Skip to content


हिन्दी साहित्यका प्रमुख कवि तथा नाटककार डा. धर्मवीर भारती (१९२६-१९९७) को नाट्यकृति ‘अन्धायुग’ नेपाली भाषामा प्रकाशित भएको छ । यस नाटयकृतिलाई ‘अन्धोयुग’ शीर्षक दिई निरञ्जन बरालले अनुवाद र प्रकाशन गरेका हुन् । ‘गुनाहोका देवता’, ‘सुरजका सातवाँ घोडा’ जस्ता महìवपूर्ण कृतिका स्रष्टा डा. भारतीको ‘अन्धोयुग’ प्रसिद्ध भारतीय नाटक हो । यस नाटकलाई रङ्गमञ्चीय दृष्टिले समेत एक कालजयी नाटक मानिन्छ । यस्तो कृतिलाई नेपालीमा अनुवाद गरेर निरन्जन बरालले प्रशंसनीय काम गरेका छन् ।

‘अन्धोयुग’ काव्य नाटक हो । यो नाटक महाभारत युद्धको अन्तिम दिनमा आधारित छ । काव्य नाटक ‘अन्धोयुग’मा कृष्णको चरित्रको नयाँ आयाम र अश्वत्थामाको शक्तिशाली चरित्र देखिन्छ, जसमा वर्तमान युवापुस्ताको कुन्ठा र सङ्घर्षका दृश्य सशक्तरूपमा प्रतिबिम्बित भएको पाइन्छ । यो कृति विष्णु पुराण र श्रीमद्भागवतको कृष्णकथाको प्रस्तुतिबाट पनि प्रेरित देखिन्छ । ती कथाप्रसङ्गको सहायता लिइए पनि नाटकमा नाटककार भारतीले मौलिक पुनव्र्याख्या भने प्रशस्त गरेका छन् । उनले अश्वत्थामा, गान्धारी, विदुर, जरासन्ध, युयुत्सुलगायतका प्रमुख पात्रहरूलाई नाटकमा नयाँ ढङ्गबाट प्रस्तुत गरेका छन् । नाटकमा युद्ध अनि त्यस युद्धले निम्त्याएका समस्याहरू र मानवीय महìवाकाङ्क्षालाई प्रभावकारीरूपमा प्रस्तुत गरेको छ । नाटकले वर्तमान विश्वका युद्धजनीन कतिपय कुराहरूलाई नयाँ सन्दर्भ र केही नयाँ अर्थका साथ नाटक ‘अन्धायुग’ मा वकालत गरेको छ । यो नै नाटककार भारतीको मूल विशेषता हो ।

नाटयअनुवाद जटिल काम हो । नाटक अनुवाद गर्दा मूलतः यसका तीनवटा प्रमुख पक्षलाई विचार गर्नुपर्ने हुन्छ । नाटयअनुवादका सैद्धान्तिक पक्षमा भाषिक समस्या, सांस्कृतिक समस्या र मञ्चीय समस्या पर्दछ । नाटक ‘अन्धोयुग’लाई यसरी हेर्दा अनुवादकमा हिन्दीको छाप बढी देखिन्छ । मूल नाटकको सांस्कृतिक पक्ष र मञ्चीय पक्ष भने सबल र सहज देखिन्छ । हुन त यो काव्य नाटक भएकोले यो अनुवाद गर्नु सजिलो काम भने पक्कै पनि थिएन । यो जुनरूपमा प्रकाशित भएको छ, यसले नेपाली रङ्गमञ्चको लागि समेत एउटा राम्रो कृति दिएको छ । नाटकको सम्पूर्ण कथावस्तु पाँच अङ्कमा विभाजित छ । बीचमा अन्तराल छ । नाटयकृतिको आरम्भमा निर्देशनका निम्ति केही सुझावहरूसमेत दिइएको छ । जसले नाटकको मञ्चीय दृष्टिकोण बुझ्न सजिलो पार्छ । नाटकमा अधिकांश संवाद मुक्त छन्दमा लेखिएका छन् र अन्तरालमा कतिपय छन्दरहित गद्यात्मक पद्यको पनि प्रयोग गरिएको छ । नाटक लामो भए पनि यो पढ्दा पाठकले आनन्द लिन सक्छन् । मञ्चमा त यसले विभिन्न समयमा कीर्तिमान नै कायम गरेको छ ।

नाटक ‘अन्धोयुग’ २०५६ सालमा भानु भारतीको निर्देशनमा काठमाडौँमा नेपाली भाषामा मञ्चन समेत भएको थियो । जुन कुराको चर्चा यस कृतिमा कतै गरिएको छैन । तत्कालीन समयमा नाटक ‘अन्धोयुग’को मञ्चनले नेपाली रङ्गमञ्चमा निकै प्रभाव पारेको थियो । त्यसबेला हिन्दीबाट नेपालीमा नाटकको अनुवाद शैलेन्द्र सिंहले गरेका थिए । यो विगत पाँच दशकदेखि संसारभरि विभिन्न भाषामा मञ्चन हुँदै आइरहेको छ । अब्राहिम अलकाजी, एम के रैना, रतन थियम, अरविन्द गौड, रामगोपाल बजाजजस्ता रङ्गमञ्चका हस्तीहरूले समेत यो नाटक निर्देशन गर्नुले यस नाटकको उचाइ आकलन गर्न सकिन्छ ।

समग्रमा भन्ने हो भने ‘अन्धोयुग’ विशिष्ट नाटयकृति हो । शैली, शील्प, विषय र प्रस्तुतिका दृष्टिले समेत यस नाटकले भिन्न अर्थ राख्दछ । वास्तवमा नाटकको भूमिकामा भनिएझैँ, नाटक ‘अन्धोयुग’ रङ्गमञ्चको पाठशाला र प्रयोगशाला पनि हो । नेपाली नाटयजगत्मा यसको अनुवाद स्वागतयोग्य र उल्लेखनीय काम हो ।

कृति ः अन्धोयुग (नाटक)
नाटककार ः डा. धर्मवीर भारती
अनुवादक ः निरञ्जन बराल
प्रकाशक ः अनुवादक स्वयं
संस्करण ः प्रथम २०६५
पृष्ठ ः १५३
मूल्य ः रु. १४०।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *