कुरा सम्झिएँ । मैले तपाईंलाई मेरो विगतको कथा त बताइसकेकी छु । वर्तमानको कथा पनि लेख्नेछु भन्ने कुरा बताएकी थिएँ । त्यो वर्तमान तपाईंलाई अवश्यै लेखेर दिनुपर्छ भन्ने बाध्यताले म घोरिएँ । त्यसपछि भोलिपल्ट बिहानै त्यो कथा पनि दिने, आफ्नो परिचयको ढोका पनि उघार्ने र कथासम्बन्धी साहित्यिक छलफल पनि गर्ने सोचाइ बनाएर म घर फर्के । हाम्रो घर लजको ठीक पछाडि थियो । झण्डै नौबजे म कोठामा आइपुगेँ । म आइपुग्दा छोराछोरी निदाइसकेका थिए । घर आएर निकै बेर घोरिएँ । मेरो वर्तमानको कथा तपाईंलाई लेखेर दिनुछ भन्ने सोचले लेख्न बसँे । साहित्यलेखनमा मेरो सबैभन्दा आत्मीय मित्र नै राति हो । रातिचाहिँ मेरो आफ्नै हुन्छ । यदि रात नपर्ने हो भने म कथा लेख्न सक्ने थिइनँ । दिनभर त म बाँडिन्छु । बिहानभरि आमा हुन्छु भने दिउँसो कर्मचारी, बेलुका घर व्यवहारको गृहमन्त्री अनि राति श्रीमानको सहयात्री । तर राति जोडी दिन श्रीमान्लाई दिनुपर्छ भने बेजोडी दिन चाहिँ साहित्यलेखनलाई दिने गरेकी छु । योबाहेक महिनाको चारदिन चाहिँ मेरो आफ्नै हुने गर्दछ ।

केहीछिन पछि श्रीमान्ले धरान नै बस्ने जानकारी दिनुभयो । म आन्दोलित बनेँ । पुरुषहरूलाई कुनै नितिनियम छैन जहाँ जाँदा जे गर्दा पनि हुने ? मैले पढेकी छु, यसरी मिटिङ्ग भन्दै पुरुषहरू तरुनीहरूको रसरङमा रमाउनेहरूको कथा । त्यही कथाको एउटा पात्र मेरो श्रीमान् पनि हुनसक्छ तर म के गर्न सक्छु विवश र लाचार छु । के बन्धन र नियम त महिलाका लागि मात्र हुन ? मैले सोचेँ म पनि तपाईंलाई भेडेटार घुम्न प्रस्ताव राख्ने छु र पुरुषझैँ स्वतन्त्र हुनेछु । तर मैले सोचँे तपाईंले के ठान्नुहोला ? फेरि एउटा पुरुषको विद्रोहमा मैले अर्को पुरुषको सहारा किन लिऊ ? फेरि पुरुष साहित्यकारहरू प्रायः जसो यौनवादी हुन्छन् भन्ने मैले सुनेकी छु । त्यसैले मैले मेरो यो मनोकल्पनालाई मनमा उमि्रएको मुनामा नै निमोठी दिएँ । भोलि कथा लिएर तपाईंलाई भेट्नुछ । म आत्तिएँ । कतिखेर कथा लेखुँ । हुन त आफ्नै वर्तमानको कथा हो । कुनै पात्र, विषयवस्तु र घटना सोच्नै नपर्ने । आफ्नो जीवनको वर्तमान कथामा सललल लेख्दा भइहाल्ने । आज श्रीमान् पनि नभएको मलाई समयले पनि अनूकुलता दिएको थियो । मैले आफ्नो कथामा खर्चनु पर्ने शब्द, समय, भावना सबै खर्चे र एउटा सफल कथा लेखेँ । सोचेँ, बिहान चाँडै गएर तपाईंलाई दिनेछु ।

बिहान चाँडै उठेँ । नियमित धन्दा सकेर तपाईंलाई भेट्न जानलाग्दा छोरीले स्कुलको एउटा प्रोजेक्ट वर्क कम्प्युटरमा तयार गरिदिन अनुरोध गरी । नगरी भएन, किनभने नगर्दा ऊ एकाई परीक्षामा फेल हुने सम्भावना थियो । म विवशताले बाधिएँ । टाइपचाहिँ उसले गरिसकेकी रहिछे । दस मिनेट त हो नि भनेर उसको प्रोजेक्ट वर्क मिलाउन थालेँ । गर्दागर्दै झण्डै आधा घण्टा बढी लाग्यो । काम सकेर म हतारहतार गर्दै रेष्टुरेण्ट आइपुगँे । तपाईंको विषयमा मेनेजरलाई सोधँे । तर तपाईं गइसक्नु भएछ । मन खिन्न भयो । त्यो कथा तपाईंको हातमा दिउँला र परिचयको ढोका खोलौँला भन्ने कत्रो सपना थियो । तर सपनालाई असम्भवको बाढीले बगाएर लगिसकेको थियो ।

कथाकार दिवाकर नेपाली ज्यू म स्वयं परिचित हुन नचाहेकोले मलाई घमण्डी नठान्नुहोला यो मेरो आत्मास्वाभिमान हो । मेरो आत्मास्वाभिमानलाई अवश्यै सम्मान गर्नुहुनेछ भन्ने आशा गरेकी छु । त्यो कथा चाँडै नै कम्प्युटर टाइप गराएर तपाईंले पढ्ने गरी सार्वजनिक गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *