Skip to content
ChintuGiri


छोरो पाल्छ कपाल कानहरुमा मुन्द्रा भिरी हिड्दछ
यो छोरी कम छैन झन् अझबढी नौली बनेकी उ छ ।
आँखी भौँ जति खुर्किइ रङ दली त्यो जाल जस्तो लुगा
भिर्छे शर्म मलाई लाग्छ उ भने मख्खै परेकी छ बा ॥

साँढे सात बजे उठेर घरकी माग्छे बुहारी चिया
आठौँ बर्ष बिबाहका दिनबिते छैनन् अझै दोजिया ।
क्यै गर्दा तल माथि पर्छ कि भनी सासू सधैँ थर्थर
मेलम पात र रुझ्नुु भिज्नु छ सधैँ बस्छिन बुहारी घर ॥

प्यूदा दूध मिठो छ गोबर छुँदा दुर्गन्ध पो चल्छरे
पैलाको अब छैन फेरिइ नयाँ आयो जमाना अरे ।
छोरो बस्छ बजारका महलमा आमाबुवा गाउँमा
आफ्नै गर्न नि लाज लाग्दछ अरे आयो जमाना नयाँ ॥

खाँदैनन् नमिठो मिठो र मसिनो रोजेर दिन्छे बुढी
देख्दा सन्तती हृष्टपुष्ट सुकिला सन्तोष मान्छे बुढी ।
हामीसानु छँदा नपाइ कपडा नाङ्गा घुँडा पाखुरा
के भन्नू म असभ्य गुन्द्रुक ढिँडो आँटो निलेको कुरा ॥

भान्सा भित्र चरेश काँस सकिए सिल्टे र इस्टिल रहे
आमा बावु नयाँ हुँदै बदलिई ड्रयाडी ममीमा पुगे ।
टोपी लाउँछ जो असभ्य उ भयो हेपिन्छ पाखे भनी
जो छन् सभ्य उनै विचित्र कपडा भिर्दैछ लाखे बनी ॥
पुतलीबजार नगरपालिका-९ स्याङ्जा ।

छन्दः शार्दूल विक्रीडित म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ, १२। ७ मा विराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *