Skip to content


शरदका ती लामा रातहरू
चिसो सिरेठो र शीतको स्पर्श
अनुभूति र अनुभवहरूको बेहोसीपन
फगत बाध्यता र निरन्तरता
केबल एक जिउँदो मृत्युको
प्रकृतिको धारिलो चुलेसीबाट ।
यी देहका पार्टपुर्जा भाँच्न, शरद मात्र लागेन
गृष्म, हेमन्त, बर्षा र शिशिर मात्र होईन
बसन्त समेत बाँकी रहेन,
जो कसैको बैंस बोकेर आउँछ
तर त्यो मलाई लुछी-लुछी
आफ्नै नियतमा कलङ्कको
विशाल पहाड ठड्याउँदो छ, सायद प्रतिशोध होला ।
यो विकृत प्राकृतिक छाँद,
मात्र मेरो नीरिहता माथिको
एउटा विजयोत्सवमा नाचिरहेथ्यो
तर त्यो शुन्दर काल भने
मेरो चिहान खन्न
निश्चिन्त, निसंकोच, ताजुबले
अभ्यस्त तन्मनस्क छ ।
कसैको बाध्यता व्यापार गर्नेहरू
मेरो दिनचर्या माथि नानाभाँती रङ पोतेर
हजारौ–हजार रमिते बनाई
लाखौ–करोडौंको ऐश बटुल्दै छन् ।
तर, म उहि मरुभूमि माझ
जीवनको मफत भिख माग्दै
पाखुरी र मान्छेको नियतमाथि
ग्रहण बोक्ने दुसाधहरू भन्दा पर
अनवरत, मृत्युविजयी पीयूस खोज्ने
एक विशाल पथमा
चर्को घाम चुस्दै
फगत एक नाजुक पथिक
उहि अपमान र गर्हित पथपरेजमा ।
यो बाहुनवादको कुलिन सभ्यता
अनि यसैको सिस्नो–पानी
मेरो विगत, वर्तमान र अतित बनेको छ
त्यो अति निकृष्ट दुस्कर्म
ती श्रमशील तर उजाडिएको
त्यो झाँगिएको अभिजात सभ्यता
जो बोक्सी बोकाएर, मलमुत्र खुवाएर
आलब्यको भित्ता भित्रबाट हुत्याएर-फ्याँकिएर
आसक्तिको साहारामा, उब्जाउहिन खेती
धिक्कार ! धिक्कार !!
हाय ! ठूली कमिनी,
हो त्यहि हो मेरो कोख
सडकले रोजेर सडकले हुर्काएको
उफ ! अरु मलाई कुनै सम्झना छैन ।
तर, म सोच्थें
उनको पनि रहरहरू थिए होलान
लोरी सुनाउँदै शुनौलो अतित बुन्ने ।
मेरो सहृदयी, सहचरहरू
कोही सौताको छोरा–छोरी भएकोमा त
कोही भोक, अभाव वा शोकले थिचिएर
कोही छोरी परिवारबाटै बेचिएर त
कोही मेरै हैसियतमा
सडकले नै हुर्काएको एक नियती,
अझ अरु कति कति
जो एउटा जीवन-बोरा बोकी
दुर्गन्धमा जीवन खोज्छन्
सडेको-कुहिएको आँतमा
रस खोज्छन किटाणू झै
यो उति उच्च अब्बल नराधामको,
सुशितल छहारीमा ।
चिथरा–झुत्राका जुलुङ्गो झैं
खुला आकाशको चौतारीमा
चोरी, लुट, आतङ्क वा बेइज्जतीको
ताण्डब रच्ने नृपशु जस्तै
तर, संघर्षको प्रतिलोमे
नादानीको पहाड चढ्ने छैन ।
भोक–प्यास, अपमान र विवशता बोकी
मानविय नैतिकता तोड्ने छैन ।
प्राकृत धरती माझ
अस्तित्वको साम्राज्य रच्ने
कोर्काली त्यो ऋषभहरूको इमान माथि
थुक्नै लाज लाग्ने काम अब गर्ने छैन ।
मानवै नदेख्ने ती, मानवधर्मी कंकालहरूको
चहलपहल, घम्साघम्सीबाट हामी
आहत वा विक्षिप्त भई
मान्छे अनि मान्छेको दाउ थाप्ने छैन ।
बरु समयचक्रको प्रहारबाट नथाकेको पहाड झैं
अविचलन र धिर बोकी
मेरै साथी बोरासँग, म पोखिएको
इतिहासको पाना खोज्छु ।
धुँवाधार चिच्चाहाट, आदर्शको
औपचारिकता र अस्तित्वको
यी सभ्यताको नग्न रुपमाथि
घोडा चढी यहाँ कोही
अन्तर्दिलको प्यास भेट्ने छैन ।
त्यसैले त यहाँ हामी
उज्यालो संसार खोज्दै
अग्घोर कालो रात माझ
बोरासँगै दौंतर बन्छौ ।
वैभवत्वले सडेपछि मान्छे
पराई बन्दै जान्छ आफैबाट
तर, कालो बादलको भित्र पनि
उज्याले रश्मिको बास भए झैं
भयंङ्कर निराशाको दुन्दुभि भित्र पनि
मान्छे खोज्ने मान्छेका तार बज्नेछन् ।
यो तिलस्मीताको घनचक्कर होईन
किनकी, यो नराधाम दिनानुदिन
आफ्नै चिहान खन्ने तिखुनोहरू जन्माईरहेछ ।
जसले निर्विकल्प,
मेरो अतित र भविष्य जन्माईरहेछ,
मान्छेमा मान्छे नहुनु,
असमानता, असभ्यता र नैतिकहिनहरू ।

हुन त हामी राज्य हैनौं
तथाकथित राज्यका सिमाङ्कन वा सम्प्रभुलाई
गिज्याई-गिज्याई ललकार्नुको आत्मग्लानीमा
राज्य पथका पथिक बनी
यसको इमानमा धुलो घस्न
कुनै सुनामी हामी बन्ने छैनौं ।
तर यो पटाक्षेप हो,
नीति पतनले झाँगिएको यो झाडी
मान्छेमा विकृतपनले जरा गाडेपछि
अझ भनुँ, मान्छेमा मान्छे हराए पछि
औपचारिकताको खोल ओढी
बालुवा घोटेर जीवन खोज्नेहरू
विकृत संस्कृतीमा मोक्ष खोज्नेहरू
यो दुश्निल स्वप्नको दावानलमा
एकदिन पुरोडाष बन्ने नै छन् ।
तर पनि म मेरो जीवन (बोरा) माथि आँखा अोच्छ्याई
उजाड स्थानको एक ध्वनिमा
जीवनको तरङ्गहरू देखिरहेछु
र पनि
म र मेरो बोरा मानवपटलको भीडबाट
मानव सभ्यताको स्पृहालाई
अवसानहरूको फिलिङ्गोमा
प्रमशनको आयुशेष देखिरहेछु ।

आर पी श्रमिक
जिलिङ्ग–९, नलगाउँ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *