यो छातीभरि
तिम्रो सम्झनाले
घच्घच्याइरहेको बेला
कुन्नि किन हो ?
आफू उभिएको
धरातल पनि
डगमगाएको जस्तो लाग्छ
धेरै गुमाएँ मैले
र थोरै पाएँ
बटुलिरहेछु यतिबेला
छरिएका अतीतहरू
कल्पनामा अग्ला महलहरू
तयार पारिसकेपछि
प्रवेश गर्न नपाउँदै
भताभुङ्ग भएको बेला
समयभित्र आफूलाई
उभ्याउन नसक्दाको पीडा
खै Û कस्तो मलमले
सुम्सुम्याउने हो
थाहा छैन
थाहा छैन आफूलाई
मात्र व्यथा सँगालेर
अघि बढ्ने
कोसिस गर्दैछु
कहाँ पुगेर कुनबेला
थकित यात्रीको
पङ्क्तिमा उभिने हो
अनि लामो सुस्केरामा
मेरा सम्पूर्ण जीवनका क्षणहरू
समाहित हुने हो
पलपल बितिरहेका
समयलाई म
फर्काउन सक्दिन
मात्र
रिक्त भएका स्थानहरूमा
प्रेरणा बनाएर
थप्नुबाहेक
उपाय म अरू केही देख्दिन ।
-कौशलटार, भक्तपुर