Skip to content


नेपाली भाषा र साहित्यका क्षेत्रमा वि.सं. २०६६ चैत ५-९ मा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन’ अत्यन्त महत्त्वपूर्ण र उपलब्धिमूलक सम्मेलनका रूपमा सम्पन्न भएको छ । त्रिमूर्ति निकेतनद्वारा स्थापित ‘लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समिति’ले ‘महाकवि देवकोटा शताब्दी महोत्सव’ भव्यरूपमा मनाउनेक्रममा वर्षको अन्त्यतिर सम्पन्न भएको यो सम्मेलन नेपाली भाषा-साहित्यको इतिहासमा ‘कोशेढुङ्गा’को रूपमा स्थापित हुनेछ । महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रति, सदस्यसचिव नरेन्द्रराज प्रसाईं र त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईं एवं ‘अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलनका संयोजक सत्यमोहन जोशीको योगदानलाई सहभागीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।


सम्मेलनमा भारत, म्यानमार, पाकिस्तान, चीन, हङ्कङ, जापान, यू.ए.ई., रुस, बेलायत, जर्मनी, बेल्जियम, अमेरिकालगायतका देशहरूबाट नेपाली भाषा र साहित्यलाई माया गर्नेहरूको सहभागिता रहेको थियो । नेपालबाटसहित सहभागी यी देशका तर्फबाट लिखितरूपमा कार्यपत्रहरू प्रस्तुत गरिएर नेपाली भाषा र साहित्यको ‘हिजो, आज र भोलि’को अवस्था दर्शाइएको थियो भने पाकिस्तानकी सहभागी प्रा.डा. श्रीमती ताहिरा निगत नैयरले मौखिकरूपमै विश्लेषण प्रस्तुत गरेकी थिइन् । नेपालका तर्फबाट प्रा.राजेन्द्र सुवेदी, प्रा.डा. देवीप्रसाद गौतम र डा. ज्ञान पाण्डेले तयार पारेको कार्यपत्र ज्यादै उच्चकोटिको भएको सहभागीहरूको भनाइ रहेको छ । नेपालको सन्दर्भको कार्यपत्रलाई नछोई अन्य देशमा नेपाली भाषा-साहित्यका सम्बन्धमा प्रस्तुत गरिएका कार्यपत्रको निचोड यहाँ प्रस्तुत गरिएको छ ।


भारतमा नेपाली भाषा र साहित्य
-डा. घनश्याम नेपाल, डा. सञ्जय राई र अरुणा राई


नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा हो । दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा राष्ट्रिय भाषाको रूपमा स्वीकृत एवं स-साना प्रदेशलगायत राज्यहरूमा माध्यम भाषाको स्तरमा सङ्गठित नेपाली भाषा एक जीवन्त भाषा हो । नेपाली भाषा खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले पनि चिनिदै आएको छ । भाषाको प्रकृतिअनुसार कुनै पनि भाषाले विकास गर्दा जटिलतादेखि सरलता र स्थुलताबाट सूक्ष्मतातिर उन्मुख हुने प्रक्रिया ग्रहण गर्दछ । भाषाले सुष्ठता प्राप्त गर्दा आफ्नो सांस्कृतिक सञ्चारण र अभिव्यक्ति संस्कारलाई जरैबाट समातेर राख्दछ । यसैले नेपाली भाषालाई पनि एक विशाल वटवृक्ष भन्दा अत्युक्ति नहोला । सांस्कृतिक र संस्कारगत चरित्रको आधारमा नेपाली भाषाले विविधतालाई स्वीकार गरेको छ । नेपालदेखि फैलिएको यो भाषा पूर्वमा बर्मा, पश्चिममा पञ्जावसम्म, उत्तरमा हिमवत्खण्डदेखि दक्षिण एसियाको गाङ्गेय समभूमि तथा अन्य भाषा-परिवार क्षेत्रतिर पनि यसले विस्तार पाएको छ ।

भाषाको विकास हुनुमा त्यसका मौलिक साहित्य लेखनले ठूलो भूमिका निर्वाह गर्दछ । भाषाको दैनिक व्यावहारिक उपयोग, लोकको अनुभवको अभिव्यक्ति, लिप्यङ्कन प्रयोग हुँदा नै भाषा विकसित हुँदै जान्छ । भारत भूमिबाट नेपाली भाषा-साहित्यको विस्तार गर्नमा सबैभन्दा पहिलो श्रेय बनारसलाई जान्छ । यहीँबाट नेपाली साहित्यको माध्यमिक काल झाङ्गिन सकेको हो । विकासको यस घुम्तीमा आज देखिएका सरलता र संवेद्यताको आग्रह पनि माध्यमिककालीन शृङ्गार धारका प्रभाव हुन् ।


भारतमा राष्ट्रिय भाषाको रूपमा अघि बढिरहेको नेपाली भाषा एक सम्पर्क भाषाको रूपमा भविष्यमा खडा हुनेछ भन्न सकिन्छ । सत्रौँ शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पत्ति भएको छ । यसको प्रयोग र विस्तार क्षेत्र पूर्वमा दार्जिलिङ, सिक्किम, भूटान र मेघालय, मिजोराम, मणिपुर र बर्मा, पश्चिममा भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मीर, हिमाचल, कुमाउ, गढवाल, देहरादून आदितिर व्यापक प्रभाव छ । यी सबै क्षेत्रमा भाषा-साहित्यको गतिविधि, लेखन-प्रकाशन, पठन-पाठन अनिवार्यरूपले चलिरहेको छ ।


रुसमा नेपाली भाषा र साहित्य
-कृष्णप्रकाश श्रेष्ठ, जङ्गव चौहान


रसियामा नेपाली भाषा र साहित्यको चर्चा थाल्दा १३५ वर्षअघि सन् १८७५ मा नेपालको यात्रा गर्ने रसियन प्राच्यविद् इभान मिनायेभको नाम लिनुपर्ने हुन्छ । बौद्धधर्मको अध्ययनार्थ नेपाल आएका विद्वानले नेवारी भाषा सिकेर शब्दकोशसमेत तयार पारेका थिए । सन् १९१७ को ऐतिहासिक अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुनुभन्दा आधा शताब्दीअघि भूगोलविद् दिमित्री कोस्तिन्स्कीद्वारा नेपालबारे परिचयात्मक पुस्तक लेख्नु, नेपाली साहित्यका हस्तीहरू बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठबाट सोभियतसङ्घको भ्रमण हुनु एवं महाकवि लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेको अफ्रो एसियाली लेखक सम्मेलन (सन् १९५८) मा सहभागिता, देवकोटाको सम्भाषण आदिबाट नेपाली साहित्यको जानकारी रुसमा पुगेको हो ।


नेपाली कविताको अङ्ग्रेजी अनुवादका आधारमा तत्कालै ‘नेपालका कविहरू’ शीर्षकमा रसियाली भाषामा कवितासङ्ग्रह प्रकाशित भएको थियो । यसमा नेपालका प्रसिद्ध कविहरूका कविता समाविष्ट थिए । रुसमा देवकोटाको ठूलो सम्मान छ । सोभियत अन्तरिक्षयान चन्द्रमामा पुगेकै दिन देवकोटाको निधन भएको संयोगलाई देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनू चन्द्र एक’सँग जोडेर देवकोटाको आत्मा त्यही यानमा चन्द्रमामा पुगेको कल्पना गरिन्छ ।


ल्युदमिला आगानिनाको नाम नेपाली साहित्यको अध्ययन, अनुसन्धान र अनुवादका क्षेत्रमा उच्च छ । आधुनिक नेपाली काव्यमा मानिस, समाज र धर्म विषयमा विद्यावारिधि गरेकी ल्युदमिला महाकवि देवकोटाको जीवनीकार पनि हुन् । उनीद्वारा लिखित ‘नेपाली साहित्यको सङ्क्षिप्त विवेचना’ कृति नेपाली साहित्यबारे रसियाली भाषामा प्रकाशित प्रथम पुस्तक हो ।


नेपाली भाषामा रसियाली लेखकको एउटै कृतिको विभिन्न अनुवादकबाट अनुवाद भई प्रकाशित कृति माक्सिम गोर्कीको उपन्यास ‘मा’ हो । विगत ४१ वर्षदेखि रसियाली भाषाका विभिन्न कृतिहरूको नेपालीमा अनुवाद हुँदै आएको छ । रुसमा अध्ययन गर्न गएकाहरूले नेपाली भाषालाई व्यापकरूपमा प्रचार-प्रसार गरेका छन् । रसियामै कर्मभूमि बनाएका कृष्णप्रकाश श्रेष्ठले ठूलो योगदान दिएका छन् ।


उत्तर अमेरिकाली नेपाली डायोस्पोरामा नेपाली भाषा-साहित्य
-होमनाथ सुवेदी, भारती गौतम, एन हन्किन्स


विदेशिने नेपालीको जतिजति वृद्धि हुन्छ, हाम्रो डायोस्पोरा त्यति नै ठूलो हुन्छ । आफ्नो मूलथलो छोडेपछि अर्को छुट्टै संस्कार बदलिन्छ । जीवनको सबै क्षेत्रमा ठिमाहा संस्कारको जन्म हुन्छ । सन् १९७० देखि नेपालीहरू अमेरिका आउने क्रम आरम्भ भए पनि बसोवास गर्नेहरूको सङ्ख्या बढ्न चाहिँ समय लाग्यो । सन् १९९० भन्दा अगाडि नेपाली साहित्य र भाषाको विकास भन्नु अमेरिका-नेपाल एसोसिएसन नै हो । अमेरिकामा बसेर लेखेको पहिलो पुस्तकचाहिँ होमनाथ सुवेदीको उपन्यास ‘न्याउली’ हो । यसबीच केही नेपाली भाषाका पत्रपत्रिकाहरू प्रकाशित भए पनि सन् १९९१ मा वासिङ्टन डीसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएपछि नै नेपाली भाषासाहित्यका क्षेत्रमा काम हुन थालेको हो । सन् १९९४ देखि अन्तर्राष्ट्रिय कविता महोत्सव गर्न थालिएकोले यसलाई निकै उपलब्धिपूर्ण मानिन्छ । यसपछि प्रशस्तै अनलाइन पत्रपत्रिकाहरूको स्थापना भइसकेको छ । संस्थागतरूपमा अहिले अनेसासको विस्तार निरन्तर भइरहेको छ । यसले नेपाली भाषासाहित्यलाई विश्वमै फैलाउने काम गरिरहेको छ । अमेरिकामा नेपालीहरूको सङ्ख्या लाखौँ पुगेको छ । आवासीय भिसा चिट्ठाका कारण सङ्ख्या बढ्दो छ । आफ्नै पहलमा आउनेहरू पनि उत्तिकै छन् । व्यक्ति सँगसँगै आउने भाषासाहित्यले विदेशमा बस्नेहरूमा एकत्व कायम राख्दोरहेछ ।


सन् १९८६ ताक क्यानडाबाट किरण ढुङ्गानाले ‘दियालो’ पत्रिका निकालेका थिए । १९९६ मा वसन्त श्रेष्ठको संयोजकत्वमा स्थापित बोस्टन साहित्यिक समितिले नेपाली विभूति, स्रष्टाहरूको जन्मजयन्तीलगायतका कार्यक्रमहरू गर्न थाल्यो । त्यतिबेलै अर्को पत्रिका ‘इनटच’ पनि प्रकाशनमा आयो । अनेसासद्वारा सन् १९९४ बाट प्रकाशन प्रारम्भ भएको ‘अन्तर्दृष्टि’ त्रैमासिक नियमित छ । गोविन्दसिंह रावतले सन् २००४ मा ‘रचना नेपाल’ र सौगात त्रैमासिक क्यानाडाबाट प्रकाशनमा ल्याइरहेका छन् । दोस्रो पिँढीकालाई नेपाली भाषा सिकाउन अमेरिकामा विद्यालयहरू धेरै ठाउँमा सञ्चालनमा छन् । नोर्थ क्यारोलाइनामा क्याम्पस नै सञ्चालनमा छ । रेडियो, टेलिभिजनहरू सञ्चालित छन् । यी सबैका माध्यमबाट भाषिक उत्थानमा अनुवादलगायतका कामहरू बढ्दै जाने निश्चित छ ।


बेलायतमा नेपाली भाषा र साहित्य
-प्रा.डा. माइकल हट, डा.भ्यालेरी इन्चले र सुरेशजङ्ग शाह


बेलायतमा नेपाली भाषा-साहित्यको सन्दर्भ उठाउँदा सन् १९६० तिर पुग्नुपर्ने हुन्छ । यतिबेलैबाट तत्कालीन युवराज वीरेन्द्र, मदनमणि दीक्षित, पशुपतिशमशेरलगायतका अक्सफोर्ड र इटन कलेजमा पढ्ने विद्यार्थीहरूले ‘यति नेपाली एसोसिएसन’ नामक संस्था स्थापना गरेर ‘यति’ पत्रिकाको प्रकाशन प्रारम्भ गरेका थिए । सन् १९८६ मा यसै संस्थाको पहलमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नका लागि ‘कोसेली नेपाली सांस्कृतिक परिवार’ स्थापना गरिएर ‘कोसेली’ लोक संस्कृतिप्रधान पत्रिका प्रकाशन गर्न थालिएको थियो । सन् १९९५ बाट नेपाली साहित्य विकास परिषद्को स्थापना र लालीगुराँस पत्रिकाको प्रकाशनले थप योगदान पुर्‍याएको छ । यस संस्थाले सम्मान र पुरस्कारहरूको पनि व्यवस्था गरेको छ । यसरी सन् १९६० देखि २००० सम्ममा बेलायतमा बाह्र हजारको हाराहारीमा नेपालीहरूको सङ्ख्या पुगेको देखिन्छ । नेपाली भाषाका प्राध्यापक डा. माइकल हटले नेपाली भाषामा पुर्‍याएको योगदान अतुलनीय रहेको छ ।


सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछि करिब ४ हजार गोर्खा पल्टन र उनीहरूका परिवारलाई समेत बेलायतमा स्थायी बसोवासको हक दिइनुले नेपालीहरूको जनघनत्वमा वृद्धि भएको देखिन्छ । पत्रपत्रिकाको प्रकाशन दर्जनभन्दा बढी छ भने यतिकै सङ्ख्यामा साइबर पत्रिकाहरू छन् । यसका लागि प्रवासी नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत शाखालगायतका संस्थाहरू सक्रियरूपमा लागिपरेका छन् । टेलिभिजनहरूको योगदान पनि उल्लेखनीय रहेको छ ।


हङकङमा नेपाली भाषा र साहित्य
-पशन तमू


सन् १८१४ मा नालापानी युद्धमा वीर गोर्खालीको युद्ध कौशलबाट प्रभावित भएका अङ्ग्रेजले १८१७ देखि गोर्खालीहरूलाई इष्ट इन्डिया कम्पनीमा लिन थालेका हुन् । १९४७ मा भारत स्वतन्त्र हुनुअघि बेलायत, भारत र नेपालबीच त्रिपक्षीय सम्झौता हुनुभन्दा अघि अर्थात् १९४२ बाटै गोर्खालीहरू हङ्कङ क्याम्पमा बस्न थालेको देखिन्छ । १९५९ बाट बेलायतले आफ्नो उपनिवेश हङकङलाई गोर्खाली सेनाको सुरक्षामा सुम्पिएपछि नेपाली भाषाको स्थायित्व बढेको हो । १९४९ बाट सिङ्गापुरमा प्रकाशन प्रारम्भ भएको पत्रिका ‘पर्वते’ हङकङबाट पनि प्रकाशित हुन थाल्यो । त्यतिबेलैदेखि गोरखा रेडियोको पनि प्रारम्भ भयो ।


हङकङबाट सन् २००० मा किसन राईको सम्पादनमा प्रकाशन प्रारम्भ भएको ‘एभरेष्ट’ दैनिकको योगदान उल्लेखनीय छ । १९९८ मा पशन तमूले प्रारम्भ गरेको ‘संवाद’ को योगदान, सनराइज, साप्ताहिक सन्देश नेपाली रेडियोलगायतका सञ्चार सामग्रीहरूले नेपाली भाषासाहित्यको विकासमा योगदान पुर्‍याएका छन् । हङकङमा सामाजिक संघसंस्थाहरू पनि प्रशस्तै छन् । हाल नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टर, सिर्जनशील साहित्य समाज, जनजाति साहित्य समाज, हङकङ नेपाली कलामन्दिरलगायतका धेरै संघसंस्थाहरू छन् । हङकङमा नेपालीद्वारा सञ्चालित चार विद्यालय पनि छन् । नेपाली चलचित्र, गीत-सङ्गीत, म्युजिक भिडियो निर्माणका काम पनि प्रशस्तै भएका छन् ।


बेल्जियममा नेपाली भाषा र साहित्य
-कृष्ण बजगाईं (बेल्जीयम)


सन् १९८२ को जुलाईमा बेल्जियम नागरिकसँग विवाह गरेर आएकी पोखरा निवासी सुकमाया नेपालीलाई बेल्जियममा बसोवास गर्नेगरी आएकी प्रथम नेपाली मानिन्छ । १९९० बाट नेपालीहरूको बेल्जियम प्रवेश क्रमशः बढ्दै २००० तिर माओवादी द्वन्द्वलाई कारण मान्दै भित्रिनेहरूले गर्दा हाल करिब ४ हजार नेपालीहरू बेल्जियममा बसोवास गर्दछन् । आफ्नो देशमा जुनसुकै मातृभाषा बोल्ने भए पनि यहाँ भने नेपालीलाई नै प्रयोगमा ल्याएर भावनात्मक एकतामा गाँसिएको देखिन्छ ।


बेल्जियममा अहिलेसम्म ४२ वटा संघसंस्था स्थापना भइसकेका छन् । सन् १९९८ मा स्थापना गरिएको नेपाली सांस्कृतिक समाज पहिलो हो । हाल आएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर भाषा-साहित्यका क्षेत्रमा सक्रिय बनेको छ । यसले साहित्यकारहरूको जयन्ती, साहित्यिक गोष्ठीहरू आदि गर्दै आएको छ । नेपाली सांस्कृतिक समाजले सन् २००१ मा प्रकाशित गरेको फोटोकपि पत्रिका बेल्जियममा पहिलो नेपाली पत्रिका मानिन्छ । सन् २००३ मा इन्द्रधनुष क्लबले ‘इन्द्रेणी’, साङ्ग्रीला समाजले २००६ मा बेल्जियम दर्पण, अनेसासको बेल्जियम च्याप्टरको प्रकाशन ‘शब्दाञ्जली’ ले पुर्‍याएको योगदान उल्लेख्य छ ।


बेल्जियममा मात्र नभएर विदेशमा बस्ने नेपालीमाझ पनि कृष्ण बजगाईंको अनलाइन पत्रिका समकालीन साहित्य डटकम निकै लोकपि्रय रहेको छ । त्यस्तै नेपालीहरूद्वारा सञ्चालित अन्य अनलाइनहरू पनि प्रशस्तै छन् । यहाँ नेपाली भाषा सिकाउने विद्यालय पनि सन् २००५ देखि सञ्चालित छ ।


संयुक्त अरब इमिरेट्समा नेपाली भाषा-साहित्य
-जाकिर हुसेन


यहाँ नेपालीहरूको प्रवेश कहिलेबाट भएको हो भन्ने स्पष्ट जानकारी नभए तापनि हाल एक लाख पच्चीस हजारभन्दा बढी नेपाली विभिन्न रोगजार, व्यवसायमा रहेका छन् । सन् १९९० मा इराक युद्ध प्रारम्भ भएपछि यहाँ रहेका नेपालीहरू पनि स्वदेश फर्किन थाले । त्यही त्रसित वातावरणमा युएईमा रहेका अगुवा नेपालीहरूले क्याप्टेन प्रचण्डजङ्ग शाहको नेतृत्वमा नेपाली समाज भन्ने संस्थाको स्थापना गरेका थिए । यो नै नेपालीको पहिलो संस्था हो । सुरक्षा, भाषा, संस्कृति, साहित्य आदिका क्षेत्रमा संस्था सक्रिय भयो र ‘हिम अरब’ नामक मुखपत्र पनि प्रकाशित गर्‍यो ।


नेपाली पत्रपत्रिका प्रायः सबै यहाँ आइपुग्छन् र व्यावसायिकरूपमा बिक्री वितरण गरिन्छ । युएईबाट प्रकाशित हुने सहयात्रा द्वैमासिकको योगदान पनि उल्लेखनीय रहेको छ । परदेश, आकृति, हाम्रो ध्वनि, नव सिर्जना, मकालु सन्देश, प्रवासी देउराली पाक्षिकलगायतका धेरै मासिक, द्वैमासिक, त्रैमासिक आदि पत्रपत्रिकाहरू प्रकाशित हुँदै आएका छन् । यत्तिकै सङ्ख्यामा अनलाइन पत्रिकाहरू पनि सञ्चालित छन् ।


म्यानमारमा नेपाली भाषा र साहित्य
-विष्णु पन्थी, डा.दुबसु क्षेत्री


म्यानमारमा नेपालीहरूको बसोवासको इतिहास सय वर्षभन्दा लामो छ । दुई लाखभन्दा बढी नेपाली भाषी म्यानमालीहरू नेपालीपन र मन जोगाइराख्नलाई आˆनो भाषा र संस्कृतिसहित सङ्घर्षरत छन् । म्यानमारजस्तो अनकन्टार देशमा बसेर पनि यहाँ बस्ने नेपालीभाषीले नेपाललाई पितृदेश मान्दछन् । नयाँ पुस्ता सँगसँगै नेपाली धर्म – संस्कृति लोप हुने पो हो कि भन्ने चिन्ताले संघ-संस्था नै बनाएर काम गरिएको छ । जाति, धर्मभन्दा पनि भाषाले बाँधेको छ । कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव पनि मनाइसकिएको छ । यहाँ नेपाली साहित्य परिषद् (डिप्लोमा) ले नेपाली भाषाको उत्थानमा उल्लेख्य काम गरिरहेको छ । नियन्त्रित शासन व्यवस्थाका कारण असजिलो र असहज वातावरण भए पनि नेपाली भाषा र साहित्यमा कलम चलाउनेहरू धेरै छन् । अनुवादका क्षेत्रमा पनि नेपालीहरूले हात हालेका छन् । प्रशस्तै प्रकाशनहरू र पुरस्कार गुठीहरूले यस क्षेत्रमा लागेकालाई प्रोत्साहन गरिरहेका छन् ।


जापानमा नेपाली भाषा र साहित्य
-श्रीमती मिसिजु फुकुदा, डा. दुबसु क्षेत्री र कृसु क्षेत्री


सन् १९०२ मा देवशमशेरको शासनकालमा नेपाली विद्यार्थीहरू जापान जाने तयारी भएकोमा उनी सत्ताच्यूत भएपछि चन्द्रशमशेरको पालामा कार्यान्वयन भएको थियो । त्यसपछि जयपृथ्वीबहादुर सिंह, हरेन्द्र बडुवालले जापानका बारेमा नेपालीहरूलाई र नेपालका बारेमा जापानीहरूलाई चिनाउने काम गरेका थिए । त्यसपछि जापानी साहित्य हाइकु भित्र्याएर साहित्यिक आदान-प्रदान हुनथाल्यो । तुलसी दिवस, अभि सुवेदी, मञ्जुल, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी आदिले भाषा-साहित्यको आदान-प्रदानमा ठूलो योगदान पुर्‍याएका छन् ।


हाल आएर जापानमा बस्ने डा.कुमार बस्नेतले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व गरिरहेका छन् । जापानमा रहेका नेपालीहरूको ज्यादै व्यस्त जीवन भएर पनि समय निकालेर भाषा-साहित्यका क्षेत्रमा कामहरू गरिएका छन् । विशेषगरी अनलाइन पत्रिकाहरूका माध्यमबाट नेपालीहरूले उल्लेख्य काम गरेको देखिन्छ । यसमा पनि नेपाल-जापान डटकम ज्यादै सक्रिय छ ।


जर्मनीमा नेपाली भाषा र साहित्य
-डा. मानफ्रेद थ्रोई


सन् १८९६ मा जर्मन नागरिक लुम्बिनी घुम्न आएपछि नागरिकस्तरमा सम्बन्ध विस्तार भएको हो । सन् १९७५ को हाराहारीमा करन विश्वविद्यालय खुलेपछि डा.बुर्थले नेपाली भाषाको अध्यापन प्रारम्भ गरेका हुन् । ३० वर्षयता जर्मनीमा नेपालीभाषीहरूको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ भने नेपाली संस्कृति, भाषा र साहित्यका क्षेत्रमा उनीहरूले लोभलाग्दो तरिकाले विकास गरिरहेका छन् ।

सम्मेलनको महत्त्व र उपलब्धिका सम्बन्धमा व्यक्त गरिएका प्रतिनिधि प्रतिक्रियाहरू
-सत्यमोहन जोशी ः संयोजक अन्तर्राष्ट्रिय भाषा-साहित्य सम्मेलन


अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा भएको यो नै प्रथम बृहत् सम्मेलन हो । अन्य देशका नागरिकहरूले पनि नेपाली भाषा-साहित्य सिकेर, बोलेर, लेखेर सम्मेलनमा भाग लिए । सरकारी तबरमा हुनुपर्ने काम त्रिमूर्ति निकेतनले गरेको छ ।

आफ्नो भाषाप्रति सबै नेपालीमा प्रेम छ । विदेशमा रहेबसेका नेपालीहरूको उल्लेख्य उपस्थितिका कारण पनि कार्यक्रमलाई पूर्ण सफल मान्नुपर्छ । आफ्नो भाषाले बाँध्दोरहेछ, एकत्व देखाउँदोरहेछ । जनसम्पर्कमा नेपाली भाषा अग्रणी छ । अन्य मातृभाषीका लागि पनि सम्पर्क भाषाका रूपमा स्थापित हुन सकेको छ । भाषिक आदान-प्रदान, अनुवादको विकासलगायत जारी भएको घोषणापत्रको कार्यान्वयनमा जोड दिनु आवश्यक छ । यस्ता सम्मेलनहरू भइरहनु पर्छ ।


इन्द्रबहादुर राई, भारत


उता भारतमा पनि प्रशस्तै प्रतिभाहरू बसेका छन् । उनीहरूले साहित्यको लेखन, पठन गरिरहेकै छन् । जुनैरूपको भए तापनि उनीहरूले लेखिरहेको साहित्यले उनीहरूलाई आनन्द र जागृति दिइरहेकै छ । तर उताका हामी जब नेपालमा (काठमाडौँमा) आइपुग्छौँ, नेपाली साहित्य, कला, नाटक, सङ्गीतले लिएको आज, लिएका नव्य रूपहरू देखेर चकित बन्छौँ । अब हामी फर्किदैछौँ, साहित्य र कलाका निनव्य रूपहरूले हाँक गरिरहेका भएर हामी छक्क परेर फर्किएका छौँ । उता पुरानै रूपको छ । अब नव्य रूपमा पुग्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रालागि त उपलब्धिमूलक भयो नै, यो सिङ्गो नेपालीभाषा र साहित्यका क्षेत्रमा ज्यादै उपलब्धिमूलक काम भएको छ ।


लीलबहादुर क्षेत्री, भारत


उताबाट यता आउन हामीलाई असाध्य मन लाग्छ तर अवसर मिलिरहेको हुँदैन । यस्तो बृहत् समारोहमा भाग लिन पाउनु मेरोलागि ठूलो उपलब्धि हो । मलाई अन्य देशहरूमा पनि नेपाली भाषा यसरी फस्टाएको छ भन्ने जानकारी थिएन । यता मलाई ‘बसाईं’ को लीलबहादुर र उता प्राध्यापक लीलबहादु्र भनेर चिन्छन् । म दुवैमा उत्तिकै गौरव गर्दछु । नेपालीहरूमा स्थापित हुने, सबैसँग मिल्नसक्ने गुण भएकाले सर्वत्र फैलिएका हुन् । नेपाली भाषामा अन्य भाषाको मिश्रण व्यापकरूपमा भएको छ । यस्ता सम्मेलनहरूले भाषिक उत्थानमा मद्दत नै पुर्‍याउँछन् । मूल कुरा त आपसमा विचार बाँड्न पाउनु नै ठूलो हो । पशुपतिनाथको दर्शनलाई पनि मैले महत्त्वपूर्ण उपलब्धि ठानेको छु । यो सम्मेलनले नेपाली भाषा र साहित्यको सूक्ष्म अध्ययन गर्न सघाउ पुर्‍याउने स्पष्ट छ ।


होमनाथ सुवेदी, अमेरिका


यो सम्मेलनले नेपाली समाजको अन्तर्राष्ट्रियताको प्रभावको प्रमाण दिएको छ । विदेशमा बस्ने हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्यहरूले यस किसिमको सम्मेलन हुनुपर्छ भन्ने उद्देश्यले धेरै दिनदेखि बोलिरहेका थियौँ ।


अमेरिकामा सन् २००१ को अगस्त १५ मा ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गरिएको थियो तर बाहिरबाट ज्यादा सहभागीहरू झिकाउन सकिएको थिएन । सहभागिताका दृष्टिले पनि यस सम्मेलनलाई ज्यादै महत्त्वपूर्ण मान्नुपर्छ । सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरू ज्यादै गहन छन् । नेपाली एकता र अखण्डताको प्रमाण भएको छ यो सम्मेलन ।


कृष्ण बजगाईं, बेल्जियम


विश्वभरका नेपाली भाषी साहित्यकारहरूलाई एकै थलोमा भेला गराएर नेपाली भाषा-साहित्यका बारेमा भएका र अब हुने कार्यको जानकारी गराउन सफल भएको छ यो सम्मेलन । नेपाली भाषा-साहित्यको विकासको लागि आगामी दिनमा हिँड्नुपर्ने बाटोका बारेमा घोषणापत्र नै जारी भइसकेको छ । सम्मेलनले डायोस्पोरामा बसेर साहित्य सिर्जना गर्नेहरूलाई ऊर्जा प्राप्त भएको छ । लामो समयसम्म यो सम्मेलनको प्रभाव नेपाली भाषिक-साहित्यिक आन्दोलनमा परिरहने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *