Skip to content


नयाँ बर्ष आउँदै छ । पुरानो बर्षको आज अन्तिम दिन । यस मानेमा पुरानो वर्षको आज मृत्यु हुँदैछ । यसरी हरेक वर्ष, नयाँ वर्ष पुरानो हुन्छ । त्यस्को मृत्यु हुन्छ । अनी त्यस्को ठाउँ नयाँ बर्षले लिन्छ । नयाँ वर्ष नयाँ उल्लास र नयाँ उमङ । अनी नयाँ केही गरौ भन्ने चाहना र संकल्प । हिजो सम्म मलाई पनि यस्तै लागिरहेको थियो । नयाँ,नयाँ,नयाँ र मात्र नयाँले मेरो मनमा रोमन्च भरिरहेको थियो । ‘भोली यस वर्षको अन्तिम दिन’ गम्दै ओछ्यानमा पल्टेको थिए । नयाँ वर्षलाई कल्पदै निन्द्रा देवीलाई निम्तो दिईरहेको थिए ।

बिजुली चम्केर निकै ठुलो चट्याङ गएछ क्यारे ! चट्याङ्को ठुलो आवाजले मेरो निन्द्रा खल्वलियो । उठेर झ्याल खोलेको त एक झर्को बाछिटा भित्र पस्यो, मलाई रुझाउंदै । निकै दर्केर पानी परीरहेको रहेछ । छिटो छिटो झ्याल लगाए । अनी बन्द झ्यालबाट दर्की रहेको पानीलाई हेरे । कुन्नी किन ओछ्यानमा जान मन लागेन, दर्किरहेको पानीलाई एकोहोरो हेरिरहे । धेरै बेर टोलाएपछी मनमा उथल-पुथल भएको महसुस भयो । अली बढी नै अप्ठेरो लागेपछी फर्केर सिरानी मुनी राखेको चुरोट निकाले । फेरी झ्यालतिरै फर्कदै एक खिली चुरोट सल्काएर लामो कस ताने । नजिकै रहेको आराम कुर्सिमा थ्याच्च बसे, टाउकोमा टेको लगाएर सिलिङतिर नै टोलाईरहे ।

साउनको झरी निकै मच्चिएर वर्षिरहेको थियो । त्यस सांझ म घरको वरण्डामा बसेर श्रीमतीजीले बनाएको प्याजको पकोडासंगै विस्तारै विस्तारै व्हिस्की पिउदै वर्षाको आनन्द उठाइ रहेको थिए । काखमा छोरी सुतिरहेकी थिई । परबाट सानो छातामा आफुलाई मुस्किलले लुकाउदै एक युवती यतै आईरहेकी देखे । घरी घरी यता उता हेर्दै, शायद ओत लाग्ने ठाउँ खोज्दै थिइन । बजारको बाटो । सांझमा दर्केर परीरहेको पानीको कारण प्राय: पसलहरु बन्द थिए । एक लहरमा उभिरहेको सटरसहितको घरहरुले उनलाई ओत लाग्ने ठाउँ दिईरहेको थिएन । झरिसंगै आईरहेको बतासले घरी घरि उनको छाता हुत्याउने प्रयास गरिरहेको थियो । हाम्रो घर अगाडि आएर उनी टक्क उभीईन । म एक छीन अलमल परे । के उनी मलाई चिन्छीन र ? मैले अली नियालेर हेरे । निछुप्प भिजेको सारी शरीरमा चपक्क टासिएको थियो । गहुगोरो वर्णकी, अग्ली र टमक्क मिलेको शरीर । मेरो हेराइले उनी सन्कुचित भईन र आफ्नो वक्षमा टांसिएको सारी मिलाउन लागिन । मेरो त्यो एक क्षणको ब्यवहार म आँफैलाई अप्ठेरो लाग्यो ।

मेरो काखको नानीतिर एक नजर हेरे पछी मलाई हेर्दै भनिन -पानीले कस्तो रुझायो, एक छीन यहाँ बसुं है ।
मैले सहज स्वरमा ‘हुन्छ’ भने .
हाम्रो वरण्डामा ओत लागेपछी आफ्नो रुझेको सारीको सप्कोबाट पानी निचोरेर मुख पुछ्न थालिन । म उनलाई नियाली रहेको थिए । उन्ले मलाई पुलुक्क हेरेपछी भने मैले नजर घुमाए र व्हिस्की पिउदै पकोडा मुखमा हाले । पानी अघी जसरिनै दर्किरहेको थियो । पानी थामिने छाट नदेखेपछी ति युवतिले सुईय सास फेरिन । म उनितिर फर्के । आफुलाई अली ओभानो बनाएर उभिरहेकी रहिछन । यतिका बेरसम्म दोहोरो कुरा भएको थिएन । मौनता तोड्दै मैले भने -बस्नुस् न ।’ उनी अली अंकनाईन ।
बस्नुस् बस्नुस्’ यो श्रीमतीजिको स्वर थियो । अघी कतिखेर मेरो पछी आएर उभिएकी रहिछन । म झस्केर पछी हेरे । मतिर मिठो मुस्कान फालेर श्रीमतीजिले उनितिर खाली स्टूल सारीदीइन, अनी फेरी भित्र पसिन । एकैछिनमा उनले दुई प्लेट पकोडा र चिया लिएर आईन । एक प्लेट पकोडा र चिया युवतीलाई दिइन र अर्को मलाई खन्याइदीइन, साथै सोधिन -‘बैनीको घर कहाँ हो नि ?’
‘बर्दिया’ युवतीले छोटो उत्तर दीईन ।
बर्दिया कहाँ हो नि ? श्रीमतीजीको अर्को प्रश्न ।
‘राजापुर’ फेरिपनी युवतिको छोटो उत्तर ।
राजापुरको नाम सुने पछी श्रीमतीजीको उत्सुक्ता आवाजमा सुनियो -राजापुरमा कस्को छोरी हौ नि?
कैप्टैन रुद्र आलेको”- युवती अली आस्चर्यमा जवाफ दिईन ।
अब श्रीमतीजी निकै उत्त्शाहित हुँदै भनिन-तिम्रो नाम सोनाली हो ?
आफ्नो नाम श्रीमतीजीको मुखबाट सुने पछी युवती पुरै आस्चर्यमा परिन् । म पनि छक्क परे ।
तिम्रो पहाड घर बाग्लुङ हो नि हैन । श्रीमतीजीको खुशी चारै तिर फैलिसकेको थियो ।
युवतिले हो मा मुन्टो हल्लाईन ।
‘मैले वहाँलाई कती पटक राजापुर जाऔ भने तर ह्वाँलाई फुर्सदै हुँदैन । म तिर हेर्दै उनले आफ्नो गुनासो सुनाईन । नदी तर्न नपर्ने भए म आँफै जान्थे ।’ श्रीमतीजीको गुनासो सकिएको थिएन । मैले मुख बिगारे । श्रीमतीजीले आफ्नो कुरा टुंगाएरै छाडिन -भोली भोली भन्दा भन्दै बिहे गरेर यहाँ आएको पनि ३ वर्ष बित्न लागि सक्यो ।
‘हजुरले मलाई कसरी चिन्नु भयो ?’ श्रीमतीजी सांस लिन रोकिएको मौका पारेर सोनालीले सोधिन ।
तिम्रो बाबा मेरो मामा हुनुहुन्छ । श्रीमतीजीले भनिन र कसरी मामा लाहुरबाट फर्केर बर्दिया आएर बसेको, आफुहरु लामो समय भेट नभएको अनी माईतिबाट मामालाई भेट्न गरेको आग्रह आदी इत्यादी कथा सुनाईन ।

यसरी अचानक भएको भेटघाटलाई दिदिबहिनीले गाढा बनाउदै लगे । अब हाम्रो घरमा सोनालिको उपस्थिती बाक्लिन थाल्यो । उमेरर्ले १८ लागेकी सोनाली निकै आकर्शक जिउडालकी थिईन, तर स्वभावमा अझै केटाकेटिपन गएको थिएन । १० कक्षा पासगरेर उनी क्याम्पस पढ्न यहाँ आएकी थिईन । फरासिली स्वभावकी सोनाली हामीसबैको प्यारो बन्दै गएकी थिइन । प्राय: घरमा आउने उनी श्रीमतीजीलाई हरेक कुरामा सघाउथिइन । श्रीमतीजी पनि सोनालीले आफुलाई घरधन्धामा सघाएको कुरा मलाई खुशी खुशी सुनाउथिन । म हासेर बस्थे । सोनाली घरको सदस्य बनिसकेकी थिईन । हामी उनलाई सोना मात्रै भनेर बोलाउन लागेका थियौ ।
…………………

दसैं पछी मेरो दशा सुरु भयो । मेरो कार्यालयको काम घटेको थियो । ब्यापारमा कमी आएको थियो । विश्व मन्दी, राजनीतिक गत्यारोध आदिले ब्यापार घाटा बढेको थियो । पैसाको कमिले हाम्रो दैनिकीमा असर पारेको थियो । ऋण दाताहरुले च्यापी रहेका थिए । पैसाको तङीले श्रीमतीजीको ‘मूड” बिग्रिरहन लागेको थियो । सो बिस्तारै कलहमा परिणत हुँदै थियो । म काम सकाउन कहिले काही राती ढिलो सम्म अफिसमा बस्न थालेको थिए । छिटो काम सकाउन पाए आय बढाउन सकिन्थ्यो कि भनेर रतोदिन लागेको थिए । तर श्रीमतीजीको पारो झन झन चढ्दै थियो । ‘पहिले छिटो घर आउँदा पनि राम्रो ब्यापार थियो । अहिले ब्यापार नहुँदा किन घर ढिलो आउनुहुन्छ’ भन्ने प्रश्न तेर्सिन थाल्यो । मैले बुझाउन सकिन कि श्रीमतीजीले बुझ्न चहिनन थाहा पाउन सकिन । मेरो साथीभाईसँगको उठ्-बस अब उनलाई खट्किन लागेको थियो । यस् बिषयमा पनि कलह हुन थाल्यो । घर कलह अब घर बाहिर पनि सुनिन लागेको थियो । सोनाले त कैयौं पटक बिचबिचाव पनि गरेकी थिईन ।
श्रीमतीजी मलाई अब बिदेश जा भन्न थालेकी थिईन । बिदेश गए पछी सब ठीक हुन्छ भनेर कलह पनि गर्न पनि लागेकी थिईन । तर मलाई बिदेशी भुमी गएर पसिना बगाउन मन थिएन । तर स्थिती बिग्रदै थियो । कार्यालयका कर्मचारी पनि काम छोडेर जादै थिए । धेरै जनाको काम एक्लै सम्हाल्दा दैनिक घर जान ढिलो हुन लाग्यो । यस्ले आगोमा घिउ थप्ने काम गर्यो । कलहले गर्दा घर जान पनि मन लाग्न छाड्यो । कहिले काही काम चाडै सकिए पनि घर नगएर साथीभाइसँग बस्न थाले । यसले श्रीमतीजीको मलाई बिदेश पठाउने योजना झन कडा हुन थाल्यो ।

मेरो हैरानी नजिकबाट हेरिरहेकी सोना एक दिन मेरो अफिसमा आईन । त्यस दिन मसँग निकै लामो कुरा गरिन । मेरो सुख दुख दुबै देखेकी सोनाले मलाई सहानुभुति दिईन । मलाई हरेस नखान भनिन र मेरो काम राम्रो हुन्छ भनेर आश देखाईन । अनी जाने बेलामा आफु फुर्सदमा भएकोले कलेज पछी अफिसमा आएर मलाई सहयोग गर्ने कुरा गरिन । मैले जुन अपेक्षा श्रीमतीजीबाट गरेको थिए त्यो सोनाले दीएकी थिईन । मलाई श्रीमतीजी प्रती पहिलो पटक भित्रै देखी निकै रिस उठेर आयो । यो हौसला र साथ श्रीमतीजीले मलाई दिएकी भए म जस्तो सुकै अप्ठेरो पनि झेल्न सक्थे । त्यस दिन पछी सोना नियमित कार्यालय आउन थालिन । साझ काम सकिएपछी म पनि सोनालाई नियमित कोठासम्म छोड्न जान लागेको थिए । बाटो भरी भोलिको कामको छलफल गर्थ्यौ, आ-आफ्नो बाल्यकालको कुरा गरेर हास्थ्यौ । कहिले खुशीका कुरा गरेर खुशी हुन्थ्यौ, कहिले उदास मन लिएर बिदा हुन्थ्यौ । घरमा सधैं केटाकेटी जस्तो ब्यबहार गर्ने सोना कार्यालयमा भने निकै भद्र थिईन । कार्यालयका कामहरु सकुशल सम्पन्न गर्थीन । एक दिन भने -‘कार्यालयको कामले तिम्रो केटाकेटीपनी खाईदियो सोना ।’ उनी हाँसी मात्र रहिन । त्यसै साँझ म काम गरिरहेको बेला मेरो पछाडिबाट आएर मेरो कान किच्चिक्क टोकिदीईन । म झस्केर -‘के गरेको’ भने । ‘केटाकेटिपन गरेको’ हाँस्दै भनिन र फुत्त बहिर निस्किन । मेरो कान भन्दा बढी मन चिमोटिएको थियो । उन्को त्यो ‘केटाकेटिपन’ बिस्तारै फैलिदै थियो । कहिले कान टोक्ने कहिले गाला चिमोट्ने त कहिले पछाडिबाट झ्याम्म बुइ चढ्ने गर्न लागेकी थीइन । म उन्लाई त्यसो गर्नबाट रोक्न चाहन्थे तर सकिन । उनको त्यो ‘केटाकेटिपन’ मलाई मन पर्न लागेको थियो ।
…………….

होलिको दिन थियो । मलाई रङ खेल्न मन थिएन । घरमा बसे साथीहरुले नछाड्ने भएको हुनाले बिहानै कार्यालय गये । भित्रबाट ढोका बन्द गरेर कम्प्युटरमा च्याट गर्दै बस्न थाले । बिहान् भर आनन्दै भो । चाउ-चाउ खाँदै बस्दै गरेको थिए । दिउँसो १ बजे तिर कसैले ढोका हान्यो । मैले वास्ता गरिन तर फेरी ढोका जोड जोड्ले हान्दै सोनाले बोलाईन-‘तपाइ भित्र हुनुहुन्छ मलाई थाहा छ, छिटो ढोका खोल्नुस् ।’ मैले कती भन्दा पनि नमाने पछी अन्तमा मैले ढोका खोल्नै पर्यो । ४,५ जना साथी लिएर आएकी रहिछन सोनाले । मैले ढोका खोल्ने बितिकै सबैजना एकै चोटि म माथी खनिए । अघीसम्म ओभानो रहेको म एकै छिनमा चिन्नै नसकिने भएको थिए । मलाई रङाउन पाएकोमा सबै खुशी भएर हासे । मैले पनि उनिहरुबाटै अविर लिएर अनुहार नचिनिने गरी अविर दलेर आएका सबैलाई टिका लगाइदिए । एक छीन बसे पछी केटीहरु खस्याकखुसुक गर्न लागे । त्यो देखे पछी मैले कुरा टुङ्याउदै ‘लौ अब शायद तिमीहरु जान खोजेको होला हैन’ भने । मेरो कुरामा सही थप्दै सोनाले ‘हो हो ‘ भनिन । तर सोनाका साथीहरु अर्कै मूडमा थिए । एउटिले प्याच्च भनिन ‘ए ! सोना तैले भन्छस कि म भनिदिउ ?’
म अलमलमा परे । ‘के कुरा हो र ?’ मैले सोधे ।
अघिकै युवतिले बोलिन ‘यस्ले….’ उस्को कुरा पुरा नहुँदै सोना कराइन
‘ए ज्योति चुप…’
‘त्यसो भए तैले भन्न त’ युवती छोड्ने मूडमा थिइनन ।
यस् पटक अरु केटीहरुले पनि हो मा हो मिलाए । अब भने सोना अप्ठेरोमा परिन् । म भने अझै अलमलमा थिए । सोनाले मतिर फर्केर आँखा चिम्म गर्नलगाइन । अघी सम्म अलमलमा परेको मेरो मन एक्कासी छिटो छिटो धड्किन लाग्यो । यो के भएको । मनमा यो के आशंका हो । किन मुटु उफ्रदै छ ? मैले आँखा बन्द नगरेको देखे पछी सोनाको साथीहरुले मलाई कराए । असमन्जसमा पर्दै मैले आँखा बन्द गरे ।
मैले आँखा चिम्म गर्ने बितिकै सोनाले मेरो गालामा म्वाँई खाँदै भनिन ‘आई लभ यू’। यती भनेर उनी कोठाबाट निस्की हालिन । मैले केही बुझ्न नपाउदै उनका साथीहरुपनी निस्किन लागे । जादा जादै अघिकै युवतीले मतिर फर्किदै भनिन ‘ईन एनी कन्डिसन शि लभ्स यू ओ. के.’ .
मलाई एक क्षण खुशी लाग्यो । मेरो मनमा पलाएको मुना आज फक्रीएको थियो । फेरी एकै छिनमा श्रीमतीजीको अनुहार आँखामा आयो, मन कुडिंयो । फेरी छोरीको तस्विर आँखामा आयो । कतिखेर आँखा रसाएर भिजेछन थाहै भएन ।

भोली पल्ट साँझ मात्र सोना आईन । उनको मुहारमा लाजको लाली चढेको थियो । मेरो अगाडिको कुर्सीमा उनी बसिन । एकछिन अडिएर मैले बोलाए ‘सोना’। उनले विस्तारै हजुर भनिन ।
तिमीले हिजो भनेको कुरा थाहा छ ?’ मैले सोधे । उनले सुस्तरी ‘हो’ को ईशारामा टाउको हल्लाईन ।
त्यस्को अर्थ थाहा छ ? मैले फेरी सोधे ।
‘थाहा छ’ उनको आवाज हल्का कापिरहेको थियो ।
‘अनी यो कसरी सम्भव छ त् ?’ मैले भने
तपाईं मलाई माया गर्नु हुन्छ कि हुन्न ? ‘ उनले प्रतिप्रश्न गरिन ।
‘माया मात्रै सबै कुरा हुँदैन नि ।’ मैले जवाफ दिये
मलाई तपाईंको माया भए पुग्छ ‘ सोनाको आवाजमा द्रिढता थियो ।
म तिमीलाई केही दिन सक्दिन’ मैले आफ्नो बाध्यता सुनाए ।
मलाई तपाईंको माया भए पुग्छ, अरु केही चाहिदैन’ सोनाको आवाजमा द्रिढ निर्णय भरिएको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,

हामी बिच छीपेको प्रेमले बाटो पाईसकेको थियो । त्यो हामी बिच झन झन गाढा हुँदै थियो । प्रेम लुकाएर कहाँ कहिले लुकेको छ र ? आखिरमा यो कुरा श्रीमतीजीको कानमा पुगिनै हाल्यो । आगो म घिउ ! उनले थाहा पाएको साँझ घरमा ठुलो कलह चल्यो । मैले उन्को आरोप नकारी रहे, होइन भन्दै रहे र श्रीमतीजीले मलाई धम्काई रहिन । सो घटना मैले सोनालाई सुनाए । दिउँसो श्रीमतीजी कार्यालयमै आईपुगिन । सोनालाई त्यहा देखेपछी श्रीमतीजीको पारो सातौ आकाशमा पुग्यो । उनी त्यही कुर्लिन सुरु गरिन । तथानाम बोल्दै सारा समाज जम्मा पारीन र मेरो ईज्जतको धुलो पिठो पारीन । मेरो मन झन भाचियो । त्यस घटना पछी सोना कार्यालय आउन छाडेकी थिईन । तर प्रेम छेकेर कहाँ छेकिन्छ र हाम्रो भेट पातलिए पनि भेट भएको बेला घण्टौ कुरा गर्थ्यौ ।
एक साँझ सोनाले मलाई आफ्नै कोठामा बोलाईन । म पुग्दा त्यहा उन्का अरु साथी पनि रहेछन । म बसेको एक्छिनमा सोनाको तिनै साथी ज्योतिले मलाई घेरीहालिन । तपाईंले सोनालाई बिदेश जान्छु भन्नु भएको हो ? म निरुत्तर भए ।
यती राम्रो श्रीमानलाई सम्हालेर राख्न नसक्ने आईमाईको कुरा सुनेर तपाईं बिदेश जान पर्दैन ।’ ज्योतिले भनिन
मेरो पनि कम्जोरी होलान नि ।’ मैले भने
तपाईं भन्दा क्यैयौ ठुला गल्ती गर्नेलाई पनि आईमाईहरुले सम्हालेर राखेका छन । ज्योतिले तर्क गरिन ।
तर त्यसो भनेर म कहाँ चोखिन्छु र ? मैले फेरी जोड दिये ।
त्यसो भा सोनाको प्रेमलाई तपाईं गल्ती सम्झनु हुन्छ? कम्जोरी सम्झनु हुन्छ ? ज्योतिले रुखो स्वरमा सोधिन। म सँग बोल्ने बाटो थिएन । सोनालाई यती भने ‘बिदेशबाट फर्के पछी तिमीसँग बिहे गर्ने छु ।’
आँखा भरी आसु गरेर सोनाले भनिन ‘मैले तपाईको सबै कुरा थाहा पाएर नै तपाईंलाई माया गरेकी हुँ , बिन्ती बिदेश नजानु ।’
बिदेश नगए म तिमीलाई कहाँ राखौ ? मैले भने
‘तपाईं बिदेश जानु भो भने तपाईंको सपना सबै भत्किन्छ । मैले गर्दा तपाईंलाई बिदेश जानु पर्यो भने म आफुलाई कहिलै माफ गर्न सक्ने छैन ।’ सोनाले जोड गरिन ।

म चेपुवामा परेको थिए। एकतिर मेरी श्रीमती मेरो जीवन सङिनी थीइन जो अप्ठेरो परेको बेलामा मलाई साथ दिनु को साटो सबै छाडेर बिदेश जान कर गरिरहेकी थिइन । अनी अर्को तिर मलाई माया गर्ने युवती जो मेरो लागि आफ्ना सबै सपनाको बली दिन तयार थीइन ।
‘म जसरी पनि तिमीलाई बिहे गर्ने छु, बिदेश जाने कुरा सोचौला ‘ यती भनेर म निस्किए ।
अन्तमा जित श्रीमतीजीको नै भयो । म बिदेश जने भए । कार्यालय बिक्री गरे । सोना भने अन्तिमसम्म पनि बिदेश नजान आग्रह गर्दै थिइन । बिदेश हिंड्ने केही दिन बाँकी रहदा मैले सोनालाई भने ‘हाम्रो सम्बन्ध थाहा भये पछी घरमा एक दिन पनि शान्ति छैन। अनी यस्तोमा मेरो सपना कहाँ पुरा होला । तिमीसँग बिहे गर्न पनी सक्ने छैन । अनी छोरीको लागि पनि केही गर्नु छ । त्यसैले यस पटक मलाई जान देउ । म छिट्टै फर्केर तिमीलाई बिहे गर्नेछु ।’
मेरो कुरा सुने पछी आँखा भरी आशु बनाउदै भनिन ‘तपाईं यहा नभये पछी म कम्जोर पर्ने छु । अनी शायद तपाईं फर्कदा मलाई पौनु हुने छैन।
….

म बिदेश आए पनि सोनासँग मोबाईलमा लगातार कुरा भइनै रहेको थियो । तर एक दिन अचानक सोना को sms आयो -मलाई बिर्सिदिनोस ‘.मैले कुरा बुझिन तुरुन्तै फोन गरे । मोबाईल स्विच अफ थियो । उन्को घरमा मेरो फोनको कुनै वास्ता भएन । अनी अन्तमा मैले ज्योतिलाई फोन गरे । उनीबाट थाहा पाए म बिदेश जाने तयारी गर्न काठमाडौं गएको बेला श्रीमतीजी सोनाको घर पुगेर सोनाको आमा-बुवासँग झगडा गरेर आफ्नो छोरी तह लगाउन धम्की दिएर आएकी रहिछन । त्यस पछी घरबाट उन्लाई फर्कन लगातार दबाव रहेछ। म त्यहा रहदा सम्म उनी फर्कन मानेकी रहेनछिन । तर म बिदेश आएको केही समयमै सोनाको बुवा आएर छोरीलाई राजापुर फर्काएर लगेछन ।
——
आज नयाँ बर्ष । दुई दिनको लगातर बर्षा पछी आज आकाश पुरै खुलेको छ । मन पनि चङ्गा छ । आज बिहानै सोनाको sms आएको थियो Happy New year I miss you.’ खुशी खुशी नुहाई धुवाइ गरी नित्यकर्म सके । पक्कै आज सोनाको फोन अन छ आज धेरै बेर कुरा गर्नेछु । बिहानै Duty जान पर्ने भएको ले युनिफर्म लगाए । अनी मोबाईलमा सोनाको नम्बर डायल् गरे । फोनको रिङ्ग गयो । मन ढक्क फुलेर आयो । फोनको पुरा रिङ्ग गये पनि फोन उठेन । फेरी फोन लगाए । ४,५ पल्ट फोनको रिङ्ग पुरा गए पनि फोन उठेन । मन निराश भयो। अनी एस् एम एस् लेखे ‘जानु म छिट्टै फर्कदै छु, अनी तिमीलाई बिहे गर्नेछु । अहिले तिमीसँग बोल्न मन छ फोन उठाउन ल ।’ अनी फेरि फोन लगाए तर फोन उठेन । निराश भएर हातको मोबाईल फोन हेरिरहेको थिए । यतिकैमा मोबाईलमा सोनाको एसएमएस् आयो । एक क्षण खेर नफालेर मेसेज खोले, लेखिएको थियो –
‘I am married, forget me.’

पवन मगर, नेपालगन्ज
www.pawanmagar.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *