Skip to content


अन्धकारको अवशानमा हिँडेको उज्यालो पथको खोजीमा यात्रारत छु । निरन्तर बगिरहने एउटा गतिको अन्वेषणमा छु । सोचिरहेछु, यो गतिमा त्यो उज्यालो पथ कहाँनेर छ ? यो गतिमा त्यो अन्वेषण कुनबेला जोडिन आइपुग्ला ? एउटा यान्त्रिक गतिले मात्र जीवनलाई कस्तो गति देला ? चाहन्छु, यो गति मात्र गतिको लागि नहोस्, एउटा लक्ष्यको निकास बनोस् ।

वरिपरि झलमलाएका बत्तीका मालाहरूसँग, सडकमा कुदिरहेका उज्याला आँखाहरूसँग, सडकको डाइभर्सन पुलमुनि लुकेको अन्धकारसँग पटकपटक साउति मारिरहेछु तर सोच्न सकिरहेको छैन जीवनको उज्यालो कहाँनेर छ ? उज्यालो छैन भनूँ वरिपरि बत्ती मात्रै छ, गति छैन भनूँ सडकको यान्त्रिक गतिलाई जीवन दिन ध्यानस्थ छु ।

मनमा भुलभुलाइरहने यी भावुकताका मूलहरू कविताका स्रोत हुन् या निबन्धका ? या हुन् आफ्नै आकारहीन सोचाइका अमूर्त रूपहरू ? यो चिन्तनमा लय छ या भावनाको झङ्कार भन्न सक्तिनँ । आकारहीन रूपलाई जे मानिदिँदा पनि त हुन्छ । उडिरहेको बादलमा कलाकार के देख्छ ? बगरमा लडिरहेको ढुङ्गोमा मूर्तिकार के खोज्छ ? प्रकृतिमा छरिएका रङहरूको संयोजन चित्रकारले कसरी गर्छ ? ठोक्रोमा बाँधिएका तारहरूबाट कसरी निस्किन्छ सङ्गीत ? बाँसको निर्जीव ढुङ्ग्रोमा कसरी धुन भर्छ बादक ? एउटा बिरुवा आफ्ना रूपका हाँगाबिँगा कसरी थप्दै जान्छ ? कसरी फैलिन्छन् त्यसको आकार र आयाम ? थाहा छैन, तर जे बन्नका लागि पनि एउटा लयचाहिँ पक्कै चाहिने रहेछ ।

लयबद्ध कुदिरहेको जीवनको यो अमूर्त यात्राले भोलि कुन रूप लेला ? अहँ, भन्न सक्दिनँ । ठम्याउन सक्दिनँ आफ्नै भोगाइका रूपहरू पनि । आकारहीन छु म यिनै अनुभूतिहरूजस्तै । सायद लयबद्ध छु आफ्नै पृथक्ताबोध नहुने विचारमा र हिँडिरहेछु ।

नदेखिएको भोलिमा म एउटा आकार खोजिरहेछु । लय दिन खोजिरहेछु यिनै सङ्गतिहीन भोगाइहरूलाई । सायद बाँच्नुको सार्थकता त्यही हो, समयलाई जसरी भेटियो उसैगरी चुपचाप स्वीकार्नु तर तर किन विद्रोही बन्छ मन ? किन सम्हालिँदैन चुपचाप लागेर । चेतनाको विद्रोह कहाँ कहाँबाट भुलभुलाएर आउँछ । केही गर्ने चेतनामा बाँच्नु सङ्घर्षलाई अघि लगाउनु रहेछ । हिँडिरहेका बाटाहरूसँग, कर्तव्यमा उभिइरहेका रूखहरूसँग, बगिरहेको नदीसँग नजिक हुन खोज्नुको अर्थ पत्थरबाट पृथक् हुनु रहेछ ।

नदेखिएको भविष्यमा कुन आकारको कल्पना गरुँ म ? तर फेरि भन्न मन लागिरहेछ जे बन्नका लागि पनि एउटा लय चाहिने रहेछ । गतिमा ध्यानस्थ एउटा लय चाहिने रहेछ । मैले खोजिरहेजस्तै लय । जीवनको लय तर भन्न सकिरहेको छैन, यो जीवन योजनाको निश्चित लयमा हिँडिरहेछ या छैन ।

पर चन्द्रागिरिका पहाडी शृफ्लामाथि कुदिरहेको क्षितिजका अनन्त रेखाहरूमा अडिन्छन् आँखाहरू । देवकोटाको प्रेमले अविदितको यात्रामा डोर्यायो सायद । प्रत्येक मान्छे देवकोटेली अविदितको यात्रामा जीवनानुभूततिका लहरहरूलाई जोड्न खोजिरहेछ र खोजिरहन्छ जीवनको लय ।

लयमा रहनु सबै गतिशील वस्तुहरूको नियम हो । आस्तित्विक चेतना हो । सबैलाई बाँधेको छ समयले । अनि समयलाई पनि बाँधेको छ लयले । समयको आफ्नै लय छ । समुद्रका छालहरूसँग सामुदि्रक अस्तित्व बाँचेको हुन्छ । छाल आएन भने, लहर चलेन भने समुद्रको औचित्य नै के रहृयो र ? फेरि पनि प्रश्निल छु, जीवनको गतिसँग जीवन हिँडिरहेको छ वा छैन ?

कालोपत्रे सडकको छातीमा लिपिक्कै टाँसिएर इन्जिनको प्रवाहमा गुडिरहेछु । दाँयाबाँया वारपार देखिने मान्छेहरूको गतिमा छु म तर मेरो सोचाइले त्यो गति लिन सकिरहेको छैन ।

मनले जे सोच्छ त्यो गर्नुमा जीवनको सङ्गति छ वा समाजले जे भन्छ त्यो गर्नुमा जीवनको अस्तित्व छ । जीवनको कुन मोडमा गएर भेटिन्छन् मनको बाटो र समाजको बाटो । समाज के देख्छ ? के मनले जे देख्छ, त्यही देख्छ समाज ? के भन्छ समाज ? सामाजिक जीवनसँग मेल नखाने व्यक्तिका हर इच्छाहरूले कहाँनेर पोखिन पाउँछन् ? यहाँनेर आख्यानकार कोइरालासँग सोध्न मन लाग्छ, कहाँ छ तिम्रो व्यक्ति स्वतन्त्रता ? तिमीले लेखेका कथाका हरफहरूको के वास्ता छ यो समाजलाई ? फगुनीका सयौँ रहरहरूसँग खेलवाड गर्ने यो समाज अपहरण र बलात्कार मात्र गर्छ, समाज फगुनीहरूलाई भैरवी बन्ने स्वतन्त्रता दिँदैन । विधवाका रङ्गीन सपनाहरू हर रात गहनाको पोकोसँगै चोर्छ । कर्नेल्नीका रहरहरूमा गोली ठोक्छ दिनदहाडै । आज समाज जीवनको लयको विरुद्धमा हिँडिरहेछ ।

नागरिक सर्वोच्चताको नारा घन्काउने जुलुशमा किन मारिन्छ नागरिक ? के रगत र मृत्यविहीन अधिकार माग्न र दिन सक्दैनन् कसैले ? किन समय यति अराजक बनिरहेछ ? मानिस अहंको लयमा किन यति ध्यानस्थ छ ? मानिसका कुन सोचसँग समाजका सोचहरू मेल खाइरहेका छैनन् । मानिसकै चिन्तनमा डोरिएको यो समाज आज किन लयको विरुद्ध हिँडिरहेछ ?

म सोचिरहेछु, समयसँग बगेको सीमाले छेक्छ कि मान्छेलाई आफैँसँग गाँसिएको सीमाले । कोही भन्छन्, हुने कुरा भएरै छाड्छन्, जे हुन्छन् त्यो प्राकृतिक हो । स्वाभाविक हो । मान्छेको बाँच्नुको आफ्नै क्रम स्वाभाविक छैन । सोच्नुको आफ्नै आस्था स्वाभाविक छैन । कहाँनेर छ जीवनसँग स्वाभाविकताको मिलनबिन्दु ?

समयलाई आफू जसरी हिँडाउनु सफलता हो वा समयमा टेकेर आफू हिँड्नु, सोचिरहेछु हिँड्नुहरूलाई । हेरिरहेछु गर्नुहरूलाई । हो आज सोच्नुको क्रमलाई लयबद्ध गर्दैछु, लयबद्ध गर्दैछु जीवनलाई, दिनचर्यालाई, भोगाइलाई अनि आगामी सोचहरूलाई ।

मानिस किन आफैँमा लयबद्ध हुन सकेन गीतका हरफहरूजस्तै । किन मिल्दैन जीवन यी अक्षरमा दिइएका रेखा र डिकोहरूझैँ व्यवस्थित भएर ? किन भएन भोगाइ सङ्गीतको झङ्कार ? अनुभूतिका तरङ्गहरूमा मिसिएर नै, जीवनसँग गाँसिएर नै कला यति सरस छ तर जीवन किन यति गुनासोमय ? किन गर्छ जीवन जुलुस, किन गर्छ जीवन धर्ना र तोडफोड ? किन गर्छ जीवन हत्या र अपहरण ? किन यतिविघ्न व्यथाहरूले पिरिएको छ जीवन ? कहाँनिर टुटेको छ जीवनको सङ्गति ? कहाँ बिरिएको छ लयको खोजी ? कविहरूको सम्बोधनले भनिरहेछ छेउ लाग- ँकिनकि सत्यको बाटोमा हिंसा हिँडेको छ । अत्याचार अडेको छ । कुशासन कड्केको छ ।” किन छेउ लाग्नुपर्छ मान्छेले मान्छेसँग हँ ? सायद देवकोटाले पनि बुझेनन् यो कुरा न दिनेश अधिकारीले बुझे ।

जो मिलेका सुन्दर हरफहरूमा आफ्ना अनुभूतिलाई लयबद्ध बाँध्छ, उसैले किन गर्छ यस्तो विधि जीवनको गुनासो ? जो सङ्गीतका सिम्फोनीहरूमा समयका सुरहरू आबद्ध गर्छ, किन हुन्छ उसैको जीवन पीडापूर्ण ? के कलामा बाँच्नु भनेको पीडाको अनुभूतिको अनुवाद गर्नु मात्र हो ? के सुखानुभूति मात्र कलामा छ ?

भोग्दभोग्दै जीवन किन यति धेरै बिझ्न थाल्छ ? हो यो एउटा मीठो कथा हो, यो एउटा मीठो उपन्यास हो, यो एउटा मीठो गीत हो । एउटा मात्रै होइन थुप्रै महाकथाहरूको गथासो हो । एउटा मान्छेको जीवन थुप्रै कविताहरूको महाकाव्य पनि हो । एउटा स्वतन्त्र जीवन सुन्दर आख्यानमा जेलिएको उपन्यास पनि हो तर यी कलाहरूमा हुने मिठास र कलाले मनमा छुने मिठासले जीवनलाई बिस्तारै छोड्न थालिरहेछ । किन जीवन अक्षरहरूमा मात्रै सरस बाँचिरहेछ ? जीवन आफ्नै अस्तित्वमा कहिले सरस हुन्छ हँ ? कि रूप बदलेपछि मात्रै कुनै पनि वस्तुको मूल्य बढ्ने हो ? साहित्यमा बढेको जीवनको मूल्य वास्तविक जीवनमा किन घटिरहेछ ?

जीवनको औचित्य खोज्नेहरूको भीडमा अक्षरको साकार ज्योति खोज्न प्रत्येक दिन कीर्तिपुरको डाँडाले डाकिरहेछ । ज्ञानको महाज्योति बाल्न देवकोटाको सालिकलाई परिसरमा ध्यानस्थ साक्षी राखेर विश्वविद्यालयका कोठाहरूमा जीवनको खोजी गर्ने हूलहरूसँग छु म अचेल । लय बिर्सिएका शब्दहरूमा जबरजस्ती बसेका अक्षरहरूझैँ कक्षाकोठाको पङ्क्तिलहरमा झुण्डिरहेछु ।

नयाँ नेपालका सन्ततिले बिर्सिन थालेको राष्ट्रिय झण्डाको खुइलिँदै गरेको रङमा जस्तै काठमाडौाको धूलाम्य आकाशबाट चन्द्रमाको प्रकाशले धीमा स्वरमा बोलिरहेको छ- तिमी कहिले भेट्छौँ हँ जीवनको लय ? निरूत्तरित छु । यन्त्रस्थ गतिमा सवार छु । छुटिरहेको सडकको दूरी नाप्ने काम इन्जिनको रहेछ, मन त आगामी दूरी मात्र नापिरहन्छ ! जति पार हुन्छु उत्तिनै बाँकी रहेको देख्छु जीवनको सडक । समयको गति ममा निरन्तर छेडिइरहेछ र छुटिरहेछ मबाट । म निरन्तर छुट्नुलाई होइन आउनुलाई खोजिरहेछु । भविष्यको गतिको खोजीमा, जीवनको लयको खोजीमा !

धापाखेल, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *