Skip to content

पहिलो रोजाई !! अमेरिका नै किन? पलायन हुनु कति जायज?

संसारको महाशक्ति अमेरिका, विश्वको नम्बर १ शक्तिशाली राष्ट्र l हाम्रो जनमानसमा यहि शब्द नै काफी छ l अमेरिकाको बारेमा संसारका सबै राष्ट्रका जनताले थोर बहुत रुपमा भए पनि जानेका बुझेका छन् l यो प्रसंग अमेरिकाको बारेमा बयान लेख्न लागिएको होइन l हामी नेपालीहरु अर्थात् संसारका गरिब राष्ट्रका मध्यम बर्गीय जनताहरु किन अमेरिका पुग्न लालायित हुन्छन् त ? विशेष गरि अमेरिका गएर पैसा कमाउने अनि सम्भव भएमा ग्रीनकार्ड पनि बनाउने साथै त्यहाको नागरिक बन्न आतुर हुनको कारण के हो? आखिर अमेरिकामा के छ त्यस्तो चुम्बक? संसारका लाखौ आप्रवासीहरु किन हरेक बर्ष ओइरिरहन्छन् किन? हाम्रो देश नेपालबाट बिभिन्न तरिकाले भिजिट भिसा, बिद्यार्थी भिसा, ट्रान्जिट भिसा, बिजनेस भिसा लिएर कोहि सांस्कृतिक कार्यक्रम, खेलकुद टुर्नामेन्ट भाग लिएर इत्यादी अनेक किशिमले नेपालीहरु अमेरिका पुग्छन् तर थोरै मात्र भिसा अबधि भित्र नेपाल फर्कन्छन्, किन? अमेरिकी नागरिकता लिएका, ग्रीनकार्ड भई सकेका व्यक्तिले आफ्नो परिवारलाई छिटो छिटो अमेरिका ल्याउन हतार हुन्छ, किन?

अहिले सम्म नेपाली बिद्यार्थीहरुको पहिलो रोजाई अमेरिका नै रहेको छ, ताकी अरु देश भन्दा यहाँ कलेज फी महगो छ l अमेरिकामा अध्ययन सके पछि पनि ती बिद्यार्थीहरु नेपाल फर्कन चाहदैनन्, किन? कोहि मध्यम वर्गीय नेपाली बिद्यार्थी, आफ्नो पढाई खर्च जुटाउन नसकेर वा पढ्न तिर ध्यान नदिएर काम तिर मात्र लाग्छन्, किन? भिजिट भिसामा एयरपोर्टमा स्टाम्प लगाउदा अधिकतम ६ महिनाको लागि बस्ने अनुमति हुन्छ, तर नेपालीहरु किन त्यो ६ महिना भित्र फर्कदैनन्? नेपालमा चर्चित कलाकारहरु सांस्कृतिक टोली लिएर यहाँ आए पछि सबै जना कलाकार फर्कदैनन्, किन? ट्रान्जिट भिसा लिएर पानीजहाजमा काम गर्न या अमेरिका ट्रान्जिट हुदै अर्को देश जानु पर्ने नेपालीहरु, अमेरिका ओर्ले पछि त्यही बस्छन्, किन? अझ नेपालमा अमेरिकन भिसा पाउन नसक्नेहरु मेक्सिको, करिबियन् टापु हुदै अमेरिकी सुरक्षाकर्मी पुलिसको आँखा छल्दै बिभिन्न तौर तरिकाले अमेरिका छिर्छन्, किन?

अमेरिकी सरकारी नीति “डीभी लोट्टरी” मार्फत नेपालीहरु बर्षेनी सयौ आउने गरेको तथ्यांक छ l हरेक बर्ष लाखौ नेपालीहरु अमेरिकी ग्रीनकार्डको सपना बुनेर डीभी भर्ने गर्छन तर थोरै भाग्यमानीहरु मात्र चिठ्ठामा छानिन्छन् र चिठ्ठा पर्नेहरु पनि मुस्किलले निकै कष्ट गरेर मात्र अमेरिका आउन पाउछन् l आखिर अमेरिका आउन पहुच हुनेलाई कुनै गाह्रो छैन, लिगल स्टाटस अनि हुने खाने वर्गलाई भिसाको खासै समस्या छैन l तर मध्यम गरिव वर्गलाई त्यति सजिलो गरि भिसा मिल्ने वाला छैन, कि त आफु काम गरेको कम्पनि अर्थात् सरकारी ओहदाको मान्छे हुनु पर्यो l अनि जो जसको कोहि पनि छैन, त्यो व्यक्तिले अमेरिकी भिसाको लागि कुनै दलाल या एजेन्टको सहारा लिनु पर्ने हुन्छ l त्यो दलालमा पनि छोटे दलाल, पेटी दलालहरु हुन्छन्, मुस्किलले कुनै दलाल भेटे पछि भिसाको मोल मोलाई हुन्छ l कहिले पनि त्यो व्यक्तिले मुख्य दलाललाई भेट्न पाउदैन मतलव भिसा मिलाउने त्यो मुख्य दलाल अदृश्य हुन्छ, उ पर्दा भित्रबाट निर्देशन मात्र गर्छ l दलाल एजेन्ट मार्फत भिसा मिलाउन १९९७/९८ तिर ७-८ लाख देखि १० लाख सम्म अनि अहिले २०१० सम्ममा १५-१६ लाख सम्म लाग्छ भन्ने सुन्ने गरिएको छ तर यकिन साथ भन्न सकिने ठाउँ छैन,किनकि वास्तविकता कसैले खुलेर कुरा गर्दैनन् l अमेरिका भिसा मिलाई दिने भन्दै ठगि कारोबार गरेर सोझा नेपालीहरुलाई डुबाउने अनेकौ दलाल एजेन्टहरु अझ पनि सक्रिय छन् l

अत्यन्त गरिव वर्गले पैसा खर्च गरेर अमेरिका जाने सोच गर्न पनि सक्दैनन् l यो उनीहरुको पहुँच भन्दा माथिको कुरा हो, कसैले दया माया लागेर या अमेरिकीले आफै लगेमा छुट्टै कुरा भयो l नेपालमा मध्यम वर्गीयहरुनै अमेरिका लागि बढी लालायित भएको पाईएको छ l अमेरिका आउनलाई दलाललाई पैसा खुवाएर आउदा आफ्नो घर खेत बेच्नु परेको यथार्थता पनि निकै छन् l अनि यहाँ अमेरिका आई सके पछि नेपालमा आफ्नो घर परिवारमा मरण परण हुदा घर फर्कन नसकेका अनेकौ उदाहरणहरु छन् l अमेरिका आई सके पछि इलिगल रुपमा बस्नेहरु ग्रीनकार्ड नभईन्जेल सम्म अमेरिका बाहिर जान पाउदैनन् l इलिगल मान्छे एक पटक अमेरिकाबाट निक्ले पछि फेरी अमेरिका फर्कनु निकै गाह्रो नै हुनेछ l अमेरिकामा ग्रीनकार्ड अनिवार्य सबैलाई मिल्छ नै भन्ने छैन र ग्रीनकार्ड बन्ने प्रोसेसमा भए पनि कति बर्ष लाग्ने हो, त्यो कुनै यकिनका साथ भन्न सकिदैन l

यसरी अमेरिका विदेशिने क्रममा विशेष गरि नेपालका राष्ट्रिय कलाकारहरु, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाडीहरु अनि हिमाल चढ्ने पर्वतारोहीहरु छन् l सर्व साधारण नेपालीहरु यसरी बिदेशिनु त्यति चर्चा हुदैन तर राष्ट्रका गहना भनेका नै कलाकार, खेलाडी र साहसी सगरमाथा चुचुरो चढ्नेहरु शेर्पाहरु हुन् l उनीहरु अमेरिका पलायन भई रहेका छन्, किन? करांते डन थानेश्वर राई देखि लिएर तेक्वानदो, ब्याटमिन्टन, फुटबल इत्यादी खेलाडीहरु करिब ५०-६० जनाको हाराहारीमा अमेरिकामा छन् l बिधान लामा, दिवाकर महर्जन, सीता राई गरि तिन दर्जन जति राष्ट्रिय साथै अन्तराष्ट्रिय तेक्वानदो खेलाडीहरु अमेरिकामा छन् l तेक्वानदो खेलाडीहरु केहि मात्रामा यहि पेशामा संग्लग्न छन् l राष्ट्रिय फुटबल खेलाडीहरु राजन रायमाझी, देव नारायण चौधरी सहित ९-१० जना अमेरिकामा छन् l उनीहरु आफ्नो व्यावसायिक पेशालाई एक साइडमा थान्को लगाएर अन्य काम गरि जिबिको पार्जन गर्दै छन् किन? राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरु सरोज खनाल देखि लिएर प्रेमराजा महत, रुपा राना, सारंगा श्रेष्ठ, पुजा चन्द, नारायण त्रिपाठी इत्यादी “क” वर्गका कलाकार मात्रै ४०-५० जनाको हाराहारीमा भएका कलाकारहरु यहाँ अन्य पेशा अंगालेर बसेका छन्, किन? सगरमाथा चढ्ने शेर्पाहरुको झन् लामो लर्को नै छ, २० पटक चढ्ने आप्पा शेर्पा देखि लिएर लामा जान्ग्बू शेर्पा( ९ पटक), काजी शेर्पा(छिटो चढ्ने), आंग छिरिंग शेर्पा(पहिलो पत्रकार), ल्हाक्पा शेर्पा(महिला आरोही, ५ पटक), मिंग्मा छिरी शेर्पा( ७ पटक) इत्यादी झन्डै ३०-३५ जना पर्वतारोहीहरु यहि अमेरिकामा बसेका छन्,किन?

यहाँ राष्ट्रका गहनाहरु मात्र पलायन भएका होइनन्, देश चलाउने प्रशासक देखि लिएर राष्ट्र निर्माणमा धुरन्धर योगदान दिन सक्ने अनेकौ प्रतिभाशाली दक्ष जनशक्ति अमेरिका पलायन भएका छन् l सयौ पीएचडी वालाहरु, मेडिकल डाक्टरहरु, इन्जिनियरहरु र श्रम गर्न सक्ने दक्ष युवाहरु अमेरिका पलायन भएका छन् l यसरी पलायन हुनेहरु अमेरिका मात्र नभएर अन्य युके, क्यानाडा, अस्ट्रेलिया, जापान अनि युरोपेली राष्ट्रहरुमा पनि पनि मनग्ये छन् तर अमेरिकामा विशेषवत सब भन्दा बढी छन् l

यसरी राष्ट्रका गहना अनि राष्ट्र बनाउने सक्ने दक्ष जनशक्ति विदेश पलायन हुनु राम्रो हो त? के यसमा पलायन हुने राष्ट्रका गहना (खेलाडी, कलाकार) अनि सीपयुक्त जनशक्ति भएका व्यक्तिहरुको मात्र दोष हो? कुनै पनि बिकशित राष्ट्रले आफ्नो जनशक्ति संसारको जुनसुकै देशमा भए पनि परिआएको बखत आफनै देशमा फिर्ता बोलाउछ, के यो हाम्रो देश नेपालले यस्तो उर्दी जारी गर्न मिल्दैन? हाम्रो नेपाल सरकारले यो कुरा सोच्न जरूरी छ कि छैन? यो बारेमा नेपाल सरकार अनि राजनीतिक नेताहरुले बुझेका छन् कि छैनन्?

अमेरिका, यस्तो राष्ट्र हो जहाँ परिश्रमी र जागरिलो व्यक्तिको निम्ति प्रसस्त अवसरहरु छन् l अमेरिकाको प्रजातान्त्रिक पद्दति संसारका सबै राष्ट्रका लागि एउटा उदाहरण बन्न सक्छ l स्थिर सरकार अनि समय सापेक्ष जनताको चाहना अनुरुप राष्ट्रपति चुनिन्छन् l अमेरिकाको साम्राज्यवादी सोच र त्यहिँ योजना अनुरुप अरु राष्ट्रलाई दबाउने, आफ्नो स्वार्थका साथ चलाउने सोच मात्र गलत हो उसको तर कुनै पनि अमेरिकी सरकारले अमेरिकी जनताका लागि ठोस् कदम चालेका छन्, जनताका लागि हरदम अमेरिकी सरकार मरी मेट्छ l जनताको सुरक्षा देखि शिक्षा, मेडिकल, लाइफ इन्स्योरेन्स, अन्य सुबिधाहरु सबथोक सरकारले जिम्मा लिएको छ l यिनै सुबिधा, सुरक्षा अनि सम्पन्नताका कारण संसारका अरु देशका आप्रवासीहरु अमेरिका प्रति आकर्षित भएका हुन् l एउटा ज्वलन्त उदाहरण उत्तर कोरियाले दुई जना अमेरिकी पत्रकारलाई पक्रेर राखेको बेला भूपू राष्ट्रपति विल क्लिन्टन आफै उत्तर कोरिया गएर छुटाएर लिएर आएका थिए l यसको मतलव अमेरिका आफ्नो जनताको लागि जे गर्न पनि हरदम तयार छ l

के, हाम्रो देश नेपाल यस्ता कुनै घटनाहरुमा तुरन्त कदम चालेको छ? इराकमा १२ जना मारियुन या अफास्गनिस्तानमा बन्धक बन्न पुगुन्, यस्ता अनेकौ घटनामा नेपाल सरकार कानमा तेल हालेर बसेको छ l जड कुरा, देश र जनताका लागि भनेर अघि सरेका राजनीतिक पार्टीहरु २०४६ को प्रजातन्त्र प्राप्ति पछि अहिले सम्म सरकार बनाउने र गिराउने खेलमा मात्र लागि रहने हो भने स्थिर सरकारको कल्पना गर्न पनि सकिने अवस्था छैन l जब सम्म स्थिर सरकार हुदैन तब सम्म हामी नेपाली अभागी नै रहने छौ l

यिनै बिभिन्न कारणका बाबजुद पनि सूचना प्रबिधि अनि सडक निर्माणमा निकै प्रगति भएको छ तर राजनीतिक चेतनाको हकमा हामी अझ पनि ५० बर्ष पछि छौ l हामी जनताले सहि राजनीतिक पार्टी र नेता छान्न असफल भयौ त्यसैको परिणाम हामी भोग्दै छौ l राजनीतिक पूर्वाग्रह गरि जुन सुकै ठाउँमा आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाइयो, जब जब नया सरकार फेरियो, तब अझ अरु राजनीतिक कार्यकर्ता भर्ति गरियो l नेपालमा नियम कानुनलाई किताबी रुपमा मात्र ब्याख्या गरियो व्यवहारमा उतार्न सकिएन, यसैको परिणाम स्वरूप हत्या, हिँसा हुदै दश बर्षे जनयुद्दले देशलाई थिलथिल बनाएको छ l जनयुद्दले हजारौ जनताहरु बिस्थापित भए झैँ दक्ष जनशक्ति नेपाल बाहिर पलायन हुन बाध्य बनाइए l राजनीतिक नेताहरुका निहित स्वार्थका कारण देश ओरालो तिर लागि रहेको छ l देश भित्रका जनता आफ्नो भोको पेटको जोहो गर्नको लागि बिदेशिन बाध्य भए, यसमा खेलाडी, कलाकार देखि दक्ष जनशक्ति सबै समाबेस भए l नेपालमा राष्ट्रका गहना( खेलाडी, कलाकार) अनि दक्ष जनशक्ति बाहिरिनुको एउटा कारण यो पनि हो l जहाँ दक्ष व्यक्तिले ठाउँ नपाए पछि विकल्प खोज्न बाध्य बनाइयो, यसैको परिणाम स्वरूप नया नेपाल बन्नुको सट्टा अझ खण्डहर बन्ने प्रक्रियामा छ l

यो प्रसंग अमेरिकामा मात्र पलायन भएका दक्ष जनशक्ति अनि कलाकार, खेलाडीहरुलाई मात्र होइन l संसारका अन्य राष्ट्रहरु युके, क्यानाडा, अस्ट्रेलिया, युरोप साथै बिभिन्न राष्ट्रमा कुनै न कुनै कारणवस् नेपालीहरु त्यहा पुग्नु भएको होला तर एउटा नेपालीले बिदेशी नागरिकता लिदैमा उसको संस्कृति चालचलन फेरिदैन, ऊ सधै नेपाली नै रहन्छ l हामी नेपालीहरु त्यहाँको नागरिक जस्तो जीवन यापन गर्न निकै कठिन हुन्छ नै l जुन किसिमले पलायन भएता पनि अब आफ्नो देश नेपाल तर्फ नजर फर्काउन जरूरी भएको छ l ग्रीनकार्ड या नागरिकता नमिल्ने राष्ट्रमा काम गर्न जानु भएका दक्ष युवा जनशक्तिले पनि आफ्नो देश तर्फ नजर लगाउनु पर्ने अवस्था छ l अब हामी नेपालीहरु बिस्थापित हुने तर्फ नसोचेर, सामाजिक जनचेतना फैलाएर हाम्रो मातृभूमि नेपाललाई सहि मार्गमा ल्याउन पर्ने अवस्था आएको छ l हामी सचेत नेपालीहरु एकतामा बाधिनु जरूरी छ l विदेशमा बसे पनि कुनै न कुनै बेला अर्को बिदेशी मित्रले तिमीहरुको देश यस्तो भनेर होच्याएको नमिठो सम्झना त अबस्य छ नै होला l सम्पूर्ण सचेत नेपाली दक्ष जनशक्ति, युवा शक्ति अब आफ्नो मातृभूमि फर्किएर राष्ट्र निर्माणमा लाग्नु पर्ने भएको छ l आफ्नो राष्ट्र गुम्ने हराउने अवस्था सिर्जना हुदैछ, राष्ट्र रहे हाम्रो नाम रहन्छ, राष्ट्र नै हराए, हामी सबै बेनाम हुने छौ l हाम्रा पुर्खा वीरहरुले देखाएको स्वाभिमानी राष्ट्रियतालाई आत्मसात गरि नया नेपाल बनाउन कम्मर कसेर लाग्ने बेला आएको छ l डा. उपेन्द्र महतो, महावीर पुन जस्तै एक एक गरि हामी नेपाल फर्केर आफ्नो राष्ट्रको लागि केहि गर्ने सोच राख्यौ भने नया नेपाल बन्नलाई धेरै समय लाग्ने छैन, हाम्रो देश चाडै नै समृद् हुदै जानेछ l

अस्तु:

3 thoughts on “पहिलो रोजाई !! अमेरिका नै किन? पलायन हुनु कति जायज?”

  1. America America
    अमेरिकाको त्यो सम्पन्नता अनि त्यहाको स्वतन्त्रतालाई चुम्नको लागि पनि मानिसहरु त्यहा जान मरिहत्ते गरेका होलान नि…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *