Skip to content


ठण्डी सिजन बढेको छ । जाडोबाट बढी नै सर्तक हुने गर्दछु । जाडोमा ठण्डी गाडिने पिरले सधैँ सताउँछ । ठण्डी गाडियो भने त्यसलाई बाहिर निकाल्न निकै झम्मारहरू बेसाउनुपर्छ ।

बाहिरी बातावरणको ठण्डी त छँदैछ । म आज अर्को ठण्डीको कुरो गर्दैछु । मेरो वरिपरि केही चिसा मान्छेहरू छन् । चिसा मान्छेहरूसँग म किन सावधान रहन्छु भने उनीहरूको चिसोले मलाई भेट्ने हो कि भन्ने डर छ । चिसा मान्छेहरू हर्दम ठण्डीको प्रकोप बढाँउछन् । उनीहरू त चिसा छन् छन् अरुलाईपनि चिसा बनाइदिन्छन् । चिसा मान्छेहरूलाई एक किसिमले समाजलाई नै चिस्यानक्षेत्र बनाइदिन्छन् । संवेदनालाई जडतातर्फ धकेल्नु उनीहरूको दैनिक कर्मभित्र पर्दछ ।

चिसा मान्छेहरू सर्दिग्रस्त हुन्छन् । उनीहरूले आफ्नो सर्दि अरुलाई सारिदिन्छन् भन्ने पिर छ मलाई । त्यसैले चिसा मान्छेहरूबाट सर्दी सर्छ भन्ने ठूलो डर छ मलाई । चिसा मान्छेहरूको मन चिसो हुन्छ मुटु चिसो हुन्छ सोच र बिचारहरू चिसो हुन्छ । भावना जगत पनि आसाध्यै चिसो हुन्छ । व्यवहार त यति चिसो हुन्छ ध्रुवीय प्रदेशको हिमभालु भएर मात्र उनीहरू संसर्गमा बाँच्न सकिन्छ । मेरो अनुभवमा चिसा मान्छेहरूलाई जति न्यानो दिन खोज्यो उती उसले सर्दी छोड्न खोज्छ । जति उष्णताको आभाले घेर्न खोज्यो त्यति तुषारबर्षा गरिदिन्छ बाटोभरि । त्यसैले आजकाल चिसा मान्छेहरूसँग तर्केर हिँड्न थालेको छु । तर्कनुपर्ने मेरो बाध्यता हो किनभने म चिसोदेखि असाध्यै डराँउछु ।

म ठण्डीको बिरुद्ध गीत लेखिरहेको छु । त्यसैले ठण्डी मान्छेको बिरुद्ध शब्दका झण्डी उठाउन चाहन्छु । एउटा चिसो मनको चिसो मान्छे प्रत्येक दिनजसो मेरो समिपबाट गुज्रिन्छ । ऊ यति ठण्डी बोकेर हिँडेको छ । ऊभित्रको त्यो हिमप्रदेश देख्ने बित्तिकै मेरो आङ्गमा काँढा उमि्रन्छ । त्यो चिसो मान्छेलाई मैले आफ्ना समयमा निकै सेकताप गरेर हुर्काएको थिएँ । उसलाई न्यानोमा राख्न भथिरथ प्रयत्न गरेको थिँए । उसको उज्यालो भविष्यको निम्ति मैले नैतिकताको सिमाहरू पनि नाँघे हुँला । समयक्रमा मेरो न्यानोको सानिध्यले त्योजिव हुर्कँदै गयो बढ्दै गयो । उसले अवस्थाअनुसारको पङ्खहरू लाग्यो । उसले शरीरमा उमि्रएको प्वाँखमा मैले दिएको न्यानोपनको आभाहरू अहिले पनि देख्छु । तर त्यो जीवपछि यति क्रुर भएर ममाथि खनियो दुष्ट साइलकले आफ्नो आसामीको शरीरबाट एकपाउ मासु निकाल्न चक्कु उद्याए झैँ उद्याएको पाएँ । त्यो दिन ऊभित्रको हिमप्रदेश मलाई पूराको पूरा ज्ञात भयो । त्यसदिनदेखि त्यो चिसो मान्छेदेखि दस हात टाढा रहन थालेँ ।

किन किन यस्ता चिसा मान्छे देख्नासाथ मनभित्र बिरक्तिका भाव जाग्ने गर्छ । त्यो बिरक्तिलाई रेचन गर्न लेख्नु बाहेक अरु कुनै उपाय हुन्न । म जति लेखिरहेको छु त्यो चिसामान्छेहरूले खोटामान्छेहरूले विक्षिप्तमान्छेहरूले रुग्णचित्तदशाका मान्छेहरूले मभित्र पैदा गरिदिएको घृणाभाव-विकारभाव लेखिरहेको छु । यो मेरो क्याथार्सिर्स हो यसले म साच हुने दिशातर्फ उन्मुख हुन्छु ।

मेरो मानसतलाउमा अर्को चिसो मान्छेपनि घरिघरि देखापर्छ । मैले असाध्य आदरका साथ भित्री दिलको न्यानो कुनामा राख्ने गरेको त्यो मान्छे; मेरा जरा काटेर आफू हराभरा हुनखोज्दो रहेछ । मलाई ठाडै सुकाएर ऊ हरिलो भरिलो हुन खोज्दो रहेछ । यो कुरा थाहा पाएपछि ऊ भित्रको चिस्यानक्षेत्र कति हो नाप्ने रहर चल्यो । सर्बत्र अन्तर कुन्तर जताततै चिस्यानै चिस्यान पाँए । अहिलेसम्मको जीवन यात्रामा यस्ता चिसा मान्छहरूमात्र मैले पाएको भए म उहिल्यै कठ्याँगि्रएर मरिसक्थेँ होला । तर असाध्य न्याना दिलका सुन्दर मान्छेहरू पनि मलाई हात दिइरहेका छन् मलाई साथ दिइरहेका छन् । उनीहरूकै आलम्व टेकेर म ऊध्र्वगामी यात्रामा हिँडिरहेको छु । मलाई पूरापूर थाहा छ त्यो चिसोमान्छेले झण्डैझण्डै मेरो जीवन नशा छिनेको थियो । जुनदिनदेखि ऊभित्रको दनुज हृदय देखेँ ऊदेखि सातहात टाढा रहन थालेँ ।

मलाई किन किन पछाडिबाट छुरा हान्ने मित्रभन्दा अगाडिबाट तरवार देखाएर आउने शत्रु कता हो कता प्यारो लाग्छ । त्यस्ता शत्रुहरू उत्कृष्ट लाग्छन् । बरु ती शत्रुहरूको हृदयकन्दरामा थोरै उष्णताको राप हुँदो हो थोरै जीवनको परिताप हुँदो हो । तर मुखमा राम बोलेर बगलीमा छुरा बोक्नहरूको हृदयमा ; एकपित्को पनि तातोपन हुँदैन । उनीहरू भित्रको ठण्डी देखेर म अचम्मले तर्सिएको छु । मलाई ठण्डी गाड्न चाहने ती चिसा मान्छेको छातीमा वरफको ढिक देख्छु । उनीहरू मुखमा राम बोलेर बगलीमा छुरा राख्छन् । अझ मैले त उनीहरूको बगलीमा छुरामात्र होइन छुरा उद्याउने सिली ढुङ्गोपनि जतनसाथ राखेको देखेको छु ।

अर्को एउटा यस्तो ठण्डीमान्छे छ जो हमेशा अर्काको साँधसिमना मिच्नुमा रुचि राख्छ । ऊ औँला पाउँदा डुँडुलो निल्छ । डुँडुलो पाउँदा जिउ नै निल्न खोज्छ । आफूभित्रको न्यानोमा हात सेकाउनु भन्दापनि अर्काको न्यानोमा हात सेकाउनुमा मजा मान्छ । आफूभित्र रापतापको उज्यालो दुनियाँ रच्नु भन्दापनि अरुको रापताप चाटेर अरुलाई चिसोमा अध्याँरोमा दुःखमा तड्पाउन खोज्छ । अर्काको साँधसिमना चाप्नमा रुचि राख्ने यस्ता ठण्डीमान्छेलाई मरेपछि चिहान कति चाहिने हो त्यसको हेक्काचाहिँ विलकुलै हुँदैन । उनीहरूले अरुको जग्गाजमिनको पाईपाई ईन्चईन्च हिसाव निकाली रहेको बेला आफ्नो चिहानको क्षेत्रफल भुलिरहेका हुन्छन् । यस्ता मान्छेलाई तोल्स्तोई महोदयको मान्छलाई जमिन कति चाहिन्छ भन्ने विषयको कथा पढाउनु पर्ने हो ।

विषालु साँपलाई जति नै अमृतमय दूधपान गराएपनि उसका ग्रन्थीहरूमा रहेको रसायनले त्यो अमृतलाई विषमा परिणत गरिदिन्छ । ठण्डी मानिसको शरीरमा पनि जुनसुकै तातो पदार्थलाई चिसो बनाउने ग्रन्थी रहेको हुन्छ क्यारे । उसले अरुबाट जति नै उज्यालो चाटेपनि त्यसलाई अँध्यारोमा परिणत गरिदिन्छ । अरुबाट जति नै ताप सोसेपनि उसले सर्दीमात्र फिँजाउँछ । अरुको राप जति नै चोरेपनि त्यसबाट चिसोमात्र छरिहिँड्छ । वस्तुलाई विलकुल उल्टो बनाउँने रसायन हुन्छ उनीहरूमा । चिसा मान्छेहरू अरुबाट प्रेम लिन्छन् अनि घृणाका लेदो ओकल्छन् । अरुबाट गुण ग्रहण गर्छन् अनि बैगुन फिर्ता गर्छन् । अरुको सरसहयोग र भरथेग भेटेसम्म गुट्मुट्याउँछन् अनि कृतघ्नताको कुईरोले सहयोगी आफन्तहरूको आँखामा फुलो पार्छन् । बिचित्रको रोगी मानसिकतामा चिसा मान्छेहरूको दिनचर्या बितिरहेको हुन्छ ।

यत्ति बिशाल बिश्वब्रह्माण्डमा एउटै सूर्यबाट आएको उज्यालो तथा न्यानोपन बाट चराचर जगत कृत्य कृत्य बनेको छ । सानासाना किटपतङ्गदेखि भीमकाय प्राणीहरूसम्मलाई न्यानो बाँडेर तापमानयुक्त प्राणीको श्रेणीमा उकालेको छ । तरपनि त्यो महासूर्यको रापले नछोएका मनहरूदेखि म आकुल छु । ठण्डी दिलका सर्वत्र ठण्डा छरिहिँड्ने मनुवा देखि म ब्याकुल छु ।

थरिथरि चिसा मान्छेको व्याप्तिले आवहवा सङ्कटग्रस्त बनेको छ । आदिम कालदेखि अहिलेसम्म मानवजातिले गरेको लँडाई नै उष्णता प्राप्तिको लँडाई हो । राप ताप र प्रकाशको लागि मान्छेले जीवनलाई बलिदान गरेको छ । न्यानो जीवन अनि उज्यालो जीवनको आकाँक्षामा अहिले पनि मानिस संघर्षरत छ । धर्तीमा चिसा मान्छेहरू यति विघ्न धेरै नभएको भए सङ्घर्षको सिलसिलापनि उहिले नै टुटिसक्थ्यो होला । डान्कोले अतिशय अँध्यारो र चिसो गबी दलदल प्रदेशबाट मान्छेलाई माथि उठाउन मुटुको राँको बालेथ्यो । प्रमिथसले धर्तीको चिसो र अँध्यारो नाश गर्न स्वर्गको आगो चोरेथ्यो त्यसवापत यातनाका कत्ति धेरै भुक्तमानहरू ब्यहोर् यो दुनियाँ चकित छ । चाहे स्पार्टाकसको ओजमा अविर्भाव जोशमा होस् या सिद्धार्थ गौतमको होशको आन्दोलनमा होस्; यी सबैको अन्तर्यमा उज्यालो दुनियाँको आकाँक्षा बिच्छिएको छ । मानवीय प्रेमको न्यानो आगोयुक्त समाजको परिकल्पना गाँसिएको छ ।

थरिथरिका ठण्डी गाडिएर यो समाज सेपको विषाक्त पोखरीमा चुर्लुम्म डुबेको छ । कुनै राजाहरूले कुनै राणाहरूले कुनै नेताहरूले कुनै पार्टीहरूले कुनै प्रशासकहरूले कुनै धर्मभिरु र पाखण्डीहरूको जमातले थरिथरिको चिसो छाडेर अवहवालाई सर्दीग्रस्त बनाएका छन् । ठूलाठूला सर्दीमनुवाहरूले गाँउसम्मै सर्दीमान्छेहरू तयार गरेका छन् । यतिखेर राजाले छाडेको सर्दीसँग जुध्ने कि गाँउका भुरे टाकुरेहरूले छाडेको सर्दीसँग जुध्ने हो अन्यौल छाएको छ । सर्दीमान्छेले जताततै यति धेरै बिष्टा छाडेका छन; त्यसलाई सोहर्न बढार्न र तह लगाउन कतिवर्ष लाग्ने हो थाहा छैन ।

मेरो अनुभवमा तनको चिसोभन्दा मनको चिसो खतरनाक हुन्छ । बाहिरी हिमालको चिसोभन्दा भित्रि हिमालको चिसो धेरै गुणा विषाक्त हुन्छ । मान्छेको मनमा चिसो हिमप्रदेशमात्र हुँदैन । उज्यालो घामको बिम्व पनि टाँगिएको हुन्छ । धेरै थरि मान्छेहरूसँग सङ्गत गर्दै जाँदा सहकार्य हुँदै जाँदा मनका डिलहरू नाघ्दै जाँदा मनका अनेकन प्रदेशहरू एकपछि अर्को रुपमा उद्घाटित हुँदै गएका छन् ।

आजभोलि मनमा ठिहिरो पालेर अरुलाई चिसोमा जाक्न चाहने मान्छेहरूसित म सर्तक भएर हिँड्न थालेको छु । फेरि जीव्राका टुप्पामा ताता र न्याना शब्द झुण्ड्याएर भित्र सर्दीको समुद्र बोक्नेहरूसँग पनि जोगिनुपर्ने त्यत्तिकै आवश्यकता देखेको छु । मैले हमेसा न्यानो उज्यालो र आल्हादकारी दुनियाँको संसर्गमा टाँसिन खोज्नुको अर्थ के पनि हो भने मैलेपनि आफूभित्रका बचेखुचेका गबी प्रदेशहरू सुकाउनु छ । आफूभित्रको सर्दी हटाउनु छ । सर्दीमान्छेहरूसँग सावधान रहनुपर्ने कारण यो पनि हो जसबाट ममा अरु सर्दी थपिन नपाओस् ।

कालो फलाम पारसमणिको न्यानो संसर्गमा रहन पायो भने केहीकालपछि सुनै सुन बन्छ भन्ने कुरा सुनेको छु । त्यसैले पनि म न्याना सुकिला रापयुक्त तापयुक्त र रोशनीयुक्त मानिसहरूको संसर्गमा निकट हुन खोजिरहेको छु । सर्दीमान्छेहरूसँग टाढाटाढा भागिरहेको छु । सर्दी छोडेर तपाईपनि मसँग भाग्न तयार हुनुहुन्छ – ज्यार्तिमय न्यानो उज्यालो दुनियाँमा ।

२०६४-०९- १७

1 thought on “चिसा मान्छेहरू”

  1. मानव प्रकृतिमाथि चोटिलो
    मानव प्रकृतिमाथि चोटिलो व्यङ्ग्य।

    ताता मान्छेहरूसँग संगत गर्न पनि ख्याल गहारो हुँदैन है! एक छिनमा जोसिन्छन् अनि पोखिन्छन्। शुरु गर्छन् चाँडै, हाप्दिन्छन् पनि चाँडै। झगडा गरिहाल्छन् कि भन्ने डर, आदि!

    लेखको लागि धन्यवाद छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *