भारतको पटनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयजस्तै थियो । सबै काम त्यहीँबाट निर्देशित हुन्थ्यो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र कांग्रेसबीच भएको दिल्ली सम्झौताको ‘ड्राफ्ट’ त्यहीँ भएको हो । सोही सम्झौताबमोजिम १ सय ४ वर्षे निरंकुश राणाशासन ढल्यो र नेपालमा प्रजातन्त्रको बिहानी झुल्कियो । तर, हाम्रा लागि त्यो सम्झौता धेरै गुमाएर थोरै प्राप्त गरेको अवसर थियो । ‘छातीमाथि ढुंगा राखी हाँस्नु पर्या छ !’ जस्तै भएको थियो, दिल्ली सम्झौता नेपाली कांग्रेसका कार्यकर्ताका लागि ।
त्यति हुँदाहुँदै पनि नेपाली कांग्रेसले निर्णय नै गर्यो, काठमाडौँ उपत्यकामा दीपावली र विजयोत्सव मनाउने । सोही निर्णयबमोजिम म फागुन ७ गतेको तयारीका निम्ति खटाइएपछि स्वदेश फर्किएँ । मातृकाबाबु (मातृकाप्रसाद कोइराला)ले फागुन १ गते म र जयबहादुरसिंह प्रधानलाई सानो हवाईजहाजद्वारा काठमाडौँ पठाउने व्यवस्था मिलाउनुभयो । र, हामी काठमाडौँ उत्रियौँ । यहाँ सरकार नभएजस्तै अवस्था थियो । हामीलाई विमानस्थलमा ज्यादै कडाइ गरियो । राहदानी मागियो । हामीले स्पष्टै भनिदियौँ, ‘हामीलाई त पार्टी अध्यक्षले पठाएको, केको राहदानी हुनु ?’ दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरेर एक किसिमले गिरफ्तारजस्तै गरियो । त्यत्ति नै बेला भारतीय दूताबासबाट एउटा गाडी आइपुग्यो र त्यसमा सवार एक जना ‘पटनाबाट आउनुभएका मानिसहरूलाई लिन आएको’ भनेर चिच्यायो । सबै सामसुम भयो ।
हामी गौचर विमानस्थलबाट रानीपोखरीनिर आइपुग्दा ठूलो जुलुस देख्यौँ । गणेशमान सिंह, तोरणशमशेर र सुन्दरराज चालिसेहरू भर्खरै रिहा भएको खुसीयालीमा निस्किएको जुलुस रहेछ । एकछिन गाडी रोक्न लगाएर त्यो जुलुसको बीचमा रहेका नेताहरूलाई गर्लम्म अँगालो हालेँ र खुसी साटासाट गरेँ । त्यसपछि सरासर दूताबासतर्फ लाग्यौँ । सोच्यौँ, भोलि सरकारमा जाने मानिस आज रिहा भएको छ । दिल्ली सम्झौतामा के गरेका होलान् नेताहरूले ! कमसेकम जेलका मानिसहरू त पहिले नै रिहा हुनुपर्ने । जवाहरलाल नेहरूले त्यति पनि बुद्धि नपुर्याएकामा झन् कस्तोकस्तो लाग्यो । हिन्दीमा उखान छ नि, ‘रस्सी जल गई मगर ऐठन नही गई !’ मोहनशमशेरको जिद्दी देख्दा मलाई त्यही उखानको सम्झना भयो । किनभने, मोहनशमशेर गणेशमान सिंहलाई कुनै हालतमा पनि मन्त्रिमण्डलमा समावेश गर्न चाहँदैनथे । तर, सम्झौता भइसकेको थियो । मन्त्रीको सूचीमा गणेशमानको नाम चढिसकेको थियो ।
हामी भारतीय दूताबास पुग्दा राजदूत चन्द्रेश्वरनारायण सिंहको फूर्ति अर्कै थियो । उनको रवाफ देख्दा मलाई आश्चर्य लाग्यो । हिन्दीमै सोधे, ‘को-को आउँदैछन् ?’ भनेर । मैले शीर्ष सबै नेताहरू आउने जानकारी दिएँ । अनि उनले ‘ए क्लास’का नेताहरूलाई फलानो गेस्टहाउस र अन्यलाई फलानो धर्मशालामा व्यवस्था गर्नू भनेर रञ्जना हलका मालिक हरिकृष्ण श्रेष्ठसहितका केही मानिसलाई अह्राए । नेपालमा पनि भारतीय हुकुम चलिरहेको देख्दा ज्यादै आश्चर्य लाग्यो । अनि, राजदूत सिंहले हरिकृष्ण लगायतलाई गरेको ज्यादै तल्लोस्तरको व्यवहार देखेर साह्रै नमज्जा पनि लाग्यो । यो सबै त पार्टीले गर्नुपर्ने । नभए सरकारले गर्नुपर्ने । यहाँ त दुवैको उपस्थिति नै देखिँदैन । दिक्क पनि लाग्यो । वनारसमा पढ्दा ती राजदूतका बारेमा जानकारी थियो । किनभने, मैले र उनका भान्जाहरूले त्यहाँ सँगै पढेका थियौँ । अंग्रेजका ज्यादै भक्त थिए, ती । ठूलै पद्वी पाएका थिए । पछि त नेहरूले पनि ज्यादै पुलपुल्याए उनलाई । त्यसैले ज्यादै चढेका थिए उनी ।
त्यसपछि सरासर त्यहाँबाट गणेशमान सिंहको निवास पुगेँ । किलागल हुँदै जुलुस आइरहेको थियो । त्यसबेला भेटघाटका निम्ति पुर्जी लेख्ने चलन थियो । त्रिपुरवरसिंह प्रधानले एउटा पुर्जी लेखेर ‘गणेशमानजी ज्यादै रसिाउनुभएको छ, तिमी भित्र गइहाल’ भन्नुभयो । मलाई पनि अप्ठ्यारो लाग्यो । सामान्य सोधपुछपछि गणेशमानजी कड्किहाल्नुभयो, “के गरेको यो सम्झौता ? एक करोड जनताको प्रतिनिधिलाई पनि पाँच सिट, ६० राणा परविारका लागि पनि पाँच सिट ? कस्तो सम्झौता हो यो ?” पल्लो कोठामा केही पत्रकारका साथ मानिसहरूको घुइँचो थियो । स्वयं बालकृष्ण सम पनि क्यामरा बोकेर पुग्नुभएको थियो । तर, उहाँले नेहरूलाई खुब गाली गर्नुभयो । ‘नेताहरूसँगै सबै कुरा गर्नुहोला, अहिले छोडिदिनूस्’ भनेँ । त्यसपछि केही शान्त हुनुभयो अनि मःम खायौँ र बिदा भयौँ ।
राजाभन्दा पहिले अर्थात् एक दिनअघि कांग्रेसका नेताहरू स्वदेश आउने कार्यक्रम पटनामै तय भएको थियो । किनभने, सँगै जाँदा राजा वा नेपाली कांग्रेस कसको पक्षमा यत्रो जनमानस उर्लियो भन्ने पनि हुन्थ्यो । पार्टीको ‘आइडेन्टिटी’ पनि राख्नुपर्यो भन्ने छलफल भएर त्यो निर्णय गरएिको थियो । अन्तिममा जहाज नै ‘क्यान्सिल’ गरियो । भारतलाई पनि लाग्यो होला, राजाभन्दा पहिले कांग्रेसका नेताहरूलाई किन पठाउने ? यसरी राजा र नेपाली कांग्रेसका नेताहरू सबैलाई महावीरशमशेरको जहाजमा फागुन ४ गते नै पठाइयो ।
सबै शीर्ष नेताहरूका लागि सहिद थीरबम मल्लका पिता गलकोटे राजा भरतबम मल्लको नक्सालस्थित घरमा व्यवस्था गरएिको थियो । फागुन ५ गतेका लागि त्यहाँ एउटा बैठक/भेटघाटजस्तो कार्यक्रम राखे कसो होला भनेर मातृकाबाबुले सोध्नुभयो । मैले भनँे, “सबै मानिस रसिाइरहेका छन् । यो सम्झौता कसैले रुचाएका छैनन् । स्वयं गणेशमान सिंह पनि रसिले आगो हुनुभएको छ ।” तर, उहाँले मान्नुभएन । बैठक डाक्यौँ ।
काठमाडौँमा उपलब्ध सबैलाई खबर गर्यौँ । करबि ४० जनाको उपस्थिति रहेको बैठकमै बबाल मच्चियो । पछाडिपट्टि किसुनजी (कृष्णप्रसाद भट्टराई), विश्वबन्धु थापा र म बसेका थियौँ । मातृकाबाबुले किसुनजीलाई सोध्नुभयो, “तपाईंलाई त सबै थाहै छ । के भन्नुपर्यो र ?” तर, किसुनजी कड्किहाल्नुभयो, “यो मिटिङ्मै आपत्तिजनक मानिस छन् । जो क्रान्तिको विरोध गर्थे, तिनैको यहाँ गजधम्म उपस्थिति छ ।” मातृकाबाबुले सोध्नुभयो, “को हो भन्नूस् न !” धेरैपटक सवालजवाफ चलेपछि काशीप्रसाद श्रीवास्तवले हिन्दीमा भन्नुभयो, “किसुनजीको इसारा कोप्रति हो, त्यो सब मलाई थाहा छ ।” त्यत्तिकैमा किसुनजीले पनि हिन्दीमै ‘थाहा छ भने किन बसेको त ?’ भनेर जवाफ फर्काउनुभयो । ‘ठीक छ त्यसो भए म जान्छु’ भन्दै बडो नाटकीय पाराले उहाँ बाहिरिनुभयो । तैपनि, किसुनजी रोकिनुभएन । विश्वबन्धुजी र मैले पनि सही थाप्यौँ । अब त कोही छैनन् भन्ने कुरा आयो, मातृकाबाबुबाट । त्यसपछि भद्रकाली मिश्रप्रति इसारा गर्दै कुरा उठ्यो । उनको नाम त मन्त्रीकै सूचीमा थियो । त्यसपछि मातृकाबाबुले अब यसबारेमा कुरै नगरौँ भन्नुभयो । ‘त्यसो भए किन बैठक बोलाएको त ?’ भनेर चर्चाचर्की भयो । अनि, त्यत्तिकै बैठक टुंगियो ।
नेपाल साप्ताहिक ३८३
