Skip to content


कसैको आसनमा घुसारिएन औलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्युहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा
सामन्तीसँग जोडिएन नाता
‘प्रभु’ का शरणमा वरण पर्न
अरुको अस्तित्व हरण गर्न
न त कसैलाई बनाइयो काजी
न त आफै काजी भइयो
स्वाभिमान बाँच्न राजी भइयो
त्यसैले त आज पाजी भइयो

थुकेको थुक चाटिएन
कुराको डोरी बाटिएन
अन्तरमनमा पालेर क्लेश
कसैको भकुण्डो खेलिएन
कसैको मुखुण्डो पहिरिएर
धाकधक्कु बाँडिएन
मानवताको धर्म विरुद्ध
कसैको मनलाई भाँडिएन
झुटको खेती गरेर
बुटको शासन विजय गर्न
न त कसैलाई बनाइयो बाजी
न त आफै बाजी भइयो
स्वाभिमान बाँच्न राजी भइयो
त्यसैले त आज पाजी भइयो ।

पाइलाहरु रोकिँदैन
शोषकहरुलाई बोकिँदैन
न्यायका भाषा बोल्न सकिन्छ
अन्यायका नाका तोड्न सकिन्छ
ध्वाँसका खुट्टा हालेर कतै
चिन्तनमा खोट पालेर कतै
कुमार्गमा हिँड्न सकिन्न
कसैका चाहना गिंड्न सकिन्न
कसैको खल्तीमा बाँच्न सकिन्न
कसैको चल्तीमा चल्न सकिन्न
परजीवीहरुका नजरहरुमा
भए बरु लाक्षी भइन्छ
स्वाभिमान बाँच्न राजी भइन्छ
भए आफै पाजी भइन्छ ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *