Skip to content


उसकै टोलको युवक हो त्यो । उसलाई नाम थाहा छैन । अरू धेरै कुरा पनि थाहा छैन तर अनुहार थाहा छ । पसलबाट घरतिर फर्कंदै गर्दा त्यो अनुहार उसको आँखाअगाडि आएर टक्क रोकियो र बोल्ने बहाना झिक्यो ।

“कहाँ गएर आयौ ?”

“सीडी लिएर ।”

“केको नि ?”

“चिल्ड्रेन अफ हेवन ।”

“मैले हेरिसकेको छु ।”

युवकले नहेरीकनै हेरिसकेको छु भनेको हो भन्ने नजानेरै पनि उसले फिल्म कस्तो छ भनेर सोधिन् । युवक सोधोस् भन्ने चाहन्थ्यो । चाहेको कुरा नपाउँदा युवक निराश भएन ।

अर्को दिन स्कुलबाट फर्कंदै गर्दा उसले सोध्यो, “तिमी बिहानको स्कुल पढ्छौ, हो ? बिहान पढेको सम्झन सजिलो हुन्छ । कस्तो राम्रो स्कुल !”

भोलिपल्ट बिहान स्कुल जान गाडी कुर्दै गर्दा युवक फेरि देखा पर्‍यो । आँखा जुधाएर हाँस्यो । अनि, नजिकै आएर भन्यो, “मनकामना जान लागेको ।” ऊ केही बोलिन । अलिकति हाँसी मात्र । त्यही बेलामा बस आयो । ऊ बस चढी । बस हिँड्यो । बसको झ्यालबाट उसले युवकतिर फर्केर हेरिन । युवकले मात्र हेरिरह्यो ।

आश्चर्यको कुरा । त्यसको भोलिपल्ट बिहान पनि युवक फेरि आयो । ऊ बस कुरिरहेकी थिई । मनकामनाबाट ल्याएको भनेर टीका, प्रसाद र माला दियो । भगवतीको प्रसाद लिन्न भन्ने आँट गर्न सकिन । लिई ।

केही दिनदेखि त्यो युवकले पछ्याएको कुरा विस्तारपूर्वक उसले आमालाई भनी । आमाले युवक देखेकी छैनन् । प्रत्येक दिनका घटना/अनुभूतिहरू नबिराई उसले आमालाई सुनाई । सकेसम्म जस्ताको तस्तै । छोरीले मन खोलेर देखाएकामा आमाको मन सन्तुष्ट भयो । त्यस युवकले मनकामनाको टीका, प्रसाद र माला दिएको कुरा पनि जस्ताको तस्तै आमालाई सुनाई । आमा केही बोलिनन् । बोल्ने थिइन् होला, मनकामनादेवीको नाम नजोडिएको भए । र पनि, एक किसिमको शंका र डरजस्तो मिसिएको भावतरंग आँखामा देखियो ।

फेरि अर्को दिन पनि युवक आयो । ऊ बस कुरिरहेकी थिई । युवक हाँस्यो । ऊ अलिकति मात्र हाँसी । अड्कलेर ।

“म पनि संगीत सिक्न जान्छु तिम्रो स्कुलनजिकै ।” ऊ केही बोलिन ।

“तिमीलाई गीत मन पर्दैन ?”

“गीत कसलाई मन पर्दैन ?”

“गीतभन्दा फिल्म मन पर्छ जस्तो छ ।”

ऊ केही बोलिन । उसरी नै अड्कलेर हाँसी । अझ भनौँ, हाँसेजस्तो गरी ।

“तिमी थोरै हाँसेको पनि कति धेरै जस्तो लाग्छ ।”

फेरि पनि ऊ केही बोलिन । सुनिरहेकी छ भन्ने भान अनुहारमा देखिन्थ्यो ।

तिमीलाई फिल्मभन्दा अर्को के मन पर्छ ?

बस आयो । बस नआउँदा पनि ऊ खासै बोलेकी थिइन । केही नबोलेरै बस चढी । युवकले हेरिरह्यो । यस्तो लाग्थ्यो, युवक उसलाई बससम्म पुर्‍याउन आएको हो ।

पाँचौँ दिन पनि युवक आयो । अनेक कुरा गर्‍यो । उसलाई युवकका कुराहरू झर्कोभन्दा बढी डरलाग्दा लागे । स्कुल जाने बेलामा मात्र होइन, फर्कने बेलामा पनि युवक बाटो कुरिरहेको हुन्थ्यो । ऊ पसल जान लाग्दा पनि अनेक बहाना बनाउँदै नजिकिन आउँथ्यो । एकपटक भनेको थियो, “म तिमीलाई राम्राराम्रा फिल्महरू ल्याइदिन्छु ल ! एउटा फिल्म छ, नाम भन्दिनँ अहिले, जुन फिल्म मलाई एकदमै मनपर्छ । सबैभन्दा बढी त्यसको हिरोइन मनपर्छ । त्यो हिरोइन ठीक तिमीजस्तै छ ।”

फेरि पनि ऊ केही बोलिन । नबोले पनि युवकका कुराले उसको अनुहारमा मनतातो बाफ उठाएजस्तो लाग्थ्यो । पसलबाट सामानहरू लिएर ऊ घरतिर फर्की ।

सधैँझैँ मन माझेर यी सबै कुरा पनि उसले आमालाई सुनाई । आमाको मनले आफ्नो उमेर सम्झ्यो । उमेरका घटनाहरू सम्झ्यो । एकछिन सोचेर गम्भीर भएर भनिन्, “भोलि पनि आयो भने राम्रो मुखले नआउन भन्नू । त्यसपछि पनि आयो भने मुख छाडेर गाली गरििदए हुन्छ । त्यसपछि पनि आयो भने जे गर्नुपर्छ, म गरौँला ।”

ऊ आश्वस्त भई । तर, युवक आउन छोडेन । उसले मुख छाड्न पनि सकिन । र, आमालाई भन्न पनि छोडिन । त्यसपछि बिहान सधैँ बससम्म पुर्‍याउन उसका बाबा जाने भए । ऊ फेरि पनि ढुक्क भई ।

त्यसको भोलिपल्ट बाबुछोरी बस कुर्दै थिए । उसले त्यसदिन युवकलाई कतै देखिन । उसका आँखा चारैतिर नाच्न थाले । एकैछिनमा उसले नजिकै पर्खालको आडमा युवकलाई देखी तर नदेखेजस्तो गरी । उसको बाबालाई ऊसँगै देखेर युवक आएन । परैबाट आँखा झिम्क्याएर गयो । त्यो कुरा उसले आफ्नो बाबालाई भनिन र युवकलाई पनि चिनाइन । सायद आमा त्यहाँ भएका भए चिनाउँदी हो ।

सधैँजसो बाबा पुर्‍याउन आउने भएपछि युवक नजिक आएन । कहिलेकाहीँ परैबाट आँखा झिम्क्याएर जान्थ्यो ।

अस्तिको मात्र कुरा । उसका बाबाले उसलाई गाडी चढाएर फर्के । गाडी अलिकति पर पुगेपछि त्यो युवक पनि गाडीमा चढ्यो । एक्कासि उसलाई डर लाग्यो । सफा आकाशमा अचानक क्षितिजको एक छेउबाट कालो बादल उसको मनमा निस्कियो र एकैछिनमा मनको पूरै आकाश ढाक्यो ।

सबै भन्छन् ऊ रिसाए पनि उसको ओठ र आँखा रिसाउँदैनन् । रिसाएको देखिँदैन । रिस देखिने मुख्य केन्द्र नै ओठ र आँखा । त्यहाँ रिस नदेखिएपछि उसभित्र उठ्ने रिसले शरीरको कुन झ्याल वा ढोकाबाट चिहाएर हेर्ला ? यो कुरा धेरैजसो उसका साथीहरूले भन्छन् । त्यसमा पनि अझ केटा साथीहरूले ।

अचानक युवक अगाडि देखा पर्दा त्यही भयो । ऊ रिसाए पनि आँखा र ओठ मन्दमन्द मादक मुस्कुराइरहेजस्ता भए । युवक त उसलाई देखेपछि मुस्कुराउने नै भयो । संयोगले उसको आडको सिट खाली थियो । मुस्कुराउँदै युवक आडमा आएर बस्यो । ऊ असहजजस्तो भई । एउटै सिटमा भए पनि युवकले सामान्यतया अल्लारेहरूले देखाउने अशिष्टता देखाएन र स्पर्शमा आतुरता पनि देखाएन तर उत्सुकता भने देखायो । बसको एउटै सिटमा कोचिएर बस्नुपर्दा जसरी जहाँजहाँ छोइनुपर्ने हो, त्यसरी छोइयो । यसको अतिरिक्त युवकले उसको हात छुन खोज्यो, हत्केला र औँलाहरू । सकेन । उसले युवकलाई देख्तै नदेखेजस्तो, वास्तै नगरेजस्तो गरी । त्यसो नगरेको भए सायद युवकले उसको हात समाउने साहस गर्ने थियो ।

कुदिरहेको बसको झ्यालबाट हेर्दा हिँडिरहेजस्ता देखिने सकड किनारका रूखहरू, घरहरू, पहाडहरू र पहाडभन्दा पर र माथि अनि पहाडसँगै खेलिरहेका बादलहरू हेरिरहेझैँ गरिरहेकी थिई । उसले देखेका ती सबै प्राकृतिक र कृत्रिम दृश्यभन्दा भव्य दृश्य देखेझैँ युवक धेरै यसलाई थोरै उसले हेरेका दृश्यहरूलाई हेरिरहेको थियो ।

आफूतिर ध्यान खिच्न युवकले भन्यो, “हेर न तिम्रो र मेरो जाने बाटो र बस पनि एउटै परेछ ।” ऊ केही बोलिन । हेरिरहेको ठाउँबाट आँखा हटाइन तर सुनिरहेकी छु है भन्ने संकेत अनुहारमा झल्कियो ।

फेरि युवकले सोध्यो, “यो संयोग तिमीलाई कस्तो लागिरहेछ ?” सकेसम्म ओठमा अलिकति पनि मुस्कान फुस्कन दिइन र आँखालाई हेरिरहेको ठाउँबाट नहटाउने प्रयास गरी । युवकले फेरि भन्यो, “म पनि तिम्रो स्कुलनजिकै संगीत सिक्छु नि ! तिम्रो स्कुल पनि ६ बजेबाट सुरु हुने रहेछ, मेरो म्युजिक क्लास पनि ६ बजेबाट ।”

यसपछि भने उसले आँखा युवकतिर नफर्काइरहन सकिन । त्यो हेराइ युवकलाई हतोत्साहित या प्रोत्साहित दुवै बनाउने खालको थिएन । तर पनि युवक उत्साहित नै देखियो । त्यसपछि अलिकति अझै नजिकिन खोज्यो शारीरकि र मानसिक दुवै हिसाबले । अनि सुस्तरी बोल्यो, “लभ इन फस्ट साइटमा तिमी विलिभ गर्छौ ?” अब भने उसले बोल्नैपर्ने भयो । सकिन । युवकले गोल कहाँ गर्न खोज्दैछ, उसले मनमनै बुझी । युवकले फेरि त्यही कुरा सोध्यो । उसले भनी, “यस्तो कुरामा म विलिभ गर्दिनँ । यो सब फिल्ममा मात्र हुन्छ । असली जीवन त्यसभन्दा फरक हुन्छ ।”

यसपछि युवक मौन भयो । त्यही मौनतामै उसको स्कुल आयो । बस रोकियो । बस रोकिँदा झन् उसको मन तीव्र गतिमा कुदिरहेको थियो । जमिनको बाटो होइन । पानीको बाटो पनि होइन । हावाको या बादलको बाटो होजस्तो उसलाई लाग्यो । जसको कुनै गन्तव्य थिएन । उसको मनमा सानोतिनो भुमरी आयो ।

बसबाट ओर्लिई । बसबाट ओर्लियो । अलिकति हिँडेपछि उसको स्कुल आयो । युवकको संगीत पाठशाला आयो कि आएन उही जानोस् । हुनसक्छ उसको मधुर आवाज नै युवकको संगीत पाठशाला हो ।

भोलिपल्ट पनि उसका बाबाले उसलाई स्कुल जाने बस चढाएर फर्के । अघिल्लो दिनको जस्तै अलिकति पर पुगेपछि त्यही ठाउँबाट फेरि पनि त्यो युवक त्यही बसमा चढ्यो । उसको मुटुको ढुकढुकी फेरि बढ्यो तर अघिल्लो दिनको जति होइन ।

उसको आडको सिट खाली थिएन । एकैछिनमा खाली भयो । हत्तपत्त त्यो सिटमा युवक आएर बस्यो । बस्ता हाँसेर बस्यो । ऊ केवल मुस्कुराउन खोजी । युवक अघिल्लो दिनको भन्दा अझ आत्मीय हुन खोज्यो । ऊ मौन थिई । मौन पोखरीभित्र धेरै माछा हुन्छन् भनेर युवकले बल्छी थापिरह्यो । बल्छी पनि के थाप्नु, थाप्नै परेपछि जालै थाप्नुपर्‍यो भन्ने सोच्यो तुरुन्तै । र, एकछिन सोचेर गम्भीर हुँदै भन्यो, “खासमा म तिम्रो स्कुलनजिकै म्युजिक सिक्न आएको होइन । मात्र तिम्रो अनुहार हेर्न आएको ।” उसको अनुहार उषाको लालीजस्तै रातो भयो । त्यही लालीलाई युवकले आफ्नो प्रेमको बिहानी सम्झ्यो । युवकको कुरा सकेसम्म मन नपरेको भाव उसले आफ्नो अनुहारमा देखाउन खोजी । शब्द, वाक्य केही फुटेन ।

युवकले गोजीबाट सानो कागजको टुक्रा मुटु झिकेझैँ झिक्यो र दाइने हातको हत्केलामा सकेसम्म उसले नदेख्ने गरी धेरैबेरसम्म खेलाइरह्यो । खेलाउँदा खेलाउँदै अनायास उसको अनुहारतिर पूर्णिमाको जून हेरेझैँ हेर्दै त्यो सानो कागजको टुक्रासहित युवतीको देब्रे हात सुरुमा विस्तारै र पछि च्याप्प समात्यो । उसले कुनै प्रतिक्रिया जनाइन । युवकले हात समाइरह्यो । युवकले हात समाउँदा पाखुराले पाखुरा, शरीरले शरीर, तिघ्राले तिघ्रा, खुट्टाले खुट्टा स्पर्श गरिरहे । त्यही स्पर्शको बाटो हुँदै स्वर्ग गइन्छ होला भन्ने कल्पनामा युवक स्वप्निल बन्यो । कुन्नि किन हो, तत्काल उसले युवकको हातबाट हात हटाउन सकिन । अरू पनि केही हटाउन सकिन । मात्र अप्ठ्यारो भाव प्रकट गरिरही ।

यत्तिकैमा उसको स्कुल आइपुग्यो । बस रोकियो । उसले युवकको हात आफ्नो हातबाट पन्छाएर सम्हालिएर उठी । हात पन्छाएर उठ्दा दुवैको हत्केलाको बीचमा चुपचाप बसेको सानो कागजको टुक्रा भुईंमा बेवारिसे भएर खस्यो । युवकले त्यसलाई हतारहतार टिप्न खोज्दा एउटा मान्छेको खुट्टाले कुल्चियो । र, पनि टिप्यो । ऊ बसबाट ओर्लंदै थिई । ओर्लंदै गरेकी उसलाई अधैर्य भएर तर सुस्तरी भन्यो, “म भोलि पनि आउँछु । यो कागजको टुक्रामा मेरो मन छ । भोलि तिमीलाई दिन्छु ।” त्यो मान्छेले नकुल्चेको भए तुरुन्तै दिन्थ्यो होला । ऊ स्कुलतिर लागी । ऊ जाँदा युवकलाई आफूबाट एक्कासि ठूलै कुरा छुटेजस्तो भयो । १० कक्षा भएकाले दिउँसो पनि उसको स्कुलमा थप कक्षा चलेको थियो । बिहानदेखि साँझसम्म उसको समय स्कुलको पढाइमा नै बित्थ्यो । घर आइपुग्दा ऊ थकितजस्तो देखिएकी थिई । धेरै पढ्दापढ्दै थाकेर आएकी छोरीलाई उसकी आमाले मीठोमीठो खाजा बनाएर राखिदिएकी थिइन् । आफूसँगै बसेकी छोरीको टाउको अनि जीउमा मायाले सुम्सुम्याउँदै भनिन्, “छोरी अब तिमीले अझ दुःख गरेर पढ्नुपर्छ । आइरन गेट आउन लाग्यो ।”

ऊ केही बोलिन । आमाले बनाइदिएको मीठो खाजा एउटा हातमा र अर्को हातमा कापीकिताबको झोला लिएर ऊ आफ्नो कोठातिर जाँदै थिई ।

आमाले भनिन्, “खाजा खाँदा त ढुक्कले खाऊ छोरी अनि पढौली ।”

आफ्नो कोठाको ढोका अगाडि टक्क रोकिएर उसले भनी, “अँ मम्मी, कति होमवर्क छ ।”

केही सोचेझैँ गरेर फेरि आमाले सोधिन्, “छोरी त्यो केटाले अझै पनि तिमीलाई दुःख दिँदैछ ?”

आफ्नो कोठाको ढोका खोल्दाखोल्दै फेरि टक्क अडिएर पुलुक्क एकपटक आमाको मुखमा हेरेर उसले भनी, “अहँ मम्मी ।”

त्यसपछि उसले आफ्नो कोठाको ढोका लगाई । उसकी आमा ढुक्क भइन् ।

नेपाल साप्ताहिक, अंक ४००

1 thought on “अहँ मम्मी !”

  1. this story is very nice.It is
    this story is very nice.It is a real social story which can be seen everywhere in our society. Every persons especially youths must read this story once.

Leave a Reply

Your email address will not be published. Required fields are marked *