Skip to content


वसन्तपुर (तेह्रथुम) बाट करिव २ किलोमिटरको सडक यात्रा गरिसके पछि हल्का उकालो पहाड सुरू हुन्छ । दिउसोको मध्यान्ह समय भएकाले घाम र पसिनाले उकालोको हिडाइ झन् दुरुह बनाइदिन्छ । रुख आउने वित्तिकै त्यसैमा टाँसिएर उभिने, शितल ताप्ने, पसिना पुछ्ने क्रम वढ्न थाल्छ ।

जताबाट गयो उतै गएको बाटोमा पछाडि फर्केर हेर्दा बसन्तपुर बजारको दृश्य देखिन्छ । पहाडको वजार, निर्माण सामग्री र लुगाफाटाको बाहुल्य छ । त्यसवाहेक भट्टी र जाँडका पुराना र आधुनिक रेष्टुँरा र पुराना पसल पनि सङ्ख्यात्मक हिसावले वाक्लै देखियो । दक्षिण तर्फ हेर्दा म्याग्लुङ बजारको दृश्य मुखरित हुन्छ । त्यहाँबाट करीव ३० कि.मि.को दूरीमा म्याग्लुङ भएकाले राम्रो सँग नियाल्न सकिंदैन ।

उत्तर र पूर्वको कुनाबाट हामी तीन जनाको यात्रा अघि वढ्छ । उत्तर तिर अलि अग्ला पहाड देखिन्छन् भने पूर्व तिरका अलि मैदान परेका पहाड, खोँच र जङ्गल हाम्रा यात्राका गन्तव्य बन्दै जान्छन् । बेला बेलामा भेटिने ओरालो झरेका व्यक्तिहरूलाई बाटोको विवरण र वास वस्ने सम्भाव्य ठाउँको जानकारी लिँदै हाम्रो टोलीले उकालोको यात्रालाई निरन्तरता दिन्छ ।

गुँरास खानी

जतिसुकै उकालो र थकाइ भए पनि प्रकृतिले त्यसको पर्वाह नहुने अचूक औषधी वनाइदिएको पाइयो, त्यो यात्रामा । हामी त गुराँसको जङ्गल भएको लेकमा पो पुगेछौँ । जता हेर्‍यो गुराँसै गुराँस । जिन्दगीको वास्तविक आनन्द लिने हो भने वसन्तपुर-ताप्लेजुङ यात्रा गर्नुपर्छ भनेर साथीहरूले दिएको सुझाव र सल्लाह शतः प्रतिशत सत्य रहेछ भन्ने लाग्यो । गुराँस पनि विचित्रका हुँदारहेछन् । रातो, पहँेलो त पहिले पनि देखिएको थियो । त्यो जङ्गलमा देखिएका सेता नीला, पहेँला, वैजनी रङ्गका ढकमक्क फुलेका गुराँसले त पुराणमा सुनिएको स्वर्गीय आनन्दको परिकल्पनालाई साकार दिएको अनुभूति पो भयो ।

श्रीमती अलिपछि थिइन् । अच्युतजीसँग आनन्द साट्न मनलाग्यो । तपाईंले सेता गुलाव देख्नु भएको थियो ? सोधेँ । “म कालीकोट्मा सिडिओ हुँदा गाउँमा गएको वेलामा देखेको थिएँ तर यहाँ त्यो भन्दा धेरै आनन्द लाग्यो” अच्युतजीले वताए । हामी कुरा गरेर अलिकति अलमलिन के लागेका थियौँ श्रीमतीले भेटाइन् । उनीलाई पनि त्यो आनन्द कहाँ पस्कौँ जस्तो भएको रहेछ । सुन्दरताले भाव विभोर बनेकी उनले सोधिन् – “एक घण्टामै गाउँ पुगिन्छ भन्ने सुनियो । हामीसँग उज्यालो हुने समय नै डेढ् घण्टाजति बाँकी छ । त्यसैले यो गुराँसको जङ्गललाई हेर्दै केहीबेर बसौँ न” । सबैको मनमा लागि रहेको विषयमा प्रस्ताव आउँदा कुनै विवाद उठेन, फरक-फरक ढुङ्गामा बस्यौँ र आँखाले देखे जत्ति गुराँसको वारेमा कुरा गर्न थाल्यौँ । घना जङ्गल र लेक । हामीले अनुमानै गर्न सकेनछौँ । बेस्सरी पानी पर्‍यो । वासको उद्देश्यले कहिले गाउँ आउला भनेर भिज्दै अघि बढ्यौँ । भर्खर खन्दै गरेको बाटो भएकाले तीनै जना चिप्लँदै अघि बढ्याँै, एउटा सानो व्यापारिक वस्ती न आउन्जेल । यात्रा तेह्थुम जिल्लाबाट सुरू भए पनि बेलुकाको वास सँखुवासभा जिल्ला क्षेत्र भित्रको गाउँमा हुन्छ ।

काठ्माडौँबाट हिँडेको गणना गर्ने हो भने हाम्रो यात्राको चौथो दिनको विहान सुरूहुन्छ । होटेल्नीले दिएको जानकारी र गरेको सिफारीस अनुसारका निश्चित ठाउँमा पुगेर विहानको चिया, त्यसपछिको खानाको कार्ययोजना बनाएर यात्रा ६ वजे आरम्भ गछौँ, ताप्लेजुङ सदरमुकाम नपुगे पनि जिल्ला क्षेत्रमा पुग्ने गरेर ।

अघिल्लो दिनको कडा हिँडाइ-घामको ताप र पानीको चुटाइले पनि हाम्रो यात्रा अविरल भयो । गुँरासको जङ्गल, लेकाली वनस्पती र कहिल्यै त्यसअघि नदेखिएका रुख, फूल, घाँस हेर्दै हिँड्दा दिउसोको १२ बज्न थालेपछि एउटा पातलो वस्ती भेटियो र खानाको जोरजाम मिलाइयो ।

करिव १ घण्टामा खानपीन सकेर फेरि हिँडाइलाई निरन्तरता दियौँ । त्यहँाबाट ओरालो सुरू हुने रहेछ । खाएको पेटको ओरालो बाटोले शरीरमा ल्याएको पीडा र थकानलाई यसअघिका थोरै मात्र जिल्ला हिँड्दाका सम्झनाले उछिने । कहिलेकाही जुका, भुसुना हाम्रा थप साथी हुन्थे भने कहिले काहीँ हामी जस्तै त्यो बाटोको उपयोग गरी हिँड्ने बटुवाहरू ।

पहाड मात्र नभएर हिमाल, तराई, भित्री मधेश समेत गरी ताप्लेजुङ मेरो ७४ औँ जिल्लाको लक्ष्य थियो । यसैले जङ्गल घुम्ने, लेक हिँड्ने, वनस्पतिहरू हेर्ने एक किसिमको अभ्यास भइसकेकाले मलाई त्यहाँको उकालो, ओरालो, भञ्ज्याङ, जङ्गल, लेक, अग्ला रुख, भीर, पहरा, सीमा कुनै कुराले पनि त्यति धेरै आकषिर्त गर्न सकेका थिएनन, जति आकर्षण सेता गुराँसका जङ्गलले गर्न सके ।

लगातार ६ घण्टा ओर्लिएपछि हामी ताप्लेजुङ र संखुवासभाको सीमा नदी तर्ने ठाउँ दोभानमा आइपुग्यौँ । आइपुग्यौँ पनि के भन्नु शरीर आइपुग्यो । मन त ताप्लेजुङ नै पुग्ने कसरतमा थियो । सीमानामा आइपुग्दा ज्यादै थकान अनुभव भयो । बेलुकाको ७ बजिसकेको थियो । वासै बसे पनि ताप्लेजुङ जिल्ला क्षेत्रमा वस्ने सुर गर्‍यौँ । त्यहाँबाट ताप्लेजुङ सदरमुकाम पुग्न पैदल गए चार घण्टा लाग्ने जानकारी भयो । तर, कहिले कहीँ मालसामान लिन पुर्‍याउन आउने ट्रक वा जीप पाइन्छ भन्ने सुने पछि हाम्रा गोडा अगाडि बढेनन् । संयोग नै भन्नुपर्छ भोलिपल्ट पाथीभरा दर्शन गर्ने हाम्रो इच्छा पुरा गरिदिने आशिर्वाद स्वरूप एउटा जीप फेला पार्‍यौँ र रातको १० बजे मेरो देश दर्शनको हिसावले गणना गर्दाको ७४ औं जिल्ला ताप्लेजुङ पुग्यौं ।

गोरखापत्र, शनिबार
भाद्र १०, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *