Skip to content

आफ्नो परिचय दिँदा उसले बडो सुन्दर ढङ्गमा भन्ने गर्थ्यो- “म नेपाल हुँ ।”

वास्तवमै सुन्दर थियो नेपाल तर यो सुन्दरतालाई कायम राखिरहन सकेको थिएन उसले । जब सेता हिमालयका टोपीलाई उसले ठाडो राख्न खोज्थ्यो, तब तराईतिर धोती खुस्कन्थ्यो, जब धोती सम्हाल्न खोज्थ्यो तब शिरको टोपी झर्न खोज्थ्यो ।

जताततै लथालिङ्गै लथालिङ्ग, आफ्नो स्वरूपलाई उसले ठीक स्थितिमा राखिरहन सकेको थिएन ।

हिम्म्त नगरेको होइन उसले, बलभद्रको इतिहासलाई खडा गर्छु म, अमरसिंहको स्वाभिमानलाई उठाउँछु म । त्यसैले त्यस्तो अवसरको खोजी गरिरहेको थियो कि म आफ्नै बलबुतोमा आफ्नो नाम स्थापित गर्छु ।

‘टिनीनी टिनीनी टिनीनी’ – टेलिफोनको घण्टीले अचानक उसको परिकल्पनालाई खलबल्याउँछ ।
‘हैलो !!’- आफ्नो भासिएको आवाजमा उसले फोन उठाउँछ ।
‘के तपाई नेपाल बोल्दै हुनुहुन्छ ?’ – टुटेफुटेको अङ्ग्रेजीमा एउटा प्रश्न ठोकिन्छ उसको कानमा ।
‘हो, म बोल्दैछु ।’ उसले प्रतिप्रश्न गर्छ- ‘तपाई को बोल्नुभएको ?’
-‘म एउटा अन्तर्राष्ट्रिय दलाल सङ्गठन !’
-‘मतलब ?’
-‘मतलब म तपाईजस्ता गरिबहरूका सेनाको लागि स्थापना भएको सङ्गठन ।’
नेपालले जिज्ञासा राख्छ- ‘के सेवा पुर्याउन सक्नुहुन्छ मलाई तपाई ?’
उताबाट आवज आउँछ- ‘भोलि म एउटा कार्यक्रम गर्न गइरहेको छु । त्यो कार्यक्रम खास गरेर तपाईकै लागि भनेर गर्न लागेको हुँ मैले ।’

कार्यक्रमस्थलमा- कार्यक्रमको शीर्षक दिइएको छ- ‘लिलाम घटाघट ।’ जहाँ अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, चीनजस्ता बिकासे देशहरू भेला भएका छन् । त्यही जमघटमा नेपालको पनि प्रवेश हुन्छ ।

आश्चर्यचकित बन्छ नेपाल जब उसले कार्यक्रमको शीर्षक देख्छ । सोच्छ ऊ, मेरो लागि भनिएको कर्यक्रम तर लिलाम घटाघट ! एकाएक क्रोधित बन्छ ऊ, के यिनीहरूले मलाई लिलामीमा घटाघट गरेर खरिद गर्न लागे कि क्या हो ?

यो क्रोध उसको मुखबाट प्रस्फुटन हुनु अगावै फूलका गुच्छाहरू उसमाथि फ्याँकिएर बडो धुमधामले स्वागत गरिन्छ- ‘हार्दिक स्वागत छ तपाईलाई !’
‘तर यो के ?’ कार्यक्रमको शीर्षकप्रति इङ्गित गर्दै जिज्ञासा राख्छ नेपाल ।
‘यहि त हो आजको कार्यक्रम- लिलाम घटाघट !’ भीडबाट आवाज आउँछ ।
सोध्छ ऊ- ‘तर कसको, केको लिलाम ?’
-‘तपाईको !’
-‘मेरो ! मेरो लिलाम ?’ क्रोधको सीमा नाघ्छ नेपालको ।

नेपालको क्रोध शान्त पार्न खोज्दै भीडबाटै कसैले भन्छ- ‘तपाई साह्रै गरिब हुंदै जानुभयो । त्यसैले यो प्रतिस्पर्धात्मक लिलाम घटाघटको कार्यक्रम राखिएको हो हामीबीच ।’
-‘मतलव ?’
-‘मतलव, थोरैभन्दा थोरै समयमा तपाईको विकास कसले गर्न सक्छ ? जसले सबैभन्दा कम समयमा तपाईको विकास गर्नसक्ने प्रतिज्ञा गर्छ, त्यसकै निष्कर्ष निकाल्ने लिलमी कार्यक्रम हो यो ।’
नेपाल अलिक जोसमा बोल्छ- ‘तर लिलाम गरिगरिकन मेरो विकास किन गर्नुपर्यो ?’
-‘त्यसको आवश्यकता छ ।’
-‘कस्तो आवश्यकता ?’

भीडबाटै कोही बोल्छ- ‘हामीजस्तो कोही अत्यन्तै विकसित तर कोही चाहिँ अविकसित हुनु यो एक्काइसौं शताब्दीमा सुहाउँदिलो कुरो होइन । तसर्थ यो लिलामी प्रक्रियाबाट तपाईलाई हामी चाँडोभन्दा चांडो समुन्नत बनाउन चाहान्छौं ।’

‘तर’ नेपालले प्रतिवाद गर्न खोज्दाखोज्दै अचानक समारोहस्थलमा ठूलो आवाज सुनिन्छ- ‘क्रिपया, ध्यान दिनुहोस् ।’

उपस्थित सबैको ध्यान त्यो आवाज आएतिर केन्द्रित हुन्छ । उदघोषकको रूपमा अन्तर्राष्ट्रिय दलाल सङ्गठनको पुन आवाज आउंछ- ‘अब आजको कार्यक्रम सुरू हुन्छ । सबैलाई थाहै छ, आजको यो लिलाम घटाघटको कार्यक्रममा जसले नेपाललाई विकसित बनाउनका लागि सबैभन्दा थोरै समयको प्रतिज्ञा गर्छ उसैलाई नेपाल जिम्मा लगाइनेछ ।’

‘तर म ।’ -नेपलाल फेरि ठूलो आवाजमा जोडपूर्वक प्रतिबात गर्न खोज्छ तर उसको आवाज त्यो भीडमा सुनिँदैन ।
एउटा बोल्छ- ‘ओहो ! कस्तो गरिब विचरा !’
‘हेर, खानै नपाएको जस्तो !’ -अर्को चुकचुकाउंछ ।
सबैको सहानुभूतिबीच नेपाल हीनताबोधले ग्रस्त बन्छ, एक शब्द पनि निस्किदैन उसको मुखबाट ।
‘मलाई धेरै समय चाहिँदैन, दस बर्षभित्रमा म नेपाललाई आफूजस्तै विकसित बनाइदिन्छु ।’ बेलायतले घोषणा गर्छ ।

यो घोषणासँगसँगै लिलाम घटाघटको प्रक्रिया सुरू हुन्छ-
‘दस वर्ष एक !
दस वर्ष दुइ !!
दस वर्ष ‘

उदघोषकले ‘तीन’ भन्नुअगावै फ्रान्स बोल्छ- ‘म नौ वर्षमा आफूसरहको बनाइदिन्छु नेपाललाई ।’
‘म आठ वर्षमा ।’ चीनले वाक्य पूरा गर्न पाउँदैन, जर्मनी बोलिहाल्छ- ‘मलाई सात वर्ष भए पुग्छ ।’
उदघोषक फेरि चिच्याउँछ- ‘ल जर्मनीको सात बर्ष । सात वर्ष एक् ।’

‘म छ वर्षमा सक्छु ।’- वीचमै बोल्छ कोरिया । एवं रितले लिलाम घटाघट चलिरहन्छ-
-पाँच बर्ष !
-चार बर्ष !
-तीन बर्ष !

‘मलाई केवल दुई वर्ष भए मनग्ये हुन्छ, दुई वर्षभित्रैमा मैले नेपाललाई आफैंजस्तो बनाउन सकिंन भने ।’ यतिञजेल चुप लागेर बसेको सर्वशक्तिमान अमेरिका बोल्छ तर उसको छेउमै बसिरहेको हुन्छ, जापान । के कम उ ? अमेरिकालाई आँखा तर्दै ऊ बोल्छ- ‘म सबैभन्दा कम समयमा नेपाललाई विकसित गराइदिन सक्छु, केवल एक बर्षमै म यसलाई आफुजस्तै पूरै कम्प्युटरयुक्त आधुनिक नेपाल बनाइदिन्छु ।’

‘एक बर्ष एक !
‘एक बर्ष दुई !
‘एक बर्ष तीन् !!!

उदघोषकले तीन गनिसक्दा पनि कोही नबोलेपछि कार्यक्रम टुङ्गिन्छ । अब सबैका आँखा नेपालमाथि टिक्छन तर यता सबै देशका सामु आफ्नो ठूलो अपमान भएको महसुस गरिरहेको हुन्छ नेपाल ।

अन्तत अन्तर्राष्ट्रिय दलाल सङ्गठन बोल्छ- ‘लौ अब यो लिलाम घटाघटको कार्यक्रम समाप्त भयो । नेपाल्ज्यू तपाई आगामी एक वर्षमै अरू विकसित देशको हाराहारीमा पुग्नुहुने भो । बधाई छ तपाईलाई, बधाई !!’
‘बधाई !!’

बधाईको आवाजले निकैबेर कार्यक्रममा रौनक थपिन्छ ।

‘पख्नोस् !!’
नेपालको मुखबाट अनायास एउटा डरलाग्दो आवाज निस्किन्छ । एकसाथ कार्यक्रममा चकमन्नता छौँछ ।
‘किन के भयो ? के भयो नेपालाई ?’- चकित वन्छन् सबै ।
एकएकलाई हेर्दै नेपालले भन्छ- ‘तपाईहरूबाट मेरो विकास गर्नका लागि यो जुन लिलामी घटाघटको कार्यक्रम राखेर मलाई आफूजस्तै समुन्नत बनाउने घोषणा त गरियो तर यति समय मेरो लागि धेरै बढी भयो ।’
‘बढि भयो रे ? एक वर्ष पनि बढि भयो ?’ -अन्तर्राष्ट्रिय दलाल सङ्गठन प्रश्न गर्छ ।’

‘हो, बढी भयो ।’ नेपाल मुस्कुराउँदै बोल्छ- ‘मेरो विकास गर्न वास्तवमा तपाईहरूले यतिका समय खर्च गरिरहनुपर्ने कुनै जरूरत नै छैन । बरू यसको सट्टा मलाई तपाईहरूले केवल दुई महिना मात्रै दिनोस् ! तपाईहरू कुन चाहिँ देश चाहनुहुन्छ अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, चीन, कोरिया जुनसुकैलाइ भन्नोस्, म दुई महिनाभित्रै आफूजस्तै बनाइदिन्छु । दिनुहुन्छ मलाई अवसर ??’

वाक् भएर सम्पूर्ण देशहरू एक आपसमा मुखामुख गर्न लाग्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *