Skip to content


असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वर्षाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्षेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -“लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।” धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।

८५ वर्षे बुढो उमेरसम्म पनि तरुनो शरीर र जाँगर लिएर लुखुर लुखुर हिँड्न सक्ने एउटा सिर्जनशील व्यक्तित्व, फरासिलो र हँसिलो व्यक्तित्व, हिँड्दाहिँड्दैको मान्छे, आफैँ कपडा फेरेर अस्पताल जाँदाजाँदैको मान्छेको निधन भयो भनेर मान्ने कसरी, ठूलै पहिरो गएको पीडा बोक्दै मान्नै पर्छ अन्ततः उहाँ रहनुभएन भनेर । चोटिला निबन्ध जब्बर समालोचना, झण्डै सात दशकको साधना गर्ने व्यक्तित्व जसले जीवनमा धेरै बाढी पहिरो देख्नुभयो उतार चढाव भोग्नुभयो, टिका टिप्पणी पनि सुन्नुभयो, हुरी हुण्डरी पनि खेप्नुभयो र लाग्थ्यो यस्ता मान्छेले त जस्तासुकै पहिरो पनि रोक्न सक्नुहुन्छ । कठै आफैँले धान्दै आएको ८५ वर्षे शरीर पनि उहाँ स्वयंलाई समेत थाहा पत्तो नदिई सालिक ढले झैँ ढलिदिँदो रहेछ ।

अनाम सत्य बनिदिन्छ मृत्यु । नामै नभएको एउटा नमीठो सत्य, सबैले नरुचाउने, तर सबैले भोग्नुपर्ने । उहाँको परिवार, इष्टमित्र, आफन्त आदिले नरुचाएको ‘मृत्यु’ उहाँले भोग्नुभयो । नागपञ्चमीको दिन जन्मेर २०६७ को नागपञ्चमी पनि नआउँदै, आफ्ना नाममा घोषणा भइसकेका दुईदुईवटा पुरस्कार हात नपार्दै उहाँ जानुभयो यात्रामा । न जाम, न बन्द, न हडताल, न जुलुस विना अवरोध बागमतीको हरकसँगै चितामा जलेर ।

दाजुको नाम पत्रिकामा छापिएको देखेर लेख्न हौसिने, हजुरबालाई तमाखु भर्नुपर्दाको पीडा कवितामा व्यक्त गर्ने उहाँले जीवनमा धेरै कुरा छाड्नुभयो लेखन चाहिँ कहिल्यै छाड्नुभएन । दाजुको नाम छापिन्छ भने मेरो किन छापिन सक्तैन एकखाले इखले नै उहाँलाई साहित्यकार बनायो, त्यो इख उहाँले छाड्नुभयो लेख्न चाहिँ छाड्नु भएन, हजुर बालाई तमाखु भर्न छाडनुभयो लेख्न छाड्नु भएन । केही वर्ष राजनीतिमा पनि लाग्नुभयो र छाड्नुभयो तर लेख्न छाड्नुभएन । मास्टरी गरेर हिँड्नुभयो, पत्रपत्रिकाको एजेन्ट बनेर सन्देश गृह खोल्नुभयो र पछि यी पनि छाड्नुभयो तर लेख्न छाड्नुभएन । नर्फकने ती दिनहरु भए यी पाटो उहाँका लागि तर लेखन भने पाइला आगतमा टेकेर बन्न पुगे, उहाँ नभए पनि उहाँले छाडेर गएर, साहित्यमा चालेका पाइलाले आगतमा उहाँलाई सम्झने छ ।

“दुईचारवटा पुस्तक निस्कन पाएको छैन आफूलाई कति ठूलो मान्छे भनिठान्छ । पुरस्कारहरू पाउन थालेपछि झन के चाहियो ? भैँमा खुट्टै हुँदैन । महायुद्ध जितेर र्फकने लाहुरेलाई सम्झन थाल्छु । टेर्नै छाड्छ । हुटिट्याँउले आकाश थामेजस्तो नेपाली साहित्यको कर्ताधर्ता मानू उही हो । बजियालाई दिउँ कि भन्ने लागेको थियो ।

जिन्दगीमा कहिल्यै स्कूलको दैलो देखेको छैन । कलेजका अनुहार कस्तो हुन्छ उसलाई के थाहा ? बर्सौं बर्सौंको अध्ययन, मेहनतपछि बल्ल हात ज्ञान, मनग्ये खर्चेर आर्जन गरिने सीप, विद्वताको अपमान गरेर साला ! कालीदास हुन खोज्छ ।….” (समय सुनामीबाट)

सरस्वती सम्मान, बसुन्धरा मान प्रज्ञा पुरस्कार पाउनु त भयो तर हात पार्न भ्याउनुभएन ।

आफैँले आफ्नो पोटे्रट शब्दमा उतार्ने निबन्धका शिल्पी यी निबन्धकारले साँच्चै स्कूल कलेजको नाकमुखै देख्नुभएन । यिनै व्यक्तित्व विद्यालय महाविद्यालय विश्वविद्यालयमा पढिने नाम बन्यो, ठूला उपाधि लिएर हिँड्नेहरूका पनि ‘अग्रज’ बन्नुभयो, पढ्नुपर्ने व्यक्तित्व बन्नुभयो । समय सुनामी कसको जीवनमा नआएको छ र ? उहाँको जीवनमा पनि त आयो । दुःख कष्टका दिन पनि सम्झनुपर्छ उहाँको सुख सयलको जीवनको चर्चा गर्दा । ताहाचलको भव्य घर मात्र होइन ढोका टोलको गन्हाउने गल्ली पनि सम्झनुपर्छ ।

वि.सं. २०१५ सालमा ‘कवि व्यथित र उनको काव्य साधना’ नामक समालोचनाको कृतिबाट मदन पुरस्कार पाउने उहाँले ‘नेपाली उपन्यास र उपन्यासकार’ का लागि २०३७ को साझा पुरस्कार पनि पाउनुभयो । २०४७ मा ‘पाइला आगतमा टेकेर’ निबन्ध सङ्ग्रहका लागि साझा पुरस्कार र उत्तम पुरस्कार पाउनुभयो । २०६० को त्रिभुवन प्रज्ञा पुरस्कार २०४७ को धरणी पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक २०२२, गो.द.वा. चौथो (२०२५) पाउनुभयो ।

‘मेरो छापिएको पहिलो रचना हो अश्रुधार कविता । यो ‘उदय’ मा छापिएको थियो २००२ सालमा लेखेको पहिलो कविता चाहिँ ‘हाय तमाखु’ हो ०९५।९६ तिर । म १३ वर्षको थिएँ । गद्यमा निबन्ध हो ‘झुत्रो लुगा’ । यो साहित्य स्रोत (२००४) मा प्रकाशित भएको थियो । अनि पहिलोपल्ट पुरस्कार पाएको थिएँ ‘बदलीको तारो’ गद्य कवितामा नेपाली साहित्य परिषद्ले आयोजना गरेको २००४ सालको बृहत साहित्य सम्मेलनको प्रतियोगितामा (जिन्दगीका टिपोटहरूबाट)

२००८ सालमा ‘भन्ज्याङनिर’ कविता सङ्ग्रह छपाएर देखापर्ने उहाँले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्दि्रत गर्नुभयो । लोभलाग्दो र आरिसै लाग्ने खाले निबन्ध लेख्न सक्ने उहाँका जिन्दगीका टिपोटहरु धेरै ठाउँमा उल्लेख गर्नुभएको छ । विविध व्यक्तित्व समेटेर पनि साहित्यमा मात्र केन्दि्रत भएर आखिर उहाँ बाँच्नुभयो । नाम चलेको, सम्मानित स्रष्टा मात्र होइन पढुँ पढुँ लाग्ने खाले लेख्ने स्रष्टाका रूपमा उहाँ बाँच्नुभयो । जन्मनुभयो वि.सं. १९८२ सालको नागपञ्चमीमा । २०६७ सालको असार १७ गते नपत्याउँदो गरी जानुभयो अनन्त यात्रामा । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक, च्वसा पासा धेरै ठाउँमा छरिनुभयो उहाँ ।

लेख्छु भनेर निबन्ध लेख्दिन लेख्नै सक्तिन यसरी । कुनै कुराले जब आन्दोलित हुन्छु घटना परिस्थितिहरुबाट मन छोइन्छ, संवेदित भइ जब केही भन्न विवश हुन्छु अनि निबन्ध भएर पोखिन्छु । वास्तवमा लेख्नु अरुसँग साहचर्य गर्नु पनि हो । यसलाई स्रष्टा र पाठकमाझ गरिने एकप्रकारको संवाद भन्छु । आफूसँग भएको अनुभव, ज्ञान, संवुद्धि, संवेदना बाँडेर सहभागी हुन अनुरोध गर्न सक्छौँ ।

समय सुनामीमा निबन्धका बारे, लेखनबारे भनिदिनुहुन्छ उहाँ । समय सुनानी (२०६३) जिन्दगी टिपोटहरु (२०६३), नर्फकने ती दिनहरु (२०५९), बागमतीको हरक (२०५७), पाइला आगतमा टेकेर (२०४७), अनाम सत्य (२०४३), सालिक (२०२६) जस्ता निबन्धका, कवि व्यथित र उनको काव्य साधना सिर्जनाको सेरोफेरो’, ‘नेपाली उपन्यास र उपन्यासकार’ ‘साझा समालोचना’ आदि समालोचनाका कृतिहरू हुन उहाँलाई चिनाउने, सम्झाउने । वि.सं. २०४४ देखि चिनेको, त्यसअघिदेखि पढेको मान्छे, उमेरको छेकछन्द नभए जस्तै भाइजस्तै व्यवहार गर्ने एउटा साहित्यकारको निधन यतिखेर एउटा असल अभिभावकको निधन जस्तै भएको छ । यतिखेर कृष्णचन्द्रसिंह प्रधानको मात्र मृत्यु नभएर आदरणीय कृष्णचन्द्रको निधन भएको छ, महान साधकको अवसान भएको छ । वर्षौं मिलेर बनेको निबन्धको पहाडमा पहिरो गएको छ, मनभित्र पनि पहिरो जाँदो रहेछ, एउटा आत्मीय अग्रजको निधनले अहिले यस्तै अनुभूति भइरहेको छ । सालिकबाट निबन्ध यात्रा थाल्ने तपाईंले निबन्धका पाठकका मनमनमा आफ्नो सालिक राख्न सफल हुनुभयो आदरणीय कृष्णचन्द्रसिंह प्रधान ।

शनिबार गोरखापत्र
श्रावण १, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *