Skip to content

तेन्जिङ शेर्पाको सम्मानमा

  • by


वीरांगनाजस्तो लाग्ने भेषभूषामा सजिएर घोडा चढी स्वागत-अभिनन्दन गर्न पाउँदाको अनुभूति बेग्लै हुँदो रहेछ । २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा आयोजित कार्यक्रमको अगुवाइ गर्दाको त्यो क्षण मेरालागि ज्यादै रोमाञ्चक थियो । किनभने, त्यो विजय नेपालीहरूका लागि संसार जितेभन्दा ठूलो थियो ।

इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो । बनेपादेखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो । बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाइएको थियो ।

सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो । त्यसबेला तालिमप्राप्त महिला घोडचढी हुने त कुरै भएन । किनभने, त्यसबेलाको समाजमा महिलाले घोडा चढ्नु असामान्यजस्तो मानिन्थ्यो । त्यसका लागि कमसेकम साहसी, निडर, फुर्तिली र घोडा कजाउन सक्ने युवती हुनैपथ्र्यो । यसको जिम्मा मेरो बुबा साहू बालकृष्ण श्रेष्ठ र कृष्णचन्द्रसिंह प्रधानलाई सुम्पिएको थियो । उहाँहरूले मनमनै हामी केही युवतीलाई चयन गर्नुभएको रहेछ । त्यसका लागि कार्यक्रम हुनुअगावै उहाँहरूले हामीलाई घोडा चढ्ने तालिम दिनुभयो । पहिलोपटक घोडा चढ्दाको रोमाञ्चक क्षण सम्झँदा अहिले पनि काउकुती लागेर आउँछ । हामीलाई छाउनीमा लगेर घोडा चढ्ने, लगाम समात्ने र घोडालाई काबुमा राख्न सिकाइएको थियो । हामीले एक सातासम्म बिहान-बेलुकाको अधिकांश समय त्यही सिकाइमा खर्चिएका थियौँ । घोडाले हुत्याएर फालिदिन पनि सक्ने भनेर हामीलाई विशेष रूपमा सचेत गराइएको थियो ।

एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो । झाँसीकी रानी, भृकुटीजस्ता वीरांगनाहरूको इतिहास र योगदानबारे पढे/सुनेको हुँदा उनीहरूको प्रतीक आँखाअगाडि नाचिरहेको हुन्थ्यो । स्कुलमा पढाइएका त्यस्ता वीरांगनाहरूको तस्बिर सम्झिन्थ्यौँ र आफूहरूलाई पनि त्यही रूपमा प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

डिल्लीबजारबाट हामीलाई त्यस जुलुसको अगुवाइमा सरिक गराइएपछि जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्‍यो । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे । मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो । हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले ‘छ स्वागत, छ स्वागत नेपालपुत्र लायक’ बोलको गीत गाएर स्वागत गरे ।

ज्यादै आकर्षक ढंगले मञ्च सजाइएको थियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो । हामीलाई पनि निम्तो दिइएको थियो । बेलुका हामी त्यहाँ पुगेपछि रानी स्वयंले पिठ्यूँमा धाप मार्दै हाम्रो परचिय दिँदा मन ढक्क फुलेर आएको थियो । र, देशका लागि केही गर्नुपर्छ भन्ने जोस-जाँगर पलाएको थियो ।

त्यतिबेला म १० कक्षामा पढ्थेँ । मानिसहरूलाई लाग्न सक्छ, त्यस्तो जोस र उमंग कसरी आयो होला ? कन्या मन्दिरका हामी विद्यार्थीलाई सानैदेखि गुरुहरूले एक किसिमको उत्साह र जाँगर भरििदएका हुन्थे । डर भन्ने मनमै हुँदैनथ्यो । त्यही भएर पनि होला, नेपालको सामाजिक र राजनीतिक परविर्तनका हरेक आन्दोलनमा त्यस विद्यालयका छात्राहरूको उल्लेख्य योगदान छ । अहिले पनि त्यस्ता नारीहरूको इतिहास खोतल्दै जाने हो भने कुनै न कुनै रूपमा कन्या मन्दिरसँग उनीहरूको साइनो जोडिएको पाइन्छ ।

पछिसम्म पनि हामीले निर्वाह गरेको घोडचढीको त्यस भूमिकाको धेरैले प्रशंसा गरे । सार्वजनिक रूपमा देखा पर्न पनि गाह्रो मान्ने त्यसबेलाका महिलाहरूका निम्ति हाम्रो साहस, निर्भीकता र आँट साँच्चै आकर्षक, प्रभावपूर्ण थियो । सामाजिक परविर्तन र राजनीतिक संघर्षमा लाग्ने महिलाहरूलाई पनि हाम्रो त्यस आँटले अवश्य सहयोग पुर्‍याएको हुनुपर्छ । पहिरनका बारेमा रहेको संकीर्ण सोचलाई पनि हाम्रो कदमले झापड हानेको हुनुपर्छ ।

युद्धप्रसाद मिश्रले त हाम्रो त्यस अभियानलाई लिएर लामै कविता रचना गर्नुभएको थियो । ‘नेपाली नारीको यो साहस देख्दा नाङ्लोजत्रो छाती भयो’ भन्ने आशयमा लेखिएको त्यो कविता साह्रै चर्चित भएको थियो । त्यो कविता सुन्दा त्यसबेला हामी ज्यादै भावविभोर पनि भएका थियौँ ।

यस्ता कुराहरू अब इतिहास भइसके । तर, इतिहास भइसकेका त्यस्ता कतिपय कुरा हावाकै भरमा पनि लेखिँदा रहेछन् । जस्तो- सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको स्वागत अभिनन्दनको त्यस घटनालाई मानिसहरूले फरक-फरक ढंगले उल्लेख गरेका छन् । अभिनन्दन कार्यक्रमका मुख्य आकर्षक चार घोडचढी युवतीका प्रसंगमा मेरो नाम त सबैले लिए तर अन्य तीन युवतीका नाममा भने फरक-फरक उल्लेख गरिएको पाइन्छ । त्यस कार्यका लागि कन्या मन्दिर हाइस्कुलका तीन छात्रा र क्षेत्रपाटीकी चञ्चला मानन्धर (त्यसबेलाकी चर्चित नर्स) घोडचढीका रूपमा त्यस समारोहमा सहभागी भएको कुरा मात्र सत्य हो । अगाडिको पंक्तिमा चञ्चला र म थियौँ भने पछाडिको पंक्तिमा कमलेशलता प्रधान र ओमी श्रेष्ठ थिए ।

तर, अहिले मानिसहरूले धेरै फरक पारेर नामहरू उल्लेख गर्छन् । त्यसो गर्दा उनीहरूप्रित अन्याय हुन्छ । प्रत्यक्षदर्शीका अगाडि कसरी शिर ठाडो पार्ने ? त्यति मात्र होइन, आउँदो पुस्ता पनि योगदानको मूल्यांकन र कदर गर्ने कुराबाट वञ्चित हुन्छ ।

प्रस्तुति ः ईश्वरी ज्ञवाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *