Skip to content

ब्याक्टेरिया र भाइरसको सपना


दिउँसो साथीहरूसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा चट्पटे र फोहोर पानी खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । चिसो बरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन जरो पनि आउन थाल्यो । ग्रीष्मको आमा-बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अङ्कललाई फोन गर्नुभयो ।

फोन गरेको केही समयपछि डा.रमेश ग्रीष्म सुतेको कोठामा पुग्नुभयो । ग्रीष्मकी आमा छेवैमा ग्रीष्मलाई पानीपट्टी गरेर बसिरहनुभएको थियो । डा. रमेशले ग्रीष्मलाई आफ्नो जाँच यन्त्र निकालेर जाँच गर्न थाल्नुभयो-

“खै , हेरुम् त…..ज्वरो । ओहो १०२ डिग्री पो रहेछ । के खाएका थियौ बाबु तिमीले आज ?” डा. रमेशले ग्रीष्मको निधारमा हात राख्दै भन्नुभयो ।

ग्रीष्मले सुँक्क-सुँक्क गर्दै भन्यो -“अलिकति चट्पटे मात्र खाएको हो, अनि पिरो भयो अनि होटेलको पानी पनि खाएको अनि एउटा बरफ पनि खाएको हो ।” यति भनेर उसले खोक्न थाल्यो ।

उसको खोकी छाती नै फुटाउला जस्तो थियो । ग्रीष्मको खोकी सुनेर डा. रमेशले भन्नुभयो-

“ग्रीष्म, तिमीले खाएको खानेकुरामा रोगका कीटाणुहरू भएकोले तिमी बिरामी भएका हौ । अब तिमीले मैले लेखेको औषधि खाऊ अनि तिमी फेरि पहिले जस्तै हुन्छौ । अबदेखि नढाकिएको असुरक्षित खानेकुरा नखानु है ।”

“नाइँ, म औषधि त खान्न । औषधि तीतो हुन्छ ।” ग्रीष्मले भन्यो ।

“कस्तो बद्मास भएको बाबु, औषधि खाएनौं भने झन् गार्‍हो हुन्छ ।” ग्रीष्मकी आमाले भन्नुभयो ।

“ल है भाउज्यू, म पनि अहिलेलाई लागेँ, एउटा बिरामी कहाँ जानु छ । केही पर्‍यो भने खबर गर्नुस् है ।” डा.रमेश यति भनेर घरबाट निस्के ।

“ममी, बरु म औषधि भोलि बिहान खान्छु ।” ग्रीष्मले जवाफ दियो ।

ग्रीष्मको जिद्दीको अगाडि ममी र बाबाको केही सीप लागेन । ग्रीष्मले तातो जाउलो बल्ल तल्ल खायो । केही बेर उसलाई ममीले पानीपट्टी गरेपछि ऊ आफैँ निदायो ।

मस्तसँग निदाएपछि ग्रीष्मको पेटतिर हलचल हुन पो थाल्यो । ‘इसोफ्यागस’ भन्ने खाना नलीबाट एक हुल कीटाणुहरू जाउलोमा पौडँँदैं पेटमा आइपुगे । पेट त पोखरी जस्तै राम्रो रहेछ । उनीहरू सबैले नारा लगाउँदै थिए-“जय ब्याक्टेरिया”

“पेट पोखरीमा विभिन्न क्षेत्रबाट पाल्नुभएका ‘ब्याक्टेरिया’ जीवाणुलाई म सिगेला नामको ब्याक्टेरियाको तर्फबाट हार्दिक स्वागत छ । हामी आज यहाँ सम्मेलन गर्न भेला भएका छौं ।” प्रमुख ब्याक्टेरियाले सबैलाई स्वागत गर्‍यो । सबैलै परर ताली पिटे । त्यहाँ अरु पनि भिब्रियो , क्लोस्टि्र्रडिया, स्ट्रेप्टोकोकस, माइकोब्याक्टेरियम लगायतका ब्याक्टेरियाहरू भेला भएका थिए ।

“हेर्नुस् , साथी हो , मानिसहरू अब स्वास्थ्यका लागि सचेत भएका छैनन् । यो खुसीको कुरा हो यसरी सबैले सचेत नभइदिने हो भने चाँडै नै हामी सबैको शरीरमा पस्नुपर्छ । मान्छेको शरीरमा मोज गर्नुपर्छ ।” अर्को एउटा ब्याक्टेरियाले भन्यो ।

फेरि अर्कोले थप्यो-“तर हामी त्यति सफल नहुन पनि सक्छौं । डाक्टरहरूले हामीलाई मार्न बिरामीलाई ‘आन्टिबायोटिक’ औषधि दिइरहेका छन् ।”

“तँ चुप् लाग् हुतिहारा ब्याक्टेरिया । हाम्रो सङ्ख्या चौबीस घण्टामा चार गुना बढ्छ । त्यो भुसुने डाक्टरलाई के थाहा ? बरु ग्रीष्मको भुँडी छेडेर त्यो डाक्टरको जीउमा पसौं कि क्या हो म त ?” भिब्रियोले भन्यो ।

“मेरो पेट नछेड है” ग्रीष्म सुतेको बेला बर्बराउन थाल्यो । सुतेपछि देखिएको सपनामा पो ब्याक्टेरियाहरू आएका रहेछन् ग्रीष्मलाई तर पनि साँच्चिकै जस्तो लागिरहेको थियो ।

सिगेलाले अरु ब्याक्टेरियाहरूलाई निर्देशन दिँदै भन्यो- “ल माइकोब्याक्टेरियम तिमी फोक्सोतिर लाग, स्ट्रेप्टो तिमी खोकी लगाइदेऊ म आन्द्राभुँडितिर लाग्छु ।”

त्यहीबेला झ्वाट्ट ‘भाइरस’हरूको अर्को हुल आयो । भाइरस पनि जीवाणुको अर्को प्रकार हो । भाइरसमध्ये एउटाले भन्यो- “नमस्ते सबैजनालाई ! मेरौ नाम ‘राइनो भाइरस’ । मैले रुघा लगाउने काम गर्छु । भर्खर मात्र ग्रीष्मलाई रुघा लगाएर आएको हुँ ।”

“स्वागत छ, भाइरस भाइ, स्वागत छ । तिमीचाहीँ कुन कुन क्षेत्रमा काम गर्छौं ?”

“ए म । म त जाहीँ ताहीँ छु । म दिमाग, मुटु, फोक्सो सबैतिर पुग्छु । मलाई मार्न पनि गार्‍हो पर्दछ । त्यति गतिलो औषधिहरू बनेका छैनन् ।” भाइरसले जवाफ दियो ।

सिगेलाले राइनो भाइरसलाई अँगालो मार्दै भन्यो- “ओहो ! भाइरस भाइ, तिमी त एकदम महìवपूर्ण पो रहेछौ । हाम्रो आधा काम तिमीले पो गर्न सक्ने रहेछौ । अरु साथीहरूलाई पनि तिमीलै खबर गर है । हामी तिम्रो निकै आभारी हुने थियौं ।” ब्याक्टेरिया सिगेलाले भन्यो ।

यो सपना देखेर ग्रीष्मको निधारभरि चिटचिट पसिना आइसकेको थियो । ऊ कहिले यता पल्टन्थ्यो कहिले उता पल्टन्थ्यो । ब्याक्टेरिया र भाइरसहरू मिलेर आफ्नो जीउलाई सखाप पार्न लागेको कुरा उसले थाहा पायो । एकछिनपछि सपनाका दृश्यहरू एक्कासी परिवर्तन भए । एउटा कुनामा डा. अङ्कललाई मोटो सिक्रीले बाँधेर राखिएको थियो । डा. अङ्कलको अगाडि एउटा ठूलो आगो बालिएको थियो । ब्याक्टेरिया र भाइरसहरू मिलेर आफ्नो टाउकोमा भारीका भारी आन्टिबायोटिक जस्ता ‘ट्याब्लेट’ औषधीहरू ब्ाोकेर आगोमा फुत्तफुत्त फालिरहेका थिए अनि क्लोस्टि्रडियाले डाक्टरलाई भन्दै थियो-

“तँ हैनस्, मान्छेहरूलाई औषधि दिएर हामीलाई मार्न खोज्ने । अब तँलाई यही आगोमा हाल्छु पख् ।”

त्यसबेला डाक्टर अङ्कलले ग्रीष्मलाई हेर्दै भन्नुभयो-

“देख्यौ ग्रीष्म, तिमीले औषधि नखाँदा यिनीहरूले कस्तो रुप लिने रहेछन् । अब जे गर्नुपर्छ तिमी आफैँ विचार गर ।”

डाक्टर अङ्कलले यसो भन्दा ग्रीष्मको जीउबाट पसिना छुटेको थियो । रातभरि फरक फरक किसिमका लामो सपना देखेर ग्रीष्मले ठूलो निर्णय लिइसकेको थियो । डा. अङ्कलले दिनुभएको आन्टिबायोटिक औषधि खाएर ती सब ब्याक्टेरियालाई आफ्नो शरीरबाट अन्त्य गर्ने निधो ग्रीष्मले गर्‍यो । उसले यो सपनाको बारेमा विद्यालयमा आफ्नो सबै साथीहरूलाई पनि भन्यो ।

1 thought on “ब्याक्टेरिया र भाइरसको सपना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *