Skip to content

सत्याग्रह आन्दोलन र बीपी

  • by


२०१४ मंसिर महिनाको कुरा हो। एक दिन मध्य दिउँसो बीपी कोइरालालाई भेट्न काठमाडौँको नक्सालस्िथत कल्पना प्रेसमा पुगेको थिएँ । तल प्रतीक्षालयमै भनियो, ‘बीपी सुकला भएको छ । पछि आउनू ।’ मेरो मुखबाट फ्याट्ट निस्किहाल्यो, “समाजवादी नेता पनि दिउँसै सुत्दा रहेछन् ? कस्तो अचम्म !” यत्तिकैमा कौसीबाट बीपी चिच्याइहाल्नुभयो, “माथि आउनू माथि ।” मेरो मुटु ढक्क फुलेर आयो । किन बेकारमा प्याच्च बोलेछु ! त्यसपछि बीपी सरासर तल आएर मलाई आफ्नो कोठामा लिएर जानु भयो । तारिरणीप्रसाद कोइरालाले चलाइरहेको त्यस प्रेसको माथिल्लो तलामा बीपी बस्नु हुन्थ्यो ।

यो पहिलो सत्याग्रहको पूर्वसन्ध्याको कुरा हो । भद्र अवज्ञा आन्दोलनका नामले ०१४ मंसिर २२ गतेबाट विभिन्न पार्टी सम्मिलित प्रजातान्त्रिक मोर्चाले सत्याग्रह सुरु गर्ने कार्यक्रम थियो । त्यसमा कम्युनिस्ट पार्टीको पनि संलग्नता थियो । उनीहरूको माग छ महिनाभित्र आमचुनाव होस् भन्ने थियो । त्यसभन्दा पहिले बीपीले जिल्लामा कार्यरत नेपाली कांग्रेसका केही मानिसहरूलाई काठमाडौँ बोलाएर आन्दोलनका बारेमा सरसल्लाह गरिरहनुभएको थियो । म पनि ओखलढुंगा जिल्लाको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेको थिएँ ।

बीपीले आन्दोलनका बारेमा लामो कुराकानी गर्नुभयो । त्यसको प्रचारप्रसारका निम्ति बनाउनु भएको योजना पनि सुनाउनु भयो । मंसिर २२ गतेबाट आन्दोलन गर्ने भने पनि त्यो मिति तलमाथि पर्न सक्थ्यो । अहिलेको जस्तो सञ्चार सुविधा थिएन । मैले सोधेँ, आन्दोलन सुरु भएको कुरा कसरी थाहा पाउने ? उहाँको जवाफ सुनेर म त छक्क परेँ । उहाँले भन्नुभयो, “सिंहदरबारमा धर्ना दिन्छौँ । पुलिसले गिरफ्तारीको प्रयास गर्छ । म सरासर गएर गिरफ्तारी दिन्छु । त्यसपछि राज्यद्वारा आफ्नो सफलताका रूपमा मेरो गिरफ्तारीको ठूलै प्रचार-प्रसार हुन्छ । त्यही समाचारबाट आन्दोलन सुरु भएको सबैले थाहा पाउनेछन् ।”

बीपीले भन्नुभयो, “त्यही सूचनाका आधारमा हाम्रा कार्यकर्ताले पनि जिल्ला-जिल्लामा आन्दोलनको सुरुवात गर्नेछन् । यसरी देशव्यापी रूपमा आन्दोलन सञ्चालन गर्नुपर्छ । मैले आजै पनि जिल्लास्तरका धेरै नेता-कार्यकर्तालाई भेटेर यो योजना सुनाएको छु । सबैले यसैबमोजिम गर्नेछन् ।” बीपी यस्ता योजना बनाउन मात्र होइन, कार्यान्वयन गर्न पनि सिपालु हुनुहुन्थ्यो । वास्तविक नेता हुनुहुन्थ्यो उहाँ । त्यसबेला देशका लागि त्यस्तै नेताको जरुरी थियो ।

त्यसअघि काठमाडौँको ओमबहालमा सम्पन्न बैठकले छ महिनाको अल्टिमेटम दिँदै भद्र अवज्ञा आन्दोलन गर्ने चेतावनी दिएको थियो । बैठकलाई सुवर्णशमशेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायले सम्बोधन गर्नुभएको थियो । म पनि त्यसको एक सहभागी थिएँ । छ महिनाभित्र आमचुनावसम्बन्धी कुनै सुनुवाइ नभएपछि अन्ततः मंसिर २२ गतेदेखि भद्र अवज्ञा आन्दोलनका रूपमा सत्याग्रह सुरु गरएिको थियो ।

सैनिक सेवाबाट अवकाश पाउनुभन्दा केही समयअघिको कुरा हो । छ महिनाको छुट्टीमा कालिम्पोङ गएको थिएँ । त्यहीँ बीपी र गणेशमान सिंहसँग पहिलोपटक मेरो भेट भएको थियो । त्यहीबेला आन्दोलनमा सघाउन उहाँहरूले आग्रह गर्नुभएको थियो । मैले भनेँ, अहिले त सैनिक सेवामा छु । पछिको कुरा पछि नै गरौँला । तर उहाँहरूले मान्नुभएन । भन्नुभयो, “हामीलाई सैन्यतर्फ सघाउने मानिसहरूको कमी छ । त्यसतर्फ पहल गरििदनुपर्‍यो ।”

छ महिनाको छुट्टी बिताएर फर्किएपछि मलाई त्यस कुराले ‘स्ट्राइक’ गर्‍यो । साथीहरूलाई त्यो कुरा सुनाएँ । भित्रैदेखि आन्दोलनमा सहभागी हुने इच्छा पलाएर आयो । तर, बाध्य थिएँ । जागिर छोड्न अप्ठ्यारो थियो । यत्तिकैमा एकाएक छ महिनाको छुट्टी दिएर अवकाश पत्र पो थमाइयो, मलाई । सैन्य सेवामा पनि त्यस्तो हुँदो रहेछ । किन यसो गरियो ? त्यसको रहस्य अहिलेसम्म थाहा पाउन सकेको छैन । तर, त्यो अवकाश मेरालागि भने वरदान नै सावित भयो ।

त्यसपछि बाँकी रहेको म्याटि्रकको पढाइ पूरा गरेँ । सोझै सैनिक मोर्चामा खटिनुभन्दा सामाजिक सेवाका माध्यमबाट राजनीतिलाई सघाउनु उपयुक्त लाग्यो र त्यसैतर्फ लागेँ । केही समय शिक्षकको जागिर खाएँ । तर, मनले मानेन । अन्ततः मेजर जनरल बीभी चेम्जोङको नेतृत्वमा मुक्ति मोर्चामा सामेल भएर वीरगन्ज मोर्चामा खटिएँ । त्यसपछि झापा हुँदै विभिन्न मोर्चामा रहेर काम गरेँ ।

मेरो घरमा छोरो कांग्रेस भयो भन्ने हल्ला फैलिएछ । त्यसबेला कांग्रेस हुनु अपराधजस्तै मानिन्थ्यो । म घर पुग्दा बुबालाई पनि अप्ठ्यारो लाग्यो । पछि सम्झाइबुझाई गरेपछि सबै सामान्य भयो । म डेढ वर्षको छँदा बुबाबाट अलग भएको थिएँ, लक्का जवान भएर घर फर्किएँ । अहिले पनि सम्झिन्छु, बुबालाई ढोगेको । त्यसबेला मेरो ढाडमा बुबाका आँसु तपतप खसेका थिए । सायद हर्षका आँसु थिए ! त्यसपछि धेरै दिन घरमा बसिनँ । सामाजिक काममै सरकि भएँ । स्कुलहरू खोल्ने अभियानमा लागेँ । र, सँगसँगै राजनीतिमा सरकि भएँ । पछि बीपीले नै भूतपूर्व सैनिक संगठनका माध्यमबाट अघि बढ्न आग्रह गर्नुभयो, त्यसै गरेँ ।

बीपीका बारेमा कुरा गर्दा एउटा रमाइलो प्रसंग पनि सम्झना आउँछ । कल्पना प्रेसमा बसेर राजनीतिक कुराकानी गरिरहेका थियौँ । एक्कासि भाग्योदय चिट्ठाको प्रसंग निस्कियो । त्यसबेला त्यो साह्रै लोकप्रिय पनि थियो । त्यसै दिन त्यो चिट्ठा खोल्ने दिन परेको रहेछ क्यारे ! एक जना साथीले त्यो प्रसंग कोट्याउनासाथ बीपीले भन्नुभयो, “मैले पनि काटेको छु । राम्रै प्राइज पर्‍यो भने कार्यकर्तालाई आर्थिक सहयोग मिल्छ ।” बीपीले पनि भाग्योदय चिट्ठा काटेको सुन्दा मलाई आश्चर्य लाग्यो । तर, उहाँलाई पुरस्कार पर्‍यो कि परेन, त्यो भने मलाई थाहा भएन ।

गृहमन्त्री हुँदा पनि उहाँले बोलाएर भेटेको सम्झन्छु । त्यसपछि प्रधानमन्त्री हुँदा त्रिपुरेश्वरको निवासमा बोलाउनुभएको थियो । तर, सुरक्षाकर्मीले भेट्नै दिएनन् । दुई-तीन दिन त जाँदै फर्किंदै गरेँ । दिक्क भएर छेउ लागेर उभिएको थिएँ, बीपी टुप्लुक्क आइपुग्नुभयो । पछाडिबाट धाप मार्दै ‘सरासर माथि नआएर किन यहाँ टोलाएको ?’ भनी प्रश्न गर्नुभयो । मैले आफ्नो विवशता सुनाएँ । उहाँले मलाई अँगालो मार्दै पिएलाई भन्नुभयो, “कमसे कम मलाई चिट पठाउन त सक्थ्यौ नि !” त्यसपछि हामी सरासर माथि गयौँ । हतियारसम्बन्धी लामै कुराकानी गर्नुभयो । सायद भर्खरै हतियार ल्याएर भण्डार गरएिको थियो । ती हतियारका बारेमा उहाँले जिज्ञासा राख्नुभयो । मैले पनि आफूले जानेसम्म ब्रिफिङ् गरेँ ।

नेपाल साप्ताहिक ३९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *