बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।
हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो । मैले सानो स्वरमा भनेँ – “बाबु ! यो पैसा मैले तिमीलाई नै दिएको हुँ, लैजाऊ । एउटा कुरा भने नबिर्सनु । यो पैसा मैले दुःख गरेर कमाएको हुँ । यसको खर्च सही काममा गर्नु ।”
पचासको नोट पाएपछि केटो दौडँदै पार्कबाहिर निस्कियो । म पनि उसले चाल नपाउने गरी उसको पछि-पछि लागेँ ।
केटो हस्याङ्फस्याङ गर्दै एउटा औषधि पसलभित्र छिर्यो । म पनि त्यही छेउमा लुकेर बसे । एकछिनपछि ऊ औषधिको एउटा सिसी बोकेर निस्कियो । अब उसको हातमा पचासको नोटको ठाउँमा दसको नोट मात्र बाँकी थियो ।
म फेरि उसको पछि लागेँ । एउटा पुरानो पहिलो तला प्रायः भत्किसकेको घरको छिँडीको कोठाभित्र ऊ फुत्त छिर्यो । वरिपरि अँध्यारो भएकाले उसले मलाई देख्न सकेन । एकछिनपछि एकजना बूढी आमै ख्वाङ्ख्वाङ् खोक्दै उठिन् । केटो बडो उत्साहसाथ करायो- “आमै, मैले तिम्रो लागि खोकीको औषधि ल्याएँ नि ! ल उठ अब औषधि खाऊ ।”
बूढी आमैले सकीनसकी उठेर बत्ती बालिन् । सिसीमा सलेदो हालेर मट्टतिेलबाट बल्ने त्यो टुकीले दिउँसो बाह्र बजे पनि अँध्यारो हुने त्यस कोठामा उज्यालो छर्यो ।
टुकीको उज्यालोमा कोठाभित्रकोे अवस्था प्रस्ट देख्न सकिन्थ्यो । बूढी आमैको छेउमा एउटा सिलबरे बटुको थियो । त्यसमा उनले थुकेको रगत मिसिएको खकार थियो । अर्को कुनामा एउटा पुरानो स्टोभ, सिल्भरे डेक्ची र कराही थिए । एउटा थालमा मकै भुटेर राखिएको थियो । आमैको उमेर साठी वर्षको जति थियो ।
“बाबै मकै खान्छस् ?” आमैको प्रश्नसँगै त्यो बालक अलि खुसी भयो । उसले आमैलाई दुई चम्चा औषधि मुखमा हालिदियो । आमैलाई औषधि खुवाउन पाउँदा ऊ असाध्यै खुसी देखिन्थ्यो । उसको अनुहारमा अचम्मको चमक थियो ।
औषधि खाएर ओछ्यानमा पल्टेकी आमालाई हेर्दै त्यो केटो उठ्यो र भन्यो- “आमै ! तिमी मकै खान सक्दिनौँ । म पाउरोटी किनेर ल्याउँछु । अनि तिमी र म सँगै बसेर मकै र पाउरोटी खाउँला है !” यति भनेर केटो फेरि चोकतिर दौडियो ।
यस्तै पाँच मिनेटपछि केटो फर्कियो । उसको हातमा पाउरोटीको पोको थियो । भित्र पस्नेबित्तिकै उसले आफ्नी आमालाई विस्तारै उठायो र भित्तामा अडेस लगाएर बसायो । अनि विस्तारै पाउरोटी खुवाउन थाल्यो । पाउरोटीसँगै ऊ आफ्नी आमालाई पानी पनि खुवाउँदै जान्थ्यो । यसरी एकजना बालकको आमाप्रतिको माया देखी मेरो आँखाभरि आँसु भरियो ।
आमाले पाउरोटी खाएर सुतेपछि केटो अब आफैँ मकै खान थालेको थियो । यतिबेला मैले आफू आएको जानकारी उसलाई दिनु उचित ठानेँ । ‘ओहो भाइ ! म त तिम्रोमा आएँ नि है !’ भन्दै म उसको कोठाभित्र छिरेँ ।
“तपाईं अघि पोखरीमा मलाई पचास रुपियाँ दिने दाइ होइन ?” केटोले खुसी हुँदै मसँग प्रश्न गर्यो । मैले ‘हो’ भनेर टाउको हल्लाएँ । उसले आमालाई घचघचाउँदै करायो- “आमै, हेर त तिमीलाई औषधि किन्न पैसा दिने दाइ यिनै हुन् ।”
आमैले आफ्नो बिरामी अनुहारमा चमक ल्याउँदै मलाई पुलुक्क हेरिन् । मैले दुई हात जोडेर नमस्ते गरेँ ।
यसरी मैले चिनेको केटो कृष्णबहादुर अहिले काठमाडौंको सडक र गल्लीमा पत्रिका बेच्दै हिँड्छ । दिनको सय-डेढसय रुपियाँ कमाउँछ । ऊ हकर बाल क्लबको सदस्य पनि छ । बेलुका-बेलुका विद्यालयमा पनि पढ्न जाने गर्छ । उसको नयाँ कोठामा म अस्ति भर्खर पुगेको थिएँ । अहिले त आमैको रोग पनि निको भएछ । उनी पनि काम गरेर दिनको एकसय रुपियाँ कमाउँदिरैछिन् ।
अहिलेको कृष्णबहादुरको कोठाको अनुहार पनि फेरिएको रहेछ । यसरी यति सानै उमेरमा आफ्नो बाबु र नातागोताबाट टाढा रहेर पनि आफ्नी आमालाई नयाँ जीवन दिई आफू पनि उज्यालो भविष्यतिर हिँडेको कृष्णलाई भेटेपछि म सधैँ आफ्नो छोरोलाई भन्ने गर्छु – “बाबु, आज मैले साँच्चिकै हिरोलाई भेटेर आएँ ।”
मेरो छोरो ‘को बाबा, राजेश हमाल ?’ भनेर मलाई प्रश्न गर्ने गर्छ । म भन्छु – “होइन छोरा, कृष्णबहादुर । ऊ चलचित्रको होइन, वास्तविक जीवनको हिरो हो ।”
Aha sabai baccha haru yastai
Aha sabai baccha haru yastai man ko huni bhaya aja desh ma yasto apati parni tiyana god bless you krishna ani lekhak lai dharai danyabad
sahit Iraq