Skip to content

शिशिरमा फुलेको गुराँस, आधुनिक र उत्तरआधुनिक समालोचनाका पाटामा

  • by


आधुनिक र उत्तरआधुनिक समालोचनामा के फरक छ ? डा. युवराज सङ्ग्रौलाद्वारा लिखित ‘शिशिरमा फुलेको गु्राँस’ (२०६४/२००८) नामक उपन्यासको समीक्षामा त्यस कुराको स्पष्टीकरण वाञ्छनीय छ ।

अतीतदेखि नै कठोर विषयलाई कथा, कविता आदिमा हालेर कविहरू लेख्दै आएका हुन् । यता उत्तरआधुनिक समालोचना भने अर्कै किसिमको प्रस्ताव राख्छ । त्यसको प्रस्ताव छ कि विधिमा, कानुनमा, राजनीतिमा कलाको जुन भूमिका छ, त्यसकै दबाबमा उपन्यास लेखियो । कला र कानुनका क्षेत्र, विषय र प्रयोजन फरक भए पनि उत्तरआधुनिक मान्यतामा तिनीहरूको दूरी घटेको छ । दूरी बढाउने काम आधुनिक मान्यतामा भएको हो । आधुनिक मान्यतालाई वैज्ञानिक प्रत्यक्षवादले अग्रभूमिमा ल्यायो जसअनुसार पारदर्शी र इन्द्रियगम्य तथ्य मात्र सत्य मानियो, इतर कुरा काल्पनिक छ ।

कलाको वर्चस्व

संरचनावाद तथा उत्तर संरचनावादमा लेखकीय मृत्युको अवधारणाले मान्यता पाएको हुँदा लेखकीय अभिप्राय पन्छाइएको छ र टेक्स्ट केन्द्रित भएर गरिने पाठकीय व्याख्यालाई प्रश्रय मिलेको छ । सङ्ग्रौलाको भूमिकालाई पाठकीय टेक्स्ट मानेर पढ्दा उनको निम्नलिखित अभिव्यक्ति यहाँ नियन्त्रित हुन्छ ।

म टर्रो र औपचारिक भाषा प्रयोग गर्ने व्यवसायमा लागेको मानिसलाई मनका कुरा कलात्मक ढङ्गले भन्न सजिलो थिएन ।

कानुन र कला एकदमै पृथक् हुन् भन्ने आधुनिक दृष्टिकोण उपरोक्त पङ्त्तिमा प्रतिबिम्बित भएको छ । उत्तरआधुनिक राय यो छ कि कानुनमा र अन्य विषयमा पनि कलाको, लाक्षणिकताको, रूपकको वर्चस्व रहन्छ । उपरोक्त पङ्त्तिमा टर्रो शब्दको प्रयोग भएको छ जो आफैँमा एक रूपक हो । उसै भूमिकामा लिखित छ ।

गुराँसको रातो रङ र सिर्जनको सोचाइमा राजनीति फुल्नुपर्छ भन्ने कल्पना गर्यो दिमागले ।

यहाँ गुराँसको रातो रङ तथा फुल्नुपर्छजस्ता शब्दहरू राजनीतिलाई आलङ्कारिक ढङ्गमा प्रस्फुटन दिन्छन् । मूल टेक्स्ट बाहिर आएका उपरोक्त आलङ्कारिक पदहरू के सन्देश दिन्छन् भने भाषा आलङ्कारिक हुन्छ, लाक्षाणिक हुन्छ, यसैले त्यो निश्चित अर्थ प्रदान गर्दैन । साहित्यिक टेक्स्ट त यसै ध्वनिमय हुने हुँदा त्यहाँ अनिश्चितता व्याप्त रहन्छ । आधुनिक चाहन्छ निश्चित हुन, उत्तरआधुनिक चाहन्छ अनिश्चिततामा उड्न । सङ्ग्रौलीय उपन्यास आधुनिक हो तर यसलाई उत्तरआधुनिक नङ्ग्राले भित्रभित्रैबाट कोपरेको छ । प|mेडरिक नित्सेले भाषाको रूपकीय स्वरूपलाई हृदयङ्गम गरेका थिए जसलाई डेरिडाले उत्तर संरचनावादमा जगाए । कति यो ठान्छन् कि साहित्य नरम हुन्छ तर त्यो कुरा आंशिक सत्य मात्र हो । पश्चिममा नव्य शास्त्रवादी र आधुनिकतावादी साहित्य कठोर छ । पूर्वमा भारवि, माघ तथा ऋहर्षजस्ता कविहरू कठोर थिए । स्वकीय क्षेत्रमा बाहेक अन्यत्र तीतो, टर्रोजस्ता शब्दहरू प्रायः रूपक हुने गर्छन्, जस्तो कि माथि टर्रो शब्द तर भाषिक शक्तिलाई मनन नगर्नेहरू यस कुरामा उदासीन रहन्छन् ।

लेख्य र पाठ्य

भाषा आलङ्कारिक हुने हुँदा त्यसको निश्चित र स्थिर अर्थ हुँदैन । कानुनमा आलङ्कारिक शब्द प्रयोग हुने भएकाले, आख्यानको, उपाख्यानको शैली अपनाइने हुनाले त्यो निश्चित अर्थको बाहक नहुनु बोधगम्य छ । आधुनिक पठन वा आधुनिक समालोचना निश्चितताको खोज गर्छ, टेक्स्टमा रहेका असङ्गतिलाई मेट्दै सङ्गति खोज्छ, प्वाल र भ्वाङहरूलाई टालेर त्यसलाई अनुकूलित गर्छ । भूमिका लेख्ने सङ्ग्रौला आफ्नो कृतिका प्रथम पाठक वा समालोचक हुन् । सङ्ग्रौलीय समालोचना आधुनिक सोच मुताविक लेखिए । यसैले ती टेक्स्टलाई सामञ्जस्यमा स्थापित गर्छन् । ‘शिशिरमा फुलेको गुराँस’ राइटर्ली नभई रिडर्ली टेक्स्ट हो तर यहाँ यो समालोचक त्यसलाई राइटर्लीमा उठाएर प्रतिरोधी पाठक हुन चाहन्छ । रोलाँ बार्थका अनुसार रिडर्ली टेक्स्टमा कुनै मिहिनेतको दरकार पर्दैन, त्यो सजिलै बुझिन्छ । यता राइटर्ली टेक्स्ट सजग, प्रतिरोधसक्षम सिर्जनात्मक पाठकको अपेक्षा राख्छ । राइटर्लीलाई लेख्य र रिडर्लीलाई पाठ्य भन्न सकिन्छ । उपन्यास बहुप्रकारको छ, यसलाई यहाँ खुला प्रकारमा उठाइयो ।

पाठनिष्ठ पठन

डिकन्स्ट्रक्सनका-विसङ्घटनका प्रवर्तक डेरिडाको भनाइ थियो कि टेक्स्टबाहिर केही पनि छैन, मतलव समालोचक वा पाठक टेक्स्टकेन्द्रित हुनुपर्छ । ठूलो महत्त्वाकाङ्क्षा राखेर ‘शिशिरमा फुलेको गुराँस’ लेखियो । यसलाई लेखकले गद्यको महाकाव्य बनाउन खोजेजस्तो देखिन्छ । यो साहित्यिक महत् आख्यान हुनखोजेजस्तो गर्छ । उत्तरआधुनिकताले महत् आख्यानलाई अस्वीकार गर्यो । यहाँ धेरै कुरा हालिए, धेरै पात्र राखिए, काल र स्थानमा पनि त्यति साँगुरिन खोजिएन । यस कारण पनि यहाँ कतिपय अन्तर्विरोध र असङ्गतिहरू पर्न गए जसलाई विसङ्घटनले खुट्याउँछ । विसङ्घटन खोजकै अनुसन्धानकै नयाँ तरिका हो । विसङ्घटनाको मान्यता के छ भने भाषा आफ्नो कुरालाई आफैँ तोड्छ । एउटै उदाहरण यहाँ पर्याप्त होला । भूमिका भन्छ ः स्वच्छ कृतिमा एउटा इमानदार शिक्षक हेमन्त बनेर पात्रको रूपमा देखियो ।

भूमिकाका अनुसार हेमन्तीय न्यायको चाहनालाई निरन्तरिताले मूर्तपारी, खोज तलासको विज्ञान बनेर अन्वेषिका नारपुसको छेउमा पुगी । यिनै कुराहरूलाई प्राच्य साहित्यशास्त्रीय अनुकूलता दिँदै रामचन्द्र फुयाल लेख्छन् ः ‘…….पूर्वीय काव्यचिन्तनको मान्यता’ काव्यको प्रमुख पात्र विभिन्न लक्षणयुक्त जस्तै -धीर, वीर, धैर्यवान् ….आदि हुनुपर्छ भन्नेजस्ता मान्यतालाई आत्मसात् गर्नसक्ने पात्रहरूको प्रयोग उपन्यासमा छ । यस उपन्यासका मुख्य र आदर्श पात्र प्रा. हेमन्त हिमालय हुन् । वैचारिकताका दृष्टिले उपन्यास जति गहकिलो छ त्योभन्दा बढी हेमन्तको चरित्र गहकिलो रहेको देखिन्छ’ । यता दोस्रो अध्यायको एकअभिव्यक्ति भन्छ ःउनी त अँध्यारोको प्रतिनिधित्व गर्ने फगत एउटा विगत हुन् । उन्नाइसौँ अध्यायमा अर्को अभिव्यक्ति आउँछ ः हेमन्त सर आफ्नो परम्परा बोक्नुहुन्छ अनि सिर्जन सर आफ्नै, मेरो पुस्ताको मान्यता उहाँहरूको पुस्ताका मान्यतासँग मेल खाँदैनन् । त्यसैले नयाँ पुस्ताको समाजको नेतृत्व पनि नयाँ पुस्ताले नै गर्नुपर्छ ।

टेक्स्ट जस्तालाई प्रमुखतामा ल्याउँछ, उसैलाई कमजोर पनि पार्छ, जसबाट यो बुझिन्छ कि आख्यानात्मक डिस्कोर्स अनिश्चित हुन्छ, आफ्नै विरुद्ध आफैँ उभिन्छ । तार्किक दृष्टिकोणबाट हेर्दा न्यायरत्नको कुरा यसै असङ्गत छ । यदि नयाँ र पुरानो पुस्तामा मेल हुँदैन भने अथवा नयाँ पुस्तालाई नयाँ पुस्ताले नै बुझ्दछ भने यो मान्नुपर्ने हुन्छ कि नारीलाई पुरुषले बुझ्दैन, नारीले नै बुझ्दछे, जनजातिलाई जातिले बुझ्दैन जनजातिले नै बुझ्दछ, नारीशरीरको चिरफार नारीले गर्नुपर्छ, पुरुषले गर्नु हुँदैन, रोगी बिरामीलाई रोगी चिकित्सक नै उपयुक्त हुन्छ, गर्भवती नारीलाई प्रसूति गराउनुपर्दा स्त्री चिकित्सक पनि गर्भवती नै हुनुपर्छ । यस उपन्यासमा नारी समस्या किन ल्याइयो ? जनजातिका कुरा किन उठाइयो ? एक पुरुष लेखकले नारीका बारे किन बोल्ने ? जातिमा दरिएको लेखक जनजातिको विषयमा किन वाचाल हुन्छ ? हामी लोगोसेन्टि्रक भएर -शब्दकेन्द्रित भएर आफ्नोतर्फबाट टेक्स्टलाई आफ्नै किसिमसित भर्दै आएका छौँ । चिन्हहरू, शब्दहरू अतीतदेखि आएका रित्ता भाँडा हुन् जसलाई परम्पराले अर्थ दिएको हुन्छ र जसमा हामीहरू आफ्नोतर्फबाट थप्ने गर्छौँ जसबाट शब्दहरू अनिश्चितताका बाहक हुन जान्छन्, सिग्निफायरहरू, सङ्केतकहरू नाच्तछन्, तिनीहरूको इसारामा चल्थे अर्थको कुनै ठेगान छैन । एकातिर टेक्स्टले हेमन्तलाई भर्दछ, अर्कोतर नयाँ पुस्तालाई नबुझ्ने, अतीतको अँध्यारो बोक्ने बूढो बनाएर खोक्रो पार्दछ । टेक्स्टका कतिपय सकारात्मक डिस्कोर्सका विरुद्ध हेमन्त हिमालय भन्ने नाम र उपनाम नै पनि उसलाई डिकस्ट्रक्सनमा जलाउँछन् । हेमन्तलाई हिमालय उपनाम दिइएको छ । हिमालयबाट नदीहरू बगेझैँ हेमन्तबाट विचारहरू बग्छन् । उसको न्यायको चाहना बनेर निरन्तरिताहरू आउँछन् । उपन्यासका अनगिन्ती पात्रहरू रूपकीय छन् । धेरै पात्रहरू रूपकमा कपिएको यो एउटा उदाहरणीय उपन्यास हो । रूपकहरू लाक्षणिक हुने भएकाले बुद्धिवादी, आधुनिक समालोचनाको नियन्त्रणबाट ती फुक्का हुन्छन् र उत्तरआधुनिक समालोचना डाकिन्छ । टेक्स्टका कतिपय डिस्फोर्सहरू नियन्त्रणको मानौँ कानुनी दण्ड उठाउँछन् तर असफल हुन्छन् । हामी शब्दकेन्द्रित भएर नियन्त्रणको रेखा कोर्छौं तर रूपक त्यसबाट फुत्कन्छ र असीमतामा उड्छ । हेमन्त र हिमालय दुवै चिसो अर्थका सूचक भएकाले तिनीहरू लेखकको वा आधुनिक समालोचकको इच्छानुकूल छैनन् भन्ने थाहा लाग्छ । डबल जाडो बढाउने हेमन्त हिमालय हाम्रो आशङ्काले घाइते हुन्छ । महत् आख्यानको महानायक जस्तो हेमन्त हिमालय खोक्रो टोड्को भएको आभास दिन्छ ।

कानुनी लिखत जसको हो त्यसकै चाहनाको प्रतिनिधित्वमा त्यो लिखत यथावत् आएको हुँदैन । धेरै किसिमका छेकबारहरूले गर्दा चाहना एकातिर हुन्छ, लिखत अर्कोतिर ढल्छ । कानुनी कार्यक्रम भाषामार्फत सम्पन्न हुने हो । भाषा यस्तो जात हो जो यथार्थद्वारा निर्देशित हुँदैन, आफ्नै नियमद्वारा निर्देशित हुन्छ । बद्रीलर्डले सूचना प्रविधिद्वारा सिमुलेसन र हाइपर रियालिटी जागि्रत भएको बताएका थिए । भाषा अतीतदेखि नै आफ्नै किसिमक सिमुलेसन (प्रतिकृति) र हाइपर रियालिटी (उत्कटसत्य) लाई अङ्कमाल गर्दै आएको छ । कानुनी भाषामा पनि प्रत्यक्षतः परोक्षतः रूपक घुसेर लाक्षणिकतालाई बिउँझाउँछ जसका कारण यथार्थ बोधगम्य हुनुको सट्टा अनिश्चितताको बतास चल्छ ।

व्याख्या, कथा

टेक्स्ट विज्ञानवादद्वारा सत्यको खोजमा आधुनिक भएको छ । उत्तरआधुनिकताले विज्ञान, सत्य र आधुनिकतामा प्रश्नचिन्ह लगायो । आधुनिकतामा, विज्ञानमा सार्वभौम सत्यको खोज भएको हो । आधुनिक सत्य र आधुनिक विज्ञान प्रश्नाङ्कति भएकाले ती अवसानमा पुगे, उत्तरसत्य र उत्तरविज्ञानको पुनर्जन्म भयो । उपन्यास भने आधुनिकतामै रमायो, विविधतामा एकत्वको खोजक भयो, तर उपन्यास भित्रका लैङ्गकि र जनजातिपरक डिस्फोर्सहरू एकत्व निर्देशित विविधताको डिकन्स्ट्रक्सन गर्छन् । सत्य छैन, छ भने त्यसको सङ्ख्या अपरिमित छ । सत्यको अभाव छ, छन् त केवल जातिका, जनजातिका भाषाका, संस्कृतिका भेदपरक असङ्ख्य सत्यहरू । द्वन्द्वात्मक तर्कशास्त्रको आधारमा प्रगतिशील, वस्तुनिष्ठ सामाजिक रूपान्तरण खोज्ने यो आख्यान आफैँभित्रका डिस्फोर्सद्वारा आहत छ । ‘पोष्टमोडर्निजम एण्ड ल’ नामक पुस्तकमा हेलेन एम. स्टासी के लेख्छन् भने उत्तर आधुनिक विचार यो छ कि सत्य कि व्याख्याद्वारा कि त आख्यानद्वारा बोधगम्य हुन्छ, कुनै पनि अधिकारी सत्य जान्ने दाबा गर्न सक्तैन ।

सत्य त्यो हो जो व्याख्याकारद्वारा प्रस्तुत हुन्छ । व्याख्याकारहरू अनगिन्ती हुने भएकाले वस्तुपरकता सम्भव हुँदैन, केवल बहुल व्याख्याका ताँती मात्र । नेपाली परम्परामा यो कुरो पहिल्यैदेखि बुझिँदै आयो जसलाई न्यायका नौ सीङ भन्ने उखानले चरितार्थ गरेको छ । बहुलवाद वस्तुपरकता, आधुनिकता एवं विज्ञानवादहरूको विखण्डन हो । कानुनी क्षेत्रमा आख्यानात्मकताको अथवा कथा एवं आख्यानहरूको प्रयोग प्रशस्त हुन्छ । उपन्यासको तीसौँ अध्यायमा एउटा यस्तो अभिव्यक्ति आएको छ जहाँ कथा शब्दको प्रयोग भएको छ ः श्रीमान्, प्रस्तुत मुद्दाले स्वास्नीको हातबाट लोग्नेको हत्या भएको बीभत्स कथा बोकेको छ ।

वकिलहरू रूपकमा कुर्लन्छन्, प्रतीकको औजार प्रयोग गर्छन्, मिथकको झटारो हान्छन् । न्यायविद्हरूको वा वकिलहरूको खल्तीमा पैसा मात्र हुँदैन, उखान र टुक्काको सूची पनि हुन्छ, उनीहरू रूपकमा बोल्छन्, उपमामा बोल्छन्, अतिशयोक्तिमा बोल्छन्, भावनाको तरङ्गमा बोल्छन्, व्यङ्ग्यको वाण हान्छन्, हास्यको स्वाद झिक्छन्, पक्ष र विपक्षबाट बोल्ने न्यायबेत्ता बाघहरू भाषामा दाह्रा तिखार्दैै भिड्छन् । केही वर्ष पहिला महिलावादी विपक्षमा रामबहादुरको तर्फबाट बोल्ने एक वकिलको वाग्मिता यस पङ्त्तिकारको कानमा परेको थियो जसमा प्रतीकहरूको योजनाका कारण बिम्ब र चित्र मूर्त भएका थिए

श्रीमान्, यो रामबहादुर सच्चा मान्छे हो, यसलाई रावण बनाउन नखोजियोस् । यो राम हो, रामबहादुर हो, जो नारीमाथि अत्याचार गर्नै सक्तैन, म यो पनि भन्दिन कि वादी महिला शूपर्णखा हुन्, किन यस किसिमको अत्तो लिएर अदालत आइन्, अदालत सम्मानित स्थान हो, रावणको दरबार होइन ।

कुरो के हो भने विधि तथा कानुनहरू आफ्नो अन्तस्मा कलालाई राख्छन्, कला लक्षणाले, प्रतीकले, ध्वनिले सुसज्जित हुन्छ, त्यो अनिश्चियको असीममा उड्छ जसको पत्तो उत्तरआधुनिकतामा हुन्छ जसद्वारा औपन्यासिक अन्तर्विरोध र अनिश्चयको उत्खनन् गर्ने प्रयत्न यहाँ गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *