Skip to content

के गरु के गरु खै

कालीजस्तै सलल नअडी पुग्न टाढा बगौँ कि
आफूमात्रै हिडुँ कि अरुको निम्ति बाटो खनौँ कि ?
यी अप्ठेरा बगर पहरा सिर्जनाले भरौँ कि
साँढे थाप्छन् सिंङहरु भने जुध्न हक्काँ गरौँ कि ?

खोक्राहाम्रा उदर भरि नै वीउ छर्दै गरौँ कि
खाली रित्ता मगज र गिदी चेतनाले भरौँ कि ?
तारा टिप्ने रहर छ ममा अग्लिँदै व्योममा गै
इच्छा धेरै समय छ कमी के गरौँ के गरौँ खै ?

लम्की लम्की पथतिर जता पाइला चाल्छु मैले
भत्की बाटो अलमल उतै ठेस लाग्दै छ ऐले ।
यस्तो खल्लो किन हुन गयो जीन्दगी आज भन्दै
सोच्दा सोच्दै दिनहरु बिते के गरुँ के गरुँ खै ?

काँडा जङ्गल विकट पहरा मार्ग मेरा यिनै छन्
खुट्टा तन्ने अझ नजिक छन् हात तान्ने हुदैनन् ।
सोचेभन्दा पनि अझ बढी पर्छ सङ्घर्ष गर्न
आँट्नै पर्ने समय छ अर्कै उर्लिने भेल तर्न ॥
पुतलीबजार – ९ स्याङ्जा ।

छन्दः मन्दाक्रान्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *