Skip to content


पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक कुनामा पाँच वर्षे छोरी खेल्न थाल्छे । श्रीमान्, श्रीमतीको ठाकठाकठुकठुक परेको आभाष मिल्ने कुराहरू मनग्यै छन् । रङ्गमञ्चको भित्ता रत्ताम्मे छ कतै, कालाम्मे छ कतै । कतै रङ्गमञ्च सुख्खा छ, कतै पानीले हिलाम्मे छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चको रौनकता थपिँदै जान्छ । रङ्गमञ्चमा एक प्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)
बहिनी– आदरणीय दाजुभाउजू र मेरी प्यारी नानी ! भोलिका पुस्ताका निम्ति यही धर्तीमा रहने र हिँड्ने पूर्वाधार आजै बनाउन वादविवादको अन्त्य गरौँ । वादविवादविनाको अवस्थाको लागि मुखमा ताल्चा लगाउने चाहिँ हैन, ठीक ठाउँमा मुख खोलौँ । बेठीक ठाउँमा मुख खोलेर समय र शक्तिको व्यय नगरौँ । हरेक दिन पटकपटक विवादमा फस्नुभन्दा समय निकालेर एकै पटक विवाद गरौँ र ठोस निष्कर्षमा जाऔँ ।
श्रीमती– सपना सजाउने छुट मान्छेलाई हुनुपर्छ । किनभने सपना सजाएर मान्छे बाँच्छ । सपनामै जताततै पुग्छ र भविष्यका लागि वर्तमानमा पाइलो चाल्छ । सपनाको महल ठड्याउन नसक्ने वर्तमानकै यो हुलमा हराउँछ ।
श्रीमान्– (सामान्य कपडामा सजिएको छ ।) मान्छे वर्तमानको लागि बाँच्छ, भविष्य त उसको वसभन्दा बाहिरको कुरा हो । वर्तमान सप्रिए भविष्य त स्वतः सप्रिन्छ । (त्यतिकैमा श्रीमती उसलाई ठेल्दै अघि सर्छे र जोड जोडले बोल्न थाल्छे ।)
श्रीमती– वर्तमान–भविष्य, भविष्य–वर्तमान यी सब मान्छेकै लागि त हुन् । विवादलार्ई तन्काउँदै तपार्इं त भन्नुहुन्छ– इहलोक सपार्नु छ भने वर्तमान सपार, परलोक भन्ने कुरो कल्पना हो । तर म भन्छु– यो जगत् ईश्वरीय लीला हो । त्यसैले इहलोक र परलोक दुवै सपार्न ईश्वरको साथ चाहिन्छ । ईश्वरसँग अलौकिक शक्ति छ ।
श्रीमान्– देवता, ईश्वर, परमेश्वर आदि भनिने कुरा कहीँ कतै छैनन् । छन् नै भने केही मान्छेको कल्पनामा सीमित छन् । (केही आक्रोशयुक्त स्वरमा) मानिसले बनाएका, मानिसले कल्पना गरेका कुनै कुरा पनि कहीँ अलौकिक हुन्छन् र ? तिमीले भन्ने गरेको अलौकिक शक्ति भन्ने कुरो पनि कल्पना सिवाय अर्थोक होइन ।
श्रीमती– सानो वस्तु निर्माण गर्न नसक्ने मान्छेले ईश्वर छैनन् भन्नु नुन गुलियो हुन्छ भन्नु बराबर हो । उसो भए मान्छे आफँै ईश्वर हुनुपर्छ । लौ, त मान्छेले अर्कै पृथ्वी सृष्टि गरोस् त ?
श्रीमान्– मान्छे चन्द्रमामा बस्ती बसाल्दै छ । अन्य ग्रह, उपग्रहमा प्राणीको अस्तित्व खोज्दै छ । चन्द्रमाको बाटो भएर मान्छे यात्रा गरिरहेको छ । तिम्रो प्रश्नको जवाफ आजको मान्छेले नै दिइरहेको छ । वैज्ञानिक चमत्कार भित्रिनु नै पृथ्वीले नयाँ स्वरूप धारण गर्नु होइन र ? ईश्वरीय अस्तित्व र स्वर्ग–नर्कको कुरा मान्छेको कोरा कल्पना हो । स्वर्ग–नर्कको कुरा गरेर महात्मा भनाउँदाहरूले आफ्नो प्रभुत्व जमाउन खोजेको कुरा तिमी किन बुझ्दिनौ ?
श्रीमती– ईश्वरले नै लालनपालन गरेका छन् । यो ब्रह्माण्ड संसारलाई अस्तित्ववान् पारेका छन् । ईश्वरको कृपा हुन्नथ्यो भने यस धर्तीमा ठमठम्ती हिँड्न सकिन्थ्यो र ?
श्रीमान्– (अघि सर्दैै) भ्रम, यो सब भ्रम बाहेक अर्थोक केही हैन । ईश्वरको नाममा अन्धविश्वास जन्मिरहेछ, भ्रान्ति फैलिरहेछ, अहङ्कार झाँङ्गिरहेछ, जिद्दीपन बढिरहेछ । तिम्रै ईश्वरीय विश्वासलाई नियाल्ने नै हो भने पनि ईश्वरको नाममा भ्रम र त्रास फैलिएको मात्र देखिन्छ ।
श्रीमती– यो मान्छेले गरेको विश्लेषण हो । मान्छेले भनेको कुरा सबै ठीक हुन्छ भन्न सकिन्न । झुटको खेती गर्ने पनि धेरै छन् यहाँ ।
श्रीमान्– हो, अहिले भने ठीक बाटामा आयौ । यत्ति कुरा बुझ, ईश्वरीय लीलाको वकालत गर्ने पनि मान्छे नै हुन् । मान्छे झुट हुनसक्छ भन्ने तिम्रो कुरालाई म स्वागत गर्छु । अधोगतीतिर लम्केका साधुमहात्मा भनाउँदाहरूले स्वर्ग र नर्कको कल्पना गरी ईश्वरीय सत्ताका झुटा कथा सुनाएर जनतालाई ठगिरहेछन् र आफ्नो स्वार्थ सिद्ध गरिरहेछन् । हाम्रो बुद्धि बिगार्न, हामीमा भ्रान्ति पैदा गर्न र हामीलाई धार्मिक कट्टरपन्थी बनाउन ईश्वरको प्रपञ्च रचिएको हो । मिलेर हामी अघि बढ्न सके विष्णुको अंश मानिएका राजाहरूलाई त सत्ताच्युत गरी सामान्य नागरिक बनाइदिन सक्ता रहेछौँ भन्ने कुरो हाम्रो व्यवहारले प्रमाणित गरिसकेको छ । अझै विष्णुको अस्तित्वलाई स्वीकार गर्नु बोक्रे आस्तिकता मात्र हो ।
श्रीमती– मसँग दह्रो विश्वास छ, ईश्वरीय लीला अनमोल छ । गल्ती गर्नेलाई सजाय ईश्वरले नै दिन्छन् । गल्ती सामान्य नागरिकले गरोस् या राजाले । ईश्वरले पनि सङ्कट भोग्नुपरेका थुप्रै घटनाहरू छन् । विश्वका हरेक कुरामा रहस्य छ । सृष्टिको संरचना सन्तुलित छ । समुद्रको पानी पृथ्वीभरि पुग्छ । पृथ्वीभरि छरिएको पानी अन्ततोगत्वा समुद्रमै मिल्न पुग्छ । ओहोरदोहोर भइरहन्छ । यो सब ईश्वरीय लीला हो ।
श्रीमान्– हो, समुद्रको पानी खेतखेत पुग्छ, खेतखेतको पानी समुद्रमा मिल्न आउँछ । यो सबै प्राकृतिक नियम हो । प्रकृतिले नै सम्पूर्ण कुराको तारतम्य मिलाएको हुन्छ । तारतम्य बिग्रियो कि भूकम्प हुने, बाढी–पैह्रो जाने, महामारी फैलनेजस्ता विनासकारी अवस्था सिर्जना हुन्छन् । तर तिम्रो मत भिन्न छ । के यी सब ईश्वरीय अनुकम्पाका प्रतिफल हुन् त ?
श्रीमती– (उत्साहित हुँदै) जरुर ! जब अधर्म बढ्छ, अन्यायीका हातबाट न्याय मर्छ, ईश्वरले नै यी सबै घटना घटाउँछन् । घटनापश्चात् धर्मको, न्यायको स्थापना हुन्छ ।
श्रीमान् – (मुस्कुराउँदै गिल्ला गर्ने ढाँचामा) हो, तिम्रो कुरा मनासिव हो ! पूर्वी नेपालमा ०६५ भदौ २ गते सप्तकोशी बाँध भत्केर हजारौँ जनताको उठिवास भो, लाखौँ जनाले महिनौँ कहर काट्नुपर्यो । पश्चिमी नेपालमा फैलिएको हैजाले सयौँ जनाको ज्यान लियो, सयौँ परिवारलाई विचल्नीमा परेको छ, अन्य क्षेत्रको बाढीपहिरोको कहिरन गरी साध्यै छैन । यी सब कुरा ईश्वरले धर्म र न्याय स्थापनार्थ गरेका हुन् होला, हैन ? धनसम्पत्ति गुमाउने, मर्ने र दुःख पाउने सबै जना अधर्मी थिए, अन्यायी थिए, हैन ?
श्रीमती– त्यो त एकाधले गरेको गल्तीको प्रतिफल सबैले भोगेको मात्र हो ।
श्रीमान्– उसो भए चिन्दै नचिनेको, जान्दै नजानेको मान्छेले गल्ती गर्छ भने त्यसको सजाय तिमी भोग्छ्यौ ?
श्रीमती– (केही उत्साहित हुँदै) हँ, त्यसो गर्न म बन्दै तयार छैन ।
श्रीमान्– उसो भए अन्याय र अधर्म त तिम्रै ईश्वरबाट हुँदो रहेछ भन्ने यो ठोस प्रमाण हो, हैन र ?
श्रीमती– (एक क्षण घोरिन्छे ।) तपाईं जे ठान्नुस् । ईश्वरको लीला अपरम्पार छ, त्यसै भनिएको हैन ।
श्रीमान्– उसो भए अझै वादविवाद छ । (सहज हुँदै) सुन, मानिसमा हुने आत्मबल, मानिसले देखाउने उदारता, मानिसले गर्ने प्रेम र इमान्दार भएर देखाउने सुकर्म नै धर्म हो । यस्तो धर्मले सबको कल्याण गर्छ । बरू यस्तो धर्मलाई नै ईश्वरको नाम दिएकी भए हुन्थ्यो । बुझ– प्रकृतिले कसैको अहित गर्दैन । हो, जब मानिसले प्रकृतिलाई बिगार्छ, तब प्रकृतिले पनि मानिसलाई बिगार्छ । प्रदुषण बढाएर होस् या अन्य खाले अहङ्कार थोपरेर होस्, मानिस दिनानुदिन गलत कदम चाल्दै छ । त्यसबाट प्राकृतिक र भौतिक वातावरण बिग्रन गई असन्तुलित वातावरण देखापर्छ । त्यसैको परिणामस्वरूप अनिष्टकारी अवस्था जन्मिएको हो ।
श्रीमती– उसो भए शान्ति खोई त ?
श्रीमान्– शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ जसले मानिसलाई जीवनवोध गराउँछ, आत्मबल दिन्छ, कर्ममुखी बनाउँछ र शान्ति दिन्छ । यसका लागि मैले फूल, अगरवत्ती, धूपदीपको सट्टामा कलम, कुचो र खुर्पाको प्रयोग गर भनेको हुँ ।
श्रीमती– उसो भए गर्ने के त ?
श्रीमान्– आजैदेखि आफ्नै हातमा सबथोक रहेछ भन्ठानी आफूलाई सरिक पार्ने हो भने सिर्फ एक दशकमा चमत्कार भित्रन्छ ।
श्रीमती– आपत् पर्दा ईश्वरलाई पुकार्ने र सुख पाउँदा अहङ्कार देखाउने त आजका मानिसको स्वभाव नै बनेको छ । हेर्नुस्, प्राणीमा पाइने चेतना नै ईश्वरीय सत्ताको प्रमाण हो । फेरि तपाईं एक दशकमै चमत्कार भित्रन्छ भन्नुहुन्छ । त्यो कसरी सम्भव हुन्छ ?
श्रीमान्– सही रूपमा प्रगति गर्नका लागि प्रथमतः मानिसमा अहङ्कार, ईष्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । कर्मशील पाखुरीको विकास गर्नुपर्छ, आफ्नो बौद्धिक स्तर उकासेर मनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । न्यायको स्थानमा उभिने प्रण गर्नुपर्छ । शरीरमुखि हैन श्रममुखि हुनुपर्छ । मनमा आउने अलौकिक कुराहरूको पछि दगुर्नु हुन्न । यसो गर्न सक्यौ भने तिमी सप्रन्छ्यौ । तिमीजस्ता एकएक गर्दै मान्छेहरू सप्रिए भने पूरै मानव समुदाय नै सप्रन्छ ।
श्रीमती– यी सब मनगढन्ते कुरा हुन सक्छन् । प्रमाण पनि हुनुपर्यो नि । बिना प्रमाण पत्याउने कुरा पनि भएन ।
श्रीमान् – तिम्रो जिज्ञासा शतप्रतिशत सत्य छ । विना प्रमाण लादेको कुरा ढोंग हो । विज्ञानले पनि प्रमाण खोज्छ । ईश्वर छन्, ईश्वरीय अनुकम्पाले यो चराचर जगत् चलेको छ भन्ने कुराको प्रमाण कहीँ भेटिन्न । न यसलाई विज्ञानले नै समर्थन गरेको छ । विज्ञानको समझ बाहिरको कुरा हो यो । तर यत्ति कुरा बुझ– यस विश्व परिवेशमा जे जति सद्गुणी, विद्वान् र विलक्षण प्रतिभायुक्त मानिस थिए र छन् ती सबैले धेरथोर कर्मशील पाखुरीको विकास गरेका थिए, आफ्नो बौद्धिक स्तर उकासेर संसारिक जगत्का कुराहरूको वोध गरेका थिए । वस्तुले दिलाएको पाठ धोकेका थिए । जहिले पनि न्यायको स्थानमा उभिने र श्रममुखि भई कर्म पथमा निरन्तर सक्रिय हुने काम गरेका थिए । हरेक व्यक्तिमा हरेक किसिमका प्रतिभा र क्षमता अकर्मण्यरूपमा लुकेका हुन्छन् जुन ऊ स्वयम्लाई थाहा हुन्न । त्यो सुषुप्त अवस्थाको प्रतिभा र क्षमतालाई सक्रिय पार्ने मुख्य काममा उसलाई उसकै निरन्तर अभ्यासले मद्दत गर्दछ । आत्मबल र सकारात्मक सोचका साथ कर्मपथमा अघि बढ्, प्रमाण तिमी स्वयम् हुन सक्छ्यौ ।
श्रीमती– हामी अस्तित्ववान् छौँ, प्रकृतिका हरेक वस्तुमा अस्तित्व छ । यही कुराको प्रमाण नै ईश्वर हो । ईश्वरीय सत्तालाई मिथ्या कल्पना भनी धज्जी उढाउनु वैज्ञानिक यथार्थता हैन । ईश्वरको कृपा हुँदा जो पनि प्रतिभाशाली हुन्छ ।
श्रीमान्– (हाँस्दै र जिस्क्याउने पाराले) उसो भए त कर्म नगरीकनै ईश्वरीय आराधनामा संसार जुटे भइगयो नि त ।
श्रीमती – कर्म नगरीकनै फल पाउने अभिलाषा राख्नु मिथ्या कुरा हो ।
श्रीमान्– अनि विना कर्म, विना अभ्यास–साधना कसरी प्रतिभा प्रष्फुटन हुन्छ त ?
(त्यत्तिकैमा छोरी आमाको बुई चढ्छे ।)
छोरी– मामू ! मलाई ईश्वरसँग भेट गराइदिनुस् न । म ईश्वरलाई पापा दिन्छु । म ईश्वरसँग कुरा गर्छु । उसलाई साथी बनाउँछु । ईश्वर त जाती हुन्छन् भन्नुहुन्छ, हजुर । जाती ईश्वरले मसँग मित्रता गर्छन् नि, मामू ?
श्रीमान्– (मुस्कुराउँदै) अब देऊ उत्तर छोरीलाई । मनगढन्ते कल्पनाको महल बनाउन सिकाऊ छोरीलाई । आफूझैँ दुर्बल नारी बनाऊ छोरीलाई ।
श्रीमती– (झर्कदै) आफूसँग कति रौँ छन् भन्ने कुरो बताउन नसक्नेले नास्तिक बन्नुको कुनै तुक छैन ।
श्रीमान्– मानव समुदायमा भ्रष्टचार व्याप्त छ । रुढिबाढिता, अन्धविश्वासी र अचाहिँदो अविश्वासीपन बढ्दो छ । यी सम्पूर्ण कुराले अराजकता फैल्याएको छ । अझ दण्डहीनता बढाएको छ । जताततै अहङ्कारीहरूको साम्राज्य फैलिएको छ । अहङ्कारले विवेकको ढोका थुनेको छ र मानिस तेस्रो विश्व युद्ध निम्त्याइरहेको छ । यस अनिष्ट घडीमा तिम्रो ईश्वर किन आफ्नो अलौकिक चमत्कार देखाउँदैनन् । निराकार रूपमा रहेका भनिएका तिम्रा ईश्वर कल्पनाको तरङ्गमा रहेको मिथ्यापन बाहेक अर्थोक केही हैनन् भन्ने त स्वयम् सिद्ध छ नि ।
श्रीमती– (आक्रोशयुक्त वाणीमा) हो, हो । तपाईंकै अनुसार म यस जगत्मा पूरै स्वतन्त्र छु भने म जसलाई जे मानूँ, मानूँ । कटाक्ष गर्ने र धज्जी उडाउने तपाईंको हक हैन ।
श्रीमान्– तिम्रो कुरो पनि सही हो । मेरो कसैलाई तल पारेर आफू माथि उक्लने सोच कदापि हैन । वादविवादमा उत्रेपछि एक पक्ष तल र अर्को पक्ष माथि हुन्छ नै । खेलको सिद्धान्तमा पनि यी कुराहरू आउँछन् ।
(छोरी आफ्नै धुनमा खेलिरहेकी हुन्छे । आमाबुवातिर उसको ध्यान जाँदैन, एकोहोरो खेल्नतिरै जाछ । आक्रोशयुक्त वाणी सुनेर बहिनी भने झस्कन्छे । वादविवाद निष्कर्षमा नपुगेको ठम्याएर ऊ आफँै अघि सर्छे ।)
बहिनी– भो, अब । अहिलेलाई भने वादविवादलाई निष्कर्षतिर लैजाऔँ । यी कुराहरूमा वर्षौँदेखि बहस हुँदै आएका छन् । आजसम्म पूर्ण निष्कर्षमा पुग्न सकिएको छैन । निष्कर्षमा पुग्नेहरू थोरै होलान् । भान्सामा खाना पाकिसकेको छ । समयमा घरको काम सकेर कर्म पथमा सरिक भयौँ भने मात्र सबैजना खुशी हुन्छन् । विना कर्म अर्थ पाइन्न । विना अर्थ व्यवहार चल्दैन । विना व्यवहारको मानिस कहलिन गाह्रो हुन्छ । मानिस हुन पनि कर्म गर्नैपर्छ । मन्दिर पसेर आराधनामै समय फालेर, गुफा पसेर तपस्यामै लिप्त भएर वा भाषणबाजीमा खरो उत्रेर मात्र व्यवहार चल्दैन । व्यवहार चलाउन सबैको राम्रो विचारको कदर हुनु जरुरी हुन्छ । अघोरै खराबलाई चाहिँ ठाडै खराब भन्नैपर्छ । अर्काको आस्थालाई जवरजस्ती खण्डित गर्दै आफ्नो आदर्शको भारी बोकाउनु किमार्थ उचित हुन्न । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ । अर्काको स्वतन्त्रताको धज्जी उडाउने स्वतन्त्रता कसैलाई पनि छैन । भो, अब त भो । खाना खान ढिला भो । आजको बसाइ जे भो उत्तम भो !!!

(सबै मुस्कुराउँछन् । मञ्चबाट बाहिरिने तरखर गर्छन् । पर्दा विस्तारै खस्दै जान्छ ।)
०६६–०५–२९

तपेश्वरी–१, गल्फडिया, उदयपुर
email- [email protected]
हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी, फोन न.ं ०३१५२००३८ सम्पर्क ः ९८४२८२९२०६÷९८०७७७९७६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *