Skip to content


नव्य नेपालको कल्पना गर्दथ्यौं
लोकतन्त्रसँगै जीविका गर्दथ्यौं
सोच यो पूर्ण भो राजतन्त्रै ढल्यो
फेरियो शासनै क्रान्तिले त्यो गल्यो ।

पच्चिसै दलका नेता छन् देशमा
संविधान चाहियो जेठको चौधमा
सत्ताको खेलमा अल्झिनु हुँदैन
पुरानो घाउ त्यो बल्झिनु हुँदैन ।

बन्द हड्तालले देश यो भासियो
हत्या आतङ्कले देश पो नाशियो
एकता भङ्ग भो नेतामा द्वन्द्व भो
पुग्ने को लक्ष्यमा बाटो नै बन्द भो ।

बिजुली बलेन पानी नै आएन
घटेन महँगी राहतै भएन
जनता दिक्क छन् नेता चैं मस्त छन्
भत्ता पचाएर के गरी बस्तछन् ?

विकासे योजना मन्त्रीका भाषण
भोका छन् जनता छैन है रासन
मेलम्ची सपना काकाकुल नियति
अन्धकार विपना लोडसेडिङ कति ?

जातीय भाषाको सङ्घीय होइन
देश टुक्र्याउने काम यो होइन
नेपाल रहे पो नेपाली रहन्छौं
फुट विद्रोह यो कसरी सहन्छौं ।

हिमाल तराई पहाड बीचमा
पूर्व मेची भए काली पश्चिममा
बुद्धको देशमा शान्ति छाओस् सधैँ
अखण्ड नेपाल जग्मगाओस् सधैँ ।

धरान, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *