Skip to content

आत्मपरकताको उत्कृष्ट नमुनाः निबन्ध विशेषाङ्क

  • by


निबन्ध साहित्यकै कान्छो विधा हो, आत्मपरकता झनै कान्छो होला । सिर्जनात्मक लेखनमा सबभन्दा गाह्रो लेखन आत्मपरक निबन्ध लेखन नै हो । हुन त लेख्नेहरूले आत्मपरकताका नाममा प्रशस्तै लेखेका देखिन्छन् तर मनमुटु छोएर मनै जित्ने रचना लेखिएका कमै देखिएलान् । एक त अनुभवको क्षितिज वृद्ध नभई निबन्ध लेखिँदैन । एक परिपाक्युक्त रचना बन्न बृहत् ज्ञान र अनुभवको एक समृद्ध कोश हुनैपर्छ । वास्तवमा आत्मपरक निबन्ध लेख्नु भनेको आफ्नै अनुभवको सागर मथेर रत्न निकाल्नेजस्तै प्रक्रिया हो । त्यसैले त आत्मपरक निबन्ध लेख्नेको अचेल खडेरी परेको वा अन्य विधामा जस्तो यसमा भीड नभएको भन्नु अन्यथा होइन ।

निजात्मक वा आत्मपरक कविताका बारेमा देवकोटाले भनेझैँ मुख्यतः यसमा विषयवस्तुलाई आत्मसात् गरी स्वत्वभाव प्रकटीकरणका अतिरिक्त कथ्य सौन्दर्य होस् । प्रस्तुति सोझो, सपाट र शुष्क नहोस्! चिन्तन र विचारका झिल्का उठी व्यङ्ग्य र सुधारका चेतना बलून्! प्रतीक र बिम्बको उपयोगले कथ्यको पुष्टि होस् । निख्खर र खँदिला अनुभूतिहरू आधार स्रोत बनून! भावुकताको रङ, काल्पनिकताको वेग तथा प्रवहणशीलताको पनि भूमिका चलोस्! श्रमसाध्य भएर आत्मिक राग खुलोस् तब न निजात्मक निबन्ध भन्नुको सार्थकता छ । अनि, आत्मपरक निबन्धको शैली पनि निर्बन्ध होस् । अन्तरङ्ग साथीसँग साथीका बातझैँ उन्मुक्त अभिव्यक्ति होस् । सम्बद्ध घटना, समस्या र विषय केवल बहाना बनून् । टीकाटिप्पणी र तर्कहरूद्वारा कथ्यको परिपुष्ट गर्दै गए पनि मूलरूपमा आत्मबिम्बनकै उद्देश्य रहोस् । केही मनमौजी अनुभवजन्य मसला हुन् । केही बहकिने र बरालिने प्रवृत्तिले तानोस्, केही भूलियोस्, केही भट्कियोस् किन्तु अन्ततः मूल विषयको सन्दर्भतिरै फर्कियोस् । सम्भवतः यस्तै आत्मपरक निबन्धका स्वरूप हुन् । यस कसीमा सङ्गृहीत निबन्धहरू पूर्णतया खरा नउत्रिएलान् किन्तु आ-आफ्नै नैबन्धिक धर्म विधिपूर्वक निर्वाह गरेका देखिन्छन् । अलिकति कविता, अलिकति कथा अलिकति संवाद, अलिअलि संस्मरण अन्तर्घुलन वा अन्तर्मिश्रण भएर परम्परागत विधिको विधाभञ्जन भई नवीन दृष्टि र प्रयोगात्मक स्वरूपतिर आजको निबन्ध उन्मुख छ र पाठकको रुचि, अभिलाषा र जिज्ञासा पनि त्यतैतर्फ बढ्दो छ । यसमा सङ्गृहीत कतिपय निबन्धहरू त्यही गति र प्रवृत्तिका देखिन्छन् । अधिकांश निबन्धहरू युगका समस्या, वेथिति र विसङ्गति तथा समसामयिक विडम्बनाप्रति केन्दि्रत रही गम्भीर र संवेदनशील प्रकृतिका हुन पुगेका छन् ।

वास्तवमा आत्मपरक निबन्ध लेखन समस्त सिर्जनात्मक लेखनमध्येकै जटिल प्रक्रिया हो, त्यसैले जतिसुकै गीत, गजल, मुक्तक र कविता लेख्नेहरू आत्मपरक निबन्ध लेखनमा प्रवेश गर्न हत्पति हिम्मत गर्दैनन् । अलिअलि भावना रसाएकै भरमा पनि गीत, गजल र मुक्तकहरू लेखिन्छन् । लामा कविताका निम्ति भने अलि लामै रसानुभवको तात्विक स्रोत चाहिन्छ किन्तु आत्मपरक निबन्धका निम्ति आत्मिक मुहानबाट अविरल बगिरहन सक्ने कुलकुले मूल नै चाहिन्छ । त्यो मूल फेरि तर्क, दर्शन र व्यावहारिक अनुभव आदिको लामै वर्षा नभइकन फुट्दैन । यो मेरो वैयक्तिक धारणा हो । यस धारणासँग सहमत हुने-नहुने विद्वान्हरूका आ-आफ्नै धारणा र अनुभव हुन सक्छन् । जे होस्, ‘मधुपर्क’ले आत्मपरक निबन्ध विशेषाङ्कका रूपमा उल्लेखनीय र सङ्ग्रहणीय उत्कृष्ट अङ्क निकाल्न सकेकोमा निबन्ध सिर्जनाकै सागर मथेर नौनीरत्न निकालेजस्तो प्रतीक भएको छ र रत्न निकाल्नेजस्तो महान् कार्यमा पङ्क्तिकार सम्मिलित हुन नसकेकोमा खिन्नताको समेत अनुभव गरेको छ । प्रकाशन स्रोतका भने आफ्नै सीमा छन् । पुरानो पुस्तादेखि नवीन पुस्तासम्म प्रतिनिधित्वको जे जति क्रम र संयोजन छ त्यो पनि अनुभवी, दक्ष र कुशल सम्पादनकै नतिजाको एक उत्कृष्ट नमुना देखिन्छ । तटस्थ साहित्यिक मनस्थितिबाट मात्र यस्तो स्तुत्य कार्य सम्भव छ । साहित्यिक इतिहासमै यस्ता योजकहरू धन्य छन् ।

विवेच्य विशेषाङ्कमा निजात्मक निबन्धबाहेक लेख समालोचनातर्फ डा. लक्ष्मणप्रसाद गौतमको ‘निबन्धका प्रकार ः सैद्धान्तिक स्वरूपमा’ ले निबन्धका प्रकारहरूको स्पष्ट र सरल सैद्धान्तिक परिचय प्रस्तुत गरेको छ । शिव रेग्मीको ‘सम्झना निबन्ध सङ्ग्रहमा पहिलो’ ले पहिलो निबन्ध सङ्ग्रहको सूचना प्रत्यक्ष पारेको छ । डा. जनकलाल वैद्यको नेपाल भाषाका निबन्ध र केही निबन्धकारले नेवारी साहित्यका निबन्धकारहरूलाई परिचित गराएको छ । त्यस्तै, डा. शैलेन्दुप्रकाश नेपालको नेपाली आत्मपरक निबन्धको विश्लेषणले निबन्धमा आत्मपरकताको आरम्भ र विकासका ऐतिहासिक तथ्यको विश्लेषण गरेको छ । सुकुम शर्माको ‘नेपाली निबन्धमा शङ्कर लामिछानेको विम्बले’ नेपाली निबन्ध साहित्यमा शङ्कर लामिछाने देवकोटापछिका आफ्नो अस्तित्वको प्रबल छाप छोड्ने, नवीन योगदानको रेखाङ्कन गर्ने सशक्त निबन्धकार हुन् भन्ने प्रमाणित गरेको छ ।

सारमा प्रस्तुत विशेषाङ्कमा शृङ्खलित निबन्धहरू परिवर्तनका ज्योतिजस्तै तथा मूल्यरूपका मोतीजस्तै चमकदार बनेका छन् । शब्द र भावलाई खेलाउन खप्पिस कुशल खेलाडीका नैबन्धिक योजना र तारतम्यहरू पनि मनोहर र आकर्षक छन् । अभिव्यक्ति प्रक्रियामा कहीँ व्यर्थै चुकेका र विस्तारमा कहीँ अनावश्यक फुकेका पनि लाग्दैनन् । कहीँ व्याख्यान, कहीँ भाषण, कहीँ टिप्पणी, कहीँ आनुप्रासिक तुकले आत्परकता वा निजात्मकताको स्वरूप र सीमा खजमज्याएर तोडमरोड गर्न खोजेको प्रतीक भए पनि रचनाको रूपमा सबै सुन्दर छन्, उत्कृष्ट छन्, अनुपम छन्, मौलिक र उल्लेख्य छन् । सर्वाधिक महत्त्वपूर्ण उपलब्धि के भने सबैले आ-आफ्नै पहिचानको उत्कृष्ट स्वरूपलाई प्रस्तुत गरेका छन् । समग्र निबन्ध सिर्जनात्मक बगैँचाका मनोहर फूलहरूझैँ विभिन्न रङ, रूप र रसमा आफ्नै विशेषता प्रदर्शित गरेका छन् ।

अन्ततः समग्र निबन्धमध्ये केहीकेही सपाट अभिव्यक्तिका वैयक्तिक अनुभव उतार्ने क्रममा सामान्यीकरण हुन नसकेका अनुभूतिहरू एवं समग्र स्वरूपमा सिर्जनात्मक वा सौन्दर्यात्मक प्रस्तुतिको केही कमी खट्किए पनि अधिकांश निबन्ध भाव र कला दुवै पक्षबाट उच्चकोटिका अनुभव हुन्छन् । अझ केही त सरलता र सहजतामै सौन्दर्यको सृष्टि गरेर अहा ! भन्ने खालका सिर्जित भएका छन् । केही शिखर व्यक्तित्वले आफ्नो सिर्जनात्मक सगर्व कायम गरेका छन् । जस्तै, ‘मेरो उही भुत्ते गिदी’का बालकृष्ण पोखरेल, पीपलबोटका अभि सुवेदी आदि छन् । त्यस्तै, केही नाम चलेका निबन्धकारले आफ्नो सिर्जनात्मक शक्तिको यथेष्ट उपयोग गरेका छन् । आफ्नो श्रम, सीप, प्रतिभा, ब्यूत्पत्ति र अभ्यासले आफ्ना यावत् अनुभूतिहरू खारेर निख्खर तुल्याएर सिर्जनात्मक स्वरूपलाई पर्याप्त सिँगारेका छन् । जस्तै, ‘जातको साल र जातीयताको नाल’का माधव काफ्ले, ‘शङ्कर आत्मगाथाको प्रतिध्वनि’का प्रकाश सायमी, ‘रित्तिन सकूँ म’ का निर्मोही व्यास आदि । केही निबन्धकारहरू सरल र सहज शैलीमा सरसता, सुन्दरता र सुवास सृष्टि गर्न नैसर्गिकरूपमै समर्थ देखिन्छन् जस्तै, ‘को भएर सुन्ने’का मञ्जुल, ‘भो मलाई शब्द चाहिएन’की मञ्जु काँचुली, ‘लालाबाला’का युवराज नयाँघरे, ‘दसहजार माइलको यात्रा’का पुन्य कार्की, ‘श्वेत सलाम’ का श्रीओम श्रेष्ठ ‘रोदन’ आदि । यिनले सामान्य पाठकमा सहजै मीठो प्रभाव छोड्छन् र उसको मनोमस्तिष्कमा सुन्दर सन्देश रोपी प्रेरणाको बिम्ब जागृत गर्छन् । मूल्यका दृष्टिले पनि यी उत्कृष्ट नमुना हुन्! रचनाभन्दा अधिक मूल्यवान् सिर्जनाका स्वरूप हुन् भन्नमा कत्ति दकस मान्नु पर्दैन । यिनले निबन्धकै नयाँ गति, दिशा र स्वरूप प्रदान गरेका छन् ।

सङ्क्षिप्त पाठ परिचयः महाकवि लक्ष्मीप्रसाद देवकोटाको हामीलाई कवितामा के चाहिन्छ ? भन्ने काव्यात्मक वा आलङ्कारिक शैलीको भाव र तर्कप्रधान निबन्ध, हृदयचन्द्रसिंह प्रधानको तस्बिर निजात्मक शैलीको विचारप्रधान निबन्ध तथा शङ्कर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याज, अमूर्तशैलीको चिन्तनप्रधान निबन्ध अन्यत्रबाट साभार गरिएका छन् । तीबाहेक निजात्मक भनिए पनि विविध प्रकारका, स्वरूपशैलीका दृष्टिले अनेक रूप, रङ्ग र प्रकृतिका सामयिक ३९ वटा निबन्धहरूका स्वर सन्देश र अभिव्यक्तिपरक शैलीको अति सङ्क्षिप्त परिचय विवरण यसप्रकार छ ः

कृष्णचन्द्रसिंह प्रधानद्वारा रचित उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ? भन्ने निबन्धले परिष्कृत विचार र चिन्तनद्वारा सामयिक दुर्दशा, आग्रह एवं खण्डित भावनाप्रति व्यङ्ग्यप्रहार गरेको छ एवं ऐक्यभावनाको निम्ति महत्त्वपूर्ण सन्देश मुखरित गरेको छ । आन्तरिक कमजोरीहरूलाई कुशलतापूर्वक केलाउँदै विभिन्न दृष्टान्त र तर्कले देशको महत्त्वमाथि जोडदार बहस गरेको छ ।

बालकृष्ण पोखरेलको मेरो उही भुक्ते गिदीले विचित्र आख्यान, नाटकीय योजना र कल्पनाभित्र ऐतिहासिक मिथकहरूको उपयोग गर्दै आफैँलाई व्यङ्ग्यको केन्द्रीय पात्र बनाएर दल र लेखकको बौद्धिक क्षितिजबाट बक्रगतिमा प्रस्तुत भएको निबन्धले प्रयोगको अद्भूत नमुना प्रस्तुत गरेको छ । कतिवटा म मा कमल दीक्षितले संस्मरणका झिल्का प्रस्तुत गरी पश्चिमबाट आएको आत्मपरक निबन्धका सन्दर्भमा कोशीय अर्थहरूमा निबन्ध र प्रबन्धको भेद अन्योल र भ्रमपूर्ण रहेको तथ्य उद्घाटित गर्दै म नै म को प्रयोग गरेर भाषिक आधार मै आत्मपरक निबन्ध हुन्छ भन्ने मधु हाँस्यसहितको निर्णय प्रकट गरेका छन् ।

रुम्सिङ भञ्ज्याङतिर उक्लिदामा तारानाथ शर्माले गन्तव्यप्रति अठोट गर्दै, बाटोका मनोरम दृश्य र घटनाहरूलाई आँखा र मनको सन्तुलित गतिमा अनुभूत गरेका मार्मिक अनुभूतिहरूलाई स्मृति पक्रदै, आफ्नै सहयात्रीहरूको रुग्ण र कमजोर देहमा पनि उत्साह र उमङ्गको अवस्थालाई सजीवरूपमा उतार्दै सेतो रङ्गप्रति मोह र दासताप्रति विद्रोह जनाउँदै रोचक शैली र शिल्पमा आफ्नो नियात्रापरक कथ्य प्रकट गरेका छन् ।

तेजेश्वरबाबु ग्वंगले समाधिस्थ प्रश्न सप्तषिर्कामा सामयिक विसङ्गति, अस्थिरता र अराजकताप्रति असन्तुष्टि र आक्रोशका भावहरू पौराणिक पात्र धुन्धुकारीको स्वभावसँग दाँजेर आनुप्रासिक कवितात्मक शैलीमा आफ्ना दृष्टिहरू फिँजारेका छन् । राजनीतिक आकाशमा समीकृत निकास नभएकोमा जटिल समस्याको बोध गराउँदै चुनौती र चेतावनी प्रकट गरेका छन् ।

‘झरीसितै झर्यो मन’मा राममणि रिसालले नदीनालाहरूको मुहान हिमालको महिमा वर्णन गरेका छन् । यो अक्षय सम्पत्ति पनि वातावरण बिगि्रँदै गएमा क्षय हुनसक्ने सम्भावनातर्फ पनि सङ्केत गरेका छन् । प्राध्यापन र प्रशासनका अनुभवको स्मरण गर्दै अन्तमा चरित्र र संस्कार बिग्रदै गएको अवस्थाप्रति चिन्ता प्रकट गरी आफ्नो पि्रय नेपाल पाताल नबनोस् भन्ने प्रार्थना गरेका छन् । ‘निहुरी मुन्टी न’ मा शेषमणि आचार्यले नेपाली वर्णमालामा २०औँ व्यञ्जनवर्णको रूपमा रहेको ‘न’ लाई चिनाउने क्रममा निहुरी मुन्टी न भनिने सन्दर्भबाट हाम्रा असङ्गत स्थिति र नकारात्मक प्रवृत्तिलाई हास्यव्यङ्ग्यात्मक शैलीमा उधिनेर गरिबी नै निहुरिनुको मूलतथ्य रहेको निष्कर्षसहित आफ्नै समस्याका अनेक प्रसङ्गहरूको फेरोमा समाधानसमेत गरेका छन् ।

अभि सुवेदीको पीपलबोट एकथलोको प्रतीक हो । त्यो स्वतः सिर्जित कविता हो, त्यो खुला केन्द्र हो, त्यो खुला ठाउँ हो र त्यो सिर्जनधर्मीहरूको खुला अड्डा हो भन्ने एक सुन्दर चैतन्य बिम्बको रूपमा उजागर गरी पीपलको बोटले ज्ञान काल्पनिकी, राजनीति, विद्रोह, काव्यकार चेतनाको अभिव्यञ्जना बोकेको दिव्य अनुभूतिमय स्मृति बिम्बलाई कलाको स्वरूपमा सिँगारेका छन् ।

को भएर सुन्नेमा मञ्जुलले तुम्लिङटारको यात्रामा जाँदै गर्दा बाटामा भेटिएका दुई जना बहिनीहरूमध्ये एकले निदाको बच्चा बोक्न त साह्रै गाह्रो दाइ भन्ने अनुभव कथनले अद्भूत मीठो अनुभूति प्राप्त गरी देशलाई पनि नबिउँझेको बच्चासँग दाँजेर एकदमै सरल र मनोहर ढङ्गले प्रकट गरेका छन् ।

‘भो मलाई शब्द चाहिएन’मा मञ्जु काँचुलीले शब्दले सही गति र प्रकृतिको अर्थवरण नगरेकोमा शब्दप्रतिका मार्मिक संवेदनाहरू सरल सुललित शैलीमा प्रकट गरेकी छन् । शब्दलाई अनेक अर्थध्वनि, घनत्व विचलन आदिले धमिल्याएको शब्दले नै बाटो र मोडहरूमा अलमल्याएको र छेकेको। सपार्नेभन्दा धेरै बिगारेको, देवता बन्नुभन्दा राक्षस भएको उल्लेख गर्दै शब्दका अतिशत्य नकारात्मक क्रियाकलापले नयाँ बन्ने संविधानप्रति सन्देह प्रकट गर्दै सामयिक विडम्बनाको सजीवचित्र उतारेकी छन् ।

‘गुरुकुलमा जुत्ता’मा रघु घिमिरेले केही सभा-समारोह र मन्दिरमा जुत्ता फुकालेर जाने चलनले विपरीत प्रभावका सामान्य मनोवृत्तिको चर्चा गर्दै जुत्ताका कारणले मन्दिरमा पनि आफ्नो मन विचलित भएको तथ्य प्रस्तुत गरेका छन् ।

‘रित्तिन सकूँ म’मा निर्मोही व्यासले आफ्नो जन्मकुण्डली त्यसमा उल्लिखित आयु र पिताको आयुको स्मरण गर्दै २०६३ को जनआन्दोलन-२ मा दुर्घटनामा परी आफूले भोगेका दुर्दान्त पिर र कष्टको कथा प्रस्तुत गरेका छन् । यसक्रममा कालसँग सङ्घर्ष गरी कालजयी कृतिको रचना गर्न समर्थ जगदीश घिमिरेझैँ सिर्जनामा पूर्णतया व्यक्त हुन सकूँ भन्ने उत्कट कामना प्रकट गरेका छन् ।

‘सिसिफस यत्न’मा महेश प्रसाईंले अनुभूतिको नदीमा छु भन्दै अनेक विकीर्ण विचारहरूको लम्बेतान प्रवाह प्रस्तुत गरेका छन्, साथै उनले आफ्ना कमी-कमजोरी र सीमाहरू खोतल्दै विश्वका महान् कविता जटिल परिस्थितिबाटै उत्पन्न भएका छन्, काँतरता, मिथ्यापन र उदासीनता मिलेर केही हासिल हुन सक्तैनजस्ता अनेक निश्चयात्मक अवधारणा प्रकट गरेका छन् ।

‘अलाउद्दीनको बत्ती’मा कृष्ण धरावासीले आस्था र विश्वासका बारेमा सतीदेवीको लास बोकेर घुमेका महादेवको दृष्टान्तमार्फत आफ्ना अवधारणा स्पष्ट्याउँदै समयले जस्तै बलवान्का हातबाट पनि सत्ता खोस्छ भन्ने दृष्टिकोण राख्दै जीवनलाई आस्था र विश्वासको धरातलबाट खसाउन हुन्न भन्ने जीवनवादी विचार प्रकट गरेका छन् ।

‘देवकोटासँग एउटा साँझको कायान्तरण’मा मोमिलाले फुल्दो गुलाफमा तìव ज्ञान खोज्ने र कलाको जोखिम उठाउने श्रद्धेय देवकोटाप्रति सम्बोधन गर्दै मौन संवाद गरेकी छन् । उनले आफू बाँचेको संस्मरणलाई सुन्दर कविताको रूपमा हेरी देवकोटाले झैँ मन्दविष पिएर जीवनलाई घात नगर्ने र बाँचेपछि जतिसुकै कष्ट र यातना पनि सहनुपर्ने आशावादी स्वर प्रकट गरेकी छन् । ‘लालाबाला,मा युवराज नयाँघरेले पस्दा सङ्गीन लिएर पसेका र फर्कंदा सन्तति लिएर फर्केका क्यान्टोन्मेन्टका लडाकुको अवस्थाबारे आख्यानात्मक शैलीमा गम्भीर र संवेदनशील विचार प्रकट गरेका छन् । युद्धभन्दा शान्ति सिर्जना र प्रेम नै बलशाली छ । त्यसैका प्रतीक हुन् तिनले बोकेका सन्तान । निष्ठुर राजनीतिका सामु उनले ‘लडाकु आमाले शिविरमा छोडेका सङ्गीन लिन नजाऊन् भोलि’ भन्ने गम्भीर प्रश्न राखेका छन् ।

‘जातको साल र जातीयताको नाल’मा माधव काफ्लेले सूचना, शिक्षा, सञ्चारले समृद्ध बन्न पुगेको यस युगमा पनि मानिसका निजी मनोविकार, महत्त्वाकाङ्क्षा, मृगतृष्णा तथा स्वार्थकेन्दि्रत लोभलालचले जातीय विभेदको जरासन्ध हलक्क बढी नेपाली समाजलाई सन्त्रस्त बनाइरहेको सामयिक विडम्बनाप्रति चिन्तित, गम्भीर र संवेदनशील हुँदै पौराणिक सन्दर्भसमेत प्रस्तुत गरी ज्ञानमूलक तार्किक अभिव्यक्ति प्रकट गरेका छन् ।

‘भोक ! मा तुलसीहरि कोइरालाले भोकका विभिन्न रुप वा प्रकारहरूको परिचयसहित भोकका विभिन्न प्रसङ्गहरूको चर्चा गर्दै भोक विषयको राम्रो विश्लेषण गरेका छन् । साथै, आफ्नै भोकका बारेमा पनि टिम्पणी गरेका छन् ।

‘दस हजार माइलको यात्रा’ मा पुन्य कार्कीले चीनका प्राचीनकालीन वृद्ध पुरुष लाउत्सेले भनेका कथाको प्रसङ्ग जोडेर जीवनका ससाना कदमले उच्चता हासिल गर्न सकिन्छ । शिखर आरोहण पनि ससानै कदमबाट हुन्छ भन्दै यात्राको गति र योजनाको महत्त्वमाथि भरपुर प्रकाश पारेका छन् ।

‘मति’मा मोहनबहादुर कायस्थले शब्दकोशबाट मतिका पर्याय खोज्दै नेवारी भाषाका एक गीतको अर्थ खोतल्दै मति शब्दबाट बनेका अनेक विशेषण र नामहरूको उल्लेख गर्दै मतिबाटै चरित्र निर्मित हुने तथ्य प्रस्तुत गरी जताततै सभ्यताको सुसंस्कृत मति दुर्लभ छ भन्ने निष्कर्षसहित मति शब्दको राम्रो व्याख्या विश्लेषण गरेका छन् ।

‘तपाइँको पहाड कहाँ हो !’ मा भीष्म उप्रेतीले ताप्लेजुङ फुलबारीमा जन्मिएर त्यहीँ हुर्केका आफ्ना बाजेको इतिवृत्त बताउँदै पछि बाजे र बुबा शचिश्चरे-३ झापामा आई बसोबास गरेका र त्यही आफ्नो हुर्के बढेको जन्मथलो भएको परिचय र आफ्नो प्रेमभाव दर्शाउँदै देशभित्र ठाउँठाउँमा सीमारेखा कोरी भागबण्डाको कुरा उठ्न थालेकोमा गहिरो चिन्ता प्रकट गरेका छन् ।

शङ्कर आत्मगाथाको प्रतिध्वनिमा प्रकाश सायमीले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेका रचनाबाट प्रभावित र प्रेरित भई उनलाई भेट गर्ने इच्छा जागेको किन्तु भेट्ने क्रममा शङ्कर शर्मा भेटेको आफ्नो संंस्मरण सुनाउँदै आफ्नै सक्रियतामा शङ्कर कोषसमेत स्थापना गरी शङ्करकै परिवारको जिम्मा लगाएको रोचक र प्रेरणाप्रद स्मृतिचित्र प्रस्तुत गरेका छन् ।

‘साधारण जिन्दगी !’ मा बिन्दु सुवेदीले नौलो स्वरूप लिएर प्रस्तुत भइरहेका मानिसहरूको जीवनशैलीप्रति व्यङ्ग्य गरेकी छन् । उनले टेलिभिजनमा देखिने एउटा विज्ञापनको प्रस्तुतिलाई कसरी सरल बनाउने भन्नेमा अङ्ग्रेजीमा भइरहेको छलफल र चन्दाको प्रसङ्गको चर्चा गरेर एक्सप्रेस जिन्दगीको नमुना देखाउँदै साधारण जिन्दगीमा प्रश्नचिहृन खडा गरेकी छन् ।

‘अनुभवहरूको जुलुस’मा जयदेव गौतमले रैतीबाट प्रजा र प्रजाबाट नागरिक बनेको नेपाली अर्थात् एक स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिक नेपालीले आफ्नो अनुभव र ज्ञानलाई जीवन दर्शन बनाउन नसकेको तथ्य उजागर गर्दै शासकले राज्यप्रति अविश्वास हटाउन नसकेको सामयिक विडम्बना व्यक्त गरेका छन् ।

‘म एक्लो र उदास उस्तै’मा गीता त्रिपाठीले दिदीको विवाह भएको र विवाह भएको आठ महिनापछि नै विधुवा हुनु परेको दारुण प्रसङ्ग प्रस्तुत गर्दै आफ्नै मनको परिधिमा छरिएका मनस्थितिको स्मृतिचित्र उतारेकी छन्, साथै विद्यार्थीलाई पढाउनुपर्ने वैरागी काइँलाको हाट भर्ने मानिस कविता सम्झेर गम्भीर बनेकी छन् ।

‘श्वेत सलाम’मा श्रीओम श्रेष्ठ रोदनले राजनीतिको चन्दन दलेपछि लालसलाम गर्ने सन्दर्भबाट सलामका विभिन्न प्रकार र तिनको विश्लेषणले रोचकताको सृष्टि गर्दै सरल र सहज शैलीमा बढी यान्त्रिक हुँदै गएको समाजमा बन्द हुँदा स्वास्थ्यका हिसाबले केही उपलब्धिमय रहेको तर्कसमेत राख्दै मीठो व्यङ्ग्यस्वरूप श्वेत सलाम गर्न पुगेका छन् । वास्तविक बन्द अन्धविश्वास, अमानवीयता र अराजकतालाई गर्न सक्नुपर्छ भन्ने सुन्दर सन्देशमूलक विचार प्रकट गरेका छन् । अमूर्त दुःखमा गोपाल विरहीले सबैको उद्दे्श्य दुःखलाई भुल्नु वा दुःखलाई आउन नदिनु हो । दुःखलाई कोही पनि मन पराउँदैनन् तापनि दुःख बिर्सिंदैन भन्दै दुःख अमूर्त रहेको विषयमा गहिरो चिन्तन प्रस्तुत गरेका छन् ।

‘मन पर्यो अमेरिका’मा पोष चापागाईंले छोरी विभालाई सम्बोधन गरी पत्रात्मक शैलीमा अमेरिकन जीवन शैली र संस्कृतिबारे प्रवाहमय तरिकाले प्रकाश पारेका छन् । उनले त्यहाँ कामको संस्कृति रहेको सकारात्मक पक्ष र अतिशय वैयक्तिक र भोगवादी प्रवृत्तिको नकारात्मक पक्ष दुवैको वर्णन विश्लेषण गरेका छन् ।

‘महानगर र म’मा अमर त्यागीले प्रायः सबैले देखेबुझेको र भोगेको राजनीतिक क्रीडाभूमि सुन्दर र कुरूप, माया र घृणा भौतिकता र आध्यात्मिकता, संस्कृति र विकृति, दुवैको प्रतिरूप महानगर काठमाडौँको कालो र सेतो, भित्री र बाहिरी दुवै अनुहारलाई काव्यात्मक र आलङ्कारिक शैलीमा स्पष्ट र निर्धक्कसँग एक्सरे गरेका छन् ।

‘निशब्द पोखिएको प्रेम’मा कुमारी लामाले एक वृद्ध भिक्षु र तिनको पछि लाग्ने कुकुरहरूबीच रहेको भाषाविहीन प्रेमलाई प्रकट गरेकी छन् । ती भिक्षु र पशुबीच रहेको सम्बन्ध र आत्मीयताको सङ्केत गर्दै मनमा प्रेमभाव जागे सारा संसार रमाइलो लाग्ने निष्कर्ष निकालेकी छन् ।

‘ढाका टोपीको कमाल’मा गोविन्द गिरी प्रेरणाले नेपालीको शिरको शोभा टोपीले नेपाली हुनुको पहिचान र स्वाभिमान दर्शाएको छ भन्दै यसले कुनै धर्म र जात नजनाइ शिरको शोभा भएको सङ्क्षिप्त बखान गरी परदेशी भूमिमा पनि आफ्नो पहिचान दिलाएको टोपीप्रतिको स्मृतिचित्र प्रस्तुत गरेका छन् ।

‘झण्डा र झगडा’मा ज्ञानेन्द्र विवशले राष्ट्रिय अखण्डता, राष्ट्रिय गौरव, राष्ट्रिय संस्कृति, राष्ट्रिय पहिचानको प्रतीक झण्डाका महत्त्वको प्रशस्त बखान गरी झण्डाले साहस, सन्तोष र धैर्य अनि सामाजिक बन्न प्रेरित गर्छ भन्दै झण्डाप्रति आस्था र विश्वास जगाउन खोजेका छन् ।

‘जीवन बाँच्ने ढङ्ग’मा प्रसन्नले आजका युवा मानसिकताको उत्खनन् गर्दै राजनीतिक अस्थिरताबाट अप्रसन्न भई हतारहतारमा चल्ने प्रवृत्तिले मन कर्ममा स्थिर हुन नसकेको कारण जनाइ आजको शैक्षिक पठनपाठनको शैलीदेखि दिक्क भई सोमरसमा मस्त हुनु पनि भ्रमको हुस्सुमा पर्नु हो भनेका छन् ।

‘घडी’मा हेम भण्डारीले घडीले जीवन पढ्न सिकाउँछ । समयको उपयोगिता बुझ्नेलाई मात्र घडीको महत्त्व छ भन्दै पिताले समयको गतिसँग चल्न सिकाउन नै बेलैमा घडी भिराइदिनु भएको हो । किन्तु घडीको आवश्यकता र संरक्षणको ज्ञान नभई घडीको पूर्णतया उपयोग गर्न नसकी झन् घडीलाई बिगार्न पुगेका छन् ।

‘अक्षरको विस्कुन’मा जीवनाथ धमलाले सिर्जनामा सत्य, शिव र सुन्दरको त्रिवेणी बग्नुपर्छ, अक्षरहरूमा जीवन, समय, कला र अनुभूतिको एकीकृत सङ्गम फैलिनु पर्छ अक्षरको तारतम्य नमिलेको स्थितिमा त्यो कृति नभई केवल कागजको बिटो बन्न सक्छ भन्दै सिर्जन प्रक्रियाका बारेमा आफ्ना धारणा स्पष्टसँग राखेका छन् ।

‘बूढो रुखको आत्मवेदना’मा कमल रिजालले रूखलाई मानवीकरण गरी सुललित र प्रवाहमय शैलीमा शक्ति छउन्जेल गरेका उपकार वृत्तिको वृत्त प्रस्तुत गरेका छन् साथै मानिस स्वार्थवश प्रकृतिको विरुद्ध हुँदै गएर वातावरण नै असन्तुलित भई बढेको बेथितिलाई वीरभद्र वा महाकालीकै अवतारले मात्र रोकथाम वा नियन्त्रण गर्नसक्ने विचार प्रकट गरेका छन् ।

‘लयको खोजी’मा रजनी ढकालले लयमा रहनु नै सबै गतिशील वस्तुहरूको नियम हो । जे बन्नका लागि पनि एउटा लय चाहिन्छ । लय अर्थात् एकअर्का वस्तुबीच व्यवस्थित मिलान किन्तु आजको साज लयको विरुद्धमा छ । लयविरुद्ध भएरै अराजकता बढिरहेछ तसर्थ जीवनलाई वा जीवनका समग्र गतिविधिलाई लयबद्ध गर्नुपर्ने विचार प्रकट गरेकी छन् । ‘दुःखले छुँदा’मा सुस्मिता नेपालले दुःखले छोएपछि मान्छे अत्तालिन्छ । दुःखले मान्छेलाई मात्र होइन बोटबिरुवालाई पनि छुन्छ तर ती मान्छेझै आत्तिदैनन् । तिनलाई हेेरेर दुःखलाई सहन सक्नुपर्छ । दुःखले नै सिर्जनाका निम्ति प्रेरणा दिने विचार प्रकट गरेकी छन् ।

‘नदी र जीवन’मा भूपिन व्याकुलले जीवनलाई नदीसँग तुलना गरी नदी र जीवनबीच अविभेद्य सम्बन्ध दर्शाउँदै नदीबाटै प्रेरणा लिएर सिर्जनाप्रति सचेत हुँदै नदीजस्तै कञ्चन र पवित्र सिर्जनाको कामनासमेत गरेका छन् । साथै नदीरूपी प्रकृति र जीवनको सम्बन्धलाई प्रतीक र बिम्बको प्रयोगबाट सुन्दर ढङ्गले स्पष्ट पारेका छन् ।

पठन सन्दर्भमा लिपिको आकृति हेर्दा स-साना तोरीका दाना जत्रा वा स-साना कमिलाका गेडाजत्रा अक्षरहरू पढ्दा पढ्दै चर्मचक्षुकै गेडी (नानी) निक्ललान्जस्तो भए पनि, साधनस्रोतकै संकीर्णताले पङ्क्तिलाई अत्यन्त खाँदेर राख्दा छिचल्नै गाह्रो, घना जङ्गलभित्र पसेको महसुस भए पनि, अतिशय कमसल प्रकृतिको कागज पढ्दापढ्दै पहिलो पटकमै च्यातिदै गए पनि, रचनाराशिका समग्र निबन्धहरू नैबन्धिक आकाशका चहकिला नक्षत्रझैँ प्रतीक हुन्छन् । गहिरिएर हेर्दा-बुझ्दा मिठोस्वाद सन्तुष्टि दिन्छन् । सम्पादकहरूको संयोजन र सम्पादन लगायत निबन्धकार र समीक्षकहरूको सत्प्रयासबाट विशेषाङ्ककै स्वरूप अमूल्य निधि सावित हुन्छ ।

भरतपुर-१२, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *