Skip to content


जुनजुन व्यक्तिसँग भित्री लय मिल्छ, तीती व्यक्तिसँग मौनमा पनि संवाद चलिरहन्छ । निःशब्द मौनतामा वार्तालापको महक गम्किरहन्छ । भित्री लय भन्ने चिज बहुत अनौठो हुँदोरहेछ । प्रत्येक मान्छेभित्र, आ-आफ्नाखाले लय हुँदारहेछन् । ती लयहरूले उसको स्वभाव, बानी-व्यहोरा, सोच, शैली, चिन्तन, प्रवृति तथा चित्तवृत्ति निर्धारण गर्दोरहेछ । लयको समस्वरताले नै मान्छेका मनहरू एकापसमा जोडिँदारहेछन् । जोसँग लय मिल्दैन त्योसँग निकट सान्निध्य कायम नहुँदो रहेछ ।

मान्छे विभिन्नखालका सम्बन्धका आयाममा बेरिएको हुन्छ । कोहीसँग धनको कारणले गाँसिएको सम्बन्ध हुन्छ । कोहीसँग पदको कारणले गाँसिएको सम्बन्ध हुन्छ । कसैसँग शिक्षा र राजनीतिको कारणले गाँसिएको सम्बन्ध हुन्छ । कोहीसँग विवाहको कारणले गाँसिएको सम्बन्ध हुन्छ । यी सारा सम्बन्धहरू बाहिरी बर्तुलमा चक्कर लाउने औपचारिक सम्बन्धहरू मात्र हुन् । सम्बन्धको असली आयाम भने भित्र लुकेको हुन्छ । भित्री आयामको सम्बन्ध नितान्त अनौपचारिक स्वरूपको हुन्छ । भित्री सम्बन्ध जहिले पनि केन्द्रको तारसँग जोडिएको हुन्छ । हृदयको भित्री केन्द्रमा जुन तारहरू हुन्छन्, त्यो तारको कम्पन र थर्कनबाट व्यक्तिको भित्री स्वरहरू निस्किन्छन् । यी स्वरहरू जहाँ जोजोसित एकाकार हुन्छन्, त्यहाँ अनौपचारिक सम्बन्धको स्वरूप रचना हुन्छ ।

भित्री लय मिलेपछि लय मिल्ने व्यक्तिको निकटता नै काफी आनन्दको विषय बनिदिन्छ । शब्दमा धेरै कुरा बोलिरहनु पर्दैन । अन्तरआभा आँखाबाट प्रकट भइरहेको हुन्छ । उसको तरङ्गले निरन्तर संवाद गरिरहेको हुन्छ । जोसँग लय मिल्दैन, त्यस्तो व्यक्तिको निकटतामा कुनै आन्तरिक घटना घट्ने कुनै गुन्जाइस नै रहँदैन । मन भारी हुँदै जान्छ, शरीर भारी हुँदै जान्छ र आखिरमा वातावरण नै पूरा बोझिल बन्दछ । त्यहाँ आनन्दको अनुभूतिभन्दा बोझिल अनुभूतिको असजिलो अवस्था घटित हुन्छ ।

हाम्रा पूर्वजहरूले बनाएका उखानहरूका अर्थहरू भर्खरभर्खर खुल्न थालेका छन् । भेडाभेडासँग बाख्राबाख्रासँग, हाँसको हूलमा बकुल्ला । भेडा र बाख्राको सरावरी हूलमा भेडाहरू एक ठाँउमा जम्मा हुन्छन्, बाख्राहरू अर्को ठाँउ गोलबन्द हुन्छन् । पशु जगत्मा भित्रीलयको करामत झन् टाठो रूपमा हेर्न सकिन्छ । बाख्रा र भेडाको भित्रीलय नमिलेकै कारणले बाहिरबाट जति नै मिलाउन खोजे पनि ती एकठाँउमा आएर बस्न सक्दैनन् । भित्रीलय मिल्ने आफ्नो जात खोज्दै आफ्नो सजातीय झुन्डमा मिसिन पुगिहाल्छन् । जनावर र पक्षी गणमा भित्री लयको ठूलो हात रहेको हुन्छ । कसै गर्दा पनि गौँथलीको हुलमा भँगेरो उड्न सक्दैन । कागको बथानमा कोइली आएर बस्तैन ।

पशुपक्षी गणको जस्तो स्थूल र मूर्तरूपमा त मानिस मानिसको झुण्ड निर्माण नहोला तर पनि स्वभाव, स्वर, श्रद्धा, सोचाइ, सिद्धान्त, ताल, तुक, गति यति मिलेपछि मानिसको एकएक वटा वृत्त निर्माण हुन्छ । एकएक वटा सङ्गत निर्माण हुन्छ । आन्तरिक तलमा रहने मिलनका यी अवयवहरूलाई मैले एकमुष्टरूपमा भित्री लयको नाम दिएको छु । भित्री लय मिलेपछि बाहिरी लयहरू मिल्छन् । भित्री लयबाट नै सम्बन्धका रूप ध्वनिहरू बाहिर निस्किन्छन् ।

मैले आफ्नो अड्तीस वर्षको जीवनयात्रामा आफूभित्रको लयलाई करिबकरिब चिनिसकेको छु । आफूभित्रको स्वरलाई करिबकरिब ठम्याइसकेको छु । आफूभित्रको सीमा र बाध्यतालाई पहिचान गरिसकेको छु । आफूभित्रको सम्भावनालाई पनि नजरअन्दाज गरिसकेको छु । यसरी आफूभित्रको स्वरलाई चिनिसकेपछि आफ्नो स्वरसँग लय मिल्ने व्यक्तिको खोजीमा लाग्दोरहेछु । लय मिल्ने व्यक्तिहरूको सङ्गतमा रम्न लोभ गर्दोरहेछु ।

जोसँग लय मिल्छ, त्योसित कुरा मिल्दोरहेछ । सपनाहरू मिल्दारहेछन् । व्यवहार मिल्दोरहेछ । आँसुहरू मिल्दारहेछन्, हाँसोहरू खप्टिँदारहेछन् ।

मैले सुनेको छु, केही दृश्य देखेको पनि छु । गाँजा तान्ने गँजडीहरू भौगोलिक दूरीले निकै टाढाटाढा छरिएर रहे पनि गाँजा तान्ने बेलामा भर्सक एकै ठाँउ जुटेर गफ लाउँदै चिलिम तानेका हुन्छन् । गाँजाको हकमा मात्र होइन अरू व्यसन र लतमार्गीहरूमा पनि आ-आफ्नो कित्ताको मान्छेहरूको एकएकओटा सङ्गतमण्डलीहरू निर्माण भएको हुन्छ । एउटा गँजडी लय मिल्ने साथी खोज्दै जाँदा, रोज्दै जाँदा अर्को गँजडीसामु पुग्दछ । एउटा रक्स्याहाको निम्ति लय मिल्ने साथी खोज्दै जाँदा, रोज्दै जाँदा अर्को रक्स्याहासँग जोल्ठिन पुग्दछ । एउटा घुस्याहाका लागि सबैभन्दा लय मिल्ने अर्को घुस्याहा चित्तको मान्छे हुनुपर्दछ । एउटा लेखनजीवी स्रष्टाको भित्री लय मिल्ने साथी अर्को लेखनजीवी स्रष्टा नै हुने गर्दछ । आफूभित्र जुन खालको लत बसेको हुन्छ, त्यही लतले एउटा लय निर्माण गर्छ । त्यो लयले त्यस्तै खालको अर्को लय खोजी गर्दोरहेछ ।

लय नमिलेपछि एउटै ओछ्यानमा सुतेको साथी पनि धेरै टाढाको विरन्तरी बन्दोरहेछ । लय मिलेपछि भौगोलिकरूपले हजारौँ किलोमिटर टाढा बसेको आफन्त, मित्र जे होस् साह्रै निकट बन्दोरहेछ । दूरीले टाढा पनि हृदयभित्रै उसको सान्निध्यतालाई अनुभव गर्दोरहेछ ।

प्रत्यक्ष भेट नभएपछि लय मिल्ने साथीको अन्तरतरङ्गले दूरदूरसम्म हृदयलाई बिथोली रहन्छ । उसको स्मृतिमा पनि आँखाहरू तरल बनिदिन्छन् । यो तरङ्गलाई अरूले कत्तिको महसुस गरेका छन् तर मैले काफी अनुभव गरेको छु ।

लय नमिलेपछि एउटै ओछ्यानमा सुतेकी श्रीमती पनि बिरानी, अपरिचित आइमाई हुनसक्छिन् । लय नमिलेपछि दुई हात परको श्रीमान् पनि सात समुद्रपारिको बेखवर मनुवा हुनसक्छ । त्यसैले कतिपय कुरामा घरसारमा यस्ता कुरा सुन्न पाइन्छ-के गर्नु आफ्नो दाजुभाइ भनेर हुँदैन, उसको त मलाई केही कुरा थाहा हुँदैन । के गर्नु आफ्नो छोरो भनेर मात्रै हुन्छ र ? ऊसँग मेरो बोलचाल नभएको महिनौँ भइसक्यो ? के गर्नु सँगै घर भएर मात्र हुन्छ र ? उनी के गर्छन, कसो गर्दैछन् ? मलाई केही कुरा पनि थाहा हुँदैन । लय नमिलेपछि छिमेकी छिमेकी हुँदैन, छोरो छोरो हुँदैन, दाजुभाइ दाजुभाइ हुँदैन, आफन्त आफन्त हुँदैन । मेरा कतिपय इष्टमित्र, नातागोता, दाजुभाइ आफन्तहरूले मलाई नजिकको नाता, रक्तसम्बन्ध र आफन्तको रूपमा गणना गर्दा रहेनछन् । यसलाई मैले अस्वाभाविक रूपमा लिन छाडेको छु । कतिपयसँग परिबन्दले नजिकको सम्बन्ध भए पनि अपनत्वको हिसाबले हामी सात डाँडा वारिपारि उभिएको छौँ । यो स्वाभाविक पनि हो, मेरो लय जोसँग मिल्छ, जहाँजहाँ मिल्छ त्यहाँत्यहाँ सम्बन्धको सुन्दर फूल सुवासित बनेको हुन्छ । जहाँजहाँ लय मिल्दैन, त्यहाँत्यहँा मलाई टेढो आँखाले हेरिँदो होला, अहिले यही अनुभव गर्छु । फेरि मलाई राम्रो आँखाले नहेर्ने उपर मैले चैँ राम्रो आँखाले हेरिरहनुपर्छ भन्ने पनि लाग्दैन । सम्बन्धका सबै आयामहरू दोहोरो राजमार्गमा कुद्ने गाडीजस्ता हुन्छन् । एकातिरबाट एउटा गाडी आयो भने अर्कातिरबाट अर्को गाडी त्यसरी नै जानुपर्छ । अर्थात् कसैले कसैलाई हार्दिक आँखाले हृदयमा सजायो भने उसले पनि त्यसलाई मुटुभित्रै सजाउनुपर्छ ।

अनि मात्र हृदयमा नवीन लयको धुन गुन्जिन्छ । एकोहोरो रोटी पाक्दैन भन्ने उखान कति राम्रो छ । रोटी पाक्न दुईतिरै पल्टाउनुपर्छ । मान्छे-मान्छेबीचको सम्बन्ध राम्रो हुन पनि दुईटै हृदय एकअर्काप्रति लालायित बन्नुपर्छ भन्ने हो । एउटाको एकतर्फी लालसाले मात्र कुनै सम्बन्धमा सुन्दर पात हाल्दैन ।

लय नमिल्ने मान्छेसँगको सम्बन्ध काउछोजस्तो बिझाउँछ । त्यस्तो मानिसको सान्निध्यमा भित्रबाट असहज भाव उम्लेर आँउछ । भित्री लय भन्ने चिज त यति सम्बन्धको सूत्रमा कसिने यति केन्द्रीय महìवको वस्तु रहेछ । यसलाई जो कसैले आत्मिकरूपमा महसुस गर्नसक्छन् । लय मिल्नेबित्तिकै दुई व्यक्तिको बीचमा सहज, सरल र समादारको भाव छताछुल्ल भएर आँउछ । असहजपनहरू हराउँछन, मनको जटिलता कता पुग्छ कता ? सङ्कोच र सङ्कीर्णताले शिर झुकाउँछन् । हृदयका सबै द्वारहरू खुल्छन् । मनले रचेका सबै सीमाहरू भत्किन्छन् । औपचारिकताको आवरण च्यातचुत हुन्छ । कृतिमता हराएर प्राकृतिक हृदय बोल्छ ।

ओठले अनुकरण हैन मौलिक स्वर लहरी रच्न थाल्छ । आकाशमा मेघ तवल्चले ढुन्नढुन्न बाजा घन्काइरहेको बेलामा धर्तीमा कसैले दमाहा ठोक्यो भने त्यसको आवाज स्वतः आकाशे मेघ गर्जनामा विलय हुन्छ । हृदयका लयहरू एकापसमा मिलन भएपछि लय लय रहँदैन । लय विलयमा परिणत हुन्छ । लयबाट जन्मिन्छ विलय । लयबाटै जन्मिन्छ लिनता । मनको लिनता, हृदयको तल्लिनता चिन्नु, त्यसलाई ठम्याउनु आफ्नो लय मिल्ने स्वरको खोजी गर्नु जीवनको उद्देश्य हुँदोरहेछ ।

लयबाट सङ्गीत जन्मिन्छ । लयबाट सङ्गत जन्मिन्छ । मानवसङ्गत सङ्गीतबद्ध भयो भने जीवन आफैँ सङ्गीतपूर्ण हुन्छ । सङ्गीतपूर्ण जीवनको विसङ्गतिको अभाव हुन्छ । सबैको भित्री हृदयमा बिसङ्गतिपूर्ण अभाव हुनु पर्‍यो । अनि मात्र सुन्दर र सङ्गतिपूर्ण जीवनको उदय हुन्छ ।

वाद्यवादनबाट निस्कने सङ्गीतमा स्वरका आफ्नो विशिष्ट लय जन्मिन्छ । विलम्बित मध्य र लुप्त क्रमबाट लय जन्मिएजस्तै जीवनमा विशिष्ट सङ्गीत जन्मनुपर्छ । जीवनको सुन्दर सङ्गीत जन्मिनका लागि भित्रैबाट लयहरू जन्मिनुपर्छ । लयले अरूमा लयहरू खोज्नुपर्छ । अनेकौँ लयको उन्मिलनबाट जीवनको सङ्गीत सुरिलो आवाजमा चारैतिर छरिनुपर्छ । म आफ्नो लय चिनेर मेरो लयसँग एकाकार हुने स्वरहरू खोजी हिँडेको छु । कृपया आउनुस्, तपाईंसँग पनि मसँगै जस्तो मिल्ने लय हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *