Skip to content


सहिदको सिकुवामा दमाइकान्छा सहिदकी पत्नी सीता र छोरी आस्थाको कपडा सिइरहेका छन् । गाउँको शिक्षित युवा भूषणले गणतन्त्रका प्रतीक नेपालका एक जना राष्ट्रिय नेतालाई डोर्याउँदै ल्याइपुर्याउँछन् । नेता सेताम्मे फुलेका देखिन्छन् ।
लोकतन्त्रः (हर्षविभोर हुँदै) सलाम सीताजी !
सीताः सलाम ! जय होस् लोकतन्त्रको (उत्साहित भावले)
आस्थाः (निराशा र आक्रोश गुम्सिएको स्वरमा) सलाम लोकतन्त्र । अमर रहोस् हाम्रो गणतन्त्र ।
दमाइकान्छाः जदउ लोकतन्त्र साएप जदउ । (लोकतन्त्रलाई नमस्कार गर्दै)
(आस्थाले लोकतन्त्रलाई सानो चट्टाई सिकुवामा ओछ्याइदिन्छिन् । लोकतन्त्र र भूषण बस्छन्)
लोकतन्त्रः सीताजी, लोकतन्त्रप्रति, लोकतान्त्रिक गणतन्त्रप्रतिको तपाईंको दृढ आस्था, विश्वास र सङ्घर्षशील भावनालाई आज म अभिवादन गर्न, सम्मान जाहेर गर्न साथै अभिनन्दन गर्न यहाँ आएको हुँ । सहिदको घर गणतन्त्रवादीका लागि पवित्र स्थल हो, जहाँ श्रद्धा जाहेर गर्न आएको हुँ ।
सीताः हे नेता ! हे गणतन्त्र ! म गणतन्त्रमा विश्वास राख्छु, गणतन्त्रप्रति मेरा आस्था अविचलित छन्, लामाले चट्टानमा लेखेका अक्षरजस्तै छातीभित्र मुटुको स्पन्दनस्पन्दनमा लेखिएका छन् । कहिल्यै मेटिने छैन । बरु मेरो सिउँदो पुछियो, चुरा-पोते लुटियो । यो मेरो बायाँ हात नै चुँडियो गणतन्त्र प्राप्तिको युद्धमा …. (कुइनामाथिको आधा पाखुरी देखाउँदै) ।
लोकतन्त्रः (सीतालाई रातो दोसल्ला ओढाएर अभिनन्दन गर्छन् । आस्था हिक्का छोडेर रुन्छिन् ।)
आस्थाः गणतन्त्र महोदयः यतिबेला लोकतन्त्र, जनता र राष्ट्रको स्थिति कस्तो छ ? गणतन्त्रमा जनताले परिवर्तनको अनुभूति गर्न पाए कि पाएका छैनन् ?
लोकतन्त्रः गणतन्त्रमा जनता र राष्ट्रका लागि जे हुनुपर्थ्यो, जे गर्नुपर्थ्यो, त्यो गर्न सकिएको छैन, हुन सकेको छैन, हाम्रो गणतन्त्रमा जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । जनताले जसरी न्याय, समानता, स्वतन्त्रता र समृद्धि चाहेका थिए, त्यो पनि हाम्रो आदर्श र सिद्धान्तअनुरूप हुन सकेको छैन । जनताका शत्रुहरूको नाइके त्यसको सङ्ख्या ढले पनि त्यसका सबै अवयवहरू मास्न बाँकी नै छन् । तिनको समुल नष्ट नगरी गणतन्त्रको सही अनुभूति जनताले गर्न सक्दैनन् आस्था ।
दमाइकान्छाः (लोकतन्त्र र आस्थाबीचको संवाद सुनेर लामो श्वास फेर्दै टोपीले पसिना पुस्छन्)
सीताः (गणतन्त्रका प्रतीक नेता र अरूलाई रातो चिया दिन्छिन् ।)
भूषणः लोकतन्त्र महोदय ! उहाँ
(आस्थालाई देखाउँदै) । अमर सहिदकी छोरी हुनुहुन्छ आस्था । उहाँले अहिले विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा मास्टर्स डिग्री गर्नुभयो ।
लोकतन्त्रः छोरीलाई म राम्ररी चिन्दछु । जतिबेला यिनी सीताको गर्भमा थिइन् त्यतिबेला उनको बुबा, मलगायत गणतन्त्रावादीहरूले राजतन्त्र मासेर गणतन्त्र स्थापनाका लागि विशाल युद्ध लड्यौँ । त्यही युद्धमा उहाँले वीरगति प्राप्त गर्नुभयो, अमर सहिद बन्नुभो । म बाँचे । त्यही युद्धमा सीताको एउटा हात चुँडियो…. । पछि छोरी जनताको घरमा जन्मिइन् । उनी जन्मिदा बिहानको रातो घाम झुल्किएको थियो । उनलाई गणतन्त्रप्राप्तिको निसानी ठानेर मैले नै उनको नाम आस्था राखेको हुँ । (आस्थालाई ममतासाथ ढाप मार्दै) छोरी तिमीले गणतन्त्रमा परिवर्तनको अनुभूति गर्यौ, विकासका सङ्केतहरू देख्यौ ?
आस्थाः (गम्भीर बन्दै) मैले हाम्रो गणतन्त्रमा सुखद अनुभूति गरेकी छैन । परिवर्तनको उज्यालो सङ्केतहरू देखेकी छैन । परिवर्तनका उज्यालो क्षितिजहरूमा पश्चगमनका कालो बादल अझै मडारिइरहेको देख्छु । गणतन्त्र गतिविहीनजस्तै सङ्कटोन्मुख देख्छु । न्याय, समानता, स्वतन्त्रता र विकास संस्थागत हुन सकेको छैन । वर्गीय शोषण, दमन र उत्पीडन जिउँदै छन् । प्रतिक्रान्तिका मतियारहरू गणतन्त्रको आवरणमा क्रियाशील छन् । गणतन्त्र माफियाको चङ्गुलभित्र पर्न लागेको देख्छु । अहिलेसम्म तपाईंहरूले लडेर ल्याएको गणतन्त्रको वास्तविक स्वाद जनताले चाख्न पाएका छैनन् ।
भूषणः हो हजुर । वर्तमान गणतन्त्रको यथार्थता यस्तै छ ।
लोकतन्त्रः सीताजी, यस्तै छ हाल हाम्रो गणतन्त्रमा आज ?
सीताः (आँखाबाट आँसु चुहाउँदै) आज गणतन्त्रको मूल्य मान्यताप्रति गणतन्त्रभित्रैबाट गणतन्त्रकै नाममा तुषारापात भइरहेको छ । आस्थाले भनेजस्तो प्रतिक्रान्तिका मतियारहरू सलबलाउन थालेका छन्, प्रतिक्रान्तिका विरुद्ध फेरि अर्को आन्दोलनको सृष्टिको खाँचो छ । ढुक्क हुने बेला छैन लोकतन्त्र अहिले । सङ्कटमा छ हाम्रो गणतन्त्र । हाम्रो राम्रो गणतन्त्रको संस्थागत विकासका लागि हमेशा होशियार बन्नुपर्ने भएको छ ।
लोकतन्त्रः (शिरको टोपी मिलाउँदै गम्भीर बन्छन्)
आस्थाः (आक्रोशित स्वरमा चिच्याउँदै लोकतन्त्रको हात झड्कारेर) होशियार गणतन्त्र होशियार ! गणतन्त्र जन्मदै मृत्योन्मुख छ । कुनै पनि बेला कतैबाट कसैले हाम्रो गणतन्त्रको घिच्रो निमोठ्न सक्छ । प्रतिक्रान्तिका मतियारहरू खुलेआम उठ्न थाले, जुट्न थाले । राजतन्त्रको त के कुरा रानातन्त्रका अवशेषहरू गणतन्त्रको भेषमा खेल्न थालेका छन् । विकृति विसङ्गतिले हाम्रो गणतन्त्रमा, हाम्रा गणतान्त्रिक नेतामा समेत घर गर्न थालेको छ । नयाँ वर्गको जन्म गणतन्त्रभित्रै भइरहेको छ । वर्गीय विभेदका खाडलहरू अझै पुरिएका छैनन् । वर्गीय प्रेमका नाममा, समानताका नाममा अन्धजातीय आवेगहरू उठ्न थालेका छन् । अझै भोकाहरू भोकै छन्, नाङ्गाहरू नाङ्गै छन्, सुकुम्बासीहरू भूमिहीन छन् । हाम्रो माटो मिचिदैछ । यसको अन्त्य नभएसम्म कसरी बाँच्छ लोकतन्त्र र हाम्रो गणतन्त्र ? अनि जनताले गणतन्त्रमा कस्तो अनुभूति गर्ने ?
लोकतन्त्रः (टाउको हल्लाउँदै) हो, आज यहाँ यस्तै छ ।
दमाइकान्छाः (कलमा कपडा सिलाउँदै) हो साएप तेस्तै छ । आस्था त फेरि युद्ध गर्छु भन्छिन्, यस्तै हो भने म पनि लड्छु ।
सीताः हो हजुर ! तपाईंहरूलाई जनताले विश्वास सुम्पिएका छन्, गणतन्त्रको वास्तविक अनुभूति जनतालाई गराउनैपर्छ । ढिला भइसक्यो । तपाईंप्रति, जनताका पार्टीप्रति जनताको आस्था टुट्यो भने त्यतिबेला प्रतिक्रान्ति हुनसक्छ, पश्चगमनको पुनरागमन हुनसक्छ (रातो दोसल्ला टाउकोमा बेर्दै)
लोकतन्त्रः हो, ढिला भइसक्यो । ढिला भइसक्यो….. ।
आस्थाः (घुँडा टेकेर रुँदै) यतिका समय बितिसक्यो गणतन्त्र स्थापना भएको, कङ्गाल बनाइएको मेरो देशले काँचुली फेर्न सकेन अझै । एकलाई अर्को पार्टी गनाउँछ, अर्कोलाई अर्को पार्टी गनाउँछ, राष्ट्रियता मक्किसक्यो । हाम्रो डिग्रीको कुनै मूल्य छैन । मेरो गणतन्त्रले युवा जनशक्तिलाई काम दिन सकेन, लाखौँ युवाहरू खाडीमा कुल्ली बनाइएका छन् । त्यसैमा गौरव गर्छन् हाम्रा नेता । गाउँ रित्तै छ, बारी बाँझै छ, खेत बाँझै छन् । यहाँ श्रम गर्ने बूढाखाडा, सुत्केरी आमाहरू र असक्षमहरू मात्र रहेका छन् । मर्दा मलामी छैनन्, पर्दाका जन्ती छैन् । तीनको श्रमले आर्जेको अन्न पनि हिजोको व्यवस्थामा झै शोषण भइरहेको छ । शोषणको अन्त्य भएको छैन । (भावावेशमा आएर, आफ्नो डिग्रीको सर्टिफिकेट खोपाबाट निकालेर च्यातचुत पार्छिन्) यस्तो अवस्थाको समुल नष्ट नभइञ्जेल मैले गणतन्त्रमा परिवर्तनको अनुभूति कसरी गर्ने लोकतन्त्र कसरी ?
सीताः हो, लोकतन्त्र जनतालाई गणतन्त्रको सही अनुभूति गराउनैपर्छ । जनतालाई समृद्धि, समानता र उज्यालो बाँड्नैपर्छ ।
लोकतन्त्रः (आस्थालाई हेर्दै) यो सब विकृति, विसङ्गति, इच्छाशक्ति र राजनीतिक संस्कारको अभाव । यसको अन्त्यका लागि फेरि अर्को आन्दोलन, नयाँ युद्ध । हो फेरि अर्को एउटा नयाँ युद्ध । (सीता, आस्था, भूषण र दमाइकान्छा लोकतन्त्रलाई एकोहोरो हेरिरहन्छन्, आपसमा हेराहेर भइरहन्छ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *