Skip to content

दलमाया र उनको बबुरो


त्रिशुलीको प्रेममय चाप्लुपताले कुत्कुतिएर
डाँडाकाँडाहरू उच्छृङ्खलताले लहलह झाँगिएको छ
एकैनासको सुस्त रन्कोले,
सागरमा पुगेर विश्राम लिने धुनमा
बाँझो वा उर्वरताको विरासत छोडी
आफ्नै आङ्गमा एउटा जगत बोकी
अविराम यात्रा गरिरेछ, त्रिशुली !

यो यात्रा उसका लागि मात्र थिएन
यात्रापथ बीच, प्रसव पीडा र वेदनासँग
कयौं पथिक जन्माएको छ
उजाड मरुभूमि माझ,
च्याँ-च्याँ र चुचीँ, पथिक प्यासलाई निर्घात टोक्दै
बेमनसुवा-बेमञ्जुरी अथाहा अबधि बीच घाम चुस्दै !
समानान्तर समथर किनारा
अघोर अङ्गना बीच एउटा अल्पविराम
जीवनको इमारत खोज्दै
मानव मानवको मानवत्व खोज्दै
बालुवा चुस्दै हरहर मेट्दै
सानो आयुशेष बीचको घनिघसाई
कोमल बबुरो माथिको भरोसा
चढ्दै दुर्गम जङ्गलमाथि
खोज्दै एउटा खुसीको दुन,
त्रिशुलीको अविवेकी पदचापहरू ।

पहाड धीर अनि बेजोड दिलदार
श्रमशीलताको अजब अब्बल
अकण्टक पुष्पको अधिप
न छ रिस, राग र अहिस
न कुनै जरह, तिव्र चाहा र मानव वितृष्णा
छ मात्र साहस, धिरता र जिगीषा,
श्रम-उद्यमशिलता अनि सुशील शितलता
एउटा दुखत अवयव त्यो नदीको
किनाराको तितिक्षा निहित जीवन
एउटा सौष्ठव कलङ्क अनि बेढव
दारुण दर्दता र दीनहिनताको कुन्था
त्यो ज्यादै विप्रलब्ध मानवबाट
मानव हुनुको विशाल वृषल
एक पहाड, एक तूष्णीक
हाय ! दिलमाया ।
झुत्रा–चिथरा, हाय ! त्यो नाङ्गो आङ
भोको पेट आफ्नो, हाय ! त्यो बबुरो
रगताम्मे हात बीच, हाय ! त्यो हम्मर
छैन केही जीवनको, मात्र एक अभिप्षा
जीवनको बदला जीवनको बलिदान
अनमोल रस त्यो गोल बीच
जीवन कुट्दै जीवन जोड्दै
हाय ! ती दिलमाया ।

न छ मोल त्यो अनमोल गोलको
विकल्प छैन त्यो कल्पकृयाको
आँशु थाप्दै त्यो नियती पखाल्दै
हेर्दै बालबबुरोको त्यो कुटाई
एकैछिन पछिको त्यो खुन बगाई
चुस्दै अङ्गुल काखी च्याप्दै
भाग्य भरोसाको त्यो अभिसाप
शुन्य सन्नटाको त्यो त्रिशुली माझ ।

दल-शाषकको बृहत मेला
जनरञ्जनको एकै स्पृहा
फोगिन सपना कुत्सित स्वार्थ
बाड्दै टोक्दैको त्यो चरमविदुरपता
चिप्ला मुख धमिला पेट
रोप्दै उखल्दै अमृत वृक्ष ।
पटाक्षेप, सब यी राज–छेम मञ्चनको
हुदैन यहाँ हित कोही दुर्बलको
न थ्यो आश त्यो जगदन्तकको
तर आक्रन्दित छिन् दिलमाया
क्रुद्ध छ त्यो बाल बबुरो
आँखा भई नदेख्ने त्यो
नवयुग बोक्ने दुसाधको ।
दावाग्नीको तेज बोक्दै
बिचरो त्यो बाल बबुरो
नदारतको पहाड फोर्दै
मसाल बोकी अजादीको
लाग्यो वायुवेग सरी त्यो
खोज्दै अस्तित्व ती बालसखाको ।।

आ.पी. श्रमिक
जिलिङ्ग–९, नलगाउँ, शुक्रटोल, नुवाकोट

1 thought on “दलमाया र उनको बबुरो”

  1. उत्तम कविता , कविको त्रिशुली
    उत्तम कविता , कविको त्रिशुली नदी प्रतीको बिश्लेशन तारिफ योग्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *