मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
तपाइँको पहाड कहाँ हो ?
kbs — Wed, 06/30/2010 - 22:20
'तपाइँको पहाड कहाँ हो ?' मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा हो - "मेरो पहाड ताप्लेजुङ जिल्ला हो, फूलबारी गा. वि. स. ।" यसरी धेरै पल्ट धेरै ठाउँमा सामान्यरूपमा नै सामना गरिएको र सामान्यरूपमै जवाफ दिइएको यस प्रश्नमा अन्तरनिहित मर्म भने आजभोलि निकै गम्भीर लाग्न थालेको छ, निकै वजनदार र अर्थपूर्ण लाग्न थालेको छ । यस्तो किन लाग्न थालेको हो ? अथवा के यो एकाएक लागेको हो त ? जस्ता प्रश्नहरू पनि सँगसँगै उभिएका छन् । म मूल प्रश्न र त्यसैको दुईतिर उभिएका यी अन्य प्रश्नहरूको समेत अनुहार हेर्छु गम्भीरतापूर्वक । त्यसपछि आन्तरिक तथा बाहृय वातावरण र अन्य अनेकौँ कारणहरूलाई पनि सम्झन्छु । लाग्दैछ, मलाई आफ्नो पहाड सोध्ने यो प्रश्न चानचुने होइन, त्यसैले अब त्यत्तिकै हलुका पाराले जवाफ दिन सकिने
अवस्थासमेत रहेन । विगत केही समयदेखि केही मानिसहरूको महत्वाकाङ्क्षा यसरी बढेर गएको छ, उनीहरू सिङ्गै मुलुकलाई 'बर्थ डे केक' बनाउन र त्यसलाई टुक्राटुक्रामा बाँडेर उत्सव मनाउन आतुर बनिरहेको अवस्था विद्यमान छ । यस अवस्थामा व्यक्तिको परिचयको सन्दर्भ र महत्व फेरिनुका साथै बढेर गएको पनि छ ।
सम्झन्छु केही पुराना कुराहरू जुन हजुरबाबाट कथाजस्तै लाग्ने किसिमले पटकपटक सुनेको हुँ । उहाँ ताप्लेजुङको फूलबारी भन्ने ठाउँमा जन्मनुभयो चौरानब्बे वर्षअघि । फूलबारी कुनै बेला तेह्रथुम जिल्लामा पर्दथ्यो । हजुरबालाई ताप्लेजुङको हावा, पानी, माटो र अन्नले हुर्कायो, बढायो । उहाँले उहाँको बाबुबाजेले जस्तै त्यहीँ नै खाँबो गाड्नसमेत प्रयत्न गर्नुभयो तर परिवार पाल्नु र बढाउनु भनेको चानचुने कुरो कहाँ हो र ? एक टुक्रो पाखो बारी परिवारलाई चाहिने जति अन्न दिन असमर्थ भयो । शिक्षाको उज्यालो केवल मृगतृष्णा मात्र भएपछि बनिबुतो नै बाँच्ने आधार बन्न पुग्यो । वर्षर्भरि मुखमा माड नलाग्ने भएपछि वैकल्पिक कार्यको खोजी बाध्यात्मक आवश्यकता बन्दै गयो तर पहाडको दुर्गम गाउँसँग रोजगारीको वैकल्पिक उपाय केही थिएन । हजुरआमालाई नवदुलहीको रूपमा भित्र्याइसकेपछि एकातिर उम्रन थालेको सपनाको प्युसोलाई जोगाउनुपर्ने अवस्था र अर्कोतिर सपना देख्नु नै पनि दुःखको मूल भइदिने पीडापूर्ण क्षणलाई बोकेर हिँड्न हजुरबालाई साह्रै गाह्रो भयो होला । एक दिन केही नलागेर हजुरबाले पखेटा हाल्नुभएछ र भुरर्र डाँडापाखा, खोलाखोल्सा सबै नाघेर अङ्ग्रेजले शासन गरेको भारतमा पुग्नुभएछ । दुम्सीपाडा चियाबगानमा काम पाएपछि, केही नगदसमेत आर्जन हुन थालेपछि जीवनमा सपनाले ठाउँ पाउन थाले होलान् र तिनमा बिस्तारै रङसमेत चढ्न थाले होला । आफ्ना बाआमादेखि सबै भाइबहिनीलाई समेत उतै लगेर निकै वर्ष पसिनाले भिजाउनुभएछ दुम्सीपाडाको चियाबगानलाई । तिनै चियाका कलिला पातहरूजस्तै हरिया सपना त्यसबेला उहाँमा नउमि्रदिएका भए आज हामी सायद ताप्लेजुङका भीरपाखामा अर्काको भेडाच्याङग्रा चराउँदै हुन्थ्यौँ वा गाउँलेहरूका घर छाउँदै हुन्थ्यौँ होला अथवा अरबका ताता मरुभूमिमा सात, आठ हजार रुपियाँका लागि हरेक महिना आफूलाई क्रमशः समाप्त गरिरहेका हुन्थ्यौँ होला । सम्झँदा कहाली लाग्छ ।
यसरी निकै वर्षको नङ्ग्रा खियाइपछि चिया मिलको फिताले कत्ति पनि माया नगरी हजुरबाको दाहिने हातका केही औँलाहरू पनि खाइदिएछ । चियाबगानको 'गोरासाहेब'ले क्षतिपूर्तिबापत दिएको केही रुपियाँ बोकेर उहाँ २०१२, २०१३ सालतिर झापा, शनिश्चरे ३, कालीस्थानमा आइपुग्नुभएछ नाम खोज्दै, ठेगाना खोज्दै । यसरी झापामा जग्गा जोडेर स्थायी ठेगानाको किलो गाडेपछि ताप्लेजुङसँगको सम्पर्क पनि लगभग समाप्त भएछ हजुरबाको । दुम्सीपाडामै जन्मनुभएको मेरो बुबाले शिक्षादीक्षा झापामै लिएर घरजमसमेत झापामै गरेपछि झापामै २०२४ सालमा जन्मेको हुँ म ।
त्यो पुख्र्यौली थलो, त्यो फूलबारी ताप्लेजुङ मैले कहिल्यै देखेको छैन न त मेरा आँखामा त्यसको काल्पनिक तस्बिरै आउँछ कहिल्यै । तैपनि हजुरबाबाटै कथाभै"m सुनेको आधारमा बूढापाकालाई भनिदिने गर्थें - "मेरो पहाड त ताप्लेजुङ हो ।" वास्तवमा ताप्लेजुङ त मेरा जिजुबाजे र हजुरबाको पहाड रहेछ । मेरो बुबामा सायद अलिअलि धङधङीसम्म त होला तर पहाडै त बुबाको पनि हो कसरी भनूँ !
बाल मनोविज्ञानको एउटा सिद्धान्तअनुसार बालबालिकाहरूको सोच्ने, विचार गर्ने, बुझ्ने एवं अर्थ्याउने तौरतरिकाको लागि मस्तिष्कको प्रेमवर्क दुई साढे दुई वर्षको उमेरदेखि विकास हुन सुरु भई तेह्र, चौध वर्षसम्मको उमेर अवधिमा भइसक्छ । त्यसपछि अध्ययन, अनुभव आदिले प्राप्त हुने ज्ञानले उक्त प्रेमवर्क एवं चिन्तनको शैलीमा सामान्य परिमार्जन ल्याए पनि मूल चूरो वा आधारमा भने कहिल्यै परिवर्तन हुँदैन । मैले आफ्नै आँखाले यो सुन्दर प्रकृति र आफ्नै जीवनको समेत पहिलो दर्शन शनिश्चरे ३, कालीस्थान झापामा गरेँ । त्यसपछिका जीवनका सर्वोत्कृष्ट प्रथम सत्र वर्ष त्यहीँ बिताएँ । मनोविज्ञानको सैद्धान्तिक पक्षलाई विचार गर्दासमेत मेरो शरीरको विकास, मेरो मस्तिस्कको निर्माण एवं विकास, मेरो हिँडाइ, सोचाइ, बुझाइको तरिकाको विकास एवं मानसिक संयन्त्र झापामै बन्यो । झापाकै अन्न, पानी, हावा र माटोले बन्यो । आज म काठमाडौँमा बसेको पच्चीस वर्ष भइसक्ता पनि काठमाडौँ किन अनुभूत हुँदैन मभित्र, काठमाडौँ किन ग्रहणीय बन्दैन अन्तरआत्मादेखि नै ? म किन सपना, विपना सर्वत्र झापा अनुभव गर्छु, झापा देख्छु, झापा सुन्छु र झापाली बोली बोल्छु- विचार गरिरहेको छु । जो कोहीले सोधे पनि तपाइँको घर कहाँ हो ? विनासोचसमझ टेपरिकर्डर खोले जसरी अनायास निस्किहाल्छ मुखबाट - 'झापा ।' त्यसपछि 'काठमाडौँमा कहाँ नि ?' भनेर अर्को प्रश्नले ठुँगेपछि मात्र सम्झनुपर्छ काठमाडौँमा कहाँ बस्छु म भन्ने कुरा । त्यसपछि सम्झेर भन्ने गर्छु- "बुद्धनगर, बानेश्वर ।"
काठमाडौँमा बसेको ठाउँ सम्झनुपर्ने, झापा सम्झनामा स्वतःस्फूर्त आउने किन हुन्छ ? यो स्वतः छ मेरो मानसिक निर्मितिमा बालमनोविज्ञानको त्यही सिद्धान्तले काम गरेको छ । म संसारको जहाँसुकै पुगूँ न, मैले झापाली आँखाले हेर्ने रहेछु, झापाली मनले अनुभव गर्ने रहेछु, झापाली मस्तिष्कले सोच्ने रहेछु । मेरो शरीरको गन्धमा झापा आउने रहेछ ।
यस्तो अवस्थामा तर केही झापामै बसिरहेका मित्रहरू र अग्रज दाइहरू भने 'ऊ त काठमाडौँमा बस्छ, झापालीमा नगनौँ ।' भन्दारहेछन् । यो कुरा सुनेको दिन मलाई भाउन्न भएर आयो । पटकपटक छापामा र अन्य मिडियामा झापामा नाम ल्याइरहन गरेको मेरो प्रयत्नमा यति सजिलै पानी हाल्न मिल्छ ? यो सवाल ज्यूँदो भएर जाग्यो एक पटक । सम्झें- जसले जीवनको पहिलो पन्ध्र वर्ष तेह्रथुम, ताप्लेजुङ, पाँचथर वा झापा बाहिर अन्यत्रै बिताएर पछि मात्र झापा आए, उनीहरूलाई मतिर औँला सोझ्याएर झापाली होइन भन्ने अधिकार कसले दियो ?
तर यतिबेला मेरो चिन्ता यो होइन । म अत्यन्त चिन्तित बन्दै गएको कारण त योभन्दा पनि कैयौँ गुणा ठूलो छ । पत्रपत्रिकामा पढिरहन्छु - देशलाई 'बर्थ डे केक' मानेर काटेर खाँदै रमाउन खोज्नेहरू कोही झापालाई सङ्घीय लिम्बूवान् बनाउने भनेर उफ्रँदा रहेछन्, कोही समग्र मधेसको अभिन्न भाग हो भन्दा रहेछन् । विचरा त्यहीँको धूलोमाटोमा लपेटिएर त्यहीँको अन्नपानीले बनेका, त्यहीँको औलो र अन्य सहस्र दुःखसँग सदियौँ लडेका राजवंशीहरू, कोचे र मेचेहरू हामीजस्तै टुलुटुलु दण्डहीनताको पराकाष्ठा यो गाइजात्रे तमासा हेरिरहेको देख्छु । बडो विचित्रको र अकल्पनीय अवस्था छ यतिबेला । म विगत पच्चीस वर्षदेखि बसिरहेको यो काठमाडौँ एकाएक नेवाः राज्य भएको छ । मैले त्यसरी नै माया गरेको दोस्रो घरजस्तो सम्झेको पोखरा तमुवान राज्य भएको छ र अलिपरको पाल्पा मगरात भएको छ । यसो पूर्वतिर फर्केर हेरेँ भने ताम्सालिङ र त्योभन्दा अलि पर किराँत राज्य भनेको सुन्छु । राज्यलाई यसरी नै जातजातमा काट्तै र बाँड्दै जाने हो भने म बाहुनको कोखमा जन्मेको नेपाली झापाली कहाँको हुँ त खोइ ? झापामै पनि केही बुज्रुक मित्रहरू हामी झापा बाहिर बसेर सङ्घर्ष गरिरहेकाहरूलाई अलग गर्न चाहन्छन् भने त हामीले पुनः देशभित्रै देश खोज्नुपर्नेजस्तो अन्योलपूर्ण अवस्था भएन र ? देशको प्रत्येक नागरिक देशभित्र कहीँ न कहीँको हुन्छ, हुनु नै पर्दछ । यो जन्मसिद्ध र प्राकृतिक अधिकारलाई अस्वीकार गर्ने किसिमको उन्माद र उच्छृङ्खलताले मानिसहरूको मनमा विद्वेषको आगो रोपिरहेको छ । यो आगो बढेर जाला र यसको रापले आफूलाई झापाली अनि नेपाली हुँ भन्ने परिचयलाई नै नष्ट गरिदेला कि भन्ने चिन्ता बढिरहेको छ मेरो मनमा यतिबेला ।
देश केकको टुक्रा होइन, यसको सम्बन्ध मान्छेको भावना, अनुभूति र परिचयसँग हुन्छ भन्ने नबुझ्नेहरूलाई टाउकोमाथि थापेपछि यस्तै हुने रहेछ । देशभित्र ठाउँठाउँमा सीमारेखा कोरेर आफूखुसी भागबण्डा लगाएको, जनताको भावनालाई गिजोलेको, हिलो छ्यापेर फोहोर गरेको र रक्ताम्य पारेको टुलुटुलु हेरेर बस्नु परेको आफ्नो विवशता देखेर साह्रै दिक्क लाग्छ ।
यिनै सबै चिन्ताहरू र पीडाहरूको माझमा उभिएर म झापालाई स्पष्ट अनुभूत गरिरहेको छु । स्पष्ट देखिरहेको छु त्यहाँको हरियाली, त्यहाँको सुन्दरता र त्यहाँको दुःखपीडाको साङ्गोपाङ्गो तस्बिर पनि । पहाड कहाँ हो भनेर सोध्नु भनेको वास्तवमा तपाइँको उत्पत्ति कहाँ भएको हो भनेर सोधेको नै होइन र । तपाइँ कहाँबाट आउनुभएको हो भनेर सोधेको होइन र । भिल्लको देशमा मणि भनेजस्तो यतिका वर्ष कुरै नबुझेर त्यत्तिकै बरालिएर हिँडेछु । झापामा भारत विहारका गलगलिया, पूणिर्या आदि विभिन्न ठाउँबाट खेतीमा काम गर्न आएका भारतीयहरू घर र्फकंदा देश जाने भन्थे । उनीहरू आफ्नो गाउँलाई नै आफ्नो देश भन्थे सिङ्गो भारत वा विहारलाई होइन । अहिले सम्झन्छु - देश वा पहाड वा परिचयको मर्म अपठित नै भए पनि उनीहरूले उहिले नै बुझिसकेका रहेछन् । मलाई मात्र यति कुरा बुझ्न यति लामो समय लागेको रहेछ । अहिले गुटगुटका दाबीहरूबीच, बढ्दो अराजकता र उच्छृङ्खलताबीच, देशले टुक्रनुपर्ने सम्भावित खतराको त्रासबीच झल्याँस्स ब्यूँझेको छु र विपनाको स्पष्ट उज्यालोमा सबै चित्र प्रस्ट देखिरहेको छु, मेरो आफ्नो पहाड पनि प्रस्ट देखिरहेको छु । मलाई यसपछि स्पष्ट बोध भएको छ मेरो पहाड कहाँ रहेछ भन्ने कुरा । मैले कत्ति हलुकासँग लिएको रहेछु यो विषयलाई । म काठमाडौँ बसूँ वा युरोप, अमेरिका पुगूँ, मसँगै मेरो पहाडको अंश पनि जाने रहेछ । मसँगै सुत्ने रहेछ यो, मसँगै उठ्ने रहेछ, मसँगै हाँस्ने, रुने पनि रहेछ मेरो पहाड ।
म बारम्बार सामना गरिरहेको त्यही प्रश्नलाई एक पल्ट पुनः भेट्न लालायित भएको छु । म यसपालि सगर्व भन्नेछु - "मेरो पहाड झापा हो, झापाको शनिश्चरे ३, कालीस्थान हो ।"
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
17 min 7 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 43 min ago - hlw
22 hours 24 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- कथामा समाजको चित्र
- कुरो कुन्थरो
- असार
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार
- ऊ र उसको सहर
- साथी
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- "भाग्यको घाम डुबेछ "
- कसरी भनूँ म मनको कुरा यो
- मझधार
- गाजा र विस्फोटनका धुंवाहरु
- तेन्जिङ शेर्पाको सम्मानमा
- गजल
- त्यो भीडमा सिंढी चढ्दा
- म चाहन्न तिमीलाई अझै दुख दिन
- gazal
- जिन्दगीका सबै हारहरूमा अघि बढ
- परिवर्तन

Post new comment