Skip to content

मानवीय विवेकको वकालत गर्ने कविताहरू

  • by


गीत मनको सुसेलीबाट बहनुपर्छ, अन्तरहृदयबाट बज्नु पर्छ। तव मात्र गीत बन्न सक्छ। गीतकार भएर उभिनु भनेको सजिलो कुरा होइन। गीतमा मिलन, विछोडका तानावानाहरू रहनु कुनै नौलो पनि होइन। कतिपय गीतहरू संगीत विना पनि निकै सुमधुर हुने गर्दछन्। जीवन भोगाईका अनेकन रुपहरूलाई साहित्यका माध्यमबाट पोख्न सकिए पनि गीत संगीतबाट उत्पन्न हुने तरङ्ग निकै मर्मस्पर्शि हुने गरेको छ। लोकलयमा गाइने कतिपय भाकाहरूले हाम्रो मनलाई आनन्दित गराउँछ। जीवनप्रतिको कर्तव्यबोध पनि गराउँछ। भनिन्छ, साहित्य, संगीत र कला नभएको व्यक्ति केहि कामको पनि हुँदैन त्यस कारण यी चिजहरू हाम्रा जीवन भोेगाईका अपरिहार्य बस्तुहरू हुन जस्तो लाग्छ।

यहाँ गीत संगीतकै कुरा गर्दा अहिले म संग एउटा गीतहरूको संग्रह ‘सम्झनाका तरेलीहरू’ पुस्तक रहेको छ। विदेशी भूमिका रहेर पनि साहित्यमा रमाउँने थुप्रै व्यक्तिहरू छन्। डायस्पोरीक साहित्यले निकै फड्को मारेको छ। कर्म गर्नको लागि जता जता भौतारिए तापनि जन्मभूमि प्रतिको मायाले तानी नै रहेको छ। यसकारण पनि नेपाली साहित्यमा पनि धेरै सर्जकहरूले अर्काको भूमिमा रहेर पनि नेपाली भाषा साहित्यलाई निकै माया गरेको प्रमाण धेरै छन्। पुस्तक प्रकाशित गर्दै नेपाली पाठक माँझमा पस्किएका छन्। अनलाईन साहित्यमार्फत मातृभाषालाई सम्मान गरेका छन्। यस्तै बेल्जियममा बसोवास गर्दै भाषा साहित्यमा योगदान गर्न रुचाउँने अर्का साहित्यकार हुन बिमल गिरी। हुनतः समकालिन साहित्य डटकम नामक बेब पत्रिका संचालन गरेर विश्वभर चर्चाको शिखरमा पुग्न सफल रहेेका कृष्ण बजगाईँ पनि बेल्जियममा नै बसोवास गर्दछन्। बेल्जियमको नाम सुन्ने विक्तिकै उनको नाम याद आईहाल्छ। त्यस्तै सन्जु बजगाई पनि नेपाली साहित्यमा सशक्त नारी हस्त्ताक्षर पनि त्यहि नै वसोवास गर्नूहुन्छ। यसरी विदेशी भूमिमा नेपाली भाषा साहित्यको विकास तिव्र रुपमा अगाडी वढिरहेको अवस्थामा बिमल गिरीको ‘सम्झनाका तरेलीहरू’ गीतसंग्रहले पक्कै पनि एउटा ईँटा थप्ने प्रयास गरेको छ।

पचास ओटा गीतहरू रहेको यस संग्रहमा बढी जसो वियोग भावलाई समेट्न सफल छन्। उनका गीतहरूमा पे्रम प्रेमिकाको बिम्बलाई सजिव रुप दिएका छन्। निकै प्रभावकारी रुपमा विरहको वेदनालाई पनि सुक्ष्मरुपमा प्रस्तुत गर्न सकेका छन्। आफ्नो देश छोडेपछि मनमा उत्पन्न हुने आत्मियताको गन्ध पनि भटिएका छन् उनका गीतहरूमा। यथार्थताको धरातललाई अवलम्ब गर्दै भावनात्मक संसारमा आफूलाई पुर्याटउने प्रयास रहेको छ उनको। जीवनका आरोह अवरोहमा लगभग एक दशकका परदेश बसाईका लगायत विभिन्न समयमा लेखिएका उनका यी गीतहरूले साँच्चै यथार्थताको वोध गराउँछ। उनको ठहर छ साहित्य अन्तर आत्माबाट उब्जिएका भावात्मक छालहरू हुन। साहित्यलाई परिभाषित गर्ने आ–आफ्नो सोचाई भएपनि उनको ठहर साँचो रहेको छ। कृतिका रुपमा बिमलको यो पहिलो कृति भएपनि ‘सम्झनाका तरेलीहरू’ कृतिले उनलाई गीतकारका रुपमा परिचित गराउँन सफल रहेको देखिन्छ। अर्को कुरा साहित्यमा जति निरन्तरता दिनसक्यो उति नै परिस्कृत हुँदै जाने हो। अध्ययन, निरन्तरता र लगनशिलताले नै समयसंगै बग्न सिकाउँछ। बिमलका गीतहरूलाई संगीत दिन सकेमा अझ राम्रो हुने थियो।

गीत संगीत भनेको हरेक मानवहरूको ढुकढुकी हो, निरन्तर बगिरहने सागर जस्तै। बिमल गिरी सम्भावनाका गीतकारका कोटीमा पर्दछन्। उनको यहि क्रमले साहित्यमा निरन्तरता रहेमा उनको भविश्य अत्यन्त सफल रहेको छ। उनका गीतमा प्रस्तुत भएका भाव, बिम्ब, सरल शब्द र शैलीले यहि देखाउँछ। ‘प्रत्येक समुदायमा नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न जुटौं’ भन्ने अभियान अन्तर्गत अन्त्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको छ। हुनतः बिमल आफै पनि अनेसास बेल्जियम च्याप्टरका उपाध्यक्ष पनि हुन। यसरी ‘सम्झनाका तरेलीहरू’ कृति नेपाली भाषा साहित्यमा थपिएको छ एकपटक पढ्ने हो कि? यसको मूल्य रु.८९ रहेको छ।

जीवन जिउँछौं निर्धाहरू पखेरी र पाखामा
दोहोरी र मारुनी गीत गाउँदै आफ्नै भाकामा

नबोलौ है बिझने कुरा नदुखाउँ है मनहरू
रीसराग त्यागी, खुशी बनौँ केही होइनन् धनहरू

शान्ति, दया, सर्मपण फुलाउँ आफ्नै पाखामा
दोहोरी र मारुनी गीत गाउँदै आफ्नै भाकामा

मेहनत गरि उर्वर बनाउँ आफ्नै खेतबारी
मन सँधै सफा राखौँ इर्ष्याहरू पर सारी

जात लिङ्ग भाषा धर्म फूलाउँ आफ्नै पाखामा
दोहोरी र मारुनी गीत गाउँदै आफ्नै भाकामा

पृ.१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *