Skip to content

‘स्मृतिको पर्खालभित्र’ चियाएर हेर्दा

  • by


परिचय

काठमाडौँको ओमबहालमा वि.सं. १९८२ साल असार १० गते मङ्गलबारका दिन जन्मेका विजय मल्ल आधुनिक नेपाली साहित्यको श्रीगणेश गर्नमा धुरी बनेर खडा भएको शारदा पत्रिकाका संस्थापक सम्पादक ऋद्धिबहादुर मल्लका कान्छा छोरा हुन् । बाल्यकालदेखि नै नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाको साहित्यिक हावा लागेका मल्ल दाजुभाइको नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान छ तापनि साहित्यका सबै विधामा समानुपातिकरूपले सशक्त र सिद्धहस्त कलम चलाउने विजय मल्ल रङ्गमञ्चका कुशल ज्ञाता र बहुमुखी प्रतिभाका धनी थिए ।

उनी नाटक र आख्यानका क्षेत्रमा भने ख्यातनामा छन् । सानैदेखि अनुकूल साहित्यिक वातावरण प्राप्त गर्ने भाग्यशाली यिनले त्रि-चन्द्र कलेजबाट आईएस्सीसम्मको अध्ययन गरेका थिए । २०२६ सालमा राजकीय प्रज्ञाप्रतिष्ठानका सह-सदस्य, २०३२ सालतिर सदस्य-सचिव र २०३८ मा उपकुलपतिसमेत भएका उनको २०५६ साल साउन ८ गते काठमाडौँमा देहावसान भयो ।

गरिबी, शोषण, अन्याय, अत्याचारको विरोध, सामाजिक समानता र परिवर्तन, स्वाधीनता र देशप्रेम तथा विश्वयुद्धका परिणामस्वरूप मानव जातिमा फैलिएको जीवनको क्षणिकता, निस्सारता, व्यर्थता र मूल्यहीनताबोधको अभिव्यक्ति पनि उनका अन्यान्य कृतिहरूमा व्यक्त भएको पाइन्छ । उनी आफ्ना नाटकमा व्यङ्ग्य र प्रतीकको प्रयोग र पात्रका मानसिक स्थितिको चित्रण गर्न सिद्धहस्त मानिन्छन् । उनका थुप्रै एकाङ्की र नाटकहरू मञ्चित र प्रकाशित छन् । उनलाई सबैभन्दा बढी नाटक मञ्चित हुने पहिला भाग्यशाली नाटककार मान्न सकिन्छ । नाटक खेल्नका लागि लेखिन्छ न कि पढ्नका लागि मात्र (मल्लः २०१५) । अतः उनका एकाङ्की र नाटकहरू कुनै न कुनै संस्थाद्वारा खेलिनका लागि लेखिएका हुन् । (जोशीः २०३७) । ‘कोही किन बर्बाद होस्’ उनको बालमनोविज्ञानमा आधारित नाटक हो । आमाको माया नपाएको र सन्तानभन्दा पत्नीका इच्छापूर्तिमा बढी ध्यानदिने बाबुको पुरुषप्रवृत्तिका कारण उपेक्षित बालक ध्रुवको आक्रामक प्रवृत्तिलाई त्यसको मानसिक कारण ठम्याई मातृवात्सल्य दिएर सुधार्ने चाहना राख्ने स्कुलका प्रधानाध्यापक तथा नाटककारका मुखपात्र सुुन्दरमानले केटाकेटीलाई हप्काइदप्काइ र दण्डबाट भन्दा माया दिएर बढी सिकाउन सकिन्छ भन्ने मान्यता स्थापित गरेका छन् । उनको अर्को उत्कृष्ट नाटक ‘जिउँदो लाश’ मनोविश्लेषणात्मक सिद्धान्तमा आधारित छ । यस नाटकका हरेक पात्र कुनै न कुनै मनोविसङ्गतिबाट ग्रस्त छन् । नाटककी नायिका उर्मिला विवाहपछि लोग्नेले विनाकारण छोडेर बेपत्ता भएपछि सामाजिक परम्पराका जटिल बन्धनमा जकडिएर अर्को उपायबारे सोच्दै नसोची अर्धमृत जीवन बाँच्छे भने उसकी बहिनी प्रतिमा लोग्नेका मृत्युपछि विधवाले पुनर्विवाह गर्न नपाउने निर्दयी सामाजिक मर्यादाका कारण मृतपतिका नाममा आजीवन एक्लो बस्नुपर्ने बाध्यताले जिउँदो लाश भएर बाँच्न विवश छे । दुवै नारी पात्र आ-आफ्नो लोग्नेका अभावमा घरपरिवारबाट उपेक्षित भई अतृप्त यौनजन्य मनोविकृति बोकेर माइतमै बसेका छन् । लोग्ने र्फकन्छ भनी अमृतको कल्पना गरी दिएको आश्वासन विष बनेको छ उर्मिलालाई । टाउकाको औषधि नाइटोमा भएको छ उसलाई (कँडेल ?) । ठीकसँग बुझ्न नसक्नाले समस्या झन् जटिल बन्दै गएको छ । जीर्ण-रुग्ण अवस्थामा दाजुको माया फलहीन भएको छ उसलाई । लोग्ने र्फकने-नर्फकने अन्योलपूर्ण पर्खाइमा थकित भएर ऊ मनोविक्षिप्त अवस्थामा पुगेकी छ । प्रतिमा आफूले माया गरेको बिरालो र कुकुरसमेत मर्दा आफू साँच्चै लोग्ने टोकुवा भएको आरोप आत्मसात् गरेर बाँच्न विवश छ । उनीहरूको दाजु कृष्णमान बहिनीलाई लोग्ने फर्केर आउँछ भन्ने आश्वासन दिँदै र शारीरिक उपचार गर्दागर्दै पनि उसको अवस्था झन् जटिल हुँदै गएर उसको स्वास्थ्यमा सुधार हुन नसकेको पीडामा आफैँ कु्ण्ठाग्रस्त हुँदै चोकमा थुपि्रएको फोहोर नै बहिनीका रोगको कारण ठान्छ र त्यसको सफाइमा मरिमेट्छ । पुरानो र नयाँ विचारको द्वन्द्वमा सुरतदास र ललित बाबुछोराको आपसमा भिडन्त नै हुनजान्छ र छोरो घर छोडेर पलायन हुन्छ । ऊर्मिलाले अचेतनमा अनुभव गरेको लोग्नेको आवश्यकता कहिले सपनामा लोग्ने फिर्ता आएको, कहिले लोग्ने मरेर लाश जलाएको र कहिले माउसुली बनेर उसका आङमा चढेर दौडेको जस्ता दुःस्वप्नमा रूपान्तरित भएर प्रतिबिम्बित भएको छ । जुन घृणा गर्दागर्दै पनि लोग्नेको तीव्र मागको अभिव्यक्ति हो । अन्त्यमा त्यस्तै दुःस्वप्न र दुश्चिन्ताले आहत उर्मिलाको असामयिक मृत्यु हुन्छ । प्रतिमाले आफूलाई मुर्दाकी स्वास्नी भनेर परम्परित सामन्ती संस्कारमाथि नै व्यङ्ग्य गरेकी छ । यसरी नाटकले मनका रूपान्तरणमा नै समस्या देखाएको छ ।

स्मृतिको पर्खालभित्र नाटकको समीक्षा

मल्लका नाटकमा स्वैरकल्पना, विसङ्गतिवाद, अतियथार्थवाद, यौनमनोविज्ञान, व्यङ्ग्य र माक्र्सवादजस्ता अनेक आधुनिक विचारहरूको एकैठाउँ सम्मिश्रण पाइन्छ । समाजको यथार्थ रूप बौद्धिक’ तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्ने मल्लको ‘स्मृतिको पर्खालभित्र’ मानिस र मुकुण्डोसहित दुईवटा पूणर्ाङ्की नाटकहरूको सँगालो हो । २०३८ सालमा मञ्चित तथा २०४० मा प्रकाशित यस नाटकको मञ्चन तत्कालीन राजा वीरेन्द्रबाट पनि अवलोकन गरिएको थियो ।

२००७ सालको क्रान्तिताक राणाहरू र उनीहरूका भाइभारदारहरूमा आफ्ना विरोधीहरूलाई सखाप पार्न चलेको हत्याहिंसा र क्रान्तिका सफलतापछिका तिनीहरूका अवस्थालाई नाटकमा चित्रण गर्ने प्रयास गरिएको छ । काठमाडौँका धनाढ्य र कथित कुलीन राणा परिवारमा नातेदारभित्रै विवाह गर्ने चलन, दरबारभित्रै निकट सम्बन्धका नारी-पुरुषमा पाइने अनैतिक, विसङ्गत र विकृत चरित्र तथा उनीहरूका निकटस्थ भाइभारदारहरूको समेत प्रजातन्त्रको स्थापनापछि गिर्दो आर्थिक र सामाजिक अवस्था, हीनताभास, जनसामान्यसँग घुलमिल भई सामान्य जीवनयापन गर्न नसक्ने अहङ्कारका कारण क्रमशः भारततिर पलायन हुने गरेका प्रवृत्तिगत तथ्यलाई पनि नाटकले उद्घाटन गरेको छ ।

नाटकको कथानक ः यस नाटकको नायक महेश्वरजङ्ग थापा भू.पू. सैनिक अफिसर कर्णेल हो । तीन अङ्कमा विभाजित यस नाटकका प्रथम अङ्कका पहिलो दृश्यमा रातिमा बत्तीको मधुरो प्रकाशमा ऊ भित्तामा झुण्ड्याइएको आफ्नी प्रेमिका शर्मिलाको क्यानभासमा निर्मित चित्र अगाडि रक्सीको चरम नशा र विक्षिप्त मनोदशामा क्षमायाचना र प्रेमका अनुरोधमा गिडगिडाउँदै गरेका अवस्थामा ऐठनले निद्राबाट अचानक ब्यूँझिएकी किशोरी उसको बरबराहट सुनेर मञ्चमा प्रवेश गरेको देखिन्छे । उसले महेश्वरले रक्सी पिएकामा असन्तोष व्यक्त गर्दै सुतेका बेलामा आधा रातमा किचकन्नीले तर्साएकाले उठेर दौडँदै उसलाई भेट्न आएको र अब आफूले उसका काखमा जीवन बिताउन चाहेको कुरा सुनाउँछे । ऊ भने आफ्ना मनमनै अतीतका अपराधबोध र शर्मिलाका वियोगमा रक्सीका नशाले धुत्त भएर पागलजस्तै भएको छ । ऊ जहाँसुकै शर्मिलाको छायाँ देख्छ र तर्सिन्छ । अनि उसको चित्र कहिलेकाहीँ च्यातचुत पारी फ्याँकेर ढुक्क हुन चाहन्छ तर सक्दैन । सनकपूर्ण एक्लो प्रलापमा महेश्वर किशोरीलाई शर्भिला ठानेर सम्बोधन गर्छ । किशोरी आफूलाई किशोरी नै भएको सम्झाउने कोसिस गर्छे तर उसको अकाट्य एकोहोरोपन देखेपछि आफू नै शर्मिला भएको भन्दै उसले शर्मिलासँग भन्न खोजेको कुरा आफूसँग भन्न लगाउने प्रयास गर्छे । आफ्नी आमाको भूमिका आफू खेल्न तयार रहेको भन्दै माया देखाउन पुनः गिलास ल्याएर रक्सी भरेर महेश्वरलाई दिन्छे । ऊ झन् बढी रक्सी पिउँदै विक्षिप्त अवस्थामा कहिले किशोरी र कहिले शर्मिला भन्दै ‘एक रात पानी परिरहेका बेलामा आफ्नो कोठामा प्रवेश गरेर केही भन्नै नपाउँदै रिसाएर फन्कँदै बाहिर निस्केको’ कुरा गुनासामा सुनाउँछ । किशोरी रक्सी नपिउन दबाब दिन्छे तर ऊ भने एकोहोरो बडबडाउँदै आँखाले ठम्याउन नसकेर बोलीका आधारमा कहिले किशोरीलाई चिनेजस्तो गरी र कहिले शर्मिला नै ठानेर कुरा गर्छ । क्रान्तिताकाको भीषण दृश्य आफ्ना आँखाअगाडि फनफनी नाचिरहेको र आफ्नो आत्मबल गुमेको कुरा उसले स्वीकार्दा उसलाई मनोविभ्रम भएको पुष्टिहुन्छ । किशोरी आफू उससँग सदाका लागि नै आफ्नी आमाको भूमिका खेल्न तयार रहेको दोहोर्याउँछे । महेश्वर केही होस् आएजस्तो गरी शर्मिलासँगको अतीतको उत्ताउलो सम्बन्ध भित्रभित्रै प्रगाढ भएर सुधार्नै नसकिने गरी अन्तःदाहक बन्न गएको कु्रा किशोरीलाई सुनाउँछ । किशोरीले आफ्नी आमाका त्यस जालबाट महेश्वरलाई छुटाइछाड्ने कुरा गर्दैगर्दा बत्ती लिएर धाईआमा जमुनी प्रवेश गर्छे । किशोरी आमालाई नै आफूबाट बाबु खोसेको र राति सपनामा पनि घाँटी अँठ्याउन किचकन्नी बनेर आएको तथा यस घरका कसैलाई पनि चयनसँग बाँच्न नदिने भएकी कारण बताउँछे । महेश्वरका हातबाट रक्सीको गिलास खोसेर फ्याँकिदिँदै उसलाई बचाएर उसैसँग जीवन बिताउने आफ्नो चाहनामा टेवा दिन आग्रह गर्छे तर महेश्वर भने अस्ताचलको घाम जस्तो आफू कसैको टेवा हुन नसक्ने व्यक्त गर्छ ।

दोस्रो दृश्यमा भव्य सजिएका कोठामा किशोरी प्रवेश गरेर आत्मपीडा एकालापमा कुरा गर्दैगर्दा नोकर्नी सुकुमेल प्रवेश गर्छे । बाबुको फोटो हराएको, उसले वास्ता नगरेको, हिजो राति आफूलाई किचकन्नीले थिचेका बेला बोलाउँदा नसुनेको भन्दै कटु वचन सुनाउँछे । सुकुमेलले आफूले फोटो बाकसमा लुकाएको भन्दा अहिलेसम्ममा तीनपटक भयो छिँडीका फोहोरमा फ्याँकेका अवस्थामा भेटिएको भनी दुःखेसो पोख्छे । नोकर्नी त्यो काम उसकै बाबुको हो कि भन्ने आशङ्का व्यक्त गर्छे । त्यो कुरा अस्वीकार गर्दै किशोरीले आफ्ना बाबु अझै पनि आफूलाई बोलाउँदै टुप्लुक्क आइपुग्ने आशा राखेको बताउँछे । बाबुलाई माया गर्न आमाको बाधा रहेको, आफ्ना मनमा अथाह जलन, छट्पटी रहेको र त्यो शान्त पार्न कसैको मायालु हातको सुमसुम्याइ आफूलाई आवश्यक भएको भन्दै सात सालको राणा विरोधी आन्दोलनमा गएका बाबु उनका सबै साथीहरू फर्केर अहिले कतिपय ठूल्ठूला पदमा आसीन भइसकेका तर आफ्ना बाबु अझै नफर्केको दुःख सुनाउँछे । नोकर्नीले रातका कुराले त्यसरी नतर्सन र उनकी आमा भएको भए उनीहरूको त्यो दुर्दशा नहुनेभन्दा उसको प्रतिवाद गर्दै त्यसो भएमा आफूहरूको अझ दुर्गति हुने देखेर नै आफूले आमालाई घृणा गरेको बताउँछे । त्यसपछि बाबुलाई भेट्न, महेश्वरलाई जीवनसाथी छान्न आदि कुरामा उसकी आमा नै अवरोध बनेको, आमाको क्रूरता, चरित्रहीनता र अपराधले नै आफ्ना बाबुको मृत्यु भएको र आफूहरूको त्यस्तो दुर्गति भएको भनी आक्रोश व्यक्त गर्छे । नोकर्नीले लामो सेवाका अवधिमा आफूले शर्मिलालाई असल नारीका रूपमा पाएको, जन्मदिने आमालाई छोरीले त्यस्तो दोष लगाउन नहुने भनी सम्झाउँदै गर्दा महेश्वर प्रवेश गर्छ । सुकुमेल महेश्वरकै अगाडि शर्मिलाको राम्रो खोजी हुन नसकेकाले आफूलाई दुःख लागेको गुनासो गर्छे । महेश्वर आफूले रोक्न चाहेर पनि नसकेको र भारतमा डुङ्गा पल्टेर उसको मृत्यु भएको आशङ्का व्यक्त गर्छे तर किशोरी भने त्यो कुरा अस्वीकार गर्दै कुनै अर्कै नयाँ प्रेमीसँग कतै मोज गरेर बसेको हुनसक्ने भन्दै महेश्वरसितको उसको गोप्य सम्बन्ध रहेको कुरातिर पनि सङ्केत गर्छे । जसले बाबुआमालाई समेत झुक्याएर उनीहरूले रोजेको वर (प्रतापजङ्ग वा महेश्वर)लाई छोडी महेश्वरको साथी सुशीलसँग विवाह गर्छे तर महेश्वरसँगको प्रणयलीला पनि गोप्यरूपमा कायम राख्छे, उसैका आसमा महेश्वर पनि आजीवन अविवाहित नै रहन्छ । उसकी प्रेमिका शर्मिलाले दुवै पुरुषहरूबाट एकएकवटा सन्तान जन्माएकी छे । त्यसै कुराले शर्मिला र उसका लोग्नेका बीच निरन्तर झगडा पनि हुने गरेको थियो । प्रजातन्त्रका लागि भएको सात सालको जनक्रान्तिताका आफूसँग गएको आफ्नै अर्दली गणेशका अगाडि जो प्रजातन्त्रको उदयपछि कर्नेलमा बढुवा भएको छ, आन्दोलनकारीले मारेको भनी जोगिन र प्रेमिकालाई सधैँका लागि आफ्नी बनाउन पाइने लोभमा महेश्वरले आफ्नी प्रेमिकाको पति तथा आफ्नै साथी सुशीलको वीरगन्जमा निर्दयतापूर्वक आफैँ गोली हानी हत्या गर्छ । आन्दोलन सफल भएपछि परिस्थिति फेरिन्छ । सम्मान नगर्ने भए पनि लोग्ने आफ्ना रिसले बेपत्ता भएको भनिठान्ने शर्मिला लोग्नेका खोजीका बहानामा घरसम्पत्ति, छोराछोरीसमेत छाडेर भारततिर पलायन हुन्छे । जत्ति कोसिस गरे पनि उसलाई रोक्न नसकेपछि महेश्वरको सारा सपना चकनाचूर हुन्छ र अपराधबोध र प्रणय वियोगले ऊ आफैँ भित्रभित्रै जल्न थाल्छ र आठै प्रहर रक्सीका नशामा लट्ठ रहनथाल्छ तर पनि एक प्रकारको दायित्वबोधले ऊ आफ्नी प्रेमिकाका अनाथ सन्तानहरूलाई भने आश्रय दिन्छ । शर्मिलाकी प्रथम सन्तान किशोरी नाटककी नायिकाका रूपमा प्रस्तुत छ । ऊ आफूहरूलाई आश्रय दिएकामा महेश्वरप्रति यतिविधि कृतज्ञ हुन्छे कि पहिले आफूले मन पराउँदै आएको गणेशलाई च्याट्टै छाडेर उसैसँग प्रेम गर्न थाल्छे र विवाह गर्ने योजनासमेत बनाउँछे । यद्यपि उसलाई महेश्वर आफ्नी आमाको प्रेमी हो भन्ने पूर्ण ज्ञान छ । शर्मिलालाई नङ्ग्याउनु बाबुप्रतिको कर्तव्य भएको भन्दै महेश्वरसँग आफूले विगतमा आमाबाबुका बीचमा भएको झगडा सुनेको प्रतापविक्रम (वा महेश्वर) सँग आफ्नो प्रेम रहेको र आफ्ना दुई सन्तानमध्ये एक उसैको भएको, अझै पनि उससँग निरन्तर सम्पर्क गर्ने गरेको, लोग्नेले आफूलाई केही गरे आफू उसैकहाँ गएर बस्ने भनेर धम्क्याएको तर कुन सन्तान उसको हो भनी लोग्नेलाई नबताएको कुरा पनि आफूले सुनेको चर्चा गर्छे र आफू कसको सन्तान हो भन्ने जान्न नपाएर आफूलाई चिन्ताले जलाइरहेको बताउँछे तथा बाबु पनि त्यसैकारण बेपत्ता भएको पीडा व्यक्त गर्छे । उसका भनाइअनुसार नै त्यस्ती चरित्रहीन र पापिनी आफ्नी आमासँग बदला लिने विचार व्यक्त गर्दा महेश्वर भावी जीवनका लागि त्यस्ता सबै कुरा बिर्सन आवश्यक भएको बताउँछ । किशोरी उसको मायामा मात्र आफू आमाको आक्रमणबाट बच्न सक्ने भन्दै आफूसँग विवाह गर्ने वचन दिन दबाब दिन्छे तर अर्काकी छोरी पालेर तरुनी भएपछि र आफू किशोरीका पिताको उमेर बराबरको भएर पनि आफैँले बिहे गर्यो भन्ने लोकापवादबाट बच्न त्यसो गर्न नसक्ने बताउँछ । अचानक प्रवेश गरेकी धाईआमा जमुनीबाट महेश्वरसँग आफूले विवाह गर्न लागेको कुरामा किशोरी समर्थन हासिल गर्छे । यहाँनिर प्रेमको आग्रह र विकर्षणका द्वन्द्वले श्रृङ्गारलाई वियोगतिर डोर्याएको पाइन्छ ।

त्यसैबेला आफू बढुवा भएको खुसीको खबर सुनाउन र त्यसै खुसियालीको उपहार र भोजको निमन्त्रणा दिन तथा त्यतिबेलै किशोरीसँग आफ्ना विवाहको घोषणा गर्ने कुरा भन्न आएको गणेशलाई अपमानित गर्दै किशोरी आफू महेश्वरसँग विवाह गर्ने तयारीमा रहेको कुरा सुनाउँछे । ऊ आफैँले महेश्वरलाई रक्सी ल्याएर खान दिने गरेको आरोप लगाउँदै किशोरी झन् उत्तेजित भएर उसलाई घरबाट तत्काल निक्लन र फेरि कहिल्यै प्रवेश नगर्न आदेश दिन्छे । सुशीलको फोटो देखेपछि विगतका घटनाको सम्झना मुखबाट त्यो जघन्य अपराध स्वीकार्न लगाएर उसलाई उनीहरूको बाबुको हत्यारा उनी नै हो भन्ने कुरा प्रमाणित गराइ छाड्ने भन्दै गणेश पनि रिसले फन्केर निस्कन्छ ।

दोस्रो अङ्क एउटा भताभुङ्ग कोठामा नोकर सेते र नोकर्नी भुनाका बीचका प्रणयविषयक संवादबाट सुरु हुन्छ । उनीहरूमा पनि उस्तै प्रकारको तर ठीक विपरीत ध्रुव सेते (पुरुष)मा प्रेमको आग्रह र भुनी (नारी)मा विकर्षण देखापर्छ । घरको सरसफाइ गर्न लगाएका विषयमा उनीहरूमा अलिकति विष्मय र असन्तोष देखिन्छ । किशोरी र महेश्वरको विवाह सेतेलाई आफैँले माया गरेर पालेको बँदेल आफैँ काटेर मासु खाएजस्तो असामान्य लागिरहेको छ बरु गणेशसँग विवाह हुनु उसलाई उचित लाग्छ । जतिसुकै नसुहाउने कुरा भए पनि ‘तर पनि ठूलाबडाकहाँ नहुने के छ र ?’- स्पष्ट सङ्केत छ सेतेको । किशोरी महेश्वरलाई रक्सीको नशा र पागलपनबाट महेश्वरलाई छुटाएर आफूसँग विवाह गर्न स्वीकार गराइ त्यहाँको त्यस आन्तरिक विकृत परिवेशबाट सदाका लागि आफू सुरक्षित हुने कल्पनामा सामाजिक अपवादको समेत बेवास्ता गर्दै घरको सरसफाइ र व्यवस्थापन गर्नतिर नोकरचाकरहरूलाई लगाउँछे । उनीहरू त्यसैमा व्यस्त छन् । किशोरी आफ्नो रक्षा गर्न योग्य एक मात्र व्यक्ति महेश्वरलाई ठान्छे । महेश्वरसँग प्रवेश गरेकी किशोरीका आदेशले सेते र भुनी निस्कन्छन् । महेश्वर किशोरीलाई विवाहबारे सम्झाउने कोसिस गर्छ । किशोरी आफूलाई गणेशतिर लहसिएको शङ्का गरेर महेश्वरले अस्वीकार गर्न खोजेको हो कि भन्ने आशङ्काका विरुद्ध प्रमाण दिएर सम्झाउने कोसिस गर्छे । गणेश आफ्नो विरुद्ध षड्यन्त्रमा लागेको कुरा सुनाउँदै महेश्वर आफूलाई दुष्ट र पापी भएको सकार्छ र विगतको अपराधबोधले त्रस्त मानसिकताले भित्रभित्रै आतङ्कति भएर किशोरीबाट भाग्न चाहन्छ । त्यस समस्याको जड बुझ्न नसकेकी किशोरी बुद्धि देखाउँछे । मञ्चमा गणेश किशोरीका भाइ प्रदीपलाई महेश्वरले पुलिसले पक्रेर उसैलाई बुझाउन ल्याइएका उनीहरूका बाबु सुशीलको उसकै आँखा अगाडि पिस्तोल र खुकुरीले हानी हत्या गरेको हो भन्ने बुझाउने कोसिस गर्छ र यो कुरा त्यसै उब्जाएको होइन भन्दै एकदिन उसैका मुखबाट बक्न लगाएर सुनाउने वाचा गर्छ । आफ्नै बाबुका हत्यारासँग बदला लिनुको सट्टा किशोरीले उसैसँग विवाह गर्न खोजेको, पहिले आफूतिर आकषिर्त किशोरीलाई आफूले पनि माया गरेको र उससँग विवाह गर्न चाहेकै कारणले मात्र महेश्वरलाई आफूले दोष नलगाएको बताउँछ ।

तेस्रो अङ्कमा एकदम स्वच्छसफा कोठामा सुकुमेल र भुनी प्रवेश गर्छन् । सुकुमेल आमाले प्रेम गरेका व्यक्तिसँग छोरी किशोरीले पनि प्रेम गर्न लागेकोमा विरोध जनाउँछे । शर्मिलाले बाबुआमाले दिन चाहेका ठाउँमा नगएर आफ्नो प्रेमी महेश्वरसित भरपर्दा मन नपरीनपरी सुशीलसँग पोइला जानु परेकाले यस्तो दुरदसा भएको छोरीले फेरि उसै बूढो महेश्वरसँग विवाह गर्दा के हुने हो भनी चिन्ता व्यक्त गर्छे । सेते गणेश विरोधी देखिन्छ तर उसको विचारको खण्डन गर्दै सुकुमेल पनि निस्कन्छे । कोठामा सेते र भुनीको प्रणयविवादका बीचमा प्रदीप र गणेश प्रवेश गर्छन् । त्यही कोठामा लुकेर महेश्वरका कुरा सुन्न प्रदीपलाई गणेश आग्रह गर्छ । सुनेर पनि आफू केही गर्न नसक्ने भन्दै प्रदीप कमजोर आत्मबल देखाउँछ । कोठामा प्रवेश गरेकी किशोरी गणेशलाई देखेर उससँग विवादमा अल्भिmन्छे । त्यतिबेलै महेश्वर प्रवेश गरेर किशोरीलाई माथि उठाउँछ र गणेशसँग कुरा गर्न थाल्छ । सुशीलका फोटाको प्रसङ्ग उठाएर अतीतको कुरा कोट्याउँदै अपराध स्वीकार नगरेसम्म पापले उसलाई लखेटिरहने छभन्दा महेश्वरले उल्टै उसैमाथि हत्याको आरोप लगाउँदै गणेशलाई धम्क्याउने प्रयास गर्छ । सेते र प्रदीप सँगै प्रवेश गरेपछि प्रदीपले सबै सुनिसकेकोभन्दा गणेशलाई आक्रमण गर्ने कोसिस गरे पनि गलहत्याएर बाहिर निकालिदिन्छ मात्र र अन्त्यमा सेतेलाई बाहिर पठाएर कुनै कुरा लुकाउन चाहन्न भन्दै प्रदीपकै सामु अपराध स्वीकार गर्छ । किशोरी प्रवेश गरेपछि उनीहरूकी आमा शर्मिलालाई सुशीलले भगाएर लगेपछि भित्रभित्रै आफूमा बदलाको भावना विकसित भएको हुनसक्ने भएकाले वीरगन्जमा आवेशमा आएर उनीहरूका पिताको आफूबाट हत्या हुन पुगेको तर त्यसले आफूलाई त्यहाँदेखि निरन्तर मनमा बेचैनी र पीडाबोध भएको भन्दै सुशीलको फोटो पनि आफूले नै फ्याँक्ने गरेको कुरा पनि स्वीकार गर्छ । शर्मिलालाई रोक्न नसकेकोमा दुःख लागेको कुरा पनि दोहोर्याउँछ र प्रदीपलाई आफूसँग पिताको हत्याको बदला लिन आग्रह गर्छ । किशोरी गणेशले उनीहरूको विवाह भाँड्न झुट्टा आरोप लगाएको भन्दै उसको बचाउ गर्छे । प्रदीप भने अनिर्णयको बन्धनमा परेर त्यस घरमा बस्न नसक्ने जनाउ किशोरीलाई दिएर बाहिरिन्छ । किशोरी अन्यमनस्क भएर स्तब्ध हुन्छे र अन्धकारमा निस्केर हराउँछे । महेश्वर रक्सी पिउन थाल्छ । दृश्य यत्तिमै टुङ्गन्िछ ।

चरित्र चित्रण ः यस नाटकका प्रधान पात्र किशोरी र महेश्वर हुन् । एकातिर चारित्रिक र नैतिक अत्यन्त विकृतियुक्त सामुदायिक परिवेशमा एउटी किशोरीको यौनचेतना र भावी अस्तित्वसँग सम्बद्ध सङ्कटग्रस्त मनोदशाको सहज चित्रण गर्ने प्रयास गरिएको छ भने अर्कोतिर सामन्ती जहानियाँ परिवेशभित्र विकृतिको एक कारक बनेको पात्र महेश्वरको नारीलाई वासनातुष्टिको साधन मात्र मान्ने मनोवृत्ति शर्मिलाको अनुपस्थितिमा प्रगाढ प्रेमका रूपमा प्रकट भएको र उसको पतिको हत्या गरेका कारण उसको मानसिकता विक्षिप्त भएको देखाउने प्रयास भएको देखिन्छ । किशोरीले आमाभन्दा बाबुप्रति बढी सहानुभूति राखेको देखिन्छ । उमेरकै आधारमा किशोरीमा नैतिकता र मानवताको समुचित विकास हुनपाएको छैन भने गणेशका तराजुमा स्वार्थ र नैतिकताको तुलो बराबरी भएर रहेको छ । निम्न तहको कर्मचारी भएकाले र हिजोसम्म सामन्ती जाँतोमुनि पिसिएकाले उसमा पनि आदर्श- स्व, नैतिकता र मानवताको ठीकसँग विकास हुनसकेको देखिँदैन तैपनि ऊ इमानदार छ । धाई नमुनी र नोकर्नी सुकुमेलमा मानवताको अविकसित नै भए पनि सुन्दर छवि देख्न सकिन्छ । उनीहरू दूधपानीमा हलुका नै भए पनि भेद देख्न सक्छन् । यी हाम्रो समाजका सुलभ पात्र हुन् । अमूर्त तर द्वितीय स्तरकी नारीपात्र, महेश्वरका पागलपनकी कारणभूत प्रेमीका शर्मिला र नायक पात्र महेश्वर यस नाटकका सबैभन्दा निकृष्ट पात्र हुन् तापनि शर्मिलाका अनाथ सन्तानलाई आश्रय दिनु र किशोरीको विवाह प्रस्ताव अन्ततः अस्वीकार गरेर र उसको गणेशसँग प्रेम सकारात्मक होस् भन्ने चाहना राखेर किञ्चित मानवीय लक्षण देखाउँदा पाठक दर्शकबाट थोरै भए पनि सहानुभूति प्राप्त गर्छ । यिनले तात्कालिक समय, पद र कुलीन समुदायको प्रतिनिधित्व गरेका छन् । यिनमा नैतिकता, आदर्श, मर्यादा र मानवता नामको कुनै स्वच्छ छवि देख्न सकिन्न । यी समसामयिक समाजका दुर्लभ पात्र हुन् । तिनीहरूलाई सम्झँदा श्रद्धा, सहानुभूतिभन्दा मनमा घृणा पैदा हुन्छ । किशोरीको निरीहता र पतनोन्मुखता दया गर्ने लायक छ । निर्णय क्षमताको विकास हुन नसकेका कैशोर्यका लक्षण उसमा देख्न सकिन्छ । गणेश स्वाभाविक गुण भएको पात्र हो । उसले आफ्ना सामान्य वर्गको उचित प्रतिनिधित्व गरेको छ र बढुवा भएपछि आधा गाग्री छचक्लिएजस्तै अंशतः उसमा अहङ्कार पनि बढेको देखिन्छ । अरू नोकरचाकर र शर्मिलाको अमूर्त लोग्ने गौण पात्र हुन् र ती कथ्य र सत्यका पुष्टिका लागि मात्र आएकाजस्ता लाग्छन् । अन्त्यमा परिस्थिति यस्तो विष्फोटक बिन्दुमा पुग्छ कि नायकनायिकाको इच्छा कतैबाट कुनै प्रकारले पूरा हुने देखिँदैन । नायक रक्सीमा बाँचिरहेको छ भने नायिका उससँगका एकाङ्की प्रेममा टिकेकी छ । महेश्वर विगतका स्मृतिका बन्धनमा मृत्युका प्रतीक्षामा बसेको रोगीजस्तै जकडिएको छ । उसलाई त्यसबाट मुक्तिभन्दा मृत्युवरण सहज बनेको छ । प्रजातान्त्रिक आन्दोलनले राणातन्त्रको अन्त्य गरिँदा किशोरी र प्रदीप अनाथ बनेका छन् । किशोरीको आत्मनिर्णयको क्षमता नारी हठका रूपमा चित्रित छ किनभने उसमा समयको परिवर्तनशील र समाजका गतिलाई चिन्न सक्ने क्षमता छैन । विपरीत लिङ्गी यौनाकर्षण सिद्धान्तअनुसार उसमा बाबुप्रति मोह भए पनि आमाप्रति भने ईष्र्या र विद्वेष छ । उसलाई आफ्नी आमा चरित्रभ्रष्ट भएका कारण बाबु बेपत्ता भएको, आफूहरू अनाथ भएको अनुभव छ र आमाको त्यो प्रेमी महेश्वर नै हो भन्ने पनि थाहा छ तर ऊ विकृतिका डरलाग्दो भासमा यसरी फँसेकी छ कि आफ्नो साथीको निर्मम हत्यारो र शर्मिलासँगका वियोगपूर्ण वर्तमानका प्रताडनाले विक्षिप्त बनेको आफ्नै अभिभावक जस्तो महेश्वरसँग विवाह गर्ने उसका निर्विकल्प निर्णयले नोकरचाकर सबैलाई विष्मयमा पार्छ ।

समीक्षा ः यो मल्लको सामाजिक मनोविश्लेषणात्मक नाटक हो । नाटकको चिरफार गर्दा विनाशका सङ्घारमा पुगेको सामन्तवादको नाशोन्मुख विराट्रूप देख्न सकिन्छ । यस नाटकको केन्द्रबिन्दु नारी अर्थात् किशोरीका आमाछोरी रहेका छन् । अतः यो मल्लको नारीप्रधान नाटक हो । प्रायः उनका नाटकहरू नारीपात्ररहित वा नारीपात्र प्रधान भएका हुन्छन् । किशोरी हिलामा फुल्नसक्ने फूल हो तर ‘हा ! हन्त ! हन्त नलिनी गजमु…’ जस्तै उसलाई सामन्ती विशाल विकृतिले फक्रिन नपाउँदै कवलित गरिदिएको छ । प्रदीप पनि भर्खर धिपधिप गर्दागर्दै निभेको बत्ती बनेको छ । प्रजातन्त्रले निमुखाहरूलाई हेर्ने रहेछ भन्ने मान्यताको झिनो सङ्केत गणेशबाट पाइन्छ । किशोरी र महेश्वर दुवैका मानसिक द्वन्द्वले उनीहरूको आपसी संयोग शृङ्गारलाई दबाएको छ र दुवै पक्ष हुँदाहुँदै वियोगमा बदलिएको छ । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि राणा र भाइभारदारको पारिवारिक छाडा शासनतन्त्र ध्वस्त हुन्छ । दरबारिया विकृति, भोगविलास र नग्न कामसंस्कार उदाङ्गन्िछ । नायिकाकी आमा पथभ्रष्टा शर्मिला खुला परिवेशमा आफ्नै सन्तान र स्थानीय समाजमा समेत नाङ्गनिुपर्ने भयले क्रान्तिताका हराएको आफ्नो लोग्नेको खोजीको बहानामा भारततिर पलायन हुन्छे । नायिकाकै कथनअनुसार उसले आफ्ना दुराचारका सबै कर्तुत लोग्नेकै अगाडि सकारेकी हुन्छे । लोग्नेसँगको विवादमा अन्यान्य पुरुषहरूसँग शारीरिक संसर्ग राख्नाका साथै दुई सन्तानमध्ये कुनै एक परपुरुषको भएको सकार्नु चरम चारित्रिक विकृतिको उदाहरण हो । उसका हाउभाउ, प्रणयचेष्टा र आत्मसमर्पणबाट लुब्ध महेश्वर उसैका खातिर अविवाहित बस्छ । कथानक झिनो भए पनि कथ्य र वस्तु सुस्पष्टरूपमा व्यक्त भएको छ । नाटकले समसामयिक परिवेशलाई कथास्रोतका रूपमा प्रयोग गरेको छ । विजय मल्लका पात्रहरू समका जस्ता गोटी बनेका हुँदैनन् । प्रत्येक पात्र कुनै न कुनै द्वन्द्वमा फसेका कारण जीवन्त र असामान्य मनस्थितिका देखिन्छन् । पात्र चयनको परिवेश भने सम र मल्लको उस्तैउस्तै उच्चमध्यमवर्गीय जस्तो लाग्छ । सायद आफ्ना किशोर यौनचेतनाका कारण विपरीत ध्रुवीय यौनाकर्षणकै आधारमा किशोरी आमाभन्दा बाबुप्रति बढी माया देखाउँछे । यस नाटकमा रक्सीका नशामा मात्र शर्मिला र किशोरीका बीचमा भेद गर्न नसक्ने महेश्वरका मनोदशाको चित्रण भने त्यति विश्वासयोग्य देखिँदैन । विवाहपूर्व शर्मिलाले आफूलाई झुक्याएर भागेर सुशीलसँग विवाह गर्न गएको कुराले उसका मनमा लागेको चोट गहन छ । त्यसैबाट उसले आफ्नो ठूलो अपमान भएको अनुभव गरेको छ र त्यसैको प्रतिशोधस्वरूप प्रेमिकाका पतिको हत्या गरेको सकार्छ । त्यस्तै, पटकपटक हुने अपमानको त्रास छ उसको मनमा । त्यसैले ऊ विक्षिप्त जस्तो भएको हुनसक्छ ।

द्वन्द्वको प्रस्तुति ः नाटकमा बाहृय र आन्तरिक द्वन्द्व, भौतिक र मानसिक द्वन्द्व पर्याप्त मात्रामा समाविष्ट हुनाले प्रधान पुरुषपात्रका असामान्य मनोदशाको चित्रण स्वाभाविक बन्न गएको छ । महेश्वरले शेक्सपियरको नाटक किङ्ग लियरको नायक राजा लियरको सम्झना गराउँछ । आफ्नै कमजोर चेतनाका कारण जीवनको सङ्घारमा अविवाहित एक्लो जीवन बिताउन विवश छ ऊ । कथानक अन्ततः चरमोत्कर्षबाट ओर्लिएर कार्यमा नपुगी टुङ्गएिको अनुभव हुन्छ तर त्यो नाटकमा दोषका रूपमा प्रकट भएको छैन । नायकनायिका दुवै अज्ञात कारणबाट सधैँ भयभीत रहन्छन् । यथागत सामाजिक संरचना भत्किएपछि उनीहरूमा मनोविकृति देखापरेको छ । विनाजगको हवाइमहल जस्तो महेश्वरको जीवन ढल्नै लागेको छ भने किशोरीको विवेकहीन निर्णयले उसको जीवन नाउलाई माझमिहीनमा लगेर छोडिदिएको छ ।

भाषाशैली ः नाटकको कथ्य, विचार र संरचनागत ढाँचाका आधारमा पनि भाषा र शैली फरक पर्न जान्छ । संस्कृतमा नाटकहरूमा पात्रका सामाजिक वर्ग, लिङ्ग, तह र योग्यताअनुसार स्तरीय संस्कृत, प्राकृत वा अन्य स्थानीय भाषामा बोल्न लगाइन्थ्यो । पश्चिममा पनि स्तरीय, गद्य वा पद्यमा बोल्न लगाउने गरिन्थ्यो । त्यस्तै, परम्परित शास्त्रीय सिद्धान्तमा आधारित नाटकहरूमा एकालाप, स्वगतकथन र लामा संवादद्वारा पात्रकै मुखबाट पात्रपात्रका गुणावगुण व्यक्त गर्न लगाइन्छ । आधुनिक यथार्थवादी नाट्यलेखन परम्पराको स्थापनाले पुराना प्रवृत्तिमा आमूल परिवर्तन ल्याइदियो र नाटकमा छोटा, प्रतिकात्मक र प्रभावशाली भावपूर्ण संवादको प्रयोग गर्न थालियो । पात्रहरू आफ्नो क्षमता, योग्यताअनुसार सहज र स्वाभाविक भाषा र वाक्यको प्रयोग गर्न सक्छन् । गहन भावका अभिव्यक्तिका लागि शब्दमा श्लेष वा व्याजोक्तिको प्रयोग भएको हुन्छ । नेपाली नाटकले रिमाल र मल्लमा आएर लामा वाक्य, एकान्तकथन, आत्मालाप, अतिबौद्धिक र तार्किक नसुहाउँदो स्तरीय भाषाबाट मुक्ति पाउनसक्यो । संवादका दृष्टिकोणले विजय मल्लका नाटक न समका जस्ता छन् न रिमालका जस्ता । व्यङ्ग्य र विनोदको कम प्रयोग गरिएको छ । उनका नाटकमा विसङ्गत र विक्षिप्त मनका भावको अभिव्यक्तिका लागि उपयुक्त भाषा प्रयोग हुन्छ । त्यसैले उनका पात्रहरू एक्लै लामालामा अनुच्छेदमा कुरा गर्छन् । व्याकरणका दृष्टिले उनका भाषामा कर्ता, क्रियामा लिङ्ग, वचन र आदरको ठीकसँग सङ्गति भएको पाइँदैन । पदसङ्गतिमा यस्ता बेमेलले हलुवामा बालुवाको स्वाद दिन्छन् । नाटकमा उच्च र उच्चमध्यम वर्गका पात्रहरू हुने हुनाले उच्चारणमा उदात्त तानको प्रयोग गरिएको पाइन्छ ।

रङ्गमञ्च विधान

अभिनय प्रस्तुत गर्दा मञ्चमा देखिने भौतिक परिवेश नै मञ्चसज्जा वा रङ्गमञ्च विधान हो । यसबारे पूर्वीय र पाश्चात्य सिद्धान्तमा भिन्नता पाइन्छ । अभिनयसम्बन्धी कलाकौशल प्रस्तुत गर्न पात्रहरूको सुविधाअनुसार विशेष प्रविधिद्वारा निर्मित प्रदर्शनस्थललाई मञ्च भनिन्छ । यसलाई रङ्गशाला, प्रेक्ष्यागृहृय वा नाट्यशाला अनि अङ्ग्रेजीमा स्टेज र ल्याटिनमा थिएटर पनि भनिन्छ । पूर्वीय नाट्यशास्त्रमा यसका लागि भिन्न वास्तुविधिको उल्लेख पनि पाइन्छ । रङ्गमञ्च, रङ्गकर्मी, प्रेक्षक, नाटककार, नाटक र पात्रको संयोगबिन्दु हो ।

नाटक अभिनयका लागि लेखिने हुनाले त्यसको र मञ्चको अन्योन्याश्रति सम्बन्ध हुन्छ । मञ्चसज्जा भावोत्तेजक हुनुपर्छ भनिन्छ । रङ्गपीठले केही कालका लागि एउटा सिङ्गो संसार तयार गरेको हुन्छ । पश्चिममा यो मञ्चशिल्पीको काम हो भन्ने गरिन्छ । आधुनिक यथार्थवादी नाट्यलेखनका विकासले मञ्चसज्जामा समेत परिवर्तन ल्याएको छ । रेडियो, टेलिभिजन र सडक नाटकमा भावप्रधान र दर्शकहरूलाई आकषिर्त गर्ने शैली र अभिनय तथा भावका गाम्भीर्यअनुसार भाषामा तान, अनुतन र ध्वनिको आवश्यकता हुन्छ । विजय मल्ल यथार्थवादी नाटककार हुन् । त्यसैले उनका नाटकमा मञ्चको संरचना पात्रका द्वन्द्व र मनोबिम्बअनुसार सङ्केत गरिएको पाइन्छ । यस नाटकमा यौनजन्य विसङ्गतिबाट उत्पन्न मनोविकारलाई व्यक्त गर्न सुहाउँदो रङ्गमञ्चको निर्माण गरिएको छ ।

उपसंहार

समका नाटकमा जस्तो मल्लका नाटकहरूमा मञ्चसज्जाले कुलीनतालाई अलङ्कृत गरेको पाइँदैन बरु व्यङ्ग्य गरेको पाइन्छ । काठमाडौँभित्र विशेषतः सत्तासीननिकट वर्गको यौनसम्बद्ध विकृतिको चिरफार गर्दै विनाशकाले विपरीत बुद्धि’ चरितार्थ भएको देखाउँदै सामन्तवादप्रति घृणा र जनतान्त्रिक जीवनपद्धतिप्रति आस्था जगाउन उच्चवर्गीय अहङ्कारमाथि प्रहार गर्ने काम नाटकले गरेको छ । भोगवादी र भाग्यवादी जीवनदृष्टि पतनोन्मुख समाजको एउटा मुख्य अभिलक्षण मानिन्छ । त्यही लक्षण यहाँ देखाइएको छ । शक्तिका मातमा देशभरि अन्धकार फैलाएर आचन्द्रार्क निरङ्कुश शासन चलाउन चाहना राख्ने राणापरिवार तथा भोग र वासनामा चुर्लुम्म डुबेको राणादरबारका निकट रहने गरेका कुलीन समुदाय आफ्ना पतनको गतिलाई देख्न नसकेर अन्त्यकालतिर आफन्त नै भए पनि परस्पर विरोधीहरूलाई सखाप पार्न र आफ्नो अपराध एकार्काबाट लुकाउनतिर लाग्यो, युगसन्दर्भलाई बुझ्नतिर लागेन । परिणामस्वरूप उनीहरूको पतनको गति तीव्रत्तर हुँदै गएर प्रजातन्त्रको आन्दोलनलाई मलजल पुग्यो र क्रान्ति सजिलै सफल हुनसक्यो । राणाहरू हतारहतार देशबाट भारततिर पलायन हुनथाले । नाटकले तिनको पलायनको कारण र प्रक्रियाभन्दा पनि दरबारभित्रको विकृत तथा नाङ्गो कामाचारलाई उजागर गर्ने र त्यसले पारेको प्रभावले पात्रको मनोदशा चिरफार गरेर प्रस्तुत गर्नु रहेको स्पष्ट छ । त्यो उद्देश्य अत्यन्त सजिलै प्राप्त भएको छ । शर्मिलाको प्रेमी, जसलाई उसले धोका दिएर सुशीलसँग विवाह गरी, प्रतापजङ्ग हो वा महेश्वर वा ती दुवै पात्र एउटै हुन् र नामकरणमा नाटककार अलमलिएका हुन् भन्ने अन्योल देखिन्छ तथापि नाटक उत्कृष्टमध्ये एक मानिन्छ नै ।

सन्दर्भग्रन्थ सूची-
१) उपाध्याय, केशवप्रसाद (२०५२)ः नाटक र रङ्गमञ्च, काठमाडौँ, रुमु प्रकाशन, पृ.-२, ३६ ।
२) कँडेल, घनश्याम ? (२०४०) ? केही अन्वेषण, केही विश्लेषण, ः काठमाडौँ, भीमसेन थापा ः स्वयम्भू ।
३) ज्याकोबस, एल.ए. (२००१ ई.) ः द बेडफार्ड इन्ट्रोडक्सन टु ड्रामा, न्युयोर्क, बेडफोर्ड, पृ.६ ।
४) जोशी रन्तध्वज (२०३७) ः नेपाली नाटकको इतिहासः काठमाडौँ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पृ.८४ ।
५) मल्ल, विजय ( २०१५) ः कोही किन बर्बाद होस्, काठमाडौँ, साझा प्रकाशन ।
६) मल्ल, विजय (भूमिका ः २०४०) ः स्मृतिको पर्खालभित्र तथा मानिस मुकुण्डो, काठमाडौँ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *