Skip to content


मेरो बोधो दिमागमा जति पढे पनि घुसेन । जति धोके पनि कहिल्यै पसेन । त्यसैले मलाई डाक्टर, इन्जिनियर बनाउने बा-आमाको सपना मुखभित्र हालेको चीजबलझै बिलायो । एकदिन बा’ले भन्नुभाथ्यो- “पढिनस्, तैंले छोरा ! अब, राजनीतितिर जान्छन् । देश र लोकतन्त्रलाई खै कतातिर धकेल्छस् ।” रातभरमा ढुसी पलाएझैं मेरो मनमा एउटा आइडिया पलायो, कम्तीमा बा’को सादर बचनको आदर गर्छु । आजैबाट राजनीतिमा छिर्छु तर फेरि यसो सोचें- राजनीतिमा लागेर के पो गर्नु ? न झूठ बोल्न आउँछ, न ठग्न नै आउँछ । यस्तो निमुखाले राजनीतिमा लागेर के पो पाउँछ ? फेरि त्यही बेला, एकदिन कलेज जाँदा बाटोमा ट्रकको पछाडि लेखिएको कुरा याद आयो- नेपाली नेताको जीवनको लेखा जोखा, झुठ-बेइमानी, भ्रष्टाचार अनि धोका ।

अनि तिनै हरफहरूद्वारा हामीले हाम्रो साथीलाई जसको बुबा जिल्ला स्तरीय नेता थिए । जिस्काएको पनि सम्झना आयो । यसरी राजनीतिमा छिर्ने योजना पलभरमै ढल्यो मानौँ मेरो योजना नेपाली मन्त्रिपरिषद् हो । पढ्दा पनि पढिएन, राजनीतिमा पनि गइएन । कविता फुर्‍यो दिमागमा कवि भइयो बेफ्वांकमा । अरू कविका कविता सुन्दा त मान्छेका कान ठाडा-ठाडा भएर उठ्थे म विचरा कविको कविता सुन्दा मान्छे नै ठाउँबाट उठ्छन् भन्या । त्यै पनि मलाई मेरो सिर्जना र कवित्वप्रति गर्व थियो । जे-जे आउँथ्यो दिमागमा, म लेख्दै जान्थे हतारमा । कतै त्यो पङ्क्ति बिर्सने पो हो कि भन्दै, कविज्यूको उपाधि खुस्कने पो हो कि सोच्दै भर्खर जब म कवि भा’थे, हरेक साना, ठूला काव्य गोष्ठीमा गा’थे । अरूको मद्दतले भए पनि हरेक समारोहको निम्ता पा’थे । झन् आफ्नै कविता सङ्ग्रह छपाउन सयौंपटक प्रेस पनि धा’थे । जतिपटक प्रेसमा गए, नव प्रवेशीको पुस्तक छाप्न गाह्रो हुन्छ भन्दै अस्वीकृत गरिदिन्थे । लौं भएन अब त हदै भो भनेर एकपटक एउटा प्रकाशकको खल्तीमा मोटो रकम छिराएँ, अनि आफ्नो कविता सङ्ग्रह छापिने लगन जुराएँ ।

यसरी एउटा प्रेसले मेरो पुस्तक छाप्न स्वीकार गर्‍यो । आफ्नो तर्फबाट गर्नुपर्ने सबै गरें र पुस्तक बजारमा आउने दिनको प्रतीक्षा गरिरहे । यता म पुस्तक कहिले बजारमा आउला भनी व्यग्र थिएँ, उता प्रेसका अधिकारी नव प्रवेशीको किताब छाप्नु पर्‍यो भनेर उग्र थिए । पैसा पेलेको अनुसार किताब निक्लन ढिलो भयो, त्यसैले छपाइको हालखबर सोध्न छाप्ने प्रेसमै गएँ । त्यहाँ एक सज्जन भेटिए र उनले भने-कविज्यू, तपाईंको छापिँदै गरेको पुस्तकका दुईचार वटा कविता मैले पढे । तपाईं त ठ्याक्कै बादशाह अकबरले जस्तै लेख्नु हुँदो रहेछ नि । सुरुमा त सुनेर दङ्ग परें तर पछि आश्चर्य मिश्रति भावमा मैले सोधे होइन बादशाह अकबरलाई त लेख्नै आउँदैनथ्यो हैन र भन्या ? त्यही भएर त मैले तपाईंलाई त्यस्तो भन्या”- उनले मुस्कुराउँदै पो जवाफ फर्काए ।

त्यसो भए घोचपेचको शृङ्खला पनि सुरु भएछ भन्ठानेर मनमनै चित्त बुझाए तर यस्ता साना तिना दुई-चार बचनवाणले आत्तिनेवाला थिइन् । किताब बजारमा आउनु अगावै सञ्चार क्षेत्रमा काम गर्ने साथीहरूसँग कुरो मिलाइसकेको थिएँ । मलाई जति जिस्क्याए पनि कुनै लज्जा थिएन किनकी मेरो नजर ठूलै पुरस्कारमा थियो । त्यसैले दुःख गरेर पुस्तक छपाएँ, निकै खर्च गरेर विमोचन पनि गराएँ । पुस्तक बजारमा पनि ल्याइयो, मुस्किलले दुईचार जना पाठक पनि पाइयो तर हेर यो कविको फुटेको कर्म, आफ्नै श्रीमतीले कविता पढ्न इच्छा जाहेर गरिनन् । लौं वित्यास् पर्‍यो । एउटा कविले आफ्नै श्रीमतीलाई पनि आफ्नो कविता पढ्न सुनाउन फकाउनु पर्ने जमाना आइसकेछ ।

श्रीमतीलाई भने- हेर प्रिय, तिमीलाई के थाह, म आफ्नो कविताद्वारा सारा संसारमा आगो लगाउन सक्छु । “हिम्मत भए पहिले घरको चूल्होमा आगो लगाएर देखाउनुस् । श्रीमतीले जवाफ दिइन् । बल्ल थाह पाए- पूरा सम्पति जति त पुरस्कारले सजिएको सपना देख्दै गर्दा, पुस्तक छपाउन, बिमोचन गराउन र बजार व्यस्थापन गर्न मै स्वाहा पारिसकेछु ।

रहरले कवि भए, रहरले नै पुस्तक छपाएँ तर आज आफ्नै अवस्था घरको न घाटको पो बनाए । कुनै सम्मान र पुरस्कार त परै जाओस्, धेरै पाठकको दराजमा मेरो सानो पुस्तक अटेन तैपनि म एक कवि हुँ भन्ने दम्भ कहिल्यै घटेन । एक दुई सयप्रति मुस्किलले बिक्यो त्यसैले प्रकाशकले मलाई रोयल्टी दिन सकेन । म चर्चित नभए पनि सञ्चारमाध्यममा मित्रहरू थिए त्यसैले इन्टरभ्युमा बोलाउन छाडेनन् ।

यस्तै एउटा काव्य गोष्ठीमा जाँदै गर्दा एक व्यक्तिले मेरो नजिक आएर सोध्यो- कविज्यू के हजुरसँग पाँचसय रूपियाँको साट्ने खुद्रा पैसा छ ? मैले ङिच्च दाँत देखाएर छैन त भने तर उनले त्यो मार्मिक प्रश्न म (एक कवि)लाई सोधेर मेरो जुन इज्जत बढाइदिए । त्यसप्रति भने धेरै आभारी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *