Skip to content

सशस्त्र क्रान्तिका पहिला सहिद

  • by


विसं २००६ चैत १४ गतेको घटना हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधिहरूले भरिएको थियो, कलकत्ताको चौरंगी टाइगर सिनेमा हल । दुई कांग्रेस पार्टी एक भएको खुसीयालीमा आयोजना गरिएको सम्मेलन थियो त्यो । त्यही हलको प्रवेशद्वारमा एक जना गोरो, रातोपिरो र फुर्तिलो युवक स्वागत समितिको ब्याज लगाएर उभिएको थियो । सुन्दर अनुहार र आकर्षक व्यक्तित्वका कारण ऊ जो कसैलाई आकर्षित गर्न सक्थ्यो । म पनि त्यस युवकप्रति आकर्षित भएँ । छेउमै रहेका एक परििचत प्रतिनिधिलाई सोधेँ, “यिनी को हुन् ?” जवाफमा मैले यत्ति मात्रै सुनेँ, “थीरबम मल्ल, सुवर्णशमशेरका भान्जा ।”

नाम सुन्नासाथ केही समयअघिका स्मरणहरू ताजा भएर आए । सुवर्णशमशेरले देहरादुन मिलिट्री एकेडेमीका स्नातक आफ्ना भान्जा थीरबमलाई नेपालमा गरिन लागेको सशस्त्र क्रान्तिका लागि सैनिक संगठन र त्यसको सञ्चालनको जिम्मा दिने कुरा गर्नुभएको थियो । तर, अनुहारले भने म उनलाई चिन्दिनथेँ । कति समय ३ नम्बर थिएटर रोड त कति समय ४० नम्बर चौरंगीमा हामीहरू बस्थ्यौँ । थीरबमको पनि यी दुवै ठाउँमा बरोबर बास हुन्थ्यो । त्यसबेला म गणेशमान सिंहका साथ ३ नम्बर थिएटर रोडमा बसको थिएँ । थीरबम पनि त्यही गेस्टहाउसको अर्को कोठामा बस्थे । नेपालमा कांग्रेस कार्यकर्ता दिनहुँ मारइिरहेका थिए । एक किसिमले राणा शासनको ज्यादती उत्कर्षमा थियो । यत्तिकैमा एकदिन बेलुकाको समय पारेर थीरबम हाम्रो कोठामा पसे । र, गणेशमान सिंहलाई भने, “आज ग्रयान्ड होटलमा भारतका नामी जादुगर गोजिया पासाको शो चलिरहेको छ, हेर्न जाऊँ ।”

कात्तिक महिनाको कुरा हो । त्यसै गरी एक दिन राती १० बजे फेरि थीरबम टुप्लुक्क कोठामा आइपुगे । गणेशमानजी अलि चिन्तित हुनुहुन्थ्यो । उहाँलाई खाना खान ग्रयान्ड होटलमा जान अनुरोध गरे । गणेशमानजीले आफू नगएर मलाई पठाइदिनुभयो । ट्याक्सीमा त्यहाँसम्म पुग्दा हाम्राबीचमा केही कुराकानी भए । तर, उनले आफ्नो गुप्त कुरा भने खुलाएनन्, केवल मामाको काम निकै बढेको जिकिर गररिहे ।

खानामा उनलाई एगरोल (अन्डाको परकिार) खुब मन पर्दो रहेछ । होटल, क्लबमा केटीहरूसित पाश्चात्य नृत्य गर्दा खूब रमाउँदा पनि रहेछन् । लाग्यो, उमेर नै त्यस्तो हो अनि खानदान पनि । खाउँपिऊ मोज गरौँ भन्ने खालको । रंगीन मिजासको युवक । जब हामी कुनै गम्भीर विषयमा विचार-विमर्श गररिहेका हुन्थ्यौँ, उनी कुनै षोडसीलाई कारमा लिएर सयर गर्न निस्कन्थे, नियतिको ठूलै व्यंग्यजस्तो लाग्थ्यो त्यसबेला मलाई । तर, यो सब त उनको देखाउने कुरा रहेछ, भित्री योजना अर्कै रहेछ । आफ्नै साथीहरूले पनि चाल नपाउन् भनेर उनी यो सब गर्दा रहेछन् ।

थीरबमको सैनिक संगठन साँच्चै गजबको थियो । सरकार त के आफ्नै पार्टीका वरिष्ठ नेताहरूले पनि त्यसको सुइँको पाएका थिएनन् । सशस्त्र क्रान्तिमा प्रयोग भएका शस्त्र-अस्त्र कहाँबाट कसरी ल्याइयो, धेरैलाई थाहै भएन । दोस्रो विश्वयुद्धका बेला दक्षिणपूर्वी एसियादेखि युरोपसम्मका विभिन्न मोर्चामा लडिसकेका त्यस्ता वीर नेपालीहरूलाई संगठित गरे, जो भारतदेखि बर्मासम्म छरिएर रहेका थिए । यिनैमध्येका थिए, आजाद हिन्द फौजमा काम गरसिकेका मेजर पूर्णसिंह खवास, क्याप्टेन दिलमानसिंह थापा र लेफि्टनेन्ट बुधसिंह गुरुङ । थीरबमले नै सशस्त्र क्रान्तिको तयारीका निम्ति दिलमानलाई भीमफेदीमा दाउरा पसल थापेर राष्ट्रिय सेनाको निगरानीका निम्ति खटाएका थिए भने बुधसिंहलाई वीरगन्जको स्टेसनमा चिया पसल थाप्न लगाएका थिए ।

तर दुर्भाग्य ! उनको त्यस्तो गुप्ती योजना पनि ‘लिक’ भयो । ब्रिटिस गोर्खा फौजमा काम गररिहेका डोटीतिरका मोहन सिंह भन्ने व्यक्तिलाई गणेशमानजीले ज्यादै विश्वास गरेर गोप्य कामको अभिभारा सुम्पिनुभयो । ऊ दिउँसो दिउँसो हामीहरूको काम गर्ने र राति बुर्का लगाएर महिलाको भेषमा वीरगन्जका बडाहाकिम सोमशमशेरकहाँ कुरा पुर्याउँदो रहेछ । उसकै कारण थीरबमको योजना राणा सरकारको जानकारीमा पुग्यो र कांग्रेसले ठूलो क्षति बेहोर्यो । यो सब कुरा मैले पछि तेजबहादुर अमात्यबाट मात्रै थाहा पाएँ ।

यसरी थीरबमको सैनिक योजना सबै भताभुंग भयो । ठोरीको जंगलमा गणेशमानजी मात्र गिरफ्तारीमा पर्नुभएन, काठमाडौँबाट कर्णेल तोरणशमशेर र उनका सबै सहयोगीहरू समातिए । दिलमान पनि गिरफ्तारीमा परे । तर पनि थीरबमले हिम्मत हारेनन् । करबि सय जना मुक्ति सेनाका जवान लिएर उनी वीरगन्ज पुगे र कात्तिक २९ गतेको मध्यराती हमला बोले । राष्ट्रिय फौजको ब्यारेकमाथि पूर्णसिंहको नेतृत्वमा रहेको टोलीले हमला गर्यो भने थीरबमको नेतृत्वमा गोश्वारा र गारदमाथि हमला बोलियो ।

वीरगन्जका बडाहाकिम सोमशमशेर नातामा थीरबमका मामा पर्थे । तर, थीरबम आन्दोलनप्रति यति इमानदार थिए कि नातागोता र आफन्तले उनको मिसनमा अवरोध पुर्याउन सक्दैनथ्यो । सोमशमशेरको ढोका थीरबमले लात हानेर फोडी दिए । त्यत्तिकैमा सोमशमशेरले भित्रबाट गोली चलाउन सुरु गरे । थीरबम पनि के कम, ‘तपाईंको हाँक हामीलाई स्वीकार छ’ भन्दै भित्रै पसे । बडाहाकिम चिच्याइहाले, ‘ए ब्यारेक ! ए गारद !’ तर, उनको केही चलेन । बडाहाकिमको सम्पूर्ण परविारलाई नै गिरफ्तार गरी नियन्त्रणमा लिई मुक्ति सेना अगाडि बढ्यो । त्यत्तिकैमा ब्यारेकबाट गोली चल्न सुरु गर्यो । मुक्ति सेनाका जवानले पनि उत्तर, पूर्व र दक्ष्ािण गरी तीनतिरबाट गोली बर्साउन थाले ।

गोश्वारातिर कब्जामा लिइएका सरकारी मानिसहरूलाई सम्झाइरहँदा वीरगन्ज रेल्वे स्टेसनतिरबाट आएका राष्ट्रिय फौजका दुई जना जवान, जसमा एक जना सोमशमशेरका अंगरक्षक पूर्णबहादुर महत पनि थिए, ले गोली चलाइहाले । ५० गजजतिको दूरीबाट उनीहरूले चलाएको एउटा गोली थीरबमको पेटमा लाग्यो । उनी सम्हालिन नपाउँदै अर्को गोली कञ्चटमा लाग्यो । र, सशस्त्र क्रान्तिको पहिला सहिद बने, थीरबम ।

विसं १९८२ भदौ १ गते काठमाडौँमा जन्मिएका थीरबम गलकोटे राजा भरतबम मल्लका छोरा हुन् । अहिले आएर सम्झिन्छु, उनलाई चिन्न मैले ज्यादै ढिला गरें कि !

नेपाल साप्ताहिक ३८४

Leave a Reply

Your email address will not be published. Required fields are marked *