Skip to content


लाको शक्तिबारे भनिरहनु पर्दैन । यो विषयमा संसारभर शताब्दीयौँदेखि भनिँदै आएको छ । थोरै, नयाँ कुरा कहिलेकाहीँ र धेरै कुराको पुनरावृत्ति ।

‘कलाले वास्तविकताको पुनरुत्पादन गर्छ र विचारलाई बढी सम्प्रेषणीय बनाउँछ’ सायद बढी भनिएको र धेरै सम्झिएको भनाइ हो यो । कलाको बारेमा प्रत्येक हप्ताजस्तो मैले केही न केही लेख्नैपर्छ, खासगरी नेपाली कलाको बारेमा । माध्यम, शैली, इतिहास, गतिविधि, आन्दोलन, मोड, दावी, नयाँपन । यो केही विषय हुन् लेखनका । थपमा कलाबाट बचाइ र दिगोपन, सरकारी दृष्टि र सहयोग, पुरस्कार, सम्मान र सामाजिक रूपान्तरणमा कलाको भूमिका र यस्तैयस्तै कैंयन विषयहरू । कलामाथि लेखेको पनि कम्तीमा एक दशक भएछ । कलाबारे लेख्न सुरु गरेको त १३ वर्ष । प्रत्येक बसाइमा मलाई सताइरहन्छ प्रश्नले, मेरो लेखनको सार्थकता ? राष्ट्रिय टेलिभिजनको लागि लेखिएको र उत्पादन गरिएका कार्यक्रमहरूको प्रभाव ?

यहाँ दुईवटा पक्षहरूसँगै आउँछन् । एक कलाको आफ्नै शक्ति र अर्को कलाको टेलिभिजनमा पुनरुत्पादन । कलाको शक्ति ग्यालरी पुगेर कला पारख गर्नेहरूलाई कसरी प्रभाव पार्छमा हुन्छ, एउटा मानसिक प्रक्रिया । अन्त्यमा के प्रतिबिम्बित हुन्छ व्यवहारमा ? तर कलाको टेलिभिजनमा पुनरुत्पादनको शक्तिको जाँच भने कलाको प्रभावलाई गुणनात्मकरूपमा विस्तार गर्न सक्नुसँग छ । असङ्ख्य दर्शकमा निश्चित दृष्टिकोणका साथ सम्प्रेषण गर्नु ।

मलाई लागिरहन्छ, एउटा कलाकारको अनुभूति, दृष्टि र कलामा त्यसको मूर्तता र एउटा निर्माताको दृष्टि, कला हेरेपछिको अनुभूति र टेलिभिजन कार्यक्रममा त्यसको मूर्तताबीच हुने समानता कति हुन्छ ? कलाको व्याख्याले कलाको शक्तिलाई सीमित पार्छ । त्यसमा पनि सम्पूर्णमध्ये केहीको छनोट, निश्चित कोणबाट तिनको छायाङ्कन, व्याख्या र सम्पादन (अझ भनौँ तोडमोडको प्रक्रिया) र कलाको पुनरुत्पादनको जटिल प्रक्रिया आफैँले कति न्याय गर्न सक्छ सर्जकको सत्यलाई स्वभाविकरूपमा प्रस्तुत गर्न ?

म बारम्बार पीडित बनिरहन्छु- कलाबारे लेख्ने र व्याख्या गर्ने म हुँ को ? र मेरो लेखनको आधिकारिकता के हो ? राष्ट्रिय टेलिभिजनको बिल्ला ? या पढेका दुई/चार किताबका केही मुद्रित सामग्रीको पर्खाल ?

कलाको पुनरुत्पादन कार्य पनि उन्नाइसौँ शताब्दीको अन्तिम दशकमा जस्तो स्थिर छैन । लुमेयर ब्रदर्सले इतिहास रच्दै निर्माण गरेका ‘अर्लि सिनेमा’ को युगसँग कदापि तुलना हुन सक्दैन हाम्रो युग । चाहे ‘आरिभे दू त्राँ’ होस् ‘रापा द बेवे’ एकै सटमा सिनेमा सिद्धिने युगबाट कैयौँ किलोमिटरको यात्रा पार गरिसकेको छ प्रविधिले र उन्नत बनिसकेको छ- सिर्जनशील मस्तिष्क पनि । पदम घलेको कलाको पुनरुत्पादन सम्झन्छु । मानिसको अन्तरनिहीत दम्भका बारे रचना गरिएका कलाकृति । साँढेको बिम्ब व्यापकरूपमा प्रयोग गरिएको थियो तिनमा । सतिसजीले दृश्य सम्पादनको क्रममा एनिमेसन गरेर साँढे बुरुक्कै स्क्रिनमा उपि|mएको इफेक्ट दिनुभो । मलाई लाग्छ- मानवमनमा अन्तरनिहित दम्भी साँढेको चालले दर्शकलाई झस्कायो होला र कलाकारको दर्शकमाथिको अपेक्षित प्रभावलाई अझ प्रभावकारी पार्यो होला ।

एक दशकको अवधिमा सयौँ कलाकारसँग सङ्गत गर्ने मौका प्राप्त भयो । मलाई नेपाली कलाजगत् उल्लेखनीय विविधतापूर्ण लागेको छ । चिन्तनमा, सोचमा, शैलीमा र माध्यममा । यी विविधतामा काम गर्दा मलाई नेपाली संवेदनाको गहिराई र त्यसमा अन्तरनिहीत अनेक तहहरूको स्पर्श गर्ने अवसर प्राप्त भएको छ । मेरा इन्द्रियहरू साँच्चै नै सक्रिय भएका छन् – नेपाली संवेदनाका आयामहरू मापन गर्न । हर्ष, पीडा, विद्रोह, मुक्तिको कामना, परिचयको खोजी र गुणात्मक रूपान्तरण केही आयामहरू हुन्- नेपाली कलाकृतिमा प्रतिबिम्बित मुख्य एजेण्डाहरू ।

नेपाली कलाको बगरमा बगिरहेको आँसुलाई रगतले प्रतिबिम्बित गरेकोझैँ महसुस भएको छ मेरो सक्रियताको दशकमा । संवेगको तरलता स्थिर बनेर आउँछ कलाकृतिमा समय अभिलेखन गर्दै । म बाँचेको दशकमा इतिहासमै सर्वाधिक रगत बगेको छ यथार्थमा र त्यसको प्रतिबिम्ब कलासिर्जनामा प्रतिबिम्बित भएको छ । रगतको मूल्य र सार्थकताको खोजी भएको छ । मानौँ कलाकृति रङले लेखिएका छैनन्, रगतले लेखिएका छन्, कलममा मसी होइन, रगत भरिएको छ । नेपाली सिर्जनशील मस्तिष्कहरूलाई बारम्बार उही आदिम यक्ष प्रश्नको फँणाले आक्रमण गरिरहेछ रगतको मूल्य ? बलिदानको सार्थकता ?

मैले कैयौँ घण्टा र दिन कलाकारका स्टुडियो र ग्यालरीहरूमा बिताएको छु । प्रायः अनौपचारिकरूपमा र कहिलेकाहीँ औपचारिकरूपमा पनि । या सन्दर्भहरूले कला सिर्जनाको रचनागर्भ, मानसिक प्रक्रिया र कला उत्पादन कार्यलाई बुझ्न मलाई निकै मद्दत पुगेको छ । प्राज्ञिकरूपमा प्रशिक्षित र साधनाद्वारा परिस्कृति कलाकारहरूसँगको अन्तक्रिर्याले नेपाली कलाजगत्को

‘इन्टेरियर ल्यान्डस्क्याप’ मैले देखेको छु । यसैको पुनरुत्पादनका लागि लामालामा टेलिभिजन अन्तर्वार्ता रेकर्ड गरेको छु । वास्तविक क्यानभासका कलाकृतिलाई विभिन्न ‘सट साइज’ मा छायाङ्कन गरी गहिराइ दिने र तिनमा ‘मोसन’ दिने काममा पनि संलग्न छु ।

विजय थापा, किरण मानन्धर, शान्त राई, रामकृष्ण भण्डारी, कृष्ण मानन्धर, रमेश खनाल, नरेश सैँजू, राजन काफ्ले, देवेन्द्र थुम्केली ………..।

प्रत्येकको आ-आफ्नै विशिष्ट शैली, सोच र उपागम छ, सन्दर्भ र विषयहरू पनि फरक छन् तर माटोमा पोखिएको रगत नै पोखिएको छ प्लेटमा पनि । कसैमा सोझै र प्रत्यक्ष, कसैमा अप्रत्यक्ष र आवाजको आवाज गुञ्जित छ ।

भर्खरै प्राप्त गरेको छु, जोन मार्टिन ग्यालरीमा यो वर्षमा हुने ‘समर एक्जिविसनको क्याटलग । प्रत्येकपटक गोश्वारा हुलाकमा पुगी पोष्टबक्स खोल्दा लन्डनका ग्यालरीहरूबाट प्रदर्शनीका क्याटलगहरू प्राप्त भएकै हुन्छन्, संसारमा कुनाकुनामा बसेर सिर्जना गर्ने कलाकारका तर ती यहाँका जस्ता विद्रोहले भरिएका, रगतले सिञ्चित र धोकाको आशङ्काले घेरिएका पाएको छैन । त्यहाँ भिन्नै ढङ्गले खोजी गरिएको छ जीवनका अर्थहरूको ।

कलाको अर्थ जीवनको सार्थकतामा छ । समुन्नत जीवनका लागि कला अपरिहार्य छ । सार्थक जीवनको खोजीका लागि कलाकारहरूले सडकलाई क्यानभास बनाएर रङ पोखेका छन्, रगत पोखेका छन् – निरङ्कुशताको विरुद्धमा चरमोत्कर्ष विद्रोहको !

सलाम छ !
सार्थक जीवनको पक्षमा रगत बगाउनेहरूलाई ।
सलाम छ !
रगतको मूल्य सार्थक जीवनमा खोज्नेहरूलाई ।

सलाम गर्ने एउटा क्रममा यही यथार्थ पुनरुत्पादन भएको छ कलामा र कलाको पुनरुत्पादन भएको छ टेलिभिजन स्क्रिनमा । नियन्त्रित टेलिभिजनको स्क्रिनमा सहज बेला सोझै र असहज बेला अप्रत्यक्ष रूपमा ।

माटो रगतले सिञ्चित हुँदा, यथार्थको पुनरुत्पादन भएका छन् क्यानभासमा र क्यानभासको पुनरुत्पादनमा रक्तरञ्जित भएका छन् टी.भी. स्क्रिनमा पनि । म आफैँ पनि घेरिएको छु, विद्रोही कलाकारहरूझैँ प्रश्नको फँणाले । अहिले मलाई लागिरहेको छ, कलाकारहरूको आफ्ना सिर्जनाबाट रगत र बलिदानको सार्थकता खोजेझैँ तिनै कलाको पुनरुत्पादनबाट हामीले हाम्रा करोडौँ दर्शकहरूलाई रगत र बलिदानको मूल्य र सार्थकता खोज्ने बनाउन सक्यौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *