Skip to content


सिन्धुपाल्चोक जिल्लाको एउटा गाउँमा ख्याउटे बोकाको जन्म भएको थियो । त्यस घरमा राजु भन्ने सात वर्षको बालक पनि थियो । राजुले ख्याउटेलाई सानैदेखि असाध्यै माया गर्थ्यो । त्यस घरमा राजु, उसकी बहिनी रीमा, बा, आमा र उसका हजुरआमा पनि बस्नुहुन्थ्यो ।

राजुको घरमा उसका बा-आमाले मनकामना माईको दर्शन गर्न जाने कुरा गर्नुभयो । गाउँबाट कहिल्यै बाहिर नहिँडेको राजुलई पनि मनकामना माईको दर्शन गर्न एकदमै मनलाग्यो । उसले बा-आमालाई आफू पनि उहाँहहरूसँग मनकामना माईको दर्शन गर्न जान्छु भनेर जिद्दी गर्‍यो । उसले धेरै जिद्दी गरेपछि बा-आमाले पनि हुन्छ भन्नुभयो । उसलाई एकदमै खुसी लाग्यो । उफ्रँदैँ आँगनमा गयो ।

आँगनको एक छेउमा ख्याउटे र उसकी दिदी, दाइ, अनि आमा पनि बाँधिएका थिए । राजुले ख्याउटे सानै हुँदादेखि असाध्यै माया गर्थ्यो । ऊ ख्याउटेसँग खेल्थ्यो र बोक्थ्यो पनि । राजु गाउँतिर खेल्न जाँदा पनि प्रायः ख्याउटेलाई साथै लिएर जान्थ्यो । ख्याउटे अलि ठूलो भएकाले बा-आमाले गाली गरेर ऊ ख्याउटेलाई घरमै बाँधेर खेल्न जान थालेको थियो । तर घर भएका बेला ऊ ख्याउटेसँगै जिस्केर समय बिताउँथ्यो । ऊ एकदमै दुब्लो भएकाले राजुका परिवारले उसको नाम ख्याउटे राखिदिएका थिए । ख्याउटेलाई देखेपछि राजुलाई उसलाई पनि आफूसँगै मनकामना माईको दर्शन गर्न लैजान मन लाग्यो । राजुले ख्याउटेलाई ‘तँ पनि मसँगै मनकामना माईको दर्शन गर्न जान्छस्’ भनेर सोध्यो । ख्याउटेले पनि हुन्छ भने जसरी मुन्टो हल्लायो । उसले ख्याउटेलाई सुनाएर भन्यो- ‘थाहा छ मनकामना जाँदा त केबुलकार चढेर जानुपर्छ रे । कति रमाइलो होला हगि, केबुलकार चढ्दा ?’ यति भनेर राजु साथीहरूसँग खेल्न गयो ।

मनकामना जान पाइने भयो भनेर ख्याउटे मनमनै दङ्ग थियो । उसले आफ्नी आमा, दिदी र दाइलाई तिमीहरू कहिल्यै मनकामना गएका छौँ भनेर धक्कु लगायो । ख्याउटेका आमा, दिदीहरू र दाइहरू पनि कहिल्यै मनकामना गएका थिएनन् । उनीहरूलाई पनि मनकामना जान असाध्यै मन लागिरहेको थियो तर के गर्नु राजुले ख्याउटेलाई मात्रै लान्छु भनेको थियो । उनीहरू आफैँ जान पनि त सक्दैनथे । त्यसैले ख्याउटेका परिवारले उसलाई तँ घुमेर आएपछि हामीलाई पनि मनकामना माईको मन्दिर कस्तो रहेछ ? बाटामा कस्ता-कस्ता ठाउँ रहेछन् ? सबै बताउनु है भने । ख्याउटेले पनि खुसी हुँदै- ‘हुन्छ म सबै बताउँला भन्यो ।’

त्यो दिन साँझ पर्‍यो । राजु साथीहरूसँग खेलेर घर आयो । उसले ख्याउटेलाई मनकामना लैजाने कुरा बा-आमालाई बताएकै थिएन । उसले भन्यो- ‘आमा आमा हामीसँगै ख्याउटेलाई पनि मनकामना लैजाऊ है ।’ आमाले हुँदैन हुँदैन भन्नुभयो । राजुले ख्याउटेलाई पनि लैजाने भनेर असाध्यै जिद्दी गर्न थाल्यो । त्यसपछि बुबाले भन्नुभयो – ‘हुन्छ नि त । भाकल पनि छ । यही ख्याउटे पूजा गरिदिउँला ।’ बुबाको कुरा सुनेर राजु एकदमै खुसी भयो । भोलिपल्ट बिहानै बा-आमा र राजुसँगै ख्याउटे पनि मनकामना माईको दर्शन गर्न जाने भयो ।

भोलिपल्ट बिहानै बाले ख्याउटेलाई दाम्लोले डोर्‍याउँदै राजु र आमालाई पनि सँगै लिएर काठमाडौँतिर लाग्नु भयो । राजु र ख्याउटे दुवैको यो पहिलो यात्रा थियो । राजु हजुरबुबा, हजुरआमा र बहिनीलाई बाई बाई भन्दै आमा बुबासँग हिँड्यो । ख्याउटे पनि उसका परिवारसँग आफ्नै किसिमले बिदा भयो । बुबा आमा पहिले धेरैपटक यात्रा गरिसक्नुभएकाले त्यति उत्साहित देखिनुहुन्नथ्यो । तर राजु र ख्याउटे ज्यादै उत्साहित थिए । राजु बाटामा आफू जे जे खान्थ्यो ख्याउटेलाई पनि त्यही त्यही खुवाउँथ्यो । दुवै खुसीसँग हिँडिरहेका थिए ।

करिब एक घण्टा हिँडेपछि बस चढ्ने ठाउँमा पुगियो । बुबाआमा सिटमा बस्नुभयो । बुबाले ख्याउटेको दाम्लो समात्नु भयो । आमाले राजुलाई काखमा बोक्नुभयो । रामु पहिले बस चढेको भए पनि छोटो दूरीको मात्रै चढेको थियो । तर ख्याउटे त पहिलो पटक मोटर चढेको थियो । उसलाई बस हल्लँदा र हर्न बज्दा एकदमै डर लाग्यो । यस्तो बेला ऊ राजु नजिकै टाँस्सिएर बस्थ्यो । राजु चाहिँ नडरा नडरा केही हुँदैन भनेर ढाडस दिन्थ्यो । यसरी करिब चार घण्टामा उनीहरू काठमाडौँ आइपुगे ।

उनीहरू हतार-हतार कलङ्कीबाट कुरिनटार जाने बस चढे । आजै घर र्फकन नसके पनि मनकामना दर्शन गरेर बेलुकी काठमाडौँमा आइपुग्ने र आफन्तकोमा बास बसेर भोलिपल्ट घर र्फकने योजना राजुका बुबा आमाको थियो । दिउँसोको दुई बजेतिर राजु, उसका बुबा आमा र ख्याउटे कुरिनटारस्थित केबुलकारको अफिसमा आइपुगे । टिकट काउन्टरमा धेरै भीड नभएकाले बुबाले छिट्टै टिकट काट्नुभयो र हामी लाइनमा बस्यौ । लाइनमा त ख्याउटे पनि सँगै थियो । तर केबुलकार चढ्ने बेलामा ख्याउटेलाई मानिस चढ्ने केबुलकारमा चढ्न दिइँदो रहेनछ । राजुलाई ख्याउटेलाई आफूसँगै लान नपाएकोमा साह्रै दुःख लाग्यो । उसले बुबा आमासँग ख्याउटेलाई पनि पनि सँगै लाने भनेर जिद्दी गर्‍यो । बुबा आमा र केबुलकारका कर्मचारीले मानिस चढ्ने केबुलकारमा ख्याउटेलाई लान नमिल्ने र सामान बोक्न केबुलकारमा पठाए पनि दस मिनेटपछि माथिल्लो स्टेशनमा भेट हुने बताएपछि बल्ल राजु बुबा आमासँग जान राजी भयो ।

तर यता ख्याउटेलाई भन एकदमै नरमाइलो लागिरहेको थियो । एक त नयाँ ठाउँ, कोही पनि नचिनेका मान्छे । त्यसमाथि राजु पनि थिएन । त्यसै त दुब्लो ख्याउटे डरले थर थर काम्न थाल्यो । घरबाट त्यति रहर गरेर केबुलकार चढ्न भनेर आए पनि उसलाई यो बिरानो ठाउँमा एक्लै केबुलकार चढ्नु पर्दा पटक्कै रमाइलो भएन । ऊ साह्रै दुःखी भयो । उसले आफ्नो परिवारलाई झलझली सम्झियो । मन नभई नभई पनि ऊ मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *