Skip to content


भियाना अस्ट्रियाको राजधानी हो । अहिले युरोपियन युनियनको सदस्य राष्ट्रको रूपमा पनि परिचित भएको छ । यो मेरो सपनाको सहर पनि हो । मेरो सपनाको सहर सिड्नी पनि थियो जसको भ्रमण २००६ को अक्टुवरमा सम्पन्न गरेको थिएँ । त्यतिबेला म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिएँ । मेरो सपनाका सहरहरूमा फ्रान्सको राजधानी पेरिस, बेलायतको राजधानी लण्डन र स्विट्जरल्यान्डको राजधानी जेनेभा पनि हो । तर यसको भ्रमण सम्भव होला कि नहोला भन्न सकिन्न । हुन त पोहर साल पितृपक्षको अवसरमा अर्थात् औैंसीमा गोकर्णमा पिण्डदान एवं तर्पण गर्न गएको बेला पिण्डदान गराउने पण्डितले मेरा हातका रेखाहरू हेरेर भनेका थिए कि तिम्रो विदेश भ्रमण र जागिर खाने अवसर जीवनबाट बिदा लिइसकेको छ । म पनि आश्वस्त एवं विश्वस्त भइसकेको थिएँ कि वास्तवमा विदेश भ्रमणको अवसर अब चाहिँ आउँदैन । हुन त २००९ को फरबरीमा सार्क लेखक सम्मेलनमा भाग लिनका लागि भारतको ऐतिहासिक नगर आगरामा जाने अवसर प्राप्त भएको थियो । तर हाम्रो सिद्धान्त के छ भने जबसम्म राहदानीमा भिसाको छाप लाग्दैन तबसम्म विदेश भ्रमणको वैधानिकता मानिँदैन ।

भियाना भ्रमणको साइत जुर्यो । पेन इन्टरनेसनल नेपाल च्याप्टरको निर्वाचित उपाध्यक्ष भएको नाताले मेरो र चलचित्र निर्देशक कवि प्रकाश सायमीको मनोनयन भएको थियो । प्रकाश सायमी पनि कार्यकारिणी सदस्य हुनुहुन्छ तर उहाँ प्रतिस्पर्धामा पछि पर्नु भो । उहाँको ठाउँमा चन्द्रकान्त ज्ञवालीको मनोनयन भयो । अब हामी दुईजनाको भियाना भ्रमण प्रायः निश्चित भइसकेको थियो । त्यसमा पनि मेरो सतप्रतिशत निश्चित थिएन भने उहाँको निश्चित थियो । अगस्तको ३१ तारिखमा रजिस्ट्रेसनको अन्तिम मिति थियो । हामीले रजिस्ट्रेसन गरायौं । दसैंको बिदा भयो । यसै बीचमा आदिवासी जनजाति पुनः सुचीकरण उच्च स्तरीय आयोग (समिति) बाट पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाहरूमा क्रमशः गौंड, कहार, कमलापुरी वैश्य र कुंभकार (कुमाले) को भाषिक र सांस्कृतिक तथा सामाजिक अध्ययन-अनुसन्धान गर्ने टोलीमा जाने सूचना पाएँ । यो अवसरलाई पनि गुमाउनु राम्रो थिएन । तसर्थ भियाना जान भिसा लिनका लागि काठमाडौंस्थित जर्मन दूतावासमा आवश्यक कागजपत्र बुझाउनु थियो । सबै आवश्यक कागजपत्र जम्मा गर्ने काममा जुटें । यसमा भ्रमण बिमा गराउनु पर्ने, काठमाडौंस्थित अस्ट्रियायी महावाणिज्य दूतावासको अनुमति लिनुपर्ने आवश्यक सर्त थियो । सुरू सुरूमा त धेरै झौझ र झमेलामा परेको जस्तो लाग्यो तर यो सबै प्रक्रिया पूरा भएपछि भिसा पनि यथाशीघ्र नै प्राप्त भयो । मैले दूताबासका अधिकारीहरूसँग अनुरोध के गरें भने मलाई दसैंमा आफ्नो गृह जिल्लामा आवश्यक कार्यार्थ जानु पर्दछ, तसर्थ मलाई गृह जिल्ला जानुभन्दा पहिला नै भिसा प्रदान गरी दिनु भो भने म आश्वस्त एवं विश्वस्त भएर जान पाउने थिएँ । मेरो अनुरोध अस्वीकृत भएन । म भियाना जाने निश्चित भएँ ।

भियाना जानुभन्दा एक दिन पहिला प्रसिद्ध लेखिका ग्रेश राणाले पेन इन्टरनेसनल च्याप्टरका साथीहरूलाई शालीग्राम होटलमा बेलुकीको चिया खानका लागि बोलाउनु भयो । उहाँले सम्मेलनको अनुभव सुनाउनु भयो । प्रकाश ए. राजले पनि आफ्नो अनुभव सुनाउनु भयो । पेन इन्टरनेसनलका केन्द्रीय अध्यक्षको चुनाव पनि हुने हुनाले उहाँले क्यानाडेली उम्मेदवार जन रोवर्टसनलाई चुनावमा सघाउनका लागि भन्नु भो । भोलिपल्ट नेपाल इन्भेष्टमेन्ट बैंकमा विदेशी मुद्रा लिन गएँ । बेलुका चन्द्रकान्त ज्ञवालीजीसँग र भियाना विश्वविद्यालयमा प्रस्तुत गर्ने कार्यपत्र अल्पसङ्ख्यकको अधिकारबारे विचार विमर्श गरें । भियाना जाने दिनमा बिहानै नुहाइ धुआइ गरेर पशुपतिनाथको दर्शन गर्न गएँ । त्यहाँबाट कृष्ण प्रसाईको घरमा मेरो किताव “Folktales from Mithila” दिन टेम्पो समातेर अनामनगर पुगेँ । किताब दिएर सोझैं बसबाट घर फर्कें । सामानहरू पनि मिलाउनु नै थियो । सामानहरू मिलाएर इमेल चेक गर्नका लागि भतिजो धीरजलाई बोलाएँ । ऊ अहिले स्विडेनबाट काठमाडौं आएको छ । इमेल चेक गर्ने मेरी नातिनी बिहानै स्कुल पढ्न गइसकेकी थिइन् । धीरजले पनि इमेल चेक गर्न सकेन । भियानाबाट दीपकको इमेलको प्रतीक्षामा थिएँ । म राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत हुँदा आफंै इमेल चेक गर्दथें तर विगत तीन वर्षदेखि त्यो अभ्यास पनि गर्न गाह्रो भएकोले अहिले नातिनीहरूको भरमा बस्नु परेको छ । ठूली नातिनी पनि भारतको रायचुरमा भर्खरै पढ्न गइसकेकीले र मैले पनि इमेलको पास वर्ड याद नगरेकोले झन् गाह्रो भयो । धीरज आफ्नो घरमा गएपछि आफ्नो इमेल चेक गरेर मलाई फोन गरायो । दीपकले इमेल लेखेको रहेछ र भियाना हवाइस्थलमा आउने बताएकोले बल्ल आश्वस्त हुन पाएँ ।

चन्द्रकान्तजीले फोन गरेर समय मिलाउनु भो कि शान्तिनगर गेटमा डेढ बजे आउनुस् । त्यहाँबाट हामी सँगै जाउँला । सोहीबमोजिम म छोरा प्रभातको स्कुटरमा मालसामान राखेर शान्तिनगर गेटमा पुगें । पुग्नासाथ चन्द्रकान्तजी आइपुग्नु भो र त्यहाँबाट हामीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौं । केहीबेरसम्म अलमल भयो । जेट एयरवेज र जेट लाइटमा हामीले चेक इन गर्ने बेलामा नेपाल एयर लाइन्समा कार्यरत अरविन्दकिशोर शाह आएपछि हामीलाई कुनै समस्या परेन । हामी इमिग्रेसनमा गयौँ । सबै औपचारिकता पूरा गरेपछि डिपार्चर लाउञ्ज गयौं । तलबाट छोरी पुनमले अरविन्दको मोबाइलमा फोन गरिन् । ऊ पनि एयरपोर्टमा आइ पुगिन । म अरविन्दको साथमा फेरि तल आएँ । अमला झासहित हामीले चिया खायौं । चिया खाएर फेरि डिपार्चर लजमा गयौं । विमानस्थल र नेपाल एयरलाइन्समा कार्यरत कर्मचारीहरूले गर्दा हामी लाभान्वित भइराखेका थियौं । अरविन्दले गर्दा जेट एयरलाइन्समा हाम्रो सिट चाहिँ बिजनेस क्लासको ठीक पछाडि बस्ने व्यवस्था मिल्यो । जेट एयरलाइन्समा उड्ने पहिलो अवसर पाएको थिएँ । यस उडानको खाना मलाई मन परेन । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान स्थलमा समयमा नै ओर्लियो तर ट्रान्जिट पेसेन्जरहरूलाई एकै ठाउँमा जम्मा गरेर एकैसाथ ट्रान्जिट लाउंजमा लगिने गरिन्छ । यो मेरो पहिलो अवसर थियो दिल्ली विमान स्थलको । अरू अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो नियम छैन । हामीसहित विदेशी यात्रुहरू यस्तो व्यवस्था देखेर हाँसिरहेका थियौं । यतिकैमा जेट विमानकी परिचारिका तर नेपाली भाषा बोल्ने एउटी तरूनी केही यात्रुहरू खोज्न थाल्न लागेकी थिइन्, जुन ट्रान्जिट पेसेन्जर नभए उनी ड्यूटिपि|mमा रक्सी किन्न चाहन्थिन । सुरा र सुन्दरीको संयोग नै जीवनको सच्चा आनन्द ठान्ने तरूनी छट्पटाइरहेकी थिइन र हामीहरूसित नेपाली भाषामा सोधिरहेकी थिइन् तर सबै यात्रुहरू तबसम्म विमानस्थलबाट बाहिर गइसकेका थिए । उनी निराश भएर फर्किन । हामी ट्रान्जिट लाउंजमा बस्दा धेरै नेपालीहरू त्यहाँ विश्राम गरिराखेका थिए । कोही इटलीबाट आएका, कोही जर्मनीबाट, कोही अमेरिकाबाट त कोही बेलायतबाट । सबै आ-आफ्ना गुनासाहरू पोखिरहेका थिए । कति जना तास खेलिरहेका थिए त कतिजना आफू-आफूमा मस्त गफ हाँकिरहेका थिए । हामीसँग भारतीय मुद्रा थिएन । तसर्थ मैले घरबाट लगेको विस्कुट र मिठाइ खान थाल्यौं । हामीसँग गएका तीनजना तिब्बतीहरू जसमध्ये दुईजना केटी र एकजना केटा थिए आफूमा गफ गरिरहेका थिए । केटोचाहिँ के के आफ्नो कापीमा लेख्न थालेका थिए । मैले सोधें के तपाई लेखक हुनुहुन्छ । उनले भने म गीतकार हुँ । कुराकानीको क्रममा के थाहा पाइयो भने उनीहरू ज्युरिकमा विगत तीस वर्षदेखि बस्दै आएका हुन् र काठमाडौंमा आफन्तहरूलाई भेट्न आएका थिए । कोही पनि नेपाली नबोल्ने । यतिकैमा उनको लगेज चेक गर्न अस्ट्रियन एयरलाइन्सका स्टाफ आए । उनको लगेज अलि हेभी नै थियो । अब समस्या खडा भयो । उनीहरूको भनाइ थियो हामीले काठमाडौंमा एक्स्ट्रा लगेजको भाडा तिरेनौं यहाँ कसरी तिर्ने । एयरलाइन्सको स्टाफचाहिँ उनीहरूको कुरा मान्न तयार थिएन । बहस चल्यो तर केही सिप लागेन । आखिर एक्स्ट्रा लगेजको भाडा लिएर नै छाडे । हाम्रो चेकइनको समय भयो । हाम्रो पासपोर्ट र हवाई टिकट अस्ट्रियन एयरलाइन्सको स्टाफले लगेर हाम्रो सबै व्यवस्था मिलाई दियो । हामी आफ्नो विमानतिर लाग्यौं । हाम्रो उडान समयमा भयो । हामी दुवैजनालाई भिन्दाभिन्दै सिटमा बस्ने व्यवस्था मिलाइएको थियो । हामी मज्जासित खाना खाएर दुई दुईवटा कम्बल ओढेर सुत्न पायौं । बिहान उठ्दा ओर्लिने बेला भइसकेको थियो । हामी शौचालयको काम सिद्धाएर आफ्नो सिटमा फर्किसकेका थियौं । हाम्रो खाजा आयो । हामीले खाजा खायौं । विमान भियानाको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि विमानका कर्मचारीहरू हृयापी दिवाली भन्दै बिदा गरिरहेका थिए । हामीलाई सुखद अनुभूति भयो । विमानस्थलको औपचारिकता निर्वाह गर्न विशेष समय लागेन । हामी एयरपोर्ट बाहिर निस्क्यौं तर मौसम राम्रो थिएन । चिसो हावा तीव्र गतिमा प्रवाहित भइराखेको थियो । हामी फर्केर विमानस्थलभित्र पस्यौं । बाहिरको तापक्रम न्यूनतम डिग्रीमा थियो । असाध्यै चिसोको अनुभूति हुन थाल्यो । म चाहिँ दीपकलाई फोन गर्नका लागि कोसिस गरिरहेको थिएँ तर फोन गर्ने तरिका पनि थाहा थिएन । मुद्राको समस्या आयो । किनभने फोन गर्न सिक्का चाहिन्थ्यो । एयरपोर्टमा अस्ट्रियन बैंकको काउन्टर देखा पर्यो । त्यहाँ गएर सिक्का लियौं । अब फोन गर्ने तरिका पनि सिक्नु पर्यो । हामी दुवैजनाले मिलेर फोन गर्यौं । दीपकसँग सम्पर्क भयो । उनले म आउँदै छु भने तर एक घण्टा बितिसक्यो । फेरि फोन गर्यौं । मेरो ट्रेन छुट्यो अनि आइपुग्यो । ढिलो भयो । म आउँदै छु । नभन्दै दीपक आयो । हामी खुशी भयौं । उनले हाम्रो मालसामान बोक्नमा मद्द पुर्याउँदै आफ्नो एपार्टमेन्टमा लग्यो । उनी भर्खरै क्यानाडाबाट स्थान्तरित भएर भियाना आएका हुन् । एपार्टमेन्ट पनि सजाउन सकेको छैन । दीपक सप्ताहान्त मनाउन गयो । हामीचाहिँ खाजा खाएर हिँड्दै अस्ट्रियन सेन्टरतिर लाग्यौं । यहाँ ठूला ठूला भवनहरू छन् । संयुक्तराष्ट्र सङ्घको भियानास्थित कार्यालय पनि यहीँ छ । यसलाई छोटकरीमा International Atomic Energy Agency भनिन्छ । इरान र उत्तरकोरियासँग आणविक वार्ता यहीँ हुन्छ । भारत र अमेरिकाबीच परमाणुसम्बन्धी वार्ता पनि यहीँ भएको थियो । अस्ट्रियन सरकारले संयुक्तराष्ट्र सङ्घलाई एक युरोमा यत्रो अग्लो भवन भाडामा दिएको भनिन्छ । यो सौहार्द्रता, सहयोग र सद्भावको सङ्केत हो । यहाँ Welcome to Asia Centre Vienna लेखिएको एउटा ठूलो भवन पनि छ । यहाँ नजिकै एउटा पार्क रहेछ । आज सप्राहान्त भएकोले केही मानिसहरू पार्कमा दौडिरहेका छन्, केही मानिसहरू मोजमज्जा गरिरहेकाछन् । यो ठूलो पार्क रहेछ । यहाँ एउटा अग्लो टावर पनि बनाइएको छ । यसमाथि चढेर केही मानिसहरू कला देखाइरहेका छन् । तल सौभेनियरको पसल पनि छ । हामी घुमेर नभ्याउने पार्क रहेछ । हामी फर्किन्छौं । दिनको खाजा पिज्जा र कफी खान्छौं । चित्रहरू पनि लिन्छौं । लियोपोलडाउ ट्रेन स्टेसनमा जान्छौं । मुख्य सहर अर्थात् अष्तथ अभलतचभ जान्छौं । सिटी सेक्टरमा मानिसहरूको घुइँचो देखिन्छ तर भारत र अमेरिका जस्तो होइन । देश विदेशका मानिसहरू छन् रङविरङका पहिरनमा । हामीलाई हरेक कुरो नौलो लाग्दछ ।

युरोपेलीहरूको सौन्दर्य चेतनाको तुलना कुनै पनि महादेशभन्दा बढी छ र यसको तुलना नै हुन सक्तैन । जहाँ देख्यो त्यहीँ सौन्दर्य विकीर्ण छ । कण कणमा सौन्दर्य व्याप्त छ । मानिसहरू शिष्ट, सुसंस्कृत र सभ्य छन् । सडकहरू सफा र चौडा छन् । एयरपोर्ट र ट्रेन सेन्टर ऐना जस्तो टल्किरहेका देखिन्छ । सबै कुरा व्यवस्थित छ । सिलसिलाबद्ध देखिन्छ । टाङ्गा स्ट्यान्ड पनि यहाँ छ । टाङ्गामा दुईवटा घोडा छन् । पर्यटकहरू टाङ्गा चढेर सहर भ्रमण गर्न रुचाउँछन् । बाहिर फुटपाथमा खाने रेस्ट्राँ र क्याफे छन् । मानिसहरू खानमा मस्त देखिन्छन् । युगल जोडीहरू एकअर्कालाई आलिङ्गनमा आबद्ध गरेर चुसिरहेका छन् । यिनीहरूलाई कसैसित केही मतलब अथवा सरोकार छैन । युरोपेली संस्कृतिमा एक आपसमा भेट्दा र छुट्टँिदा चुम्बन लिन कुनै नौलो कुरो होइन तर यिनीहरू अँगालेमा निर्वाधरूपमा चुम्बन लिइरहेका छन् । कसैको ध्यान यतातिर जाँदैन अथवा चाहेर पनि ध्यान दिँदैन अथवा कसैसित यस्तो गतिविधि हेर्नमा चासो छैन । दुइटा सालिक जस्तो निस्फिक्री भएर घण्टौँसम्म चुमिरहेका छन्- रसिला एवं रङ्गीन ओठहरू । पुष्ट-पुष्ट र राता-राता गालाबाट सुरू गरेर ओठ चुम्दै उभिरहेका छन् । कहीँ कहीँ त केटीहरूले आक्रामक भएर केटाहरूलाई आफ्नो काखमा बसालेर एक अर्काको ओठ चुस्दैमा व्यस्त र मस्त देखिन्छन् । यस क्रममा कुराकानी गरेको सुनिँदैन । कुरा गर्न भ्याउँदैन किनभने ओठहरू त चुम्नमा अभ्यस्त भएका छन् । सडकमा फुटपाथमा, रेस्ट्राँ, ट्रेनसेन्टर र एयरपोर्टसम्म मात्र होइन विश्वविद्यालयसमेतमा हामीले यस्तो चुम्बकीय चुम्बनको दृश्य हेछौर्ं र हामी पनि यसलाई सामान्य रूपमा लिन थाल्दछौं । ज्ञवालीजीले एउटा फर्मुलानै बनाउनु भएको छ । ‘चुचुरक’ अर्थात् चुरोट, चुम्बन रक्सी र कफी । साँच्चिकै यो दृश्य चारैतिर सामान्य रूपमा देखिन्छ र लिइन्छ । यहाँ चुरोट खाने प्रचलन पनि प्रशस्त देखिन्छ । चिकित्सकहरूले चुरोट नखानका लागि भन्दछन् तर यहाँ के बूढाबूढीहरू के तरुण तरुनीहरू, के प्रौढ र प्रौढहरू प्रायः जसो चुरोट पिएको देखिन्छन् । हामीले के निष्कर्ष निकाल्दछौं भने चिसोले गर्दा चुरोटको प्रयोग प्रशस्तरूपमा गर्दछन् यिनीहरू । हो पनि भौगोलिक अवस्थिति र ऐटलान्टिक महासमुद्रको चिसो हावाले यहाँ, तेज हावा चलिरहन्छ । अस्ट्रियन रक्सी पनि उत्तिकै मीठो । यसको आस्वादन गर्नेलाई । अपार आनन्दानुभूति हुन्छ । बिहानदेखि बेलुकासम्म रक्सी खाने प्रचलन देखिन्छ । यो पनि चिसो हावापानीका लागि आवश्यक वस्तु हो । शरीरलाई तताउनका लागि रक्सी चाहिन्छ । अधुनातन अनुसन्धानले के प्रमाणित गरेको छ भने रेडवाइनले महिलाहरूमा यौन उत्तेजना बढाउँदछ रे तसर्थ महिलाहरूमा रेडवाइनको प्रयोग प्रशस्त मात्रामा देखिन्छ । फेरि अस्ट्रियन रेडवाइन संसारभरिमा प्रसिद्ध छ रे । कफी त साधारण कुरो भइहाल्यो । साधारणतः बिहानको सुरुआत कफीबाट हुन्छ । चिया चाहिँ न पाइने होइन तर यसको प्रयोग कम देखिन्छ । दुबैको दररेटमा पनि साधारणको फरक हुन्छ । यसरी अस्ट्रियन जीवनशैलीलाई, जीवनस्तरलाई धेरै नजिकबाट हेर्दा हामी विचलित पनि भएनौं र विस्मित पनि भएनौं । किनभने यसबाट कुनै विसङ्गति र विकृति समाजमा आएको देखिन्न । व्यक्तिगत स्वतन्त्रता र स्वाभिमान सर्वोपरि छ । समाजमा उच्छृङ्खलता देखिँदैन ।

बन्द, हडताल, जुलुस र प्रदर्शन के हो यिनीहरूलाई थाहा छैन । सबै देशवासीहरूले काम पाएका छन् । बेरोजगारीको समस्या छैन । काम नपाउने तर अस्ट्रियन नागरिक भएको नाताले यिनीहरूप्रति महिना सरकारबाट ७५० युरो पाउँदा रहेछन् तर यो बेरोजगारी भत्ता होइन । हामीले जम्माजम्मी आठ रात अस्ट्रियाको राजधानी भियानामा बितायौं जसमध्ये सातरात मेरा साथीको छोरा दीपक शाहको एपार्टमेन्टमा र एक रात पेन्सन एक्सेेलेन्स होटलमा । यस होटलमा हामीलाई बास बस्ने व्यवस्था मिलाइएको थियो भियाना विश्वविद्यालयले किनभने हामी २७ नोभेम्बरमा ःष्लयचष्तथ चष्नजतक विषयमा संयुक्तरूपमा कार्यपत्र प्रस्तुत गर्नका लागि विश्वविद्यालयबाट आमन्त्रित थियौं । यसमा भियाना विश्वविद्यालयका प्राध्यापकहरू विद्यार्थीहरू र भियानाका बसोबास गर्ने नेपालीहरू सहभागी थिए । दुई घण्टाको कार्यक्रममा वर्तमान नेपालको राजनीतिको विषयमा पनि छलफल भएको थियो । कार्यपत्र प्रस्तुत गरेवापत हामीलाई पारिश्रमिक र उपहारहरू पनि प्रदान गरिएको थियो । एउटा सार्थक कार्यक्रममा भाग लिएकोले हामी बढी उत्साहित र अर्यावान थियौं । राति हामीले स्वरुचि अनुसारको खाना पनि खायौं र बिहान पार्लियामेन्ट हाउस हेर्न गयौं । यहाँ अगाडि गौडेस अफ जस्टिसको सालिक स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *